आज अचम्म भयो ।
साँच्चिकै हुनु नसक्ने काम भयो ।
सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुगीसकेकी रहिछ । मनले टाढाबाटै मायाको अनुहार नियाल्यो, कतै कुर्न परेकोमा रिस त छैन भनी । मायाको अनुहारमा मिठो मुस्कान थियो । मन ढुक्क भयो अनि हतार हतार पाइला चाल्यो माया तिर ।
नजिक पुग्यो अनि मुस्कुराउँदै बोलायो मायालाई । मनलाई देखेर मायाको मुस्कान झनै उज्यालो भएर आयो । अँगालो नै हालुँला झै गरी हुत्तिदै आई मनको नजिक अनि गालामा विस्तारै प्याट्ट हान्दै भनिन्
"कति कुराएको हँ? "
मनले केही बोलेन, उ एकटक हेरिरह्यो मायाको अनुहारमा । मायाको अनुहारमा आज विशेष चमक छ, यस्तो खुशी दुर्लभ हुन्छ मायाको आँखामा । आज पक्कै केही विशेष हुनुपर्छ ।
अचानक मायाको आवाजले उसको तन्द्रा टुट्यो
"हैन कसरी हेरेको के? लाजै लाग्ने गरी... हिन भित्र क्याफेमा बसुँ..मलाई भोक लागेको छ "
=***=
क्याफेको एककुनामा रहेको सोफामा बस्ने बित्तिकै मायाले मनको हात च्याप्प समाई हाली । सामान्यतया भिडभाडमा नजिक बस्न पनि संकोच मान्ने मायालाई आज अप्ठेरो पनि लागेन । उसले आफ्नो दायाँ हात मनको काखमा राख्दै भनि
"मन हेर त मेरो हातमा...."
मनले मायाको हातमा आँखा पुर्यायो । मायाको हत्केला मेहँदीका रंगीन बुट्टाले कुँदिएका रहेछन् । मनका नजर एकछिन त्यहीँ अडिए । कालिगढले बडो जतन र मेहनतका साथ मन्दिरमा रहेको काठमा कुँदेका उत्कृष्टतम बुट्टा जस्ता कतै सिधा कतै घुमाउरा रेखाहरू मायाको हातमा बडो जतनका साथ कुँदिएका थिए । मनले ती बु्ट्टाहरूमा केही भेटाउन खोज्यो, प्रस्ट भएन उ । फूल जस्तो, फल जस्तो, विरुवा जस्तो, लहरा जस्तो..अल्मलियो मन ती बुट्टाहरुमा...
मायाले मनको कानै नजिक आएर फुस्फुसाइन्
"थाहा छ मन? यो के हो मेरो हातमा?"
मनले नबुझेको संकेत गर्दै दायाँ बायाँ टाउको हल्लायो ।
"यो हाम्रा जिन्दगीका बाटोहरू हुन् । ल राम्ररी हेर त हाम्रो भाग्य रेखा वरिपरि सजिएका फूलहरु.. थाहा छ, हाम्रो जिन्दगी निरस हुन्छन्, घुमाउरो हुन्छन्, एउटा निश्चित प्रवृत्ति बिनाको अस्तव्यस्त छरिएका रेखाहरू जस्तो अल्झिएका हुन्छन् । यो मेहँदीको बुट्टामा भएको फूल, विरुवा, लहराले जस्तै सजाउन जान्नु पर्छ हामीले हाम्रो जिन्दगी पनि.."
माया एकनासले बोल्दै थिइन् "हेर न घरमै आएर भैयाले लगाई दिएको मेहँदी हो, घरमा भएभरका जम्मै मध्ये मेरो हातमा बसैभन्दा गाढा बसेको छ ।"
भन्दै मायाले पुलुक्क मनलाई हेरिन् "मेहँदी गाढा बस्नुको अर्थ थाहा छ मन??"
मनले फेरी टाउको हल्लायो
"मेहँदी जति गाढा बस्यो त्यति मलाई मेरो मान्छेले बढी माया गर्छ क्या.. बुझ्यौ?"
मुस्कुरायो मन "तिमीलाई मेरो माया पनि जाँच्नु परेको है, त्यो पनि त्यो भैयाले लगाई दिएको मेहँदीले??"
"परेन त? के भर छ र तिम्रो?? तिम्रो त नामै मन छ, मन त्यसै पनि सारा संसारमा बेईमानीका लागि कहलिएको छ..."
