Tuesday, July 30, 2013

मिसाइल त्रास (कथा)

तस्वीर साभारः नेपाल साप्ताहिक
साँझको बेला हल्का हिउँ जस्तो आकाशबाट झर्दै थियो। हिउँ हो वा पानी हो, मैले ठम्याउन सकिनँ। सब-वे भित्र एसीको तातो हावाबाट एक्कासि खुलामा आउँदा अत्यन्त चिसो महसुस भयो। चिसोले ठिहिर्‍याएर हात पाइन्टको खल्तीभित्र हालेँ। अप्रिलको सुरुआतमा यो अचम्मको मौसम थियो। हिजोसम्म कलेजमा प्रोफेसरले 'स्प्रिङ् लाग्यो, अब मौसम न्यानो हुन्छ, जताततै स्प्रिङ् फूलहरू देखिनेछ' भन्दै थिए त। क्यामेरा लिएर घुम्ने बेला आयो भनेर म फुरुङ्ग परेको थिएँ। तर, यो चिसोपनले अर्कै मोड ल्याउँदै छ।



खल्तीमा हात पस्नेबित्तिकै थाहा भयो, मोबाइलमा कम्पन भइरहेको रहेछ। कसैले फोन गर्दै छ। नेपाल बसुन्जेल मोबाइल भन्ने चीज घाँडो हुन्थ्यो। जहिल्यै बजेको बज्यै गर्ने। काममा, खाँदा, सुत्दा जहिले पनि ट्याउँट्याउँ। कुनै दिन घरमै मोबाइल बिर्सेर अफिस पुग्दा दिनभरि कति आनन्द हुन्थ्यो। गोठमा बाँधिएको गोरुको दाम्लो छुटेजस्तो, मस्त भई डुल्यो। तर, यहाँ आएपछि फोन आएको याद हुँदैन, गर्छ पनि कसले ? फोन गर्नेहरू सबै स्काइप र फेसबुकमा सीमित भएका छन्। क्लासमा साइलेन्समा राखेको फोन साइलेन्सबाट 'रिङ्गिङ् मोड'मा राख्न पनि याद हुँदैन। चिसोका कारण हात बाहिर निकाल्न मन छैन। तर, कसैको जरुरी फोन पनि हुन सक्छ। फोन निकालेँ, आफ्नै समूहको पाराग्वेन साथी सेसीले मसँग कुरा गर्न खोजेकी रहिछ।

"हेलो सबिन, कहाँ छौ ?"

"हेलो सेसी, म त होस्टेल फर्किंदै छु। किन केही थियो ?"

"ओ माइ गड, तिमीले बिर्सियौ ? मेरो ल्यापटप बनाइदिन्छु भनेको होइन ?"

झल्यास्स याद आयो, कति न जान्ने भएर कम्प्युटर बनाउन आउँछ भनेर फुर्ती लगाएको थिएँ। उसको ल्यापटप बनाइदिन्छु भनेको त बिर्सिएँछु।

"ए हो त है ! लबीमा आऊ न। म एकैछिनमा पुगेँ त्यहाँ।"

"ए, हुन्छ। पख पख, त्यहाँ होइन। त्यहाँ चिसो हुन्छ, बेसमेन्टमा आउ न, त्यहाँ अलि सुरक्षति हुन्छ।"

अड्की अड्की, केही सोच्दै, भन्दै थिई सेसी। अजिब लाग्यो, ऊ केही डराएजस्तो लाग्यो। होस्टेलमा केटा र केटीका लागि बेग्लाबेग्लै तला छुट्याइएको मलाई फिटिक्कै रुचेको छैन। मास्टर्स पढ्ने विद्यार्थीलाई पनि माध्यमिक विद्यालयमा जस्तो लगाम लगाउन खोज्छन्। काम परेर भेट्न पनि छुट्टै ठाउँ खोज्नुपर्ने। बेसमेन्टमा भएको टीभी कोठा त झनै रुच्दैन। सधैँ भीड हुने त्यहाँ। तर, उसको छनोटमा परेपछि जानैपर्ने भयो।

