Monday, December 4, 2017

गफ

हिजो भर्खर आफ्नो एउटा अन्तरवार्ता हेरियो । अनि अस्ति भर्खर फेसबुकमा लाइभ गजल वाचन गरियो । यही बीचमा रेडियोमा पनि कुराकानी गरेर आइयो ।

रमाइलो कुरा के भने, अन्तरवार्तामा चैं 'म बोल्न लजाउँछु' भन्दो रैछु । गफाडी भइएछ । निर्धक्क बोल्दैछु, फेरि 'बोल्न अप्ठेरो लाग्छ' भन्दै रहेछु । आफ्नो गफाडीपन चिन्दैछु बल्ल । मेरा वरिपरी हुनेलाइ थाहा होला, म कति बकबक गर्छु भनेर । मलाइ आजकाल चुप लागेर बस्न गाह्रो हुन्छ, कोही अगाडि पर्यो भने फतरफतर बोल्न मात्र मनलाग्छ ।


एकजना निर्देशकले अर्का एकजना निर्देशकसँग भेट गराए । यी दुवै निर्देशक चैं गफ लाउन खप्पिस भनेर कहलिएका हुन् फेरि । हुन त निर्देशकले कथा भन्न पाएपछि अगाडि बस्नेले सुनेको छ छैन वास्ता नगरी बोल्न थाल्छन् । फिल्म भनेकै त्यही हो । निर्देशकले एकसुरमा आफ्ना कुरा देखाइरहने, दर्शक चुप लागेर हेरिरहने । भलै, पछि मनपरेन भन्न पाउलान् । ती भेटिएका निर्देशकसँग चलचित्रका बारे कुरा भयो । नेपाली चलचित्रमा के कमी छ भनेर विश्लेषण सुनाउनु भयो । केहि बेर त चुप लागेर सुनेँ । तर म बोल्न थालेपछि उहाँ पनि लगभग ५ मिनेट सुनेरै बस्नु भयो । गफ चर्कै लगाइएछ ।

कहिलेकाँही कक्षामा पढाउन, सिकाउन जान्छु । लगभग ४५ मिनेट बोल्दा मुख सुक्छ, घाँटी दुख्छ, फोक्सोले आराम माग्छ । तर गफ लाउन थालेपछि दिनभरि बोल्दो रहेछु ।

मेरो सुन्ने बानी छुटेछ । सुन्न भन्दा बोल्न बढी रूचाउने भएछु । मेरो पढ्ने बानी पनि छुटेछ । किताब खोल्ने बित्तिकै निद्रा लाग्छ । त्यही भएर त हो, जति तनावमा बाँचेपनि राती सुतेकै हुन्छु ।

गफाडी भइएछ ।
अलिकति लेख्छु भन्दा पनि कति लामो भइसकेछ ।

No comments:

Post a Comment

Popular Posts