Friday, August 10, 2012

अन्तरवार्ता (भाग २)

यो कथा शुरू गर्नु भन्दा अगाडीको भाग RECAP (अन्तरवार्ता (भाग १)) गरि हालुँ, अन्यथा केही नबुझिएला :)


(अघिल्लो भागको केटो पात्र फेरी दोहोरिएको छ, तर केटी पात्र भने बेग्लै हो)

व्यस्त सडक भरी गाडीहरूको ओहोर दोहोर छ । पाँच तल्ले भवनको छतमा रहेको रेस्टुरेन्टमा एक जोडी टेबलमा बसेका छन् । चियाको चुस्की सँगै शायद मिठो गफगाफ चल्दैछ । मन्द मन्द मुस्कान छरिएको छ दुवैको मुहारमा, अनि बेला बेलामा मज्जाले हाँस्छन् दुवैजना । मानौं, संसारको सबै पीरहरूबाट मुक्त छन् र यो क्षण उनीहरूको खुशी चरमसीमामा छ ।



अचानक कुरा गर्दा गर्दै केटोले खल्ती छाम्छ । फोन आएको रहेछ, भाइब्रेसन मोडमा रहेकोलेरिंङ्गटोन सुनिएन ।

केटाः  एकछिन है त (भन्दै उठेर अलि पर कुनातिर लाग्छ)

केटीको अनुहार खुम्चिन्छ, तर केटो फोनतिर कुरा गर्दै टाढिन्छ ।


केटो प्रसन्न मुद्रामा फोनमा वार्ता गर्दैछ, उ बोल्ने भन्दा बढी सुन्ने काम बढी गर्दैछ फोनमा । केटी एकतमास केटोले फोनमा कुरा गरिरहेको हेर्दैछे । उसको अनुहारमा तनाव छ, शायद फोनको उतापट्टी बोल्ने मान्छेको कल्पना गर्दैछे । कुराकानी छिट्टै सक्कियो र केटो उही मुस्कान अनुहारमा पोत्दै टेबलतिर फर्कियो ।

केटीः क्या हो सर, कुरा त साह्रै मिठो थियो जस्तो छ नि उतातिरबाट..
केटोः ए..अँ...साथी थियो
केटीः मैले को थियो भनेर सोधेँ र, स्पष्टीकरण दिनलाई??

केटोः ए हैन, त्यसो पनि होइन..भनेको नि
केटीः नसोधेको कुरा किन भन्नु बेकारमा...
केटो (छड्के मुस्कान दिँदै)ः हामी मनका कुरा बुझ्छम् नि मेडम
केटीः भो..खुब जानेको..कत्ति न बुझेको जस्तो...ल के बुझ्यौ भन त?
केटोः तिमीलाई मैले को सँग कुरा गरेको भनेर मनमा खुलदुल भएको छ
केटीः ए हो सर?? को हो त्यो भनिदिनुस् न त
केटोः ए मेरो साथी हो, मेरो एकदम मिल्ने साथी
केटीः ए साथी??? कि साथीनी??
केटोः के फरक पर्यो र? साथी भनेको साथी .. केटा होस् वा केटी
केटीः फरक पर्छ नि सर...धेरै फरक पर्छ । खुरूक्क भन्नुस् न केटा साथी कि केटी साथी
केटोः ल ल..केटी नै हो
केटीः कताको साथी?
केटोः कताको भन्नाले??
केटीः कता भन्नाले कता नि.. स्कूलको, कलेजको, अफिसको, फेसबुकको...
केटो(कुरो काट्दै): ए ए...हाम्रो चिनजान फेसबुकबाटै भएको हो

केटीः कति पुरानो साथी हो कुन्नी?
केटोः यस्तै २ वर्ष भयो
केटीः मान्छे चै कताको हो नि?
केटोः हामी एउटै जिल्लाको हो
केटीः ए ए...भन्नाले धेरै कुरा मिल्दो रैछ नि त
केटोः मिल्छ नि त..त्यसैले त साथी भयौं नि
केटीः उस्स् उस्स्...खुब मिलेछ है, मिलाएपछि मिल्छ नि, सरको पारा देखियो
केटोः लौ है कता कता जल्दैछ केही केही
केटीः भो कतै केही जलेको छैन, तिम्रै नाक खराब होला

केटोः अरू सोध्नु छैन केही??
केटीः छ नि किन नहुनु?? लु भन्नुस् त त्यो केटीलाई कहाँ भेटेको
केटोः होमटाउन एउटै देखेर मैले नै एड गरेको हो, साथीको म्युचुअल फ्रेन्ड रैछे
केटीः मैले फेसबुकको भेट भनेको हैन क्या सर...रियल लाइफको भेट भनेको
केटोः पख न त भन्दैछु त विस्तारै, अनि २ ३ महिना च्याट गरियो..
केटी(कुरो काट्दै)ः च्याट कि फ्लर्ट सर??
केटोः च्याट हउ च्याट..सबैसँग उस्तै गरि कहाँ कुरा गरिन्छ?? फ्लर्ट त तिमीसँग पो गर्ने हो नि...

केटी (अलि मख्ख पर्दै): भो भो गफ नदिम्..गफ सुनिदिने कोही पाएन है म छु ..अगाडी भन
केटोः अनि च्याट हुँदाहुँदै एकदिन खाजा खान आउने प्रस्ताव आयो, म अनि कुदीहालेँ नि भेट्न
केटीः थाहा छ थाहा छ..तिमी कसरी कुदेर जान्छौ भनेर, कन्या राशी जो पर्यौ
केटोः ह्या...सुन न अगाडी, त्यो दिन त कस्तो बिