Friday, October 19, 2012

क्यामेरा (कथा)

"तिमी पनि म सँगै हुने भइदिए कति रमाईलो हुन्थ्यो है मन?" कुराको प्रसङ्ग एक्कासी मोड्दै माया बोलिन्
मन एकटक मायालाई हेरि रहेको थियो, मात्र  "अँ..." भन्यो
"तर पिर नगर, म सँधै तिम्रो मन भित्र हुन्छु नि है मन"
मायाको यो मायालु बोलीले भित्रै सम्म छोयो मनलाई, मात्र मुसुक्क हाँस्यो अनि सुस्तरी भन्यो "लाटी.."
माया भने आफ्नै कल्पनाको उडानमा थिई
"म युरोपको विभिन्न देशमा पुग्नेछु, अनि त्यहाँ देखिएका रमाईला राम्रा दृश्यहरू यो आँखा भरी कैद गरी ल्याउनेछु, अनि म फर्किएपछि हामी दुवै एकपटक फेरी जाउँला ती ठाउँहरूमा "

मायाको यो अस्वाभाविक कल्पनाको उडान देखि देखि मन मख्ख पर्दै थियो । मन र मायाको जोडीमा मन अलि भावुक र काल्पनिक पाराको हो भने माया भने अलि यथार्थपरक थिइन् । वर्षौं सम्म समाजिक क्षेत्रमा काम गरेको अनुभव संगाली सकेकी मायाको एकपटक  सीमा काटेर विदेशको घुमाई गर्ने रहर भन्ने बल्ल तल्ल पुरा हुँदै थियो । पासपोर्टमा भिसाको ठप्पा लाग्ने बित्तिकै मानौं मायाको पखेटा पलाएका थिए । खुट्टा भूँईँमा थिएन ।  बगैंचामा डुल्ने पुतली झै माया रंगिबिरगीं तरंग छर्दै डुल्दै थिइन् भने त्यो पुतली समाउन पछि पछि कुद्ने बालक झै मन बनेको थियो । उ झनै खुशी थियो ।

"लाटी... ती दृश्यहरू कैद गर्न मनका आँखा चाहिन्छ र? एउटा क्यामेरा लिएर जानु नि?"
एक्कासी मायाको अनुहार उत्रियो "क्यामेरा?...क्यामेरा त म सँग छैन नि मन । के गर्नु?"



ओहो क्यामेरा !! कुरै कुरामा एउटा ठूलो समस्या सामु आइपुग्यो, अनि दुवै यसरी शान्त भए मानौं यो समस्या सँग भिड्नका लागि तयारी गर्दैछन् ।  संसारको सबैभन्दा राम्रो ठाउँहरूको भ्रमण गर्ने पर्यटक सँग क्यामेरा नहुनु..कस्तो विडम्बना ।

मायासँग जे समस्याको पनि समाधान हुन्छ । उसले मन तिर औंला सोझ्याउँछे समाधानका लागी, यहि नै उसको समाधान हो । अहिले पनि यही भयो ।
"मन ! तिमीले खोजेर ल्याई देउ क्यामेरा जसरी भएपनि..."
मनसँग जवाफ थिएन, किनकि उ सँग क्यामेरा थिएन ।
"अब तिमी भएपछि म अरूलाई भन्दिन जाबो क्यामेराका लागि.. म ढुक्क भएँ है"
चुनौती नै भयो मनका लागि अब त । यदि उसले क्यामेरा जुटाइदिएन भने मायाले अरूलाई भन्ने छिन् क्यामेराका लागि । मायाले अरू नै कोही ऐरे गैरे सँग जाबो क्यामेरा माग्ने छिन् ।
मन बोल्न बाध्य भयो "हुन्छ ! म व्यवस्था गरुँला, तिमी पिरै नगर न..."

*******

"दाई, तपाइँसँग क्यामेरा छ? सानो खालको भएपनि हुन्छ"
कुराको क्रम तोड्दै एक्कासी मनले बोल्यो
रविदाई पनि झोंक चल्यो " तिमीले तीन चोटी सोधी सक्यौ यार, कति भन्नु म सँग छैन भनेर"
मनले आज भेटेजति जम्मै साथीसँग सोधेको एउटै प्रश्न थियो "क्यामेरा छ यार?"
तर कसैले पनि सकारात्मक जवाफ दिएको थिएनन् । दिउन् पनि कसरी? चाडबाडको बेला छ, सबै घर जाने तरखरमा, त्यो क्यामेरा भन्ने चिज पनि उस्तै । जसको पनि अभिन्न अङ्ग भईसकेको । नबोकी हिँड्नै नहुने ।
मन निराश भईसकेको थियो ।

त्यही बेला मनको मोबाइल बज्यो । नचिनेको नम्बर रहेछ, एकछिन हेर्यो अनि उठायो ।
"हेलो ! मन बोल्नु भएको हो?"
"अँ, बोल्दैछु"
"म तप्का हाउसबाट बोल्दैछु । मलाई यहाँको नम्बर राजेशले दिनुभएको "
"ओहो राजेश । अघि भर्खर बसपार्कमा दसैका लागि घर हिँडेको राजेशलाई विदा गरेर आएको । उँसग पनि त क्यामेरा थियो, तर दिएन । मोरो कत्ति न फोटो खिँच्ने जस्तो गर्दैथियो । क्यामेरा सिधा सम्हाल्न आउन्न त्यसलाई, दिएको भए के जान्थ्यो"...मनमनै मन मुर्मुरियो । 
"ए राजेश, मेरो साथी हो । भन्नुस् न के पो थियो"
"वहाँको Gift Hamper थियो म सँग, वहाँले तपाइँलाई छोडिदिनु भन्नु भएको छ"