=****=
साउनको पहिलो दिन, प्रकृतिले धरतीमा छरेको हरियाली टपक्क टिपेर नारीहरूले आफूलाई सजाउँछन् आज । हरियो, पहेँलो चुरा लगाएर सजिएको नारी सौन्दर्यमा प्रकृतिको स्वरुप देखिन्छन् । माया र मन पनि चुरा पसल अगाडी छन्
"थाहा छ नि मन? आज चुरा किनिदिन्छन् श्रीमान् ले श्रीमतीलाई"
"हिँड न त..मैले हुन्न भनेको छैन"
माया पसलमा गएर चुरा छान्न थालिन् । थरिथरि रंगका थरिथरि चुराहरू पसलको टेबलमा सजिएका थिए । बेच्ने साहुनीलाई भ्याइ नभ्याइ थियो । मायाले पनि दुई गुच्छा चुरा उठाइन र मनलाई देखाउँदै सोधिन्
"मन..यो कस्तो छ?"
मन एकछिन अकमकायो..अनि बोल्यो "हरियो छ.."
"धत् लाटा...राम्रो छ कि छैन सोधेको पो त, रंग त म पनि छुट्याउन सकिहाल्छु नि"
"ए ए, त्यसो भए त्यो सादा हरियो लेउ न, राम्रो छ त्यो"
मायाले त्यही छानिन्, दुवै हातमा एकएक दर्जन हरिया चुरा लगाए पछि दुवै हात मनको कान नजिक ल्याई उचालेर हल्लाईन् । चुराको खनक गुन्जियो सँग सँगै मायाको हाँसो पनि, त्यो हाँसोलाई मनको हाँसोले साथ दिँदै थियो ।
=****=
साँझको एकान्त, सुनसान बाटो अनि मायाको साथ.. मन त्यसै फुरुङ्ग थियो । उ एकनासले बोल्दै थियो, आज अफिसमा यो भयो, आज हाकिमले यो भन्यो, आज यो भयो, आज त्यो भयो । माया भने चुपचाप मनको कुरा सुन्दै थिईन् ।
हिँड्दा हिँड्दै एक्कासी मायाले मनको हात समाती ।
मायालाई केही भयो कि भनेर मन अलि अत्तालियो "के भयो माया?"
"स्सससस!!! चुप लाग त एकछिन"
दुवै चुपचाप हिँडिरहे, शान्त वातावरणमा दुई जोडी पाईलाको ताल सँगै एउटा बेग्लै ध्वनी पनि उही तालमा गुन्जिँदै थियो ।
छन् छन् गर्दै बजेको त्यो मायाको हातका चुरा थिए
"तिमीले सुन्यौ मन, यी हाम्रा पाईलाहरूको निरस ध्वनीमा तिमीले किनिदिएको, मेरो हातको चुराले कस्तो मिठो संगीत भरिदिएको छ...कस्तो मिठो र सहज होला है अबको बाटो"
मनै देखि मन मुस्कुरायो अनि बोल्यो
" यी हातहरू जबसम्म गाँसिएका हुन्छन् नि, बाटो कतै नटुंगियोस्, गन्तव्य नै नभेटियोस् जस्तो लाग्छ । मानौं यही बाटो हाम्रो गन्तव्य हो, अनि सँगै हिँड्नु नै हाम्रो भाग्यको नियती...हिँडिरहुँ सँग सँगै"
साँझको शान्त वातावरणमा मन र मायाको पदचाप सँगै चुराको खनक् गुन्जिदै थियो..
=****=
=****=
"मायाले बाँध्यो यसरी उडी जाने मनलाई" Soundtrack from the Movie "Manjari" Written/composed by Kali Prasad Baskota |
dammi monologue. bip
ReplyDeleteThanks Sir :)
Deletemitho prastuti gajjab laagyo sabin ji ,
ReplyDeleteधन्यवाद नरेशजी :)
Deleteमायाको आवाज,मायाको अनुहार,मनले मायालाई,मायाको आँखामा,मनले मायाको जस्ता शब्दको गज़ब प्रयोग भएको एउटा कथा "हरियो चुरा"...
ReplyDeleteThanks brother :)
DeleteFelt good to read this.....
ReplyDeleteHere is a small mistake in it. See the second para of the second scene.
>>>मनले मायाको हातमा आँखा पुर्यायो । मनको हत्केला मेहँदीका रंगीन बुट्टाले कुँदिएका रहेछन् ।
In the second sentence, मन is to be changed as माया...
<<<>>>
एक थाममा मिस्टेक भेटे है दाजु मैले :) "मनको हत्केला मेहँदीका रंगीन बुट्टाले कुँदिएका रहेछन्" यहाँ मनको सट्टा माया हुनुपर्थ्यो। जे होस्, कथा राम्रो लग्यो :)
ReplyDeleteकस्तो चिप्लिएछ दिमाग त, धन्नेवाद :)
Deleteधरै राम्रो,,,, मनै छोयो!!!
ReplyDeleteधन्यवाद रमेशजी :)
Deleteमन छोयो ।
ReplyDeleteधन्यवाद :)
Deleteसबको मन छोयो रे मेरो चै मुटु छोयो है ;-)
ReplyDeleteधन्यवाद :)
Deleteramro chha mana naam maan paryo
ReplyDelete