साथीले बडो माया गरेर एकथान ब्लुटुथ हेडसेट पठाइ दिए । बडो गजबको चीज भेटिएजस्तो भयो । तार नलाग्ने, कानमा लगाएपछि बाहिरको केही नसुनिने । संसारबाट हराउन यो बाहेक केही नचाहिने!
दशैंका बेला सुन्न पर्यो भनेर बक्सा खोलेर बजाउँछु त चुँ गर्दैन । बेट्री सक्केर बन्द भएको सामान चार्ज गर्दा पनि जाग्दैन त । जति चार्जर ठेले नि, बटन दशथरिले थिच्दा नि भएन ।
गुगल गरियो । यस्तो भइरहन्छ, आत्तिनु पर्दैन भन्ने आश्वासन पाइयो । भिडियोमा देखाएसरि विधीहरू अपनाइयो तर हेडफोन जागेन । हार खाइयो । अन्तिम अस्त्रका रुपमा सोनीको शोरुममा पुगे सामान फेर्दिने रहेछ भन्ने पत्ता लाग्यो ।
हेडफोन उपहार दिने साथीलाई नै गुहारियो आखिर । सातसमुद्रपारी बसेको साथीले के गर्न सक्छ र? मौका मिलाएर फिर्ता पठाउनुस्, साटीवरी पठाउँला भने । भनेपछि लगभग १ वर्ष सुन्न नपाउने ठहर भएर सामान थन्काइयो ।
आज एक्कासी मूड चलेर यसलाई फेरि जगाउँछु भनेर चार्जमा जोडेँ । हेडफोन त अन पो भइदिरा! हरे! कसरी यस्तो चमत्कार भयो त? धेरै कुरा सोचेँ एउटै टुङ्गोमा पुगियो ।
पहिले ४ एम्पिएरको वानप्लसको चार्जरले चार्ज गरेको थिएँ, अहिले टुच्चे १ एम्पिएरको चाइनिज लोकल चार्जरले चार्ज गरियो । भन्नाले यो हेडफोनले एक्कैचोटी धेरै चार्ज धान्न नसक्ने रहेछ । तातेताते गर्दै थोरैथोरै चार्ज दिनपर्ने रहेछ ।
यत्ति सानो विज्ञान, कत्ति ठूलो तनाव ।
No comments:
Post a Comment