Tuesday, June 25, 2013

म फुर्सदमा छु (गजल ८५)

बगरका ढुंगा टार्छु, म फुर्सदमा छु ।
हिउँदमा बाढी बार्छु, म फुर्सदमा छु ।।

काम गर्ने कोही यता भेटिएलान् कि ।
देश बनाउने बात मार्छु, म फुर्सदमा छु ।।

ढिलो गरे पक्का हुन्छ हतारमा के भर ।
कामकाज पर सार्छु, म फुर्सदमा छु ।।

ढुंगा ढुंगा जुटे पहाड, जुधेमा धूलो ।
धूलो माटो नै बढार्छु, म फुर्सदमा छु ।।

फलको आश नगर भनि 'गीता'ले भन्यो । 
जित्न बाँकी सबै हार्छु, म फुर्सदमा छु ।।

'एकतारे' सँधै मिठो कहाँ होला र? ।
चुप् लाग् भनि म हकार्छु, म फुर्सदमा छु ।।

Saturday, June 8, 2013

दाग

बसन्तपुरको ईनारमाथी बसेर
सिसाको गिलासमा लोकल चिया
खुब स्वाद मानेर खान्थयौँ

मिठो स्वाद चियाको हुन्थ्यो कि गफको
कि हाम्रो साथको हुन्थ्यो
कहिल्यै याद गरिएन

एकदिन गफैगफमा
दिल खोलेर हाँस्दा
तिम्रो गिलासको चिया छल्किएर
मेरो छातीमाथी पोखिएको थियो
तातो चियाले पोलेको थियो,
तर पोलाइले पीडा दिएन


अहिले पनि त्यही टिशर्ट लगाउँछु
हरेक चोटी धुन खोज्दा
सेतो टिशर्टमा लागेको दाग
नमेटियोस् जस्तो लाग्छ

Popular Posts