Thursday, September 10, 2015

सोफाको लक्जरी

बिहान ६.३० बजे कक्षामा पुगिसक्नुपर्ने । अल्छीको काल म, अनि सँगै कक्षा लिने साथी पनि उस्तै । कक्षा शुरू भएको दोश्रो दिन मै दुवै मिलेर एकैचोटी निर्णय गरेका थियौं, बिहान नपढ्ने । साँझ ५.३० मा कक्षा शुरु हुन्छ, कार्यालय समय पछि ठिक्क हुने । घाटा एउटै । हरेक दिन हुने साथीहरूको रमाइलो जमघट छुट्ने भयो । तर केही दिन न हो भन्ने कुराले आफैलाई आस्वस्त पारेर हामी कक्षा लिँदै थियौं ।

आज कक्षा नहुने अरे भनेर हिजो थाहा पाउँदा खुब खुशी लागेको थियो । झटपट साथीहरूलाइ टुइटरमा डिएम गरियो । भोली ४ बजे आराधना क्याफे बागबजारमा भेटौं भनेर । सबैको सहमती पनि भएको थियो । आफ्नो ३.३० मै फुर्सद भइसकेको थियो । त्यै बेला ठ्याक्कै डाक्टर साहेबले फोन गरे । "यता त बबाल पानी पर्या छ, म त भिजेँ है । आज आइन्न ब्रो । "
अब पानी सँग भिडेर आउनुस् भनेर कर गर्नु भएन । तत्काल जुलु महाराजलाई फोन लगाइयो तर जवाफ उस्तै
"दाइ ठूलो पानी आउन लाग्याछ, आउन्न म त" । अब बाँकी ३ जना रहे । उनीहरू त आउलान् भनेर आश थियो ।



आराधना क्याफेमा मेरो अखाडा हुनुको धेरै कारण छैन । एक बागबजार पायक पर्ने ठाउँ र त्यहाँ त्यतिको स्तरको अन्य रेस्टुरेन्ट नहुनु । दुई, रेस्टुरेन्टका साहुजीहरू हर्क, दुर्गा सँग राम्रो दोस्ती छ । तीन, रेस्टुरेन्टमा मज्जाको सोफा छ र त्यसमा ढल्केर बस्न बहुत मजा आउँछ । म पुग्दा सोफा खाली नै थियो । गएर ढल्कीहालेँ र चिया मगाइ हालेँ । टुइटर हेर्न थाले, साथीहरू एकएक गर्दै पानीका कारणले नआउने भन्दै जनाउ गर्दै थिए । म भने निराश हुँदै थिएँ । फेरी कक्षा संयोजन गर्ने महोदयाले आज कक्षा हुने जनाउ गरिसकेकी थिइन् । साथीहरू सँग भेट हुने उत्साह, कक्षा हुने निरूत्साह बीच के गर्ने भन्ने दोधारमा सोफामा लम्पसार तन्किएको थिएँ र मुर्मुरिँदै थिएँ।

हो, ठ्याक्कै त्यही बेला तीन जनाको समूह त्यो  रेस्टुरेन्टमा प्रवेश गर्यो । ती छेवैको फलामे कुर्सी तानेर बस्नै लागेका थिए, एउटाले प्वाक्क बोल्यो "सोफामा बसुँ न" ।
तीनीहरूले मलाइ हेरे । अर्को बोल्यो "उ मान्छे बसीराख्या छ त"
पहिलो फेरी बोल्यो "के भो त? सोफामा आरामले बसौं न "
उ मतिर फर्कियो र भन्यो "रिजर्भ हो?"
मैले भने"हैन, म बसीराख्या छु । साथीहरू आउँदैछन् । "
मैले यति भन्दा नभन्दै दुइजना बसी सकेका थिए ।
पहिलोले औपचारिकता पुरा गर्यो "भाइ, हामी बस्यौं है" तर रूखो, ठाडो शैलीमा ।
मेरो कन्सिरी ताती सक्या थियो । अरे भाइ, कुनै रेस्टुरेन्टमा एउटा टेबलमा दुइटा समूह बस्छ र? त्यो पनि जबरजस्ती? न चिन्नु न जान्नु, हेर्दै भुसतीघ्रे गुन्डा पाराका हुल्याहाहरू...
तैपनी.... रिसाइहाल्नु त भएन "ठीकै छ बस्नुस् । साथीहरू आए भने उठीदिनु होला"
पहिलोले ठाडै हेप्यो "ठिक छ, जो उठेपनि हुन्छ"

मेरो रीस अधिकतम विन्दूमा पुगिसकेको थियो र मलाइ असह्यो भयो । रेस्टुरेन्ट साहुलाइ बोलाउनै लाग्या थिएँ, टुप्लुक्कै आइपुगे । मैले केही बोल्नु अगावै उनले दोश्रो केटो तर्फ हात बढाउँदै "सर आराम हुनुहुन्छ " भनिहाले । अर्थात चिनजान रैछ ।
अब मैले केही बोल्ने ठाउँ रहेन । तीनजना भुसतीघ्रे अगाडी म उफ्रेर केही गर्नसक्ने हैन । बेकारमा उफ्रिदाँ थचारिउँला भन्ने पीर भयो । चुप लागे र बाँकी रहेको चिसो चिया घुटुक्क पारेँ ।




