नयाँ वर्षको पहिलो दिन, त्यो पनि विदेशमा । देशमा हुँदो हुँ त क्यालेन्डर, रेडियो, टिभी, सुनसान बाटोघाटो आदि-ईत्यादीले चिच्याई चिच्याई नयाँवर्ष र विदाको घोषणा गर्दो हो । तर यो देशमा नयाँवर्षको चहलपहल कहाँ र किन पाउनू? फेसबुकमा नेपाली राजदूतावासका कर्मचारीहरूले नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए, जाउँ कि जस्तो लागेको थियो । त्यसै पनि बीसवटा देशका मान्छेसँग कनिकुथी अँग्रेजी बोल्दा बोल्दै वाक्क भईसकेको थिएँ । राम्रै जमघट होला नेपालीहरूको, केही नभए पनि नेपाली त बोल्न पाईन्छ नि भन्ने सोचियो । अरू युनिभर्सिटीमा पढी रहेका साथीहरू पनि जाने भएपछि, जाने जाँगर चल्यो । फेरी हिजो भर्खर किनेको नयाँ क्यामेरामा नेपालीहरूको फोटो खिँचेर नै उद्घाटन गरुँ कि जस्तो लागेर आयो ।

साथीहरू सँग साँझ दूतावास नजिकको स्टेसन बाहिर भेला हुने सल्लाह भयो । दूतावास भर्खरै नयाँ भवनमा सरेको रहेछ, कसैले देखेको चैं रहेनछ । दिइएको ठेगाना पहिले नै गुगल नक्सामा हेरेको चै थिएँ तर नक्सामा हेर्नु र ठाउँमै पुगेर हेर्नुमा आकाश जमिनको फरक हुन्छ । त्यसमाथि कसैको पनि मोबाईलमा ईन्टरनेट नचल्ने, कसरी जाने भन्ने समस्या पर्यो । एकजना साथीले दूतावासमा फोन गरेर बाटो सोध्नु भयो,