Sunday, May 26, 2013

ठगलाई ठग्दा

"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है "
कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहेछ ।
विहान ७ बजेदेखि बसको साँघुरो सिटमा एकोहोरो बसाई, खानीखोला देखि शुरु भएको एकोहोरो जाम, उकालोमा इञ्ची इञ्ची गर्दै सरेको बसको पट्यार लाग्दो घच्घच्याईले मस्त निदाईएछ । सिटमा सँगै बसेको साथी पनि कता ओर्लिसकेछ थाहै भएन । चावहिलसम्म जाने भन्दै थियो, सँगै जाउँला भनेर सोचेको थिएँ । अब एक्लै जानु पर्ने भयो ।हुन त नजिकै त हो बसुन्धरा भनेको । फेरी बस पनि पाइएला भन्ने आशा जाग्यो ।कलंकी मै आधाउधी बस खाली भयो । स्वयम्भू पुग्दा त बसमा बसकाो स्टाफ बाहेक जम्मा  ४ जनामात्र बाँकी रह्यौँ ।एउटै परिवार थियो बाकी तीनजना, त्यो पनि म्हेपी जाने रहेछन् । भन्नाले, म मात्र बाँकी रहेँ ।

बसपार्क बाहिरै ओर्लिएँ ।
बस रोक्ने ठाउँमा हेरेँ, लहरै ट्याक्सीहरू रहेछन् । ट्याक्सीहरू भित्र बत्ती नबलेको देख्दा लाग्दै थियो सबै ड्राइभर सुतिरहेछन् । २० मिनेट कुरेँ, बाटोमा फाट्ट फुट्ट बाइक बाहेक केही पनि आएन । अब ट्याक्सी चढ्नुको विकल्प रहेन ।
खल्तीमा हात पुर्याएँ, ल्याम्पपोस्टको मधुरो बत्तीमा हातमा आएको नोट गनेँ । ५० को एउटा नोट, २० को एउटा नोट, १० को दुइटा नोट र ५ को एउटा नोट हातमा देखियो । भन्नाले खल्ती पनि टाट पल्टेको अवस्था रहेछ । अब हिँडेर जानुको विकल्प रहेन । ट्याक्सी चढ्नु भनेको त पैसा खन्याउनू  हो । अब यो सानो लोटा बोकेर म समुद्रसँग भिड्न जान सक्ने अवस्था रहेन ।

बढीमा जम्मा जम्मी ५ किलोमिटर त हो, भएन अब हिँड्नु पर्यो । एक्कासी जाँगर चल्यो, हातमा झुन्डिएको एअरब्याग जुरुक्क काँधमा उचालेँ  । झोलाको बोझले शरिर लचक्कै एकतिर ढल्कियो र त्यो सँगै मेरो जाँगर पनि थचक्कै भयो । नसकिने रहेछ । बिहान झोला पोका पार्दा त हलुकै लागेको थियो, यो झोला यति गह्रुगों होला भनेर सोचेको पनि थिएन । अब अरू उपाय रहेन, ट्याक्सी नै चढ्नु पर्छ । बसुन्धरा सम्मको रू १०० भन्दा बढी आउँदैन..पक्का छ ।

सबैभन्दा अगाडीको ट्याक्सी नजिक पुगेँ, ड्राइभर साब सुतिरहेका रैछन् । झ्यालमा मज्जैले ढक्ढकाउन पर्यो उनलाई जगाउन । निद्रामै बसुन्धरा नजाने भन्ने ठाडो उत्तर आयो । अर्कोमा कोशिश गरेँ, ५०० लाग्छ भन्ने उत्तर आयो । तेश्रो चै २५० मा अडियो । अब यसरी यी डाँकाहरू सँग भिडेर काम भएन । जुक्ति लाउन पर्यो ।
सबैभन्दा अन्तमा रहेको ट्याक्सी नजिक पुगेँ, ढोका खोलेँ, झोला फालेँ अनि बसी हालेँ । ड्राइभर जुरुक्क उठे । बसुन्धरा हिँड्नु दाई भनेँ । उनले नि के मुर्गा फस्यो भन्ठाने, गाडी स्टार्ट गरेर कुदाई हाले ।

