Sunday, April 19, 2020

जन्मिना साथ मरेको एक कृषक

- लक्ष्मण गिरी
(तिलौराकोट, कपिलवस्तु


+२ पढ्ने ताकाको कुरा हो। क्यालेन्डरमा वि.स. २०५९ चैत्र थियो । १० कक्षासम्म कृषि पढेको थिएँ । सामान्य धान, गहुँ लगाउन भन्दा बेमौसमी तरकारी खेती गरे फाईदा हुन्छ भन्ने सोचेर घरकै वरिपरि ४ कठ्ठा खेतमा तरकारी खेती गर्न सुरिएँ । अलिअलि अनुभव, सीप, ज्ञान थियो तर पैसा थिएन । के गर्ने?



मामासँग रु.५,०००/- सापटी लिएँ । करिब ३५००/- चानचुन नलका (हेण्डपम्म) मा पानी तान्ने मोटर जडान गर्दा सकियो । बाँकी पैसाले बिउ- बिजन, ग्रिनहाउस नर्सरी ब्याडको प्लास्टिक, पानीको पाइप इत्यादिमा खर्च भयो।

दुई भाइ मिलेर खुब दुख गरेर खनजोत गरेर काम सुरु गर्‍यौं ।
हुन त हाम्रो काम मम्मीलाई मन परेको थिएन । यसैमा अल्झिएर पढाई बिगार्ने हुन कि? भन्ने पिर थियो उहाँलाई ।  छोराहरू पढेर ठूलो मान्छे बन्न छाडेर दु:ख पाउने पेशा खेतीपातीमा लागेको त कसलाई मन पर्छ र? त्यही माथि ६० बर्षकी हाम्री मम्मी पुरै दुई पुस्ताको फरक । जसोतसो सम्झायौं, बुझायौं, पढाई नबिगार्ने बाचा गर्‍यौं । तर गाउँका मानिसहरू हियाउने, ताना मार्ने, "हलै जोत्ने भए केलाई पढ्नु" जस्ता बचन लाउने गर्थे जुन मम्मीलाई र हामीलाई पनि साह्रै बिझ्थ्यो। तर हामीले आफ्नो सुर छोडेनौ ।

जेठको मध्यसम्म करेला, काँक्रा, भिण्डि, जुकिनि, तरोई, लौका इत्यादि अलिअलि गरेर राम्रै बजार भाउमा बेच्यौं। बजारमा करेला रु.५० प्रतिकिलो हुँदा व्यापारिले हामिलाई रु.३० सम्म दिन्थे। सुरुमा दैनिक ६-७ केजि मिक्स तरकारी साइकलमा बोकेर किराना पसल वा हाटबजार पुर्‍याउँथ्यौं। पछि-पछि ३०-३५ केजि हुन थालेपछि रिक्सामा हालेर हाटबजार पुर्‍याउन थाल्यौं। तौल धेरै नभएपनि परिमाण ठुलो हुँदा साइकलबाट लान मिलेन  ।

अँ, साच्चै! हाम्रो बारिमा फलेको तरकारी गाउँमा सबैको चुल्हो सम्म पुग्यो, नि:शुल्क। हिजो ताना मार्नेहरूले पनि खाए, लाजै पचाएर। मलाई मम्मीले तरकारी त्यसरी बाँडेको मन पर्दैनथ्यो। तर पनि म क्यै भन्दैनथें। खाउन् मेरो पौरख पनि, अलिअलि त किराले पनि नाश गरेकै छ। यि त झन आफन्त/छिमेकी हुन् , कहिले न कहिले त काम लाग्लान नि भन्ठान्थें।

काम सजिलो पटक्कै थिएन । अरु त अरु भिण्डि टिप्दा तेस्को झुस गडेर हाम्रो हात चिलाउने, फोका ऊठ्ने र भत्भती पोल्ने हुन्थ्यो ।  किसानको देखिने दु:ख सबैलाई थाहा भएपनि कमैलाई थाहा होला यस्ता विशेष पिडा। बाँकी दु:ख त छँदैछन् । जसै जसै हाम्रो उत्पादन बढेर २५-३० केजि प्रतिदिन हुन थाल्यो बजार भाउ ह्वात्तै घट्यो। लोकल उपज पनि बजारमा धेरै आउन थाल्यो साथै स्थानिय जातको तरकारीको फसल गाउँ-घरमा फल्न थाल्यो। यति सम्म कि कतिपय तरकारी जस्तै लौका, तरोई आदि त बिक्नै छाड्यो। करेलाले रु. १५ सम्म पाउँदा उपज सकियो । मंगलबारको दिन हाटबजार लाग्ने, ५० केजि भिण्डी चारवटा बोरामा हालेर आफुँ साइकल चढेर गएँ ।

अघिल्लो दिन भिण्डीको बजार भाउ रू. ४ देखि ५ प्रति केजि थियो।
तर अहँ, रू.१ भन्दा बेसी कसैले दिन मानेनन्। मैले प्रायः बेच्ने ५-७ जना व्यापारी बाहेक अरू १०-१५ जनाकोमा पनि गएँ, प्रति रु.२ पाए पनि हुन्थ्यो भनेर किनकी रिक्सा भाडा मात्रै रु.५० तिर्न पर्ने छ। केही सिप लागेन र सोंचे बरू गाउमा लगेर सित्तैंमा बाड्छु वा अरु केही गर्छु तर एक रूपैयाँ किलोमा त तत्रै पनि बेच्दिनँ।
रिक्सालाई फर्क जाउँ भने, उ बिचरो मेरो मायाले हो वा भाडा नआउने डरले हो "जवन दाम मिले उहयम बेच देओ बाबु" भन्न थाल्यो ।

यसै घाटा उसै घाटा फर्काएर ल्याएँ । मलखादमा खाल्टो खनेर सप्पै भिण्डी गाडिदिएँ। बाटोछेउमा गोठ र मलखाद थियो, हिड्ने जतिले त्यो तमासा हेरे। मानिसहरू मलाई किन खेर फालेको भनेर सोधिरहे। म क्यै बोलिन। भाइ आयो, पहिला आश्चर्यचकित मुद्रामा मलाई एकछिन हेर्‍यो त्यस्पछि खाल्डो खन्न सघायो । साँझ मम्मी आउनुभयो। गाँउकाले टन्नै सुनाइसकेका थिए होलान्, मसँग रिसाउँदै भन्नूभो, "मलखादमा चैं किन पुरेको? गाउँका मानिसहरूले खान्थेनन्, नोक्सान गरेर के पाईस्?"

राती खाना खाइसकेपछि मम्मीलाई खुट्टामा तेल दल्ने बेलामा बिस्तारै भनें, "यसरी फिरिमा बाँडेर हो भाउ नआउने। गाउँलेले खाए पनि मलखादमा पुरे पनि मेरो लागि त नोक्शान हो नि मम्मी।" मैले फेरी थपें, "मलखादमा नगाडेर अन्यत्र फालेको भए मान्छेले टिपेर लान्थे, तर किनेर चैं खान्नन तेइ भएर मलखादमा गाडेको हुँ।"

मम्मी केही बोल्नु भएन। टिभि हेर्न थाल्नुभयो।

1 comment:

Popular Posts