Wednesday, August 29, 2012

त्रिशुली किनार हुइँकिदाँ -४

त्रिशुली किनार हुइँकिदाँ -१
त्रिशुली किनार हुँइकिदाँ - २
त्रिशुली किनार हुँइकिँदाँ - ३ 

भन्दा अगाडी....

लगभग वेत्रावति पुग्नै लाग्दा एउटा एपाचे बाइकले बाटो छेकुँला झै गरी आयो । तिनजना एउटा बाइकमा, भर्खरका केटाहरू...शंका लाग्यो कतै केही गर्ने त होइनन् भनेर । आफ्नो भने नराम्रो बानी छ, बाटोमा साइड दिएन भने ओभरटेक गरी अगाडी पुगेपछि बाटो छेक्दै जिस्काउने । शायद केटाहरूलाइ कुनै ठाउँमा त्यस्तै गरियो कि...विपिनले फोटो खिँच्दै थिए, केटो नजिकै आएर केही भन्दै थियो । हेलमेटले पुरै अनुहार ढाकिएकोले उसले बोलेको केही पनि सुनिएन । म झ्याप्पै रोकिएँ, अनि बल्ल उसले भनेको सुनियो । उसको कुरा सुनेपछि एकचोटी त हाँसो नै उठ्यो आफू प्रति..बेकारमा नानाभातीँ सोचेकोमा । ति भाईहरू घुम्न निस्केका रहेछन्, अगाडी प्रहरीको चेकजाँच हुँदो रहेछ । पुल पारीसम्म लिफ्ट दिन भनेका रहेछन् । अब आफू कहाँ छु, थाहा छैन, कहाँ पुगेर बस्ने हो पनि थाहै छैन के भन्नु? ल बस न त भनेर लिएर हिँडियो उसलाई पनि । तर लगभग २०० मिटर गुडेपछि नै हाम्रो गन्तव्य पुगिसकेका थियौं । अर्थात वेत्रावती बजार पुगियो...



रोमाकान्तले आफ्नो नियमित अखाडा अर्थात होटल नजिक रोक्न लगाए । वरिपरी पुलिसको जीप पनि भएकोले अनुमान लगाईयो जिल्लाका ठूलाबडा अहिले यतै छन् भनेर, अनुमान सही नै थियो । प्रजिअ र प्रनाउ साहेब त्यहि होटलमा रहेछन् । हामीले भने रोमाको कुरा काटी हाल्यौ, आखिर लरोतरो होटलमा के आउँथे र? ठूलाबडा आउने होटलमै त आउँछन् यिनी पनि । यति टाढा आउनुको एक प्रमुख आकर्षण भनेको चिसो खोलाको ताजा माछा थियो । नखाने कुरै भएन, आखिर त्यहाँ उपलब्ध भएको चिज त्यो मात्रै त रहेछ । बाँकी सबै खाद्य पदार्थ त माथी बडाहाकिमहरू कहाँ पेश भइसकेको रहेछ । साहुनीले हामीलाई मख्ख पार्दै भनिन् " माथी हाकिम साबहरूलाई माछा सक्कि सक्यो भनेर याँ सरहरूलाई बनाइ दिन लाग्या छु ।" विपिन र म दुवै सोच्दै थियौं, यी साहुनीले माथी पनि यस्तै भनेकी थिइन् होलिन् । 

होटलको भित्र पट्टी खुल्ला ठाउँमा टहरा बनाइएको रहेछ । त्यो टहरामा दुइजना ससाना नानीहरू बसिरहेका थिए । मेरो घाँटीमा झुन्डिएको बडेमानको क्यामेरा देखेपछि फोटो खिँचाउने रहर जागेछ । कुराकानी भयो फुच्चीहरू सँग । एकजनाको त हिरोइन बन्ने रहर नै रहेछ । अनेक पोज्मा फोटो पनि खिँचाए उनीहरूले। कहिलेँ काँही यो क्यामेराले पनि कुराकानी सहज बनाइ दिन्छ । राम्रो देखिने रहर आखिर सबैको हुँदो रहेछ ।