एकैछिनमा पुगेँ, चिरपरिचित नक्कली हाँसो अनुहारमा टाँस्दै सेसी आइपुगी। हाइहेल्लो साटासाटपश्चात् छेउको टेबलमा आफ्नो ल्यापटप राखी र थचक्क बसी। मचाहिँ केही नबोली उसको ल्यापटप परीक्षण गर्न थालेँ। केही बढी नै समय लाग्ने देखियो। म उसलाई केही भनुँला भन्दै थिएँ, उसको मोबाइल बज्यो। म ल्यापटपमा व्यस्त भएँ, ऊचाहिँ फोनमा। ऊ स्पेनिस भाषामा बोल्दै थिई। भाषा नबुझिए पनि उसको हाउभाउ हेर्दा केही औपचारकि कुरा गरेजस्तो लाग्यो। कुरा सकिउन्जेल ऊ एकदमै निरुत्साहित देखिन्थी। एकछिन चुप लागेपछि उसैले कुरा सुरु गरी, "तिमीलाई थाहा छ सबिन, म भोलि कोरिया छाडेर जाँदै छु नि, भर्खर मेरो राजदूतसँग कुरा भयो।"

म झसंग भएँ। "ओहो ! के भयो र ? घरतिर सबै ठीक छ होइन ?"

उसले बेलीविस्तार लगाई। उत्तर कोरियाले युद्ध सुरु भएको उद्घोष गरेदेखि नै उसलाई घरबाट फर्किन दबाब आएको रहेछ। अझै विदेशीलाई दक्षिण कोरिया छाड्ने चेतावनी विश्वभरिका सञ्चारमाध्यमले प्रसारण गररिहँदा उसको घरमा सबै चिन्तित भइरहेका रहेछन्। अझै हिजो उसको देशको प्रमुख समाचारपत्रको पहिलो पानामा उसका बारेमा खबर छापिएपछि त स्थितिले अर्कै मोड लिएछ। पत्रिकाले दुई कोरियाबीच युद्ध चर्किन लागेको, उसका बारेमा उसको देशको सरकारले केही वास्ता नगरेको आदि इत्यादि बेलीविस्तार लगाएर रिपोर्टिङ् गरेको रहेछ। साथै, उसकी आमाको एउटा भावनात्मक अन्तर्वार्तासमेत संलग्न गरिदिएपछि सरकारलाई दबाब बढेको रहेछ। यसपछि उसको दूतावासले तत्काल ऊलगायत अन्य विद्यार्थीलाई तत्काल ताइवान सार्ने र स्थिति समान्य नहुन्जेल उतै राख्ने व्यवस्था गरेको रहेछ।

सायद ऊ अझै रन्कोमा थिई, "तिमीलाई थाहा छ सबिन, उता मेरो देशमा मेरा आफन्तलाई यहाँका बारेमा केही थाहा छैन। उनीहरूलाई लाग्छ, युद्ध भयो भने म मात्रै मर्छु यहाँ। मलाई यहाँको अवस्था थाहा छ, म ठीकै छु, केही हुँदैन भन्छु मान्ने होइन। खालि फर्की फर्की भनेर हैरान पारसिके। मलाई मेरो जिन्दगी किन बाँच्न दिँदैनन् ? मेरो पढाइको सत्यानाश गर्ने भए। अब दूतावासले भनिसकेपछि मसँग विकल्प छैन। म जानैपर्छ।"

त्यति कुरा हुन्जेलसम्ममा उसको ल्यापटप ठीक भइसकेको थियो। मैले सकियो भन्नासाथ ऊ उठी। सायद भोलि नै जानुपर्ने र प्याकिङ् गर्नुपर्ने भएर होला हतार गर्दै थिई ऊ।

"धन्यवाद, धेरै धेरै धन्यवाद ! मलाई तिमीहरूको खुब याद आउनेछ," यति भनेर उसले गर्ल्याम्म अँगालो हाली अनि हतार-हतार भर्‍याङ उक्ली।