उनीहरू आफ्नै तालमा मस्त थिए । कुरा सुन्दै जाँदा कुनै विद्यार्थी सङ्गठनमा माथी सम्मै पुगेका रहेछन् । सत्ताधारी पार्टीका ठूला नेताका नाम लिँदै कुरा गर्दै थिए । एकछिन कुरा सुने पछि उनीहरूको कान्ड बुझियो । पहिलो केटोलाइ कसैले कुट्ने धम्की दिएको रहेछ । उसले केही समय दोश्रो केटोलाइ आफ्नो हैसियत, औकात र क्षमता बुझाउन खर्च गर्यो र त्यसपछि दोश्रो सँग दोश्रोको पहुँच याद दिलाउँदै आजै राती कुरा छिनोफानो गर्ने अनुरोध गर्यो ।

दोश्रो केटा पार्टीमा अलि माथी नै पुगेको मान्छे रहेछ । बीच बीचमा फोन आउँथ्यो । एकदम नम्र र मधुर बोलीमा "अँ, ठीक छ, हुन्छ, हेरुँला, म बिजी छु" भनिरहन्थ्यो । पहिलो केटाको बकबक नरोकिने छाँटकाँट देखि उसले कफी घुटुक्क सक्कायो र चुरोट मगाउँदै भन्यो "हेर भाइ, गल्ती तिम्रो हो... तर पनि म कुरा राख्छु"


यो सबै बीचमा म त्यहाँ भएको, नभएको उनीहरूलाइ केही वास्ता थिएन । निस्फिक्री पार्टी, सङ्गठनका रहस्य छलफल गर्दै थिए । म मा मु गाली जोड्दै नाम काट्दै अरू सदस्यका कुरा काट्दै थिए । शायद उनीहरू पहुँचवाला नै थिए, जसलाइ कसैको डर थिएन । म भने रीस र डरको बीचमा बसेर के गरूँ सोच्दै थिएँ । यत्तिकैमा अर्को कुनामा रहेको सोफा खाली भयो । एक मन त उठेर जाउँ जस्तो भयो तर मेरो दम्भले मलाइ रोक्यो ।

"म पहिले यता बसेको, यिनीहरू पो पछि आएका । जाने भए यै ठाँस्नीहरू जान्छन् । " लगभग ४५ मिनेट भइसक्दा पनि आफ्ना भन्ने कोही झुल्किएनन् त्यहाँ । हत्तपत्त अर्को साथीलाई फोन गरेँ । उ भने अर्कोतिर अर्डर गरेको खाजा पनि स्थगित गरेको कुद्यो । अर्का दाजु आउँछु भनेको आधा घन्टा भएको थियो, उनलाई पनि फोन लगाएँ । दुइजना त आउने भए, आएपछि यिनीहरूलाई उठाउँछु भन्दै मुर्मुरिएर बसेँ । खाजा छाडेर आउने साथी तुरन्तै आइपुग्यो र सिधै हात मिलाउन पुग्यो । उ सँगै बस्न खोज्दै थियो तर तिनीहरूले उसलाइ पनि वास्ता गरेनन् ।
अब सङ्कट पर्यो । उसलाइ अर्को सोफामा बस्ने सङ्केत गरेँ । मन दोधार भयो । मुख खोलेर उता जाउ भनुँ कि जुरूक्क उठेर जाउँ । उता जा भनुँ भने यी डनहरू सँग सिधै द्वन्द हुन्थ्यो । त्यसै पनि त्यत्रो बेर मलाइ गनेका नि छैनन् । अझ भिड्न थालेँ भने उल्टै आफूलाइ हानी होला भन्ने पीर पर्यो ।

अन्ततः दम्भले शान्तिलाई जित्यो । उठेँ । बाटो छोड्दैन त पहिलो भुसतीघ्रेले । आवाज गह्रुँगो बनाउँदै बोलेँ "भाइ,बाटो छाड" । उसले पुलुक्क हेर्यो, उठ्यो । आफ्नो कुरा जारी राख्दै उसले बाटो छाड्यो । म उठेँ र अर्को सोफामा गएर बसेँ । केही समय पछि उनीहरू पनि कुरा सकाएर हिँडे ।


अब फेरी दम्भ जाग्यो, रेस्टुरेन्ट साहुलाई बोलाएँ र सोधेँ "ती को हुन्?" साहुजी अचम्भीत भए । "सर कै साथी हैन र?" मैले घटना वेलिविस्तार लगाएँ र अलि कड्किँदै सोधेँ "कस्ता कस्ता गुन्डा आउँछन् हौ"

साहुजीले हाँस्दै भने "यस्तै हो सर..चिन्ता नमान्नुस् । तपाइँको चियाको बील पनि उनीहरूकै घानमा परेको छ"

No comments:

Post a Comment

Popular Posts