बिहान ६ बजे नै स्कुटर लिएर घर बाहिर निस्किएँ । काठमाण्डुबाट अझैपनि हिमाल देखिँदो रहेछ । भलै तुँवालो, धूलोले आकाश धमिलो होस्, हिमाल भनेको हिमालै रहेछ । कालो ढुङ्गाको थुप्रोमाथि सेतो हिमालको ढिस्कोको आफ्नो अस्तित्व देखाएर हामीलाइ हाम्रो हैसियत सम्झाउन छाडेको रहेनछ ।
सूर्योदय अझैपनि खुलेरै देखिने रहेछ । दिनको पहिलो झुल्काले दिने उर्जा बेग्लै हुन्छ । चिसो मौसममा पारिलो घाम आँखामा बिझाउँदा सपनाबाट तङ्ग्रिन नसकेको मन जुरूक्कै हुँदोरहेछ ।
राजधानीका बाटोमा बिहानै कलेज जान गाडी कुर्ने अल्छि नअल्छि किशोरकिशोरी, युवाको जमात अझै पनि हुँदो रहेछ । उनिहरूको अनुहारमा कलेज, स्कूल गएर साथीहरूसँग रमाइलो गर्ने उत्साह, दिक्कलाग्दो कक्षाकोठाको माहौल, वृत्तिको तनाव आदिइत्यादी पालैपालो झुल्किन्छन् तर उमेरको जोशले यी सबै भाव छोप्दा रहेछन् ।
बिहान बिहानै ट्राफिक प्रहरीको अनुपस्थितिको फाइदा उठाउँदै तछाडमछाड गर्ने ट्रिप्पर, लामोदूरीका सवारी, निजी सवारी उस्तै रहेछन् । राजधानी हर्न निषेधित हुनुभन्दा पहिले कस्तो थियो भनेर बुझ्न बिहानै बाटोमा निस्किन पर्ने रहेछ । नियम पालना आफैबाट नहुने रहेछ । नेपाली अराजक छन्, अराजकता नै रूचाउँछन् ।
खासमा बिहानी पहिलोपटक देखेको पनि हैन, तर धेरै पछि भोगेको चैं हो । जीवनले परिवर्तन माग्दो रहेछ, मागेको रहेछ । धेरैदिनसम्म बिहानी नदेखेको यो मनमाथी आज सूर्यको किरण पर्दाखेरि बेग्लै खुशी अनुभूति भइरहेछ । परिवर्तन चाहिँदो रहेछ । भलै यहि घाम दिनदिनै आँखामा परिरहँदा दिक्क लाग्ने होला, अहिलेलाइ यो बिहान बडो आनन्ददायी छ ।
म एकछिन रमाउँछु है त ।
No comments:
Post a Comment