Sunday, February 26, 2012

झगडा र माया, माया र झगडा

Pic by Stefan Stenudd
सुनेको, देखेको र भनेको कुरा, प्रेम पागल हुन्छ । हुँदो रहेछ, थाहा हुन गाह्रो भएन । पागलपन पनि रमाइलो र लोभलाग्दो हुँदो रहेछ । सम्बन्ध कति लामो भन्ने कुरा मायनै राख्दैन रहेछ अपनत्वको गहिराइ लिन । केही पल, केही दिन, केही महिना पनि काफी हुँदो रहेछ मन नछुटिने गरी गाँसिन । मायाको तलाउ जति गहिरो, त्यती नै चर्को भूमरी अर्थात माया जति हुन्छ त्यती नै बढी झगडा हुन्छ । अनि नाता कति बलियो छ भन्ने कुरा झगडा पर्दा नै थाहा हुँदो रहेछ । रातभरिको शितले जति चिसो पारेपनि विहानी पहिलो किरणले शितलाइ पगालेर वाफ बनाए जस्तो जति नै झगडा गरेपनि एउटा मुस्कानमा सबै रिस हराउँछ हाम्रो । भेट हुँदा मच्ची मच्ची झगडा गर्नु, सानो तिनो कुरालाइ बढाउँदै लगेर समस्याको विशाल पहाड बनाउनु, रिसले वाफ्फिँदै त्यो पहाडको उँचाइमा पुग्नु...अनि उही पहाडमा ठोक्किएर बर्सिनु । एकअर्काको काँधमा शिर राखी पग्लिदाँ आत्मियताको त्यो गहिराइ छोइँदो रहेछ, जुन सामान्य अवस्थामा भेउ पनि पाइदैन ।

कल्पनामा, सपनामा, सम्झनामा....हामी हरपल सँगै हुन्छौं । भौतिक रूपमा सँगै नहुनमा मानौ यो संसार नै बाधक हो हाम्रो लागि । सँगै रहन चाहेर पनि, अनेक बहानामा अलग अलग रहनु पर्ने । अफिस, घर, परिवार, पढाइ..बहाना मात्र हुन् हामीलाइ अलग गर्ने । धन्न विज्ञानले टेलिफोन भन्ने यन्त्र बनाएको छ हामीलाइ एउटै सूत्रमा बाँधेर राख्न । खुलेर, लुकेर, छलेर हामी एकअर्कालाइ फोन गरिहाल्छौं । कहिले काँही त एकअर्कालाइ फोन गरिरहदाँ दुवैको फोन व्यस्त हुन्छ..अनि फेरी एकचोटी झगडा पर्छ किन र को सँग फोन व्यस्त भनेर..। फोनमा ठाकठुक परेपछि एउटा न एउटाले रिसाएर फोन राखेकै हुन्छ । फेरी घन्टौसम्म त्यही फोनमा एकोहोरो आँखा गडाएर बस्ने पनि उही नै हुन्छ । फोन आउने बित्तिकै हत्त न पत्त उठाएर यति बेर फोन नगर्नुको गुनासो गर्ने पनि उही फेरी । आफै गरे पनि हुन्थ्यो नि यस्तै गाह्रो परेको भए । उफ्फ !!! एउटा रमाइलो नाटक झै लाग्ने खेल चल्छ सँधै दुइबिच । तर जति एकआपसमा नाक ठोक्काए पनि छुट्टिन सक्ने होइन हामी । प्रेमको सुपरग्लूले टाँस्सिएको दुइटा मन एकछिनमै फेरी एकअर्काबाट नछुट्टिने स्वरूपमा आइपुग्छन् ।

कतै टाढा गएको बेलाको तड्पन बेग्लै हुन्छ । चाहेर पनि भेट्न नसकिने अवस्थामा मोबाइल एकमात्र साधन रहन्छ । छुटिने बेलामा बाचा गरिएको हुन्छ "प्रिय, तिमी र म बिच मात्र एककल फोनको दूरी छ" । यसो भन्दा नेपालको टेलिकम कतिको बेइमान छ हामीले बिर्सेका हुन्छौ । फोन नलाग्नु, लागेपनि स्पष्ट नहुनु, आदि इत्यादी विभिन्न समस्याका बिच टेलिकमसँग उठेको रिस पोख्ने फेरी एकअर्का मै हो । 
"फोन लाग्या बेला कुरा गर्नु नि, फोन नलाग्ने बेला चै फुर्सदले बस्यो, बल्ल तल्ल फोन लाग्या बेलामा चै काम गर्नु पर्ने होइन?"
"हैन अलि फोन लाग्ने ठाउँमा बस्न सक्दैनस्?"
"ब्याट्री चार्ज गरेर राख्नु नि, झन मलाइ ने फोन गर्ने बेला तेरो ब्याट्री सकाउने? अरूलाइ त खुब फोन गर्छस् नि ब्याट्री हुन्जेल"
आदि इत्यादी...तर यी सबै ठाक्ठुक पछाडीको कारण भनेको दूरीको छट्पटी न हो । कतै टावरले नभेट्ने ठाउँ तिर जाँदाको दुःख त के बयान गर्नु? हरेक चोटी फोन गर्दा एनटिसीकि दिदीको झर्कोलाग्दो आवाजले माफी माग्दा त माफ शब्द देखि नै वितृष्णा लाग्छ । "माफ गर्नुहोला, तपाइँले..." मानौ फुटपाथे माग्नेले वाक्क लाउने गरी खुट्टा समाउँदै भिख माग्दैछन् । दिनौको छटपटी पछि बल्ल तल्ल उसको फोन आउँछ, फोन उठ्ने बित्तिकै उसले सोध्नेछ " के छ तेरो हालखबर" अनि सबै हालखबर एकैचोटी ठिक हुन्छ ।

मायाको सम्बन्ध भनेको यस्तै हुँदो रहेछ । मायाको मलजल पाएपछि अपेक्षा र आकांक्षाका मुनाहरू हरर हुर्किँदा रहेछन् । अपेक्षा पुरा नभएपछि मन त्यसै झर्किँदो रहेछ, अनि झगडा पनि हुँदो रहेछ । अर्थात जति माया गहिरो र बलियो, उत्ती नै झगडा । सारा संसार सँग रिसले झगडा गर्छु, उ सँग चै मायाले झगडा गर्छु...ल आइज एकचोटी फेरी झगडा गरूँ....

तितो पिरो नथपे त माया मिठो कहाँ होला
कैले काँही पहिरिन रिसको नकाब लिइ आउनु

हृदयको लाली पोती हातमा गुलाब लिइ आउनु

1 comment:

  1. मायाका कुरा। माया भन्ने कुरै यस्तै हो। माया गर्दा गर्दै झगडा पनि माया नै हुदोँ रहेछ।

    ReplyDelete

Popular Posts