Friday, January 27, 2012

जुन जोगी आएपनि कानै चिरेको

आज बिहानै मित्र "जअ-नक-राजा"ले डाक्टर बाबुराम भट्टराइ प्रतिको भडास निकालेको लेख {डाक्टर बाबुराम र उँटको कथा: JAW KNOCK APPROACH}पढियो । मैले पनि बाँडिदिए भित्तामा, धेरै साथीहरूले मनपराए । मनपराउने नै भए, मनका कुरा जो लेखिदिए साथीले । एउटा सक्षम कहलिएका राजनेतासँग धेरै नै अपेक्षा गरेका थिए, उनले तासको महल जस्तो गर्लयाम् गुर्लुम्म ढालिदिए सबै आशा । मलाई भने कुनै रिस वा गुनासो छैन किनकी कुनै आशा पनि थिएन ।

मलाई राजनीति र राजनीतिकर्म मन पर्दैन । मलाई कुनै राजनैतिक घटनाक्रममा खासै चासो पनि हुँदैन । एउटा नागरिकको कर्तव्य पुर्याएर भोट चै खसाल्छु । मेरो लागि "राजनीति" भोट दिने बाहेक अरू कुनै बेला पनि सरोकार राख्दैन । कुन पार्टी सरकारमा पुग्यो वा को, कुन पदमा पुग्यो भन्ने कुराले मेरो ध्यान तान्दैन किनकी कसैले यहाँ केही फरक पार्दैन भन्ने कुरा इतिहासले मलाई प्रस्टयाइसक्यो । कसैले भन्थे, " नेतालाई चोर, फटाहा, डाँका, गुन्डा, ठग, सामन्त( माओवादको असरले होला यो शब्द भनेको) भनेर भनिराख्नै पर्दैन, नेता भने पुग्छ । नेता भन्ने शब्दले नै सबै उपमा (गाली) समेट्छ" । मलाई पनि यस्तै लाग्छ, राजनीतिमा लागेको मान्छेले नैतिकता भन्ने भावना बाटोमा मिल्क्याएर, कुल्चिएर अगाडी बढेको हुन्छ । कामको त कुरै छाडौ, बोली सम्मको ठेगान हुँदैन । 

[Pic: (c)Kantipur Publications Pvt. Ltd.]
अब फेरी फर्कौ, बाबुराम तिर । पहिले अर्थमन्त्री हुँदा सम्म राम्रै काम गर्या झै लाग्या थियो । एउटा इन्जिनियरले वित्तका क्षेत्रमा देखाएको विशेषज्ञताले म पनि प्रभावित भएको थिएँ । तर त्यती बेला उनलाइ सरकार ढल्ने चिन्ता चै थिएन र त्त ढुक्क भइ काम गर्या थिए । पहिले एउटा मन्त्रालय र दुइटा सचिव, अहिले ४८ वटा त मन्त्री नै सम्हाल्नु पर्ने, त्यो पनि दशौं झिना मसिना पार्टीका । बाबुराम प्रधानमन्त्री हुने रहर गर्दा नै उनका नेताहरू प्रचन्ड र वैद्यले छिर्के हान्ने प्रयास नगरेका होइनन् । पहिले जंगल-जंगल डुल्दा त कुरा नमिल्या, अहिले कुर्सी पाउने कुरामा कहाँ बाँकी राख्थे र? कसरी प्रधानमन्त्री नबनुन् भनेर षडयन्त्र हुन थाले पछि आफ्नै पार्टी भित्र देखाउन भएपनि सरकार बनाउनै पर्ने भयो । एमाले, काँग्रेससँग कुरा नमिलेपछि मधेसी पार्टीको शरणमा पुगे तिनी । देशका राजनितीको "र" बुझ्ने फुच्चा फुच्चीले पनि फरर बखान गरिदिन्छन् मधेसी पार्टीका अग्रज नेताहरूका स्वार्थ र अवसरवादका कथा । कति भागबन्डा गर्नुपर्यो, कति लेनदेन गर्नुपर्यो घटनाक्रमले थाहा दिइ हाल्यो । शुरू मै नेपाली मुस्ताङ्ग गाडी चढ्दा मलाइ हाँसो नै उठेको थियो । हुलासको सित्तैमा ब्रयान्ड एम्बेस्डर बनिदिदाँ "हुलास कम्पनी"ले सरकार गठनमा कति सजिलो पारिदिएको होला, आफै अनुमान गरूँ । सरकार बनाउन भएको खर्च त बेहोर्नै पर्यो आखिर, अब बाबुरामकी घरकी हिस्सी परेकी लक्ष्मीले यो जिम्मा पाएकी छिन् । सरकार निर्माणका दौरानमा खपत भएको  धन फिर्तिको बन्दोबस्त गर्ने । बल्ल तल्ल भ्यागुतोको धार्नी बटुलेर बनाइएको सरकारले राम्रो काम गर्ला भनेर मैले आशा गर्नु त परको कुरा, सोच्या पनि थिइन । अब आश्वासन र भाषणका कुरा चै नगरूँ, नेताले गर्ने एकमात्र काम त्यही हो ।

