Tuesday, January 21, 2014

लमी (कथा)

चिसो सिरेटो, धुम्म आकाश, अनि आकाशबाट सिमलका रूवा जस्ता स-साना हिउँका थुङ्गाहरूको बर्सात... समय एकदम मनमोहक थियो । म भने माथि आकाशतिर हेर्दै  मुख खोलेर ती चिसा हिउँका थुङ्गाहरू आफू भित्र विलिन गर्ने कोशिश गर्दै थिएँ । कति सफल भएँ, कति असफल भएँ...तर अनुहार भरि चिसो हिउँको स्पर्श र छालाको ताप पाएर पग्लिएको हिउँको चिसोपनाले भित्रसम्मै ठिहिर्याइरहेको थियो । तर अचानक बादल झनै कालो भयो, टाढा कतै साइरन बजेको जस्तो सुनियो । त्यो साइरनको आवाज बेग्लै प्रकारको थियो । त्यो आवाज झन झनै नजिक नजिक आउँदै गयो र स्पष्ट हुँदै गयो । अचम्म !! त्यो साईरनको आवाज त मोबाइल फोनको घन्टी जस्तो पो रहेछ । अझै ध्यान दिएर सुनेँ, मोबाइलमा भाइबरको रिङ्गटोन जस्तै आवाज..दुरुस्त !!

झल्यास्स आँखा खुल्यो... सपना पो देखेको रहेछु । कोठाको एसी बन्द रहेछ । राती यही सेन्ट्रल कन्ट्रोल्ड एसीको तातो हावाले मलाई गर्मी गराएको झोंकमा बन्द गरेर सुतेको थिएँ । अझै चिसो चाहिएर कोठाको झ्याल पनि खुल्लै छोडेको रहेछु । कति बेला देखि हिउँ पर्न शुरु गरेछ, थाहै भएन । त्यही चिसोले कक्रिएर सपनामा सुद्धा हिउँ परेको देख्दै रहेछु ।



मोबाइलमा अझै पनि घन्टी बज्दै थियो । हेरेँ, लन्डनबाट सुन्दरले गर्दै रहेछ । बिहान ४ बजेको रहेछ ।
साले, उसको पो अहिले साँझ परेको छ । दिनभरि काम सक्कायो, अनि अहिले पो खुब साथी सम्झिँदैछ । तर जे भएपनि निद्रा खुलिसक्यो, कुरा त गरिदिनै पर्यो । फेरी कलेजको बेला देखिको मिल्ने साथी । खल्ती खाली भएको बेला कैयौ पटक मःम खुवाएको छ त्यसले । जे होस्, त्यती टाढाबाट गरेको छ, अर्धनिद्रा मै भएपनि कुरा त गर्नै पर्यो  ।

फोन उठाउने बित्तिकै चम्कियो केटो "ओई! काँ मरिराथिस्" ।
साथीको बोली यस्तै छ । खरो, सिधा, सपाट बिना कुनै औपचारिकता । त्यसैले त उ साथी हो ।

"सुतिराख्या थिएँ मुजी, जाडो छ " जवाफ पनि उत्तिकै अनौपचारिक थियो मेरो ।
 "अनि जाडो भए, न्यानो हुने उपाय खोज्नु नि । चट्ट लाएर एउटी फकाउनू नि जाडोको मौसममा.....साले, एक्लै छस् अझै कि भोटेनी पाइस्"

"नकरा मुजी ! के का भोटेनी खोज्नु? उस्तै बुङ्गै हो तँ जस्तै.... त सालेले चै कुनै कुइरेनी भेटाइस्? हुन त के पाउँथिस्, तेरो कुच्चेको अनुहारलाई कुन चै कुइरेनीले हेर्थी र.. त साले पनि बुङ्गै हुने भइस् यो बुढेसकालमा" साथीको घाउमा नूनचुक छरियो ।

तर अचम्म उ रिसाएन, बरु अलि गम्भीर भयो " सही कुरा गरिस् यार, याँ खैरेको देशमा आएर काम छैन । एसियन अनुहार देख्ने बित्तिकै पर भाग्छस्, पटाउने त परको कुरा ....बरु एउटा खोजी दे न यार..यो पाला नेपाल गएर बिहे गर्नुपर्यो"

यसपाली चै मेरो दिमाग घुम्यो "औई..मलाइ लमी भन्ठान्याछस्? काँबाट पाउनु नि मैले तेरो लागि केटी??"

"साले !! हन्टर छस् त । मेरो लागि एउटा मिल्ने खोजी दे न । नेवार चाहिन्छ है " साथीले मलाइ नै छेड हान्यो फेरी
"सक्दिन म यस्ता काम गर्न, तेरै बाउआमालाई भन्"
"त्यसो नभन् न यार, तेरै युनिभर्सिटीमै छे एउटा । जात पनि मिल्छ यार, च्वाँक पनि छे... कुरा गरि देन "

*****
साथीले यसो भनिरहँदा पुरानो कलेजको दिन याद आयो । त्यो बेला पनि सुन्दरे यस्तै शिकारको खोजमा हुन्थ्यो । उसको शिकार योजना फेरी लङ्गटर्मको हुन्थ्यो । केटी भने बिहेका लागि ठिक्क हुने नै खोज्थ्यो उ,  भन्नाले नेवार्नी केटी ! कक्षामा सँगै पढ्ने एकजना नेवार्नी केटीसँग उसको दह्रो लभ परेको थियो । केटीको नाम थियो, मोहनी ! मोहनीलाई सुन्दरसँग चिनजान गराउने म नै थिएँ । नाम सँग रूप नमिले पनि मोहनीले सुन्दरलाई भने दह्रो लट्टू बनाएकी थिई । अलि रूखो, छुच्ची थिइन् उनी, तर मनको सफा ।  कलेजमा हामी तीन साथै अरू दुई साथी एउटै समूहमा हुन्थ्यौं जहिले पनि ।  उसले सबैलाई पहिले नै चेतावनी दिएकी थिइन् कि कसैले उसलाई प्रेमप्रस्ताव नराख्नु । तर सुन्दर दिनानुदिन प्रेममा फस्दै गएको थियो भने मोहनीलाई यसको अत्तोपत्तो थिएन ।  भेलेन्टाइन् डे नजिक आउँदै थियो र कलेजमा प्रेमिल वातावरण बन्दै गएको थियो । रेडियो, टिभी जताततै प्रेमको रङ्ग चढ्न सघाउने चिजहरूको बाढी लागेको थियो । यस्तो वातावरणमा सुन्दरे झनै व्यग्र हुँदै गइरहेको थियो । अन्तमा उसले प्रेमप्रस्ताव राख्ने सोच बनायो र मसँग सल्लाह माग्यो । अब बत्तीको प्रेममा जल्न तयार भएको पुतलीलाई रोक्ने म को थिएँ र? प्रपोज हान्ने सल्लाह ठोकियो । दुइसाथी मिलेर आर्चिजमा गएर सबैभन्दा राम्रो, महङ्गो कार्ड किनियो, साइबर क्याफेमा गएर लभकोटहरू खोज्दै केही दमदार अँग्रेजी लाइनहरू खोजियो र लेखियो कार्डमा ।

अब कार्ड दिने चै कसरी भन्ने समस्या भयो । लगभग पुरा दिन दिमाग डुलाइयो, सल्लाह गरियो, आइडिया जुराइयो तर सही तरिका भेटिएन । खाजा खान बोलाउने, डेट जान प्रस्ताव गर्ने, ब्यागमा झुक्कयाएर हालिदिने आदिइत्यादी सोचियो तर कसरी गर्ने भन्ने निर्णय गर्न् सकिएन । हामी दुइ साथी भेलेन्टाइन् डेका दिनसम्म पनि प्रपोज गर्ने तरिका निर्क्यौल गर्न नसकेर यत्तिकै कलेज पुग्यौ । भेलेन्टाइनको दिन सुन्दरलाई पढ्नेमा ध्यान पनि थिएन । शायद नर्भस भएर होला मोहनीको नजिक पनि पर्न सकेको थिएन । हुँदा हुँदा साँझ पर्यो, कक्षा सक्किए र घर फर्किने बेला पनि भयो तर सुन्दरले उपाय निकाल्न सकेन । अन्तमा मैले नै आइडिया लगाएँ र मोहनीलाई सँगै खाजा खाने प्रस्ताव राखेँ । उसले ठाडै अस्वीकार गरी तर मैले जिद्दी गरेपछि उ मानी । हामी कलेज सँगैको क्याफेमा खाजा खान बस्यौं । खाजा खाउञ्जेल सुन्दर र मोहनीलाई सँगै पारिदियौं तर सुन्दरेको बोली फुटेन । अन्तमा खाजा पनि सकियो र उ उठी । शायद अन्तिम मौका देखेर होला सुन्दरले आँट गर्यो र भन्यो "मोहनी, तिम्रो लागि कार्ड छ" । मोहनीले कुरा बुझिहाली, उसको रीस टाउकोमा चढीसकेको थियो । "चाहिन्न मलाई तिम्रो कार्ड" भनि र जुरुक्क उठेर हिँडीहाली ।

बिचरा सुन्दर !! एकछिन अवाक् बस्यो । अनि सँगै बाहिर निस्क्यौं हामी । कार्ड अझै सुन्दरको हातैमा थियो । अचानक मुस्कुरायो सुन्दर अनि हातमा भएको कार्ड धुजाधुजा पार्दै च्यात्यो र हावामा कार्डका टुक्रा फाल्दै भन्यो "मुजी !! संसारमा तँ मात्रै छस् र? "

*****

"ओई मुजी !! फेरी सुतिस् कि क्या हो? " साथीको आवाजले झस्क्यायो मलाई ।
"हैन..तेरा पुराना दिन याद आए । मोहनीको कान्ड बिर्सिस्?"
"छोड ती पुराना कुरा, नयाँ कुरा गर । त्यती कुरा गर्देन यार... साथीको यति भलो नि गर्दैनस् । स्वर्ग जान्छस् तँ सिधै मरेपछिँ ... हेहेहे.... ओई साले.. आफै लाइन हान्दै होलास् अनि के गर्थीस् र? ल तैलेँ ताकेको भए छोडिदेँ मैले"
"त्यसो हैन साले... मैले कसरी कुरा गर्नु? तलाइँ चाहिएको, तँ आफै गर" म पन्छिन खोजेँ तर साथी छोड्ने मूडमा थिएन ।
"साले, त्यती जाबो सोध्ने कुरा न हो । यति पनि गर्दैनस् मेरो लागि?"
जाबो सोध्ने कुरा अरे... कति सजिलो ठानेको । अब मैले अरूका लागि बिहेको प्रस्ताव लिएर जानुपर्ने, त्यो पनि चिन्नु न जान्नुको मान्छेको कुरा? सजिलो भएको भए आफै भने हुने नि । तर सुन्दर सँग तर्क गर्नु बेकार थियो । लमीको काम गर्नुभन्दा उसलाई अहिले पन्छाउनै बेस ।
"ल ल, मेरो खासै भेट हुन्न त्योसँग । अहिले फेसबुकमा एड गर, कुरा शुरु गर । अनि तलाइँ अलिअलि चिनेसी कुरा राख्दिउँला "

"मुजी...बल्ल घाँस खाइस्? ल त्यसको लिङ्क दे त"

फेसबुक लिंङ्क पाएपछि सुन्दरे सेलायो । अब कति दिनपछि यसले फेरी मलाई लमी बनाउन मरिहत्ते गर्ने हो कुर्दैछु ।
*********
*********

1 comment:

  1. साच्चि कलेज पडदा को दिन को याद आयो । जे होस लेखन कार्ये कहिलै नछोड्नु है ।

    ReplyDelete

Popular Posts