Sunday, November 10, 2013

यसपाली भोट के मा?

चारै तिर चुनावको चर्चा छ । कोही चुनाव हुन्छ र जितौंला भनेर चर्चा गर्नमा व्यस्त छन् । कोही चुनाव होला र आफू हारिएला, हराइएला भनेर विरोध गर्न व्यस्त छन् । जे जस्तो होस्, नेपाली लागि पर्या छन् चुनावमा । 

अधिकांशलाई चुनावसँग वास्ता छैन भन्दै चुनावकै गफ गर्नबाट फुर्सद छैन । सबै चोर हुन्, कसले चै के गर्छ र भन्दै कोही न कोहीलाई गाली गर्नबाट फुर्सद हुन्न यस्तालाई । कोही भने भोट हाल्दिन भन्दै कुर्लदै छन्, भने कोही चै कसले खुवाउँला र त्यसका नाममा भोट हाल्छु भनि गफ दिउँला भनेर ढुकेर बसेका छन् । 


अब भोट नदिनेलाई किनार गरौं, भोट दिनेहरूका लागि कुरा गरौं  । हाम्रो देशमा हरेक दलले एउटा चुनाव चिन्ह पाएका हुन्छन् । त्यो चुनाव चिन्हहरूको थुप्रो छापिएको मतपत्रमा ड्याम्म स्पष्ट, नलतपतिने गरि स्वस्तिक छाप हानेर मत दिईन्छ । सर्वसाधारणलाई सदैव यही चिन्ता हुन्छ कि कुन चिन्हमा भोट हाल्ने? आउनुस् यस्सो विचारम्...

रूख, हाम्रो देशको मतपत्रमा सर्वाधिक छापिएको चिन्ह होला । यसले धेरै चोटी जित्यो पनि । धेरै चोटी जित्ला झै गरेर हार्यो पनि । तर रूखमा मत दिनु यसपाली बेकार छ? यो रूखको के काम? पैले पैले रूख काट्न मिल्थ्यो, हाँगाबिँगा, स्याउला, मूढो बाँडीचुँडी गरी घरघर लान मिल्थ्यो । अहिले त कानुन लाग्छ रूख ढाल्दा । फेरी रूख पनि सामुदायिकीकरण भएको छ । झुक्किएर कतै कुनै रूखमा आफ्नो बञ्चरोले छुनुभयो पनि त्यो क्षेत्रका उपभोक्ता आएर तपाइँलाई जरिवाना गराउँछन् । तेसै पनि आजकाल रूखहरूमा जराखाने किरा लाग्या छ, दह्रो छैन आजकालका रूख । त्यसैले रूख काम छैन । 

एक जमानाको चर्चित चिन्ह हो सूर्य । यो पनि काम छैन ।  अब यो पृथ्वीको तापक्रम भव्य वृद्धी भएर वातावरण खल्बलिइ रहेको बेलामा के का सूर्य? कुनै जमानामा पो देशमा चिसो हुन्थ्यो र घाम ताप्न काम लाग्थ्यो । अहिले त संसार भरि जस्तै हाम्रोमा नि गर्मी बढेको छ । ओत लाग्नु पर्ने बेलामा सूर्य झन् रापिलो भएको छ । न्यानो हैन जलाउने । सनस्क्रिन लोसन लाएर घाम ताप्न को जाओस्? ठाडै बहिस्कार ।

अर्को नयाँ तर धेरै नै हल्ला गर्ने चिन्ह छ, हँसिया र हथौडा । आधिकारीक रूपमा भन्नु पर्दा गोलाकार भित्र हँसिया र हथौडाको क्रस । ग्रो अप डुड...कसले यो आदिमकालिन हतियार प्रयोग गर्छ आजकाल? किसानका घरघरमा ट्रेक्टर लगायत आधुनिक हातहतियार भित्रीसक्यो । कति मजदूर र किसानहरू अरब, कोरिया र पूर्वी एसियामा गएर अत्याधुनिक मेसिन चलाउने भइसके । अब यो घाउ लाउन सक्ने प्रबल सम्भावना भएका आदिमकालिन हातहतियार सङ्ग्रहालयमा राख्ने बेलामा हामीले मत खसाउनू?? हुन्न । नसोचम्...

अर्को पुरानो जमानाका बुढाखाडाहरूको चिन्ह छ, हलो । आजकल फोनमा हलो हलो गर्ने जमानामा कसैले खेतमा हलो चलाउँछ?? भटटट ट्रेक्टरले खेतमा एकैछिनमा काम हुन्छ..तो हलो के काम? फेरी हलो चलाउन एकहल गोरु चाहिन्छ । अहिलेका गोरु जम्मै साँढे भइसके, कामचोर छन् । कसले पालोस् दुइछाक खाना दिएर गोरुलाई...धत्..हलो पनि काम छैन ।

हिन्दू धर्मावलम्बीहरूका लागि एकदम सम्मानजनक चिन्ह छ, गाई । गाई बडो काम लाग्ने जनावर हो । यसले दूध दिन्छ, गहुँत दिन्छ...गोरस दिन्छ । तर के हामीले आमा समान मानेको प्राणीमाथी ठ्याप्प लाएर स्वस्तिक छाप ठोक्न मिल्छ? अलि गहिरिएर सोच्नुस्, अर्कै कोणबाट सोच्नुस्... गाई भनेकी लक्ष्मी, लक्ष्मी भनेकी धन...गाईलाई मत दिएर हामी यसरी लोभी हुन मिल्छ? चाकरी गर्या भएन? भगवानले चाहिन् भने त हाम्रो मनोकांक्षा बुझेर दिईहाल्छिन् नि, हामीले मत दिन्छु, धन देउ भनिराख्नै पर्दैन नि ।

हातमा जलेको मशाल...ओहोsss कस्तो सुन्दै क्रान्तिकारी चिन्ह । तर सोच्नुस्? लोडसेडिङ देखि आजित हुनु भएका हामीले यसरी मशाल, मैनबत्ती, टुकी, लाल्टेनलाई प्रवर्द्धन गर्न मिल्छ? चिम, ट्युबलाइट भए पो एउटा कुरा । सोच्दै कस्तो प्रतिगामी चिन्ह...धत्...टाढै राखम् ।

कता कता मतपत्रमा गिलास देखेँ । यो चै अलि काइदाको छ है । गिलास...चिया खान नि काम लाग्ने, पानी खान पनि काम लाग्ने । अँ...रात परेसी दारू खान पनि काम लाग्ने...  
हो बाई...गिलास त हामी नेपालीको एकताको प्रतिक हो !!! बिहान चिया पसलमा होस्, घरपरिवारमा चिया खाँदा होस् वा राती भट्टीमा रक्सी खाँदा होस् , हामी सबै नेपाली बडो सौहार्दपूर्व एक भई यो गिलासलाई समाउँछौँ । मत भनेको गिलासमा नै दिनुपर्छ...गिलासले जिते सबै नेपालीले जित्छ । तर होस् गर्नुस् है, गिलासको रक्सी सक्किने बित्तिकै हरेक दुई नेपाली कि त नाली तिर ढल्किन्छ, कि त मुक्का लात चलाउँछ । 


(यो रमाइलोको लागि लेखिएको लेख हो । माथि उल्लेखित चुनावचिन्ह प्राप्त दलहरूसँग मलाई कुनै नाफा-नोक्सानवाला मतलब छैन । यो लेखका आधारमा लेखकलाई कुनै दलविशेषको पछि लाग्ने वा खेदो खन्ने व्यक्तिका रूपमा नहेरियोस् )

No comments:

Post a Comment

Popular Posts