अब दशैंका बेला यी ठूलाबडा अफिसका मान्छेहरूले व्यापार प्रवर्द्धन गर्ने मौका पाउँछन् । उपहार, कोसेलीको बहानामा दारूका महंगा बोत्तल पठाएर मान्छे फकाउन खुब जानेका हुन्छन् । राजेशका लागी पनि मनले दारूको बोत्तल बोकीदिनु पर्ने भयो आज ।
रूखो स्वर पारेर मन बोल्यो " ए Tत्यो गिफ्ट कहाँ पुर्याइदिनुहुन्छ भन्नुस् न, म अहिले बागबजारमा छु"
"ए ! यसो गरुँम् न हाम्रो कार्यालय यही पुतलीसडक हो, तपाईँ आएर यो गिफ्ट पिकअप गरिदिनुस् न !"
रिसले मुर्मुरिँदै मनले फोट केही नभनि फ्याट्ट काटी दियो ।
"अँ ! तेरो काम छ अझै म आईदिनुपर्ने है??" मनको मुखबाट फुस्की हाल्यो ।
रविदाई त्यही बेला बोलिहाले...
"के गिफ्ट रैछ, जाउँ न हेरुँ, त्यही त हो"
दसैको बेला गिफ्ट भन्ने बित्तिकै रविदाईले नि दारू नै त सम्झिए होलान् , मुख तिनको पनि रसाएर आयो
मनले सोच्यो, जाँदैमा के फरक पर्छ र? जे जस्तो भएपनि कोसेली हो त्यो पनि मिल्ने साथीको, यति त गरिदिनै पर्छ उसले । एकछिनलाई क्यामेरा बिर्सियो उसले । भोली बिहान त मायाको फ्लाइट थियो । बिहान एअरपोर्ट बाहिर भेट्न जाँदा त उसले जसरी भएपनि क्यामेरा लिएर जानु पर्ने थियो ।

*********************

शहरका सुनसान बाटाहरूले दसै आएको संकेत गरिसकेको थियो । अरू बेलामा गाडीका बत्ती र हल्लाले हिँडीनसक्नुका बाटोहरू खुल्ला र एकान्त हुनु रहस्यमयी लाग्दै थियो । रवि र मनका उत्सुक पाईलाहरू पनि यी सुनसान बाटा झै भएका थिए । ताप्का हाउस अगाडी पुगेर मनले फोन गर्यो । एउटा मान्छे ढोका मै उभिएको थियो, उसैकोमा फोन बजेछ । मनले हात अगाडी बढायो, "हेलो, म मन .."
त्यो मान्छेले आफ्नो हात दिनु सट्टा हातमा रहेको झोला थमाइ दियो मनलाई । "तपाइँ नै हैन मन?"
दिएको हात पनि नमिलाउँदा मनले मन अमिल्यायो "हो म नै हुँ"
"ल त है..." भन्दै त्यो मान्छे आफ्नो बाटो लाग्यो, रवि र मन पनि फर्किन तिर लागे ।
"के छ भित्र हेरुँ है रविदाई" मनको उत्सुकता जिउँदै थियो ।
शायद झोलाको सानो आकार देखेर होला रविदाईले झिँझिँदै भने "ह्या..के हेर्नु, छोड, घर गएर हेर"
बोत्तलको ठूलो आकारको झोलाको अपेक्षा थियो शायद वहाँलाई ।

तर मनको मन थामिएन । झोला भित्र हेर्यो, एउटा कागजमा पोको पारिएको कागजको बट्टा रहेछ । निकाल्यो र झर्याप्प झुरुप्प खोल च्यात्यो ।

"दाई..." ठूलो स्वरमा चिच्यायो मन...अनि एकचोटी बुरुक्क उफ्रियो । त्यो खोलभित्रको बट्टा देखेपछि रविदाई पनि हाँस्न थाले । अब दुवैजना मरीमरी हाँसेको देखेर वरिपरीका मान्छे पनि अडिए तर दुवैको हाँसो रोकिएन ।

त्यो झोला भित्र सोनीको नयाँ क्यामेराको बट्टा थियो । दुवैजना हाँसी नै रहे । खुशीको हाँसो थियो त्यो, आफ्नो नियती प्रतिको हाँसो थियो त्यो । आकस्मिक लाभको हाँसो थियो ।

मनले पत्याउनै सकेन । बट्टा निकाल्यो, हल्लाएर हेर्यो । खत्र्याक्, खत्र्याक् गर्यो । बट्टा खोलेर भित्रको सामान हेर्यो । बट्टा भित्र सोनी कम्पनीको नयाँ क्यामेरा नै थियो । बाटोमा जाँदै गरेको ट्याक्सीको बत्ती पर्यो त्यो क्यामेरामा, अनि एकछिनलाई टिलिक्क टल्कियो मनको आँखा अगाडी त्यो क्यामेरा । लाग्दै थियो मनको खुशी सँगै त्यो क्यामेरा पनि एक खित्का हाँस्यो ।

*******************

No comments:

Post a Comment

Popular Posts