बसुन्धरा चोकमा पुगेर ड्राइभर दाईले अलि गति कम गरे, बायाँ तिर घुमाउन भनि हालेँ । त्यसपछि वसुन्धरा भित्रको साँघुरो गल्लीमा दायाँ बायाँ गर्दै घर अगाडीको गल्ली सम्म पुगियो ।ट्याक्सीको ढोका खोलेँ, झोला बाहिर फालेँ, अनि एउटा खुट्टा ढोका बाहिर निकालेर सोधेँ "कति भयो त दाई"
ड्राइभर दाइ त बडो उदार परेछन् "अब भाइलाई यो रातीको बेला के भन्नु? डेढी लाग्छ थाहै छ, मिटरमा पनि आएको छैन हेरेर दिनु न"
मैले हाँस्दै भने "हेरेर दिनु दाई? पचास रूपियाँ दिन्छु हुन्छ??"
ड्राइभर दाइ अलि तनावमा आए "के कुरा गर्या यार, त्यत्तिमा त तेल पनि आउँदैन, मलाइ ठाडो घाटा लाग्छ नि यार"
"कति दिनु त भन्नु न"
"३०० दिनु न भाई, ठिक्क हुन्छ"
अत्यास पारे ड्राइभरले मलाई, खल्तीमा सय रूप्पे नि छैन, तीन सय माग्छन् । तर खुराफात गर्ने आँट लिएरै चढेको, अब त मुटु कमाउनु भएन ।
मुस्कुराउँदै भने "ल दाई अघि नै भन्नु पर्दैन त?ल लिनुस्" यति भनेर खल्तीमा हात पसाएर भएभरिको नोट निकालेर उनको हातमा हाल्दिएँ, फुत्त निस्के, झोला भिरेर दुइ पाईला चलिहालेँ ।
यत्तिञ्जेलमा ड्राइभरले नि पैसा गनिसकेको थिए, बम्किए  "के हो यार, ठग्न खोज्ने?? सय रूपैया पनि छैन त... "

अब के गर्न सक्थे र तिनले, यसो अगाडी हेरेँ, घरसम्म पुग्ने अँध्यारो गल्ली अगाडी नै थियो ।
आँट बटुलेर कड्किएँ
"ऐ खाते, कस्लाइ ठग भन्छस्? यति आउँदा १०० पनि चढ्दैन मिटरमा ३०० माँग्छस् ? मुजी अझै मलाई ठग भन्छस्, पैसा चाहिने भए आइज हिन् त्यो गल्लीमा ..तलाइँ पुग्ने गरि दिन्छु "
मैले औंला सोझ्याए तिर गल्लीमा यसो हेर्यो ड्राइभरले, अँध्यारो गल्लीको अर्को कुनामा के छ देखिँदैन थियो । मध्यरातमा ड्राइभर डरायो,  निस्कनलाई खोलिसकेको ढोका फेरी लगायो । अनि भित्रैबाट कड्कियो "साले, खाते, राँडीको छोरा ...पख्लास्, फेला पर्दैनस् र?"

अब चैँ साँच्चिकै दिमाग चर्कियो, सुक्या हड्डी वरिपरी बगेका नसा भित्र रगत उम्लियो, बाटोबाट एउटा इट्टा उचालेँ र ताकेँ गाडी तिर...गाडीले तुरुन्त ब्याक गियर लगायो र कुद्यो उल्टो दिशा तिर...

जाँदा जाँदै हेरेँ, ती ड्राइभरले मेरो अनुहार याद गर्ने कोशिश गर्दै थिए । म भनेँ त्यो ट्याक्सीको नम्बर याद गर्दै थिएँ । अब त झुक्किएर नि त्यो नम्बरको ट्याक्सी चढ्नु हुँदैन ।

( बुटवलबाट काठमाडौंसम्मको यात्रा पश्चात बसपार्कबाट मेरो वासस्थान बसुन्धरासम्म आउँदाको  यो अक्षरशः सत्य घटना हो ।। केही वर्ष अगाडीको कुरा भएकोले ट्याक्सीको भाडादर त्यही अनुसार समायोजन गरेर बुझिदिन पाठक वर्गमा अनुरोध । )

7 comments:

  1. ha ha ha Ramailo lagyo dai , jasta lai tastai garnubhayecha

    ReplyDelete
    Replies
    1. गर्नै पर्यो नि भाई !

      Delete
  2. hahahahahaha manche herda ta yatro antla jasto ta chaina ta

    ReplyDelete
    Replies
    1. सुक्या हड्डीमा लुक्या बल हुन्छ । त्यो कहिलेकाँही बाहिर देखिन्छ नि :)

      Delete
  3. waaaaow... paddai jaada kahilei nasakkiye hunthyo jasto laagyo.. Amazing.. ma ta refresh vaye,,.. good job, write more... :)

    ReplyDelete
  4. haha .. khatra cha :))

    ReplyDelete

Popular Posts