Saturday, September 23, 2017

त्यैँ लाउँला चोखो पियार - ४

हिँड्नका लागि कहिल्यै हिँडिएन । गुड्नकै लागि भने धेरै चोटी गुडियो । अरू त के हुनु? लक्ष्य त साथीसँग भेटघाट मात्र थियो । पोखरा जाने कुरा थियो, तारतम्य मिलेन । मान्छे पनि थिए, बाइक पनि थिए, समय पनि थियो । एउटो लाइसेन्स मिलेन ।

हाइवे, हाइवे जस्तो रहेन । ओभरटेक गरम् खाल्डोमा जाकिने डर, नगरम् बाह्र चक्के र टिप्परको चिप्लेकीरे पारामा परिने । धूँवाधुलो मजाले खाइयो । काठमाडौंबासीले धेर गनगन नगरे हुन्छ, हाइवेबासीले उनारू भन्दा कैयौं गुणा बेसि धुँवाले टपिङ गरिएको धूलो खान्छन् ।

गोरखा पुगियो । थाकियो, सुतियो । बिहानै गोरखा दरबार हेर्न जाने कुरा भयो ।

Wednesday, September 13, 2017

त्यैँ लाउँला चोखो पियार - ३

"मोटाउनू भएछ ।"

हिजोआज सुन्यासुन्यै छु । साँच्चिकै मोटाएँ कि भन्ने भ्रम भइसक्यो । २० वर्षको उमेरसम्म ४५ केजीको थिएँ । एकचोटी हेभी छलाङ लिएर ५४ केजी पुगेँ । कोरिया गइयो । दारू खाइएन । तर साथीहरूको बङ्गुर सीतन टन्नै खाइयो । ६७ केजी भइयाथ्यो । जिम पनि गरियो । पाखुराका मासु बटारिएर तनक्क हुँदा आत्मरतिमा पनि रमाइयो । अहिले ६५ छु । धेरै होइन ।

त्यैँ लाउँला चोखो पियार - २

गजल लेख्न रहर लाग्छ । गजल लेख्न सकिँदैन ।

 गीत सुन्न मन लाग्छ, लेख्न मन लाग्दैन । गीत लेख्न कर पनि लाग्छ ।

शेर फ्याट्ट फुर्छ । शेर मिलाउन समय लाग्छ । शेर समातेर गजल बनाउन समय त कत्ति कत्ति । के के न पहाड उचालेजस्तो गजल बनायो, साथीहरूलाइ सुनायो, फ्याँस्स प्रतिक्रिया । नबुझेका हुन् कि मेरा भावना नै फितला, बुझ्नै गाह्रो ।

त्यैँ लाउँला चोखो पियार - १

गजल कस्तो हुनुपर्छ भन्ने वादविवाद चलिरहेछ ।

गजलको सिद्धान्त यो हो भन्ने तर्क एकातिर छ । अर्काथरिले लेखेका गजल त गजल हैन भन्ने तर्क पनि छ । आफैंले लेखेका गजल पनि गजल भएनछन् भन्ने तर्क पनि उनकै छ । गजलका सिद्धान्तका किताब पनि छापिएकै छन् ।

गजल भनेको यस्तो हुनुपर्छ भनेर हात फाल्दै गजल घन्काउने पनि गजल कै तर्कमा छन् । वाहवाही आउनु पर्छ, गजलले जुरूक्क पार्नपर्छ भन्ने पनि तर्क छ । जनताले रूचाएपछि गजल यस्तै हुनुपर्छ भन्ने तर्क पनि छ । गजल सुनेर वाहवाही गर्ने ठूलै जमात पनि पछि लागेकै छन् । 

Popular Posts