Monday, September 24, 2012

त्यो शानदार "डाबर च्यवनप्राश" चौका....

[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ..

बहुत बढिया शाट...सिधे फिल्डरके हातो में

शानदार स्ट्रोक..और ए गेदं हावामे, बाउन्ड्री लाईन के बाहर.....की तरफ..और ए शानदार फिल्डिङ...

और ए बेहतरिन गेदं, अफस्टंप के बाहर टप्पा खाके अन्दर कि तरफ आती हुई, और उतनी हि बेहतरिन स्ट्रोक बल्लेबाज की । गेंद हवा मे लहराती हुई फिल्डर कि तरफ, फिल्डर मुस्तैद तैनाथ... और ए आउट....
लेकिन....गेदं फिल्डर के हातो के बिच से होते हुए बाउन्ड्रीलाइन के बाहर..चार रन.. ]



श्रीलंकामा अहिले टी ट्वेन्टी विश्वकप चल्दैछ । क्रिकेटको रोमांच उत्सर्गमा छ । क्रिकेट प्रेमी संसार सबैको आँखा टिभीमा जमेको छ हरेक साँझ । हाम्रो देशमा भने दुइटा च्यानलबाट प्रत्यक्ष प्रसारण हुँदैछ यो विश्वकपको । एउटा स्टार क्रिकेट अर्को चाँही इएसपिएन । मेरो घरमा स्टार क्रिकेट सफा आइरहेको छैन, त्यही भएर बाध्य भएर इएसपिएन मै हेर्न परेको छु । सोच्नु होला, च्यानलमा के छ? क्रिकेट हेर्न पाए पुगिहाल्यो नि, तर च्यानलमै छ जे छ । स्टार क्रिकेटमा कमेन्ट्री अँग्रेजीमा छ भने इएसपिएनमा हिन्दीमा आउने गरेको छ । अब भन्नु होला, खेल हेर्न पाए पुगी हाल्यो नि, भाषामा के छ? कुरा भाषाको होइन, कुरा कुरा कै हो । हिन्दी कमेन्टेटरहरूको कमेन्ट्री गर्ने शैली यस्तो ढर्राको छ कि, कि त तपाइँलाई रिस उठ्छ, कि त हाँसो उठ्छ । स्वाद आउँदैन कमेन्टरीको । कमेन्ट्री भनेको हुँदै गरेको खेलमा समिक्षात्मक टिप्पणी गर्नु हो, जुन की अँग्रेजी कमेन्टेटरहरूले बखुबी गर्छन् । हिन्दी कमेन्टेटरहरू भने अझै पनि रेडियोमा कमेन्ट्री गर्या झै गर्छन्, अर्थात खेलको प्रत्यक्ष प्रसारण! यो हिन्दी कमेन्ट्रीले भने झलझलती पुराना दिनहरू याद दिलाए । ती दिनहरू जब जिन्दगीमा क्रिकेट बाहेक केही हुँदैन थियो । 

Tuesday, September 18, 2012

माया के मा छ? (गजल ७५)

कस्ले भन्छ? चोखो माया हाँसो फुल्ने बातमा छ
माया त त्यो हराएको मुस्कानको आघातमा छ

बिलायौ कि हामी कतै चकमन्न घाम हुँदा
हाम्रो मनको उज्यालो त औंसीको त्यो रातमा छ

मुना मदन लैला मजनू आदि अनेक जोडी सँगै
हाम्रो नाम पनि भाबी इतिहासको खातमा छ

ज्योतिषिको खल्ती भारी देखेपछि थाहा भयो
आजभोलि धेरैको नै दशा साढेसातमा छ

भाग्य, कर्म, ग्रहदशा दोष अनेक किन देखुँ?
म नै लेख्छु मेरो लेखा जे छ मेरै हातमा छ

दुःख पनि सुखै देख्छ, पिडा पनि मिठो भन्छ
'एकतारे' सँधै सँधै पिरतीको मातमा छ l

Monday, September 17, 2012

ला !! बर्बाद हुन्छ..

वर्षौं देखि विदेश बसेर काम गर्दै गरेको छोरो चेतेले एकदिन घरमा फोन गरेछ । फोन चेतेको बाउले उठाए छन् ।

चेतेः बा !! म घर फर्किँदैछु ।

बाः हो र? ल राम्रो भयो । तर तेरो त छुट्टी मिल्दैन भन्थिस्, एक्कासी घर आउँछु भन्दैछस् त

चेतेः होइन बा, म नफर्कि भएन । .... म धेरै बाँच्दिन अब

बाः ला..के कुरा गर्छस? त्यस्तो कुरा नगर.... के भयो र तलाईँ?

चेतेः .... बा! मलाई एड्स भएको छ ।

बाः राम राम!! के सुन्न पर्यो...

