Tuesday, May 9, 2017

मेरी प्रिया एमाले

देशमा विकास हुँदैछ, देशको विकास हुँदैछ । अस्ती भर्खर एकजना हाकिमले नेपालीको घरघर उज्यालो पार्ने पवित्र उद्देश्यले छिमेकीसँग सोझै बत्ती खरिद गर्ने निर्णय गर्न पहल गर्नु भएको थियो । बत्ति त किन्ने, अझै बजारभन्दा तीन गुणा कम दाममा किनेर जनतालाई वितरण गर्ने अरे । त्यसै पनि उर्जाको मारमा परेका हामी, उहाँप्रति कृतज्ञ छौं, त्यसमाथि गुणमाथि गुण थपिदिने हुनुभयो ।

अँ, वहाँको यो कदमको चौतर्फी आलोचना पनि भइराछ । बिनाप्रतिस्पर्धा, प्रक्रिया नपुगाई काम गरेर फाइदा लिन खोजेको आरोप लाग्यो । तथ्य, आधारहीत तथ्य, अपूरो तथ्यका आधारमा आलोचना बढी भएपछि वहाँले जवाफ दिनुपर्ने नै भयो । पत्रकार सम्मेलन गर्नुभयो । त्यहाँ वहाँमाथि लागेका आरोपका बारेमा बडो दुःखि हुँदै आँसु पुछ्दै भन्नु पर्ने भयो "म गलत हुँ भने सजाय दिनुस्"


मन बडो द्रवित भयो मेरो । म पनि त यस्तै हुँ । सही काम गर्न खोज्छु, आलोचना खेप्नु पर्छ । आखिर नतिजा राम्रो भए पुगेन? प्रक्रिया जे सुकै होस् ।

प्रेममा जो पनि पर्छ, म पनि बारम्बार परेँ । प्रेमिका छिन्, बिहे गर्न रहर दुवैलाई छ । मलाई पनि जोश चल्यो । जे पर्ला पर्ला, नतिजा प्रमुख हो आँट्नु पर्छ ! सिधै फोन गरेँ र भनेँ "प्रिय, देशमा के के भइराछ थाहा छ नि? विधि, प्रक्रिया गौण हो, नतिजा प्रमुख हो । छाड यो बिहेसिहेको लफडा । आउ, हामी हाम्रो पिरतीको फूल फुलाउँ । सिधै छोरी जन्माउँ"

उता प्रिया आश्चर्यचकित भइन् र सोधिन् "फेरि गाँजा खायो?"

म त होशमा बल्ल आएको थिएँ "हेर, बिहे गर्नका लागि प्रक्रिया बडो लफडापूर्ण छ । पहिले तिम्रो घरमा फकाउ, अनि मेरो घरमा फकाउ । आमा, बाउ, दाइ, भाइ सबैलाई मनाउ । मेरो आम्दानी, हैसियत, घरबार सबैका बारे स्पष्टीकरण देउ । तिम्रो बानीव्यहोरा,  शीलस्वभावदेखि लिएर चरित्रसम्मको परीक्षण हुन्छ । सबै मिलिसकेपछि बिहेखर्च जोड्न पर्छ । समाजले के भन्छ भनि सोच्नुपर्छ । धेरैको मुख थुन्न पर्छ । सबै भइसकेपछि पनि मान्छेले भोजमा खसीको मासुमा हड्डी बढी भयो भनेर गुनासो गर्नेछन् । "

उतातिर मौनता छायो, म भने बोलीरहेँ । "यो प्रक्रिया झन्झटिलो र अनुत्पादक छ । यसले नतीजा राम्रै दिन्छ भन्ने के छ? आऊ सर्टकट मारम् । तिम्रो मेरो मनपरिषद्ले ठाडै निर्णय गरिसक्यो, कार्यान्वयन गरौं । झ्याम्म पिरतीको फूल फुलाउँ र तिमीले काखमा खेलाउँ । मलाई छोरी चाहिन्छ है?"

"चुप" उताबाट मेरो कुरा च्वाट्टै काटियो । "हुँदैन त्यसो गर्न, ल धेरै सोच्ने हैन । समय आएपछि सबै कुरा हुन्छ"

हैट् । म नतिजाको कुरा गर्छु, त्यो पनि यत्ती राम्रो नतिजाको । ऊ भने विधि मै अड्केकी छे ।

मेरी प्रिया त एमाले रहिछिन् । उसलाई सूर्यसँग बडो प्रेम छ । सूर्य उदाएपछि भेट्छिन्, सूर्य अस्ताउनू अघि नै माइत फर्किन्छिन् । म रातीको कालो आकाशमा जूनतारा देखाउन खोज्छु, ऊ भने घामबिना मलाई भेट्दै नभेट्ने ।
प्रिया, तिम्रो सूर्जे मोह रहुन्जेल  कसरी फुल्छ पिरतीको फूल प्रभू?

भन्न त "आफ्नो गाउँ आफैं बनाउँ हाम्रो नारा हो, सुखी नेपाली, समृद्ध नेपाल उस्कै अभिभारा हो !" भन्छिन् तर न उनले हाम्रो सपनाको गाउँ बनाउनतिर सोच्छिन्, न त म एक नेपालीको सुख र समृद्धिका बारे सोच्छिन् ।  उहि बुर्जुवा शिक्षा, सामन्ति संस्कारले थोपरेको विधि र प्रक्रियामा अल्झिरहने हो भने कसरी नतिजा आउँछ प्रिया?

तिमी अब कि मलाई रोज कि त एमाले ।
तिमी नभए के भो त? गिलासको सहारा त छँदैछ ।

1 comment:

  1. She is practical.
    *आसुले भिजेको एमोजी*

    ReplyDelete

Popular Posts