Wednesday, July 15, 2015

एक ब्लगमा टुइटर फरर


आजकाल जुनसुकै पत्रिकामा टुइट छापिएको देख्नु भएको छ?
सामाजिक सञ्जाल चलाउनु हुन्छ?
अनि टुइटरको बारेमा उत्सुकता छ?
टुइटरमा आउनु भयो तर टुइटरको बारे केही मेसो पाउनु भएको छैन?
ल आउनुस्, टुइटर सिकौं ।

टुइटरमा एकाउन्ट बनाउन त सकिहाल्नु हुन्छ । टुइटरले वेलकम टू टुइटर भनेर एउटा अन्डाको तस्वीर राखेर तपाइँलाई संसारको भीडमा धकेलीदिन्छ ।

अब संसारसँग त भिड्न सकिन्न हेर्नुस्, हामी भिड्ने आफ्नै नेपाली दाजुभाइ, दिदीबहिनी सँग न हो । तसर्थ नेपाली टुइटर संसारमा बाँच्नु छ भने केही पदावली र त्यसको अर्थ जान्नु जरूरी हुन्छ ।

आउनुस् टुइटरका पदावली बारे जानकारी लिऔं ।


डिपीः फेसबुकको प्रोफाइल पिक्च अर्थात टुइटरमा तपाइँको खाँप्चो । तपाइँको राम्री अनुहार । राम्रो/राम्री नभएमा केही अमूर्त पाराका खिँचिएको आफ्नो तस्विर ।  चिनिन नचाहने तर टन्नै फ्रेन रिक्वेस्ट चाहनेहरूले गुगल गरी भेटिएको एउटा राम्री दक्षिण भारतीय अभिनेत्रीको तस्वीर । अन्डा ।

हेन्डलः तपाइँको नाम । चलनचल्तीभन्दा पर राखिएको अल्टर पाराको नाम ।  अँग्रेजीको उच्चारणको माँबेन गर्ने मौका ।

डिस्प्ले नेमः तपाइँको नाम । अनौठो, ठेट नेपालीपन भएको शब्द । मनमा लुकेको चरित्र ।

फेकः वास्तविक जीवनमा चिन्नेहरूले नाम र फोटो झट्ट नचिनुन् भनेर छद्म भेष लिइ टुइटर चलाउने टुइटे । हुँडार ।

टुइटः फेसबुकको स्टेटस । १४० अक्षरमा मनको ख्याँस् ख्याँस पोख्ने वाक्यांश । प्रशिद्ध हुन नेतालाइ गाली, देशभक्ति, आमा, प्रेम वियोग सदाबहार विषयवस्तुको प्रयोग ।  समय परिस्थिति अनुसार जता मनलाग्छ त्यताको पक्षमा ढल्किएर गफ हाँक्ने काम  । टुइटेले हाल्ने आफ्नो फोटो, सेल्फी, खानाको फोटो । खाने मुत्ने, हग्ने, सुत्ने जानकारी दिइएको वाक्यांश ।

टाइमलाइनः तपाइँले पुच्छर समाउनु भएका सबैको ख्याँस ख्याँस बग्ने ठाउँ । तमाशा हेर्ने ठाउँ ।

फलोअरः फेसबुकको फ्रेन । गफ सुन्न मनलाग्ने टुइटेका जमात । फलो गरेसी फलो ब्याक गर्छन् भन्ने आसले बेलाबेलामा र्याकर्याक गर्ने जनताको हूल ।

फलोब्याकः फेसबुकको फ्रेन रिक्वेस्ट एसेप्टेन्स । कसैले तपाइँको पुच्छर समाते उसको पनि पुच्छर समातेर क्रियाकलाप । मनलागे पनि नलागेनि सज्जन पल्टेर अरूका वाहियात टुइट हेर्ने काम ।

फलोइङ्गः कसैको पछि लाग्ने काम । आफूभन्दा ठूला लागेका मान्छे, सेलिब्रिटी आदीका बकबक सुन्न मनलागे आफ्नो टेमलाइन भर्ने काम ।

फेभः फेसबुकको लाइक । पहेँलो तारामा टुच्च छुने काम । मनपरेर भन्दा पनि अरूका टुइट हेर्देको छु, मेरो पनि हेर भन्ने आशयले गरिने क्रियाकलाप । आफ्नो उपस्थिती देखाउने टूल । कहिले काँही बहस बढ्दै गएमा कुरा टुङ्ग्याउन गरिने अचूक हतियार ।

रिटुइटः
फेसबुकको शेयर । गज्जब मन खाएका कुराहरू आफ्ना पछुवाले नि हेरून् भनेर गरिने काम । टुइटको गुणस्तरको मापन इकाई । वरिष्ठताको मापदण्ड ।

बतासेः मनको कुण्ठा । छिल्लिएको गफ । सिधै भन्न आँट नहुँदा कुरा राख्ने तरिका । स्टाइल । एक मट्याङ्रा अनेक शिकार ।

डिएमः गोप्य वार्ता गर्ने थलो । टेमलाइनमा केही भन्न इज्जत हुने बोकाहरूले केटीलाइ कफि खान प्रस्ताव राख्ने ठाउँ । फरएभर अलोनहरूको ननभेज गफ गर्ने ठाउँ ।

म्यूटः कसैलाइ अनफलो गर्न आँट नभए, नमिल्ने अवस्थामा आँखामा बुजो लाउने काम । दुश्मनसँग दुश्मनी नदेखाइ औपचारिकता निभाउने टूल ।

ब्लकः आफ्नो पुच्छर नसमाउन् भनेर रोक्ने काम । छिःछीः दूरदूर । वरिष्ठताको मापदण्ड ।

फरएभरअलोनः गर्लफ्रेन/बोइफ्रेन भएर पनि छ भन्न नसकेर सिङ्गल भएँ भनेर गफ हाक्ने जमात ।

फुलीः तारा, एस्क्ट्रिक, * । मध्यमस्तरको गाली ।  सिधै गाली गर्न मनलाग्ने तर लेख्न नसक्नेहरूका लागि सहजीकरण गर्ने शब्द । पत्रिकामा समेत छापिएर नेपाली वृहत शब्दकोषमा समावेश हुन लाम लागेको शब्द ।

वरिष्ठः म, स्वयम्, खुद । कुनै टुइटेले आफूले सोचेजस्तो गरेन भने गरिने सभ्य गाली । टुइटरमा पुरानो । हाइकिङ जाने समूह । मननपरेको कुरा गर्नेलाइ ब्लक गर्ने टुइटे ।





7 comments:

  1. Realistic one!
    I wish I had read this before opening my account on twitter.
    You really have a good command over language Sabin :)

    ReplyDelete
    Replies
    1. Thanks Zappy! :) I wish I had met you before you opened your account ;)

      Delete
  2. 1 hazar 8 swami shree shree shree twittereswor swamijyu baat twittermathiko paricharcha padhiyo ramro lagyo tesail fav hanidiyen comment thokidiyen j parla behorumla :p

    ReplyDelete
  3. मट्यान्ग्रे प्रहारमा बुरुबुर छर्रा हाने छन् ट्वीटेहरुलाई ... अन्त... यो हो नि त चिरबिरे चर्चा !! ट्वीटरमा चुर्फुर गर्ने ले रहर गर्नेले आँखा लाए भोन्त |

    ReplyDelete
  4. खुसि लाग्यो, मैले नबुझेको बतासे बुझ्ने मौका पाएँ, धन्यवाद एकतारे |

    ReplyDelete

Popular Posts