Friday, May 18, 2018

दाह्रीका कुरा

खै के झोँक चल्यो, दाह्री काटी दिएँ ।

काट्नै पर्ने बाध्यता त थिएन, पाल्ने रहर पनि थिएन । हुन त पालेको हैन, नकाटेको मात्र थियो । काटिदिएँ ।
मायालुले बारम्बार भन्ने गर्छिन्, दाह्री काट्नुस् । 'पैले दाह्री नपाल्दा तपाइँ राम्रो देखिनु हुन्थ्यो, आजकाल त फोहोरी हुनु हुन्छ ।' अब उसलाइ मेरो पारा के थाहा, मान्छे त म सरसफाइ गर्ने हुँदै हैन । कुन दिन उसको आँखा र मन झुक्किएको थियो र मलाइ सफा देखिन्, खै?

भित्री मनको इच्छाले उनीलाइ रिझाउन दाह्री काटेको पनि हुनसक्छ, तर उनीसँग भेटघाट नभएको पनि धेरै भएको छ । आज दाह्री काटेर आजै भेट हुने सम्भावना पनि थिएन । तर जे होस्, यो अनुहार उसैका लागि मात्र पनि त हैन । मेरो चिल्लिएर राम्रो भएको अनुहार अरूलाइ पनि मनपर्न सक्छ नि त ।

Friday, February 9, 2018

मेरो मन तँ पत्थर बन्

"चिया चिसो भो"
सारा संसारको पीर एकतरफ, आमाको चिया चिसो हुने चिन्ता एकतरफ ।

बिहान बिहानै पाँच बजे चिया पकाएर खुवाउने आमालाई के थाहा, छोरो भर्खरै निँदाएको हो ।
आजकाल निँद्रा हराएको छ । रातभर के के खेल्छ दिमागमा । मलाई आफैंप्रति बडो फूर्ति थियो कि जत्ति सुकै तनाव भएपनि निदाउन सक्छु । हुन पनि जस्तो सुकै तनावपूर्ण अवस्थामा पनि निदाउँथे र आनन्द हुन्थ्यो । तर आजकाल के भएको छ? निद्रा गायब छ । एक शेर लेखिएको थियो गफैगफमा ।

'तिमी आएपछि यी भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथाहरू साँचेर'

भित्ताहरू अब चैं साँच्चिकै बोल्लान् ।

Sunday, January 28, 2018

गुनासो

"नयाँ आउने सरहरू लाइनमा बस्नुस्, लाइन् नमिच्नुस् त"
"यसका लागि नि लाइन बस्न पर्ने हो?"
"हिजो अपरेसन गरेकाहरू लाइनमा बस्न पर्दैन"
"बहिनी एकछिन है, म यहीँ छु"
"टोइलेट कता हो"
 बिसौं मान्छेहरूको भीडमा सयथरि कुराकानी । म भने एकोहोरो मोबाइलमा टुइटर हेरिबसको थेँ ।

"ओइ!"
टाढा कतै सम्बोधन भएको थियो, टाउको एक्कासी उतैतिर घुम्यो । कानले हैन, मनले आवाज चिन्यो । हो उही हो ।
भर्याङ छेउमा उभिएर हाँसिरहेकी थिइन् । मस्त मोटाइछे । कपाल लामो भएछ, रङ्गीन भएछ । तर चिनेँ ।

मैले उसको स्वरूप चिन्ने हैन रहेछ । मेरो मनले उसको उपस्थिती अनुभूति गर्ने रहेछ ।

"के हेरिराख्या? लभ पर्ला फेरि" पहिले पनि मैले एकोहोरो हेरिरहँदा यस्तै भन्थी ।

Popular Posts