डुबिसकेको घाम अनि झिसमिसे साँझ, सूर्यास्त सँगै अँध्यारो छाउन थालेको थियो । सडक बत्ती, होर्डिङ्ग बोर्ड, साइनबोर्ड पनि सुस्ताएर निभेका थिए । देशको उर्जा सङ्कट छरपस्ट बाटो वरिपरी देखिन्थ्यो । घरतिर हतारिदैँ गरेका सवारीसाधनहरूको बत्तीले भने बाटो उज्यालै गरेको थियो । जुनसुकै बेला हुने बानेश्वर शान्तीनगरको जाम छल्न सँधै झै बुद्धनगरको बाटो हुँदै बालकुमारी तिर लागेँ । बाग्मतीको पुल निर पुगेपछि मोबाइलको घन्टी बज्यो । घर पुग्ने हतारमा रहेकोले मोबाइल उठाउन मन लागेन । एकछिन पछि घन्टी फेरी बज्यो, खल्तीमा छामछुम गरेर फोनको रिसिभ बटन थिचेँ । कानमा टाँसिएको हेडफोनमा उही चिरपरिचित प्रिय आवाज बोल्यो ..
"कान्छु..कता?"
" बाटोमा.."
" बाटो कहाँसम्म पुग्यो?"
"शंखमूल"
"त्यहीँबाट फर्किहाल त..... भेट्नु पर्ने छ"
"ल ! त्यस्तो के पर्यो र?"
"तँ आउँछस् कि आउँदैनस्?" आवाजमा अलि रिसको तातोपना थियो
"हेत्तेरी !! यत्ती बेला भन्ने हो त? म आधा बाटोमा छु । अघि नै भनेको भए सिधै आउँथे नि । के भयो भन् त"
"केही होइन, भेट्न मनलाग्यो नि । मैले तलाइँ भेट्न पनि कारण चाहिन्छ?? "
"अनि अघि अफिसबाट निस्कने बेलामा फोन गर्नु पर्दैन त?"
"अघि नै गर्थेँ नि, मोबाइलमा चार्ज नै भएन । बल्ल बत्ती आयो, चार्जमा लगाएर तिमीलाइ फोन गरि हालेको नि""केही होइन, भेट्न मनलाग्यो नि । मैले तलाइँ भेट्न पनि कारण चाहिन्छ?? "
"अनि अघि अफिसबाट निस्कने बेलामा फोन गर्नु पर्दैन त?"
"के गर्नु त?? घर पुग्ने आधा बाटो पुगी सकेँ, बाइकमा तेल पनि छैन । भोली बिदाको दिन, पम्प खुल्दैन । तेलले भोलीसम्म भ्याउनु पर्छ । भोली एकैचोटी भेटुँ न है"
"......."
"हेलो, हेलोssss"
"ल ल ...राखेँ"
उनी रिसाइहालिन् । केही नभनी फोन राख्नुको अर्थ त्यही हो । हुन त नभेटेको लगभग १५ दिन नै भइसक्यो । भेट्न मन त लाग्दो नै हो, मलाइ पनि भेट्न मन नलागेको कहाँ हो र? तर बाध्यता पनि त छ । बाइकको ट्याङ्कीमा पेट्रोल छैन । भनेको समयमा भनेको ठाउँमा पुग्न सकिँदैन । बत्ती नभएर सबै काम रोकिएको छ । काम गर्ने बेलामा बत्ती हुँदैन, बत्ती भएको बेला काम हुँदैन । मोबाइलमा कुरा गरूँ भने, आफ्नो मोबाइल अन भएको बेला उसको अफ हुन्छ भने उसकोमा चार्ज भएको बेला मेरो मोबाइल अफ हुन्छ । अनलाइनमा गफ गरूँ भने एनसेलको डिभाइस बत्ती गएको बेला जिपिआएसबाट एजमा उँभो लाग्दैन..उफ्फ...यो अभावको जिन्दगीले.. जिन्दगीमा भएको एउटा राम्रो कुरा पनि छुटाइदेला जस्तो हुँदैछ ।
कोटेश्वर पुगेपछि ट्राफिक बत्तीमा रोकिएँ । जापानिजहरूले बेलैमा बुद्धी पुर्याएर ट्राफिक लाइटमा सोलार जडान गएर गए, नभए बत्ती गयो कि जाममा फसेर हैरान भइन्थ्यो । मोबाइल फेरी बज्यो..
"हेलो"
"कान्छु, आउ न भन्या..कस्तो भेट्न मन लाग्या छ"
"म घर पुग्नै लागिसकेँ, भोली बिहानै आउँछु नि हुँदैन"
"....."
"भोली बिहानै आउँछु, अनि कतै....नजिकै घुम्न जाउँला नि ..हुन्न??"
"कान्छु तिमीलाइ स्पाइडरम्यान मनपर्छ??"
यो अचानकको असान्दर्भिक प्रश्नले म हल्लिएँ...
"के रे?? स्पाइडरम्यान"
"कि क्रिस मनपर्छ"
"हैन..के कुरा गर्या??"
"पक्कै पनि सुपरम्यान मनपर्छ"
"हैन..खुस्किस् कि क्या हो?? के भन्छे फेरी"
"सुन् न..तँ स्पाइडरम्यान बन न है..... तँ स्पाइडरम्यान भएपछि सरररर यो सहरका ठूला साना घरहरू छिचोल्दै, हावामा लहराउँदै आउँछस् । न जामको चिन्ता, न समयको सुर..न गाडी चढ्नु पर्ने, न तेलको चिन्ता न केही "
उनी एकसुरमा भन्दै गइन
"तँ क्रिस बन न है...सरर उडेर मेरो घरको छतमा आइज । न समयको चिन्ता, न घरका मान्छेको पिर..."
कल्पनाको उडान अझै अन्तरिक्ष छुँदै थिए
"तँ सुपरम्यान बन न है...मलाइ सर्लक्क अँगालोमा बेरेर माथ्थीsssss आकाशमा उडाएर लैजानु, अनि चन्द्रमामा एउटा शान्त, उज्यालो कुनामा गएर बसौंला । त्यहाँ लोडसेडिङ्को चिन्ता पनि हुन्न । जहिले पनि उज्यालो भइराख्या हुन्छ...ल भन् तँ के बन्ने, मैले ३ वटा अप्सन दिएको छु । के बन्ने हो बनेर आइज छिटो भेट्न"
यति भनेर फेरी फोन राखियो...
अनि म सोच्दै थिएँ
"साला !! यो अभावको जिन्दगी......कुनै दिन त्यस्ता थिए जति बेला खल्तीमा पैसा हुँदैनथ्यो, जिन्दगी आरामै थियो । न पैसा थिए, न चाहना थियो । न बाइक थियो न पेट्रोलको चिन्ता । एक हजार पर्ने सस्तो कालोसेतो मोबाइल बोकिन्थ्यो, बेट्री ३ दिन चल्थ्यो..... अहिले अलि अलि पैसा त कमाइयो, सँग सँगे अभाव पनि आइ लाग्यो । डेढलाखको बाइक चढिया छ डेढसयको पेट्रोल पाइया छैन । पन्ध्रहजारको मोबाइल बोकिया छ पन्ध्र घन्टा पनि बेट्री टिक्दैन..."
"साला...यस्तो अभावको जिन्दगी, यसले त सुपरहिरो बन्नै पर्ने माग पो गर्यो त..आफ्नै गर्लफ्रेन्डले पेन्टमाथी कट्टु लगाउने उर्दी जारी गरिदिइन त "