Wednesday, September 13, 2017

त्यैँ लाउँला चोखो पियार - ३

"मोटाउनू भएछ ।"

हिजोआज सुन्यासुन्यै छु । साँच्चिकै मोटाएँ कि भन्ने भ्रम भइसक्यो । २० वर्षको उमेरसम्म ४५ केजीको थिएँ । एकचोटी हेभी छलाङ लिएर ५४ केजी पुगेँ । कोरिया गइयो । दारू खाइएन । तर साथीहरूको बङ्गुर सीतन टन्नै खाइयो । ६७ केजी भइयाथ्यो । जिम पनि गरियो । पाखुराका मासु बटारिएर तनक्क हुँदा आत्मरतिमा पनि रमाइयो । अहिले ६५ छु । धेरै होइन ।


देश फिरेपछि साँझको भात खान छाडियो । भोक नलाग्ने हैन, अल्छि लागेर हो । खानै अल्छी लाग्ने । लास्टमा खाने हुँदा भाडा माझ्न पनि अल्छि लाग्ने । नखानु नै आनन्द । नखादाँ पनि मोटाइने रहेछ । रक्तचाप उच्च भएको छ । रक्तचाप कम भएको भ्रममा ४ वर्षजति दिमाग घुमाइयो । भएको चै उच्च रहेछ । रीस पनि अचाक्ली उठ्छ । झगडा नपरेको दिन हुन्न । अल्छि बेहोरा, शरिर पनि अल्छि छ । रीस उठ्छ तर झगडा गर्न पनि अल्छि लाग्छ ।
भानुभक्त सरले थाइरोइडको शङ्का गरेका छन् । जचाउन जानु छ । अफिस छेउ मै राष्ट्रिय ल्याब छ, टेकु अस्पताल छ । जान अल्छि लाग्छ । जा भन्ने पनि कोही छैन, हिँड् जाउँ भन्ने पनि छैनन् ।

भूँडी पुट्ट लागेको छ । बल्लतल्ल टाइट टिसर्ट लाउन जाँगर चलेको थियो यो पाली । ५ वटा जति खरिद पनि गरियो । एकदिन अफिसमा एकजनाले डाइलग मारेपछि लाउन छाडियो । मान्छे त म फुर्तिलो नै हुँ । अस्ति अनिलकोमा जाँदा जुत्ता लाउन साह्रै सकस भयो । उठेर खुट्टासम्म हात पुगाएर फित्ता बाँध्थे, मरिगए सकिएन । भूँडी लाग्नु तनाव रहेछ । केही दिन अब फित्तावाला जुत्ता लाइन्न । दशैंको सपिङ जुत्ता "स्लिप अन क्याजुअल लोफर" हुने भयो ।

दुब्लो हुँदा सबैले कति दुब्लो भएको भनि सुनाउँथे । बल्लतल्ल मोटाएँ, अब मोटाएकोमा पनि समस्या हुनेभयो मान्छेलाइ । ठाँस्नेहरू, मेरो ज्यान, म जेसुकै गरूँ । म दुब्लाउँदा मायाले "ल भाइ खाउ" भनेर खुवाउने कमै थिए । अहिले मोटाउँदा दुब्लाउने उपाय दिने हजार छन् ।

 यत्रा नि कुरा सुनिन्न । मेरो ज्यान, मेरो मर्जी ।

लैजाऊ घुमाउन मलाइ ठमेल बजार...
त्यैँ लाउँला चोखो पियार..

No comments:

Post a Comment

Popular Posts