माछा बनाउने अर्डर दिएर हामी भने रसुवा तिर लाग्यौं ।  पुलपारी देखि रसुवा शुरु हुँदो रहेछ । वेत्रावति धार्मिक र ऐतिहासिक महत्व बोकेको स्थान हो । उत्तर गयाको रूपमा प्रसिद्ध यो स्थानमा श्राद्धका लागि राम्रै जमघट हुँदो रहेछ बेलामा । सके वर्षेनी, नसके जिन्दगीमा एकपटक भएपनि पौषकृष्ण औंसीका दिन पितृको श्राद्ध गर्नुपर्ने विश्वासले  यो स्थानमा धार्मिक पर्यटकको ओइरो लाग्दो रहेछ । 

नेपाल र तिब्बत बिच भएको युद्ध पश्चात सन्धिका लागि छानिएको स्थान भएर पनि विशेष ऐतिहासिक महत्त्व छ यो ठाउँको । 


पुल पारी पुग्ने बित्तिकै रसुवा पुगियो । एकदिनमा तीन जिल्ला पनि घुमियो आधिकारिक रूपमा । पारी पुग्ने बित्तिकै हाम्रो आँखा गयो पानी घट्टमा, वातावरण विज्ञान पढेका विपिनका लागि त त्यो नयाँ कुरा भएन तर मेरो लागि नितान्त नयाँ कुरा थियो पानी घट्ट । तस्विरमा, भिडियोमा अनेक पटक देखिसकेको चिज प्रत्यक्षरूपमा देख्न चै पाइएको थिइएन । घट्टमा मकै पिसाइरहेका दिदीहरूले हामी भित्र पुग्ने बित्तिकै छोडिदिइ हालिन् । शायद क्यामेराकै प्रभाव हुनुपर्छ, उनीहरूले सोधी हाले, टिभीमा कहिले आउँछ भनेर? अब के भन्नु, कम्प्यूटरमा मेरो ब्लगमा आउँछ भनिदिएँ । बुझे बुझेनन् थाहा छैन...

मान्छे जिन्दगीमा दुःख भुलाउन अनेक बहाना गर्छ, अनेकन उपाय अपनाउँछ । तर अहिलेसम्मको सबैभन्दा हिट बहाना चै अल्कोहल नै हो । हुँदा हुँदा मान्छेले खुशी मनाउन, दुःख भुलाउन, कही नहुँदा, केही विशेष हुँदा..आदि इत्यादी जे पर्दा पनि पिउने बानी गरिसकेको छ । बेत्रावतिमा मात्र मर्चा बेच्ने पसल देख्दा चै मलाई केही अजिब लागेकै हो ।  जाँड रक्सी बनाउने क्याटेलिस्ट मात्र बेचेर नाफा कमाउन सक्ने व्यापारी र ग्राहक दुवै धन्य छन् ।

घुमघाम सकिए पछि माछा खान तिर लाग्यौं । होटलको माथिल्लो तल्लामा हाकिमहरू मस्त नै थिए । आवाज झनै चर्को हुँदै जानुले मात पनि चढ्दै गएको सङ्केत गर्दै थियो । होटलकी दिदीले माछा ल्याइन, तर माछालाई साथ दिन भुजा बाहेक अरू केही पनि पाइएन । सबै माथितिर सप्लाई भइसकेको रहेछ । काँक्रो भएपनि खाउँ न भनेर मगाईयो । काँक्रो सँगै आफ्नो अफिसमा सुनिएको राजा विरेन्द्रको काँक्रो खाने रहरको प्रसङ्ग याद आयो । एकपटक राजा विरेन्द्रलाई काँक्रो खान मनलागेछ र आदेश बजाइहालेछन् । काँक्रो नपाउने मौसममा विचरा राजदरबारका कर्मचारीहरूलाई आपदै परेछ । कालीमाटी बजारमा काँक्रोको उपस्थिती शून्य, यताउति पत्ता लगाएछन् कतै पाएनछन् । धन्न राजदरबारका एकजना कर्मचारीको  आफन्तको चितवनमा रहेको बारीमा फलेको रहेछ । अनि हतार हतार हेलिकप्टरमा काँक्रो आयो अरे चितवनबाट । अब यो गफमा कतिको सत्यता छ त्यो त जानकारी भएन । तर काँक्रो मिठो चै थिएन । बेमौसमको फलफूल कहिले स्वादिलो नहुने । अझ आजकल त सूई ठोकेर फल फलाउँछन् अरे, झन् के स्वाद आउँथ्यो? ।

