Friday, April 24, 2015

चलिरहेको जिन्दगी (कविता)

मेरो फेसबुकको दश बीस स्टेटस
टुईटरमा भ'को देश बनाउने बहस
अफिसमा बिजी भै छुटेको फोनकल
छुट्यो धेरै कफि याट सिभिल मल


कैले पूर्व कैले पश्चिम फेरि रहने प्लान
साँझ कसलाई भेट्ने?साथी या अन्जान
कुराकानी भने सँधै गरियो आकाशे
शायद धेरै छुटे होलान् साथीका बतासे

छोडियो दुईचार बर्थडे अनि पार्टी
सुनियो तिनैका अनेकौ घुर्की
मनले जता तान्यो उतै तिर लागियो
बीचमा केही स्टिक गाँजा नि तानियो

"नभेटेको धेरै भयो" भनि लगाईएका गफ
बहाना मिल्यो फेरि मौसम र ट्राफिक जाम
भेट्छु भनि गरिएका अनेक वाचा
आफै बन्द भए सम्भावनाका ढोका

यसरी बित्यो कति दिन अस्तव्यस्त
एकछिनमा सूर्योदय एकछिनमै सूर्यास्त
कति दिन भो, क्यालेन्डर नि हेर्या छैन
चल्ने जिन्दगी कुद्दैछ, ब्रेक वशमा छैन

* जावेद अख्तरको 'पिछले सात दिनोंमे' बाट एकदमै प्रभावित

Saturday, April 18, 2015

एकतारेलाई थाहा छैन




हरिभक्तले न्यूरोडमा ढल्मलिदैं 
फुराएका गीत कहाँ होलान्?
लक्ष्मीप्रसादले मैतीदेवीमा धूँवा उडाउँदै 
कोरेका कविता कता होलान्?

एकतारेलाई थाहा छैन!

Monday, April 13, 2015

गजल ९२



न त अडाउँछ न त बहाउँछ लहर
घोप्टिएको डुङ्गालाई के छाल के बगर

जुन यात्रीले बाटोलाई अपनाउँछ
पाईला जहाँ रोकिन्छ, त्यही हो घर

समय मै आउनु जोगाउनु मलाई
म्याद हुन्जेल ओखती, गुज्रेमा जहर

Sunday, April 12, 2015

पानीको कथा (कविता)

यो पानी
जति लहर बनी उर्लोस्,
जति बादल बनि उडोस्
धर्तीको गुरूत्व तोडी भाग्न सक्दैन
थोपाथोपामा टुक्रिएर बर्सिन्छ र
ठोकिन्छ यही धर्तीमा


आकाशे पानी र आँखाको पानी
दुवैको कथा उस्तै उस्तै ।

Popular Posts