Monday, February 10, 2014

केही मिठो बात गर

कुनै गीत किन रुच्छ?
गायकको मोहक स्वर?
मन्त्रमुग्ध पार्ने संगीत?
गीतको समय,सन्दर्भ?
शब्दहरूको मार्मिकता र सान्दर्भिकता?

आजकल गीत सुन्दा दिमागमा यस्तै यस्तै कुराहरू खेल्छन्  । साँच्चै भन्नुपर्दा हरेक गीत मनपराइनुमा विभिन्न कारणहरू हुन्छन् । एउटै कारण हुन्छ भनेर ठोकुवा गर्न सकिन्न । केही गीत सुन्ने बित्तिकै मनपर्छन्, केही दिन मै वाक्क लागछन् । केही गीत भने मनपर्न समय लाग्छ तर मनपरेपछि कहिले पनि वाक्क लाग्दैन । यस्तै केही गीत मध्य कालीप्रसाद रिजालको गीत "केही मिठो बात गर" पनि पर्छ ।
नारायणगोपालको अमर स्वरमा सजिएको गीत जतिपटक सुने पनि मन हराउँछ । यो गीत जहिले जुन सन्दर्भमा सुन्दा पनि रमाईलो लाग्छ, आफ्नो जिन्दगीको कुनै पनि घटनामा ठ्याक्कै मिल्न गएजस्तो । अनि आफ्नो एकतारे स्वभाव सँग ठ्याक्कै मिल्ने छ यो गीतपनि । 

जिन्दगीमा साथ र साथी कहिल्यै स्थायी हुन्न । यो जिन्दगी  भन्ने यात्राको एकमात्र सहयात्री भनेको बाटो हो । जन्म र मृत्यु बीचको यो बाटोमा हिँडिरहँदा सहयात्री पक्कै भेटिन्छन् । एक्लै शुरु गरिने यो यात्रामा, शुरुवातमा नै नातेदारहरूको 'रेडिमेड' साथ मिल्छ । यी डिएनएका पातला डोरीले गाँसिएका नाता कति टिक्छन्, कति छुट्छन् भन्नै सकिन्न । बाटो हिँड्दै गर्दा कतिसँग गन्तव्य मिल्दैन, कतिसँग चल्ने गति मिल्दैन । कतिपय सुस्ताउन रोकिन्छन्, कति सुस्ताउँदा साथ छोड्छन् । जिन्दगी भन्नु नै यही भेटिनु, रमाउनु र छुटिनु बाहेक अरू के हो र? साथ पाएकोमा धन्य मान्दै, त्यो साथ हुञ्जेल दुवै रमाउनु नै मिठो जिन्दगी हो । कालीप्रसाद रिजालले भने जस्तै "दुई कदम साथ हिडौ, छुटिनु त छदै छ"

'भ्यालेन्टाइन डे' अर्थात प्रणय दिवस मनाउनेहरूको सप्ताहव्यापी कार्यक्रममा आज वाचा गर्ने दिन परेको रहेछ । मलाई माया गर्ने र मबाट माया पाउने सबैमा यही गीतका केही पक्तीहरू वाचाका रूपमा भन्न मनलागि राखेको छ । 

आउ नाचौ अध्यारोमा जूनकीरि नाचे जस्तै
बतासमा उडौ आज, सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौ छुटिनु त छदैछ
भरे फेरी एकान्तमा रुनु त छदैँछ

केही मिठो बात गर रात त्यसै ढल्किँदैछ 



3 comments:

  1. sarai man chune kura garnu vo

    ReplyDelete
  2. त्यहि त ... किन यति मिठा हुन्छन कसैका गित र शब्दहरु ... त्यस्तै मस्त लाग्छ हजुरको शब्दहरुको स्पर्श सबिन जी !

    ReplyDelete
  3. तपाईँका गीतका शब्दहरू पनि त प्रिय छन्.... तर समय मात्र उबेलाको जस्तो नभएको हो.....

    ReplyDelete

Popular Posts