Friday, February 9, 2018

मेरो मन तँ पत्थर बन्

"चिया चिसो भो"
सारा संसारको पीर एकतरफ, आमाको चिया चिसो हुने चिन्ता एकतरफ ।

बिहान बिहानै पाँच बजे चिया पकाएर खुवाउने आमालाई के थाहा, छोरो भर्खरै निँदाएको हो ।
आजकाल निँद्रा हराएको छ । रातभर के के खेल्छ दिमागमा । मलाई आफैंप्रति बडो फूर्ति थियो कि जत्ति सुकै तनाव भएपनि निदाउन सक्छु । हुन पनि जस्तो सुकै तनावपूर्ण अवस्थामा पनि निदाउँथे र आनन्द हुन्थ्यो । तर आजकाल के भएको छ? निद्रा गायब छ । एक शेर लेखिएको थियो गफैगफमा ।

'तिमी आएपछि यी भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथाहरू साँचेर'

भित्ताहरू अब चैं साँच्चिकै बोल्लान् ।

मर्दिउँ मर्दिउँ जस्तो हुन्छ । आत्महत्या गर्ने तरिकाहरू पनि गुगल गरियो । सबैभन्दा सजिलो मरणको तरिका चैं कार्बनमोनोअक्साइड निलेर रहेछ । डुबेर मर्नु पनि सजिलैको कोटीमा पर्दो रहेछ । यानेकि मरिहाल्न सजिलो छैन ।

मात्र यत्ति कारणले बाँचिएको छ कि मरिहाल्ने कुनै कारण छैन ।

संगीत सबैले सुन्छन् । आफू त अलिअलि संगीत श्रृजनामा सहभागी पनि भइन्छ ।
अचम्म लाग्छ, यो मन जस्तो अवस्थामा भएपनि अवस्था सुहाउने गीत भेटाउने रहेछ ।
बिहानै देखि पञ्चेबाजा फिल्मको ट्याग आइराख्या थियो । वास्ता गरिएन । साँझ पो थाहा भयो आफूले बनाएको एकदम मनपरेको गीत आउन लाग्या रहेछ । कस्तो बेलामा आयो, चाहिएकै बेलामा आयो ।

'म केही बोलुँ कि चुपचाप बसुँ
बोलुँ भने बिझ्छ त्यहाँ, नबोलुँ त दुख्छ यहाँ..
मेरो मन
तँ पत्थर बन्, तँ ढुङ्गा बन्
फूल बनि हुन्न यहाँ'

No comments:

Post a Comment

Popular Posts