बेत्रावती मै साँझ पर्न लागिसकेको थियो । हामीलाई भने घर पनि फर्किनु थियो । आउँदा खेरी विपिनलाई रोमाले लगाएको वेलिविस्तार सुन्दै लाग्यौं विदुर तिर । फर्कनका लागि समस्या अब फेरी ईन्धन कै आईलाग्यो । विदुरमा रहेको पम्प पनि बन्द रहेछ, आफ्नो भने टंकी खाली हुने बेला भईसक्यो । रित्तै फर्कुँ भने बाटोमा कुनै भर छैन । रोमाको बाइकमा रहेको पेट्रोल पैचों लिने सल्लाह भयो । तर निकाल्ने कसरी? त्यसका लागि पनि आफै भिड्नु पर्ने भयो । प्लास्टिकको पाइप काटेर सिधै टंकीबाट टंकीमा पेट्रोल सारियो । पाइपबाट फुकेर तान्ने क्रममा अलिअलि मुखमा पनि गयो, तर किन हो स्वाद नमिठो लागेन, लाग्नु पनि भएन । आखिर फर्कनु जो छ । 

विदावारी गरी हामी लाग्यौं नुवाकोटको पुरानो बाटो हुँदै । आधीबाटो नपुग्दै मलाई पट्यार लागिसक्या थियो । बाइकको ह्यान्डल बटार्दा बटार्दै हात गलेको अवस्थामा यस्तो घुमाउरो बाटो देखेर अत्ती नै दिक्क लागिसकेको थियो । बाटो कहिले सक्किने क्या? म बारम्बार यही सोध्थेँ अनि मेरो बाइकको ओडोमिटरले मलाई हरेक चोटी निराश गर्थ्यो । बिचमा चिया खान रोकियौं । चिया यस्तो बेस्वादको कि पैसा पनि तिर्न मन नलाग्ने । विपिनलाई चिसो लाग्ने हो कि, मलाई डर थियो । मैले भनें पनि, हाँस्दै भन्दै थिए हाकिम?
'के यार सिंह, खोकी लागे पनि के भो र? को सँग चै बोल्नु पर्छ र? अफिसमा एकदम कम बोलिन्छ, अझै भनुँ बोल्नै पर्दैन । घरमा पनि उस्तै हो, काम नपरेसम्म बोलिन्न । अनि गर्लफ्रेन्ड छैन कुराकानी गरिरहन । यसो कैलेकाँही तिमी सँगै बोल्ने हो, तिमीसँग बोल्न चिसो लागेर के फरक पर्यो र?' कुरो ठिकै हो, चिसोले बोली बिग्रियो भने पनि फरक चै के पर्ने हो र? 

राती लगभग ९ बजे खाल्डोमा फर्कियौं । लखतरान, घुमाउरो बाटोमा हेन्डल घुमाउँदा घुमाउँदा मेरो सुकेको ट्राइसेप्स र बाइसेप्स पनि आन्दोलनको तयारी गर्दै थिए ।





2 comments:

  1. "एकदिनमा तीन जिल्ला पनि घुमियो आधिकारिक रूपमा।" काठमाडौ, धादिङ, नुवांकोट र रसुवा भने पछि त ४ जिल्ला होला नि हजुर

    ReplyDelete
    Replies
    1. काठमाडौंलाई नगनेको नि दाजु । यो त आफ्नै ठाउँ हो नि, यसलाई घुमेकोमा के गन्नु?

      Delete

Popular Posts