Photo courtesy: boloji.com
एकछिन मधेसी पार्टीको कुरा गरूँ । बुढापाकाले भनेको सुनेको थिएँ, गुरूहरूले हप्काउँदा सुनेको थिएँ, साथीहरूले जिस्कदाँ सुनेको थिएँ, नाम अनुसारको काम फिटिक्कै हुन्न अरे । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत शब्दकोषका अनुसार "सद्भभावना" भन्नाले "१. असल भाव वा विचार, स्नेह र हितपूर्ण स्वच्छ विचार, २. मैत्री भावना, मेलमिलाप" हुँदो रहेछ । अब के भनुँ ? यो शब्दार्थमा भनिएको एक एक शब्दको विपरीत नै छ यो पार्टी । सद्भावना पार्टी, नेपाल सद्भभावना पार्टी, संघीय सद्भभावना पार्टी अनि के के हो के के? सद्भावना कति प्रकारको छ भनेर सोध्दा निर्वाचन आयोगलाइ पनि तिरिमिरी हुँदो हो । अर्को वरिष्ठ मधेसवादी पार्टी, मधेसी जनाधिकार फोरम । फोरमको अर्थ हेरौ शब्दकोषमा Forum: 1. a meeting or assembly for the open discussion of subjects of public interest . यहाँ कुन पदाधिकारीले कुन पद खाने बाहेक अरू कुनै विषयको छलफल हुँदैन । त्यो छलफल पनि तोडफोडमा टुंगिन्छ र त्त यो पार्टीको नाम पनि नेपालीकरण भएर "फोडम् " भएको छ । लोकतान्त्रिक, गणतान्त्रिक के के हो? फुट्ने क्रममा नाम नजुरेर कतै "मजफो, राजतन्त्रिक" भनेर नाम पो नराखुन् ।

नेताहरूबाट अपेक्षा नगरौ, यिनीहरू एकै ड्याङ्गका गान्टेमूला हुन् भनि म भन्ने गर्छु । जे, जति, जस्तो भएपनि बाबुराम डाक्टरसाबले मेरो कुरो चै राखिदिएका छन् । जे मा पनि बोर्ड फस्ट हुने बानी रैछ वहाँलाई, भ्रस्टाचार, कुशासन आदी इत्यादी के के हो, छोटकरीमा भन्दा नेतागिरीमा पनि बोर्ड फर्स्ट हुने चाला लिएका छन् । देश चलेकै थियो, चलिरहनेछ । पञ्चहरू, गिरिजा, शेरबहादुर, ज्ञानेन्द्रले त चलाए भने बाबुराम त अलि दिमाग भएका मान्छे । चल्ने नै छ । जनता जहिले पनि कामधाम छोडेर कुरा काटेरै बस्ने नै छन् । कहिले काँहि त लाग्छ क्या, देशका नेता असल भएर असल काम गरिदिए यी जनताले कुरा चै कसको काट्ने हुन्??


2 comments:

  1. Liked the approach! Its cool! It represents the view of common everyday youth! :))

    ReplyDelete
  2. Thanks brother! This piece of writing was inspired by your article :)

    ReplyDelete

Popular Posts