Monday, October 2, 2017

त्यैँ लाउँला चोखो पियार - ५

दशैं गयो । सक्कियो । नेपालीको एकहप्ते चुमचुम सक्कियो ।

काठमाडौं आजदेखि फेरि जाग्यो । बिहानै देखि कोटेश्वर चोकमा जाम थियो । तर धूलो अझै उडिसक्या छैन । आज पानी परेपछि भएको हिलोले भोली बिहान धुलाम्य बनाउने चैं पक्का छ ।

सदा झैं दशैं मनाइएन । नमनाउने खासै केही कारण छैन । बच्चै देखि मनाइएन,  ठूलो भएपछि झन् मनाउने कारण पनि चाहिएन । मामाघरमा दक्षिणा दिने चलन छैन । पैसा नआउने दशैं बच्चालाई के स्वाद? अँ मासु टन्नै खान पाइन्थ्यो । तर नेवारको घरमा मासु नभएको अवसर विरलै हुन्थ्यो ।

अनुजले रातदिन पढ्नु छ भनेर टुइट गरेको गर्यैछ । त्यसले जे गरेनि चाहिने भन्दा बढी गर्छ । तर जो सँग जे छ, त्यहि सो-अफ गर्ने न हो । टीकाको दिन सबैका टीका लगाएको फोटो सो गर्दै थिए, अष्टमी नवमी तिर खसी काटेको, मासु पकाएको फोटो छ्याप्छ्याप्ती । दशैंमा पढ्ने किताबको फोटो पनि देखियो । टुइटेले मजाक उडाए, मजाक उडाउनेलाई लक्षित गरेर पढन्तेले पनि जवाफ फर्काए । कुरा उही न हो, जो सँग जे छ त्यही सोअफ गर्ने हो । मेरो घरमा ७ वटा कुकुर छन् । यो दशैंमा कुकुर कै फोटो हालियो । इन्स्टाग्राम, फेसबुक, टुइटर जततातै कुकुरको फोटो ।

दशैं भन्नु पट्यार लाग्दो विदा, बन्द शहर, परिवार र आफन्तजनमा व्यस्त साथीभाइ । पोहोर वाक्क लागेर "दशैं भनेको राज्यले थोपरेको पर्व हो" भन्ने तर्क दिँदै फेसबुकमा स्टेटस राखिया थियो । थुप्रै दुश्मन कमाइयो त्यो बेला । यो पालि त्यति पनि जाँगर चलेन ।  विदा घोषणा हुने बेलामा के-के न गरौंला झैं लाग्या थियो । केही गरिएन । यसपाली दारू धेरै खाइयो । दशैं लागेपछि अल्छिले छोप्दो रहेछ ।

साथी भेटेको बेला गिटार बजाउन लगाइयो, तीनथान जति फेसबुक लाइभ हानियो । रमाइलै भयो मेरा लागि । कमैले हेरे । बालै हो । मनलागे हेरिहाल्लान् । अझै वाल मै छ । साथीले हामी सँगै बसेर बनाएका दुइचार वटा गीत सल्टाएछ । तर मैले पैसा पाउने नपाउने ठेगान छैन । पैसाकै लागि काम गर्ने त हैन, तर गीतकारलाई हेप्यो भन्ने जस्तो पर्यो भने गीत-सीत दिइन्न । जाबा पाँच दश हजार कमाउने बाटो अरू पनि छन् हाम्रा ।

भोली देखि अफिस खुल्छ । जान जाँगर छैन । काम गर्ने जाँगर पनि छैन । आधिउधी जनता आउन्नन् अफिस । मायालु फर्किसकिन् । उसको पनि दशैं सकियो । अब भेटघाट हुन्छ । उसको साथीको पनि लभ परेछ । खै किन हो, कत्ति खुशी लाग्यो-लाग्यो । मन बुरूक्क उफ्रेर "ट्रिट दिन्छु" भन्दिएँ । ठमेल तिर जानु पर्ला । त्यही छ के रमाइलो त...

लैजाऊ घुमाउन मलाई ठमेल बजार
त्यैँ लाउँला चोखो पियार .....

No comments:

Post a Comment

Popular Posts