चेतेः हो बा, मलाई एड्स लागिसक्यो । अब म धेरै दिन बाँच्दिन, जति दिन बाँच्छु घरमै बिताउन चाहन्छु ।

बाः हुन्न हुन्न केटा...तँ यता आउनु हुन्न । तँ यता आइस भने बर्बाद हुन्छ....

चेतेः किन र बा?

बाः तँ यता आइस भने पुरा गाउँ बर्बाद हुन्छ छोरा, तँ यता आउनु हुन्न...

चेतेः गाउँ बर्बाद?? कसरी हुन्छ र?

बाः अब सुन कुरो? तँ यता आइस भने तैलें यो रोग तेरो स्वास्नीलाई सार्छस् ।
तेरो स्वास्नीलाई रोग लाग्यो भने तेरो साथीलाई सर्छ ।
तेरो साथीलाई रोग सर्यो भने हाम्रा घराँ काम गर्नी नोकर्नीलाई सर्छ ।
अनि त्यो नक्कलीलाई रोग सरेसी मलाई नि सर्छ...
अब मलाई सरेसी त पुरै गाउँलाई सर्छ...
हुन्न बाबु हुन्न, तँ यता आउनै हुन्न....


(मैले यो ठट्टाकाण्ड साप्ताहिकबाट सारेको, साप्ताहिकले कहाँबाट सार्यो मलाई थाहा भएन है )

Tuesday, September 11, 2012

अन्तरवार्ता (भाग ३)

यो घटनाको वर्णन शुरू गर्नु भन्दा पहिले अघिल्लो भागहरूको वेलिविस्तार पनि पढ्नु होला । अन्यथा खल्लो लाग्नेछ ।
अन्तरवार्ता भाग १
अन्तरवार्ता भाग २

अघिल्लो घटनाबाटै क्रमशः
====================

केटीको मोबाइलमा मेसेज टोन आउँछ, पढ्छे, हतार हतार जवाफ टाइप गर्छे । केटो यसो नदेखे झै गर्दै केटीको मोबाइल चियाउन खोज्छ, सक्दैन । अलि घाँटी तन्काउँछ फेरी देख्दैन..यता उता हेर्या जस्तो गर्छ ।

केटी(आँखा तर्दै) ओ सर, के हेर्या तेसरी घाँटी तन्काइ तन्काइ, प्राइवेसी भन्ने नि केही चिज हुन्छ नि
केटोः केही होइन...यसो के लेख्यौ भनेर हेर्या नि हेहेहे
केटी (रिसाउँदै):  जे पायो त्यै हैन है...अर्काको कसलाइ के लेख्या हुन्छ किन हेर्न पर्यो । हामीले तपाइँको केही सोधिखोजी गर्या छम्? हजुर कुन कुन मेडमलाई गफ लडाउनु हुन्छ कैले सोध्छम्? हजुरको गर्लफ्रेन्ड नै होलिन् को को, हामीले कैले पत्ता लाउँछम् हँ? फेरी किन अरूको चै बढ्ता सोधीखोजी हँ??
केटो अवाक् हुन्छ, बोल्नलाई केही शब्द पाउँदैन ।
केटीः ल म हिँडे, काम पर्यो ।
केटोः .... पख न एकछिन
केटीः मेरो काम पर्यो क्या...ल बाई । बिल तिर्ने तिम्रै पालो हो है आज...
 केटी उठ्छे र ओर्लिने भर्याङ्ग तिर लाग्छे ।

*****

केटी रेस्टुरेन्ट बाहिर पुगेकी मात्र हुन्छ, उसको फोन बज्छ । यस्सो हेर्छे, उठाउँदिन । एक घन्टी सकिने बित्तिकै फेरी पनि फोन आउँछ, घन्टी टुट्न लागेको मात्रै हुन्छ उठाउँछे ।

केटीः हजुर..
फोनको अर्को तिर कुनै केटो हुन्छ (यो फरक केटो हो है, अर्थात केटो नं. २)

केटोः के हो? मेसेज रिप्लाई पनि छैन, फोन् पनि उठ्दैन त ।

केटी (अलि झर्किँदै) रिप्लाई गरेको छु त, अनि भन्ने बित्तिकै फोन उठाउन पाइन्छ र सँधै । म गाडीमा थिएँ, याँ मान्छेको हात हल्लाउनै नमिल्ने गरी भिड थियो गाडीमा

केटोः ए ए, अनि कता छौ ।

केटी (यसो दायाँ बायाँ हेर्दै)ः कता हुनु नि, घर जान लागेको बाटोमा छु । गाडीमा थिएँ भनिन, उल्टै शंका गर्नुहुन्छ के तपाईँ त..

Popular Posts