घडी हेरेँ, रातको ९ बजेको रहेछ। कोठामा पुगेँ, ल्यापटप खोलेँ। नेपालमा हुन्जेलसम्म इमेल कहिल्यै प्राथमिकतामा परेको थिएन। अहिले सुरुमा खोल्ने साइटचाहिँ जिमेल हुन्छ। प्रोगाम संयोजक प्रोफेसरको इमेल भर्खरै बक्सामा झरेको रहेछ। सरसर्ती पढेँ। बेहोरा उत्तर कोरयिाको धम्कीकै बारे रहेछ। उत्तर कोरयिाको धम्कीको गुदी कुरो बल्ल थाहा हुँदै छ। वर्तमान राष्ट्रपति किम जङ् उङ्का हजुरबा तथा उत्तर कोरयिाका संस्थापक राष्ट्रपति किम इल सङ्को जन्मदिन १५ अपि्रलमा पर्छ। किम इल सङ् जिउँदा हुन्जेल उनले भव्य रूपमा जन्मदिन मनाए। १५ अपि्रलका दिन कम्युनिस्ट विरोधीहरूका लागि कालो दिन हुन्थ्यो। सरकारविरोधीको धरपकड हुने, यातना दिने कामको शुभारम्भ यही दिन हुने गथ्र्यो। उनको निधनपश्चात् उनका छोरानातिले यो परम्परा धानेका छन्। अझै नातिहजुर त झनै उग्र छन्। युवा रगत पो हो कि ? पोहोर पनि एउटा टापुमा यही दिन बम खसालेका रहेछन्। अब यसपालि पनि क्षेप्यास्त्र परीक्षण गरसिकेपश्चात् चुरीफुरी चर्को छ, उत्तरका छिमेकीको।

तर, भित्री कुरा खोतल्ने प्रयास गरेँ। कलेजमा पढेको राजनीतिशास्त्रका सबै थ्योरी र तर्क केलाउँदा एउटै निष्कर्षमा पुग्छु। यो एउटा राजनीतिक बार्गेनिङ् मात्र त हो। यति नि नगरे उनीहरूलाई कसले सम्भिmने ? संसारबाट अलग रहेको, भोकमरीले पिल्सिएको देशले संसारलाई तर्साएको न हो। एउटा सानो बच्चाले रोई-कराई आमालाई तर्साउँदै खाना मागेजस्तो पारा देखाउने क्या !

कथम्कदाचित् युद्ध भइहाले पनि कोरिया सरकारले सुरक्षति रूपमा हामीलाई घर फर्काउने व्यवस्था मिलाइदिएको आश्वासन इमेलमा छ। मजस्तै सबै विदेशी साथीहरू चिन्तित छन्, अझै फ्याक्ट्रीमा हप्ताभरि घामको झुल्का नहेरी काम गर्ने नेपाली दाजुभाइहरूको मनस्थिति के होला ? भोलि युद्ध भइहाल्यो भने के होला ? तर, मलाई चाहिँ किन हो किन, कुनै तनाव छैन। उत्तर कोरियाको लगातारको धम्कीले यहाँ केही फरक परेजस्तो लागेकै छैन। सबै उस्तै उस्तै लाग्दै छ। दक्षिण कोरियालीहरूको दैनिक जीवन उस्तै गरी चलेकै छ। बिहान बिहानै हतार गरेर काममा दौडिने, साँझ पर्‍यो कि रेस्टुराँमा भेला भएर खाने-पिउने बानीमा केही फरक आएको छैन। केही भइहाल्यो भने यी लाखौँ कोरयिन पनि पीडित हुनेछन्। म एउटा बबुरो डराएर वा भागेर के फरक पर्छ र ? फेरि कथम्कदाचित् किम जङ् उङ्ले सन्केर हमला गरिहाले भने पनि कोरिया, जापान र अमेरिका मिलेर उसलाई ध्वस्त पार्नेछन्, उत्तर कोरियाले त्यो जोखिम उठाउन सक्छ जस्तो मलाई लाग्दैन। ह्या ! बेकारमा किन टाउको दुखाउनु ?

मेरा लागि सब-वेभित्रको यात्रा सधैँ दिक्क लाग्दो हुन्छ। मान्छे नै मान्छे तर सबै चुपचाप। सबै जना आ-आफ्नो मोबाइल समातेर गफ गररिहेका हुन्छन् तर आवाज निकालेर होइन्, च्याटमा। कसैलाई कसैको वास्ता हुँदैन, सबै आफ्नो सानो भाँडोमा हराएका हुन्छन्। आफूलाई बस र माइक्रोको भीडमा धक्का खाएको बानी, यो नियमितता अजिबै लाग्छ। धन्न, आज इब्राहिमसँगै आएको छु, गफ गर्ने साथी छ। इब्राहिम प्यालेस्टाइनबाट पढ्न आएको हो। पहिलोपटकको भेटमा ऊ हाइ भन्ने शब्दबाहेक अरू केही नबोली चुपचाप बसेको थियो। मान्छे त वरिष्ठै ठिस हो जस्तो लागेको थियो। मलाई मुस्लिमहरूसँग संगत गर्न अलि अप्ठ्यारै लाग्छ। भन्छन् नि, मान्छेको पहिलो प्रभाव नै अन्तिम हुन्छ। तर, उसको कुरा बेग्लै छ। ऊ कट्टर मुस्लिम हो तर अतिवादी होइन। नमाज पढ्छ तर अरूजस्तो सधैँ कुरान र जेहादको कुरा गर्दैन। धार्मिक कुराहरू अरूमाथि जबरजस्ती थोपर्दैन। आफ्नो धर्ममाथिको विश्वास र अरूको आस्थाप्रति सम्मानका बीच सन्तुलन राखेर व्यवहार गर्छ। साँच्चै भन्दा ऊ मेरो यहाँ सबैभन्दा मिल्ने साथी हो।

सेसी आज कोरिया छाडेर गई नि भन्दा उसलाई अचम्म लागेछ। उसको किनको जवाफ मैले छोटकरीमा दिएँ, "उसको देशमा कोरयिन युद्धको ठूलो भय फैलिएको छ।"

उसको कुरा अति मार्मिक रूपमा आयो।

"मलाई पनि मेरो बुबाले दैनिकजसो फर्किन भन्नुहुन्छ। तर, म जाँदिनँ। हामी यहाँ छौँ, यहाँका मान्छेहरूसँग जिन्दगी बिताउँदै छौँ। यहाँका मान्छेले केही दुःख भोग्नुपर्ने अवस्थामा हामीले कसरी छाडेर जान मिल्छ ? मैले मेरो बुबालाई भनिदिएको छु कि म फर्किन्नँ। यदि युद्ध भइहाले पनि रेडक्रसको स्वयंसेवक बन्नेछु र युद्धपीडितका लागि काम गर्नेछु। मेरो परिवार र बच्चा तपाईंले हेर्नू भनिदिएको छु। हेर सबिन ! यो अवस्था मेरा लागि नयाँ होइन। मेरो देशमा हामी सधैँ तनावमा हुन्छौँ। कुन बेला इजरायलको मिसाइल हाम्रो घरमा खस्ने हो, हामीलाई थाहा हुँदैन। युद्धको पीडा मलाई थाहा छ। सकेसम्म नहोस्, भइहाल्यो भने हामीले दुःख भोग्नका लागि कोरियालाई छाड्न मिल्दैन।" यति भन्दै गर्दा उसले आफ्नो मोबाइलमा वालपेपर राखेको आफ्नो चारवर्षे सानी छोरीको तस्बिर पुलुक्क हेरेको थियो।

त्यही बेला मोबाइलमा फेसबुकको नोटिफिकेसन आयो। नेपाली दूतावासका कर्मचारीले हाम्रो फेसबुक ग्रुपमा पोस्ट गरेका रहेछन्। १६ अपि्रलको दिन यही आउँदो नयाँ वर्षको अवसरमा कोरियामा रहेका नेपालीहरूले संयुक्त रूपमा नयाँ वर्ष मनाउने कार्यक्रम रहेको हुँदा सबैलाई निम्तो गरिएको रहेछ। यो खबरमा मैले हेरुन्जेल २० लाइक आइसकेको छ। २१औँ मेरो हुन पुग्यो।

नेपाल साप्ताहिक, जुलाई १५, २०१३ मा प्रकाशित

No comments:

Post a Comment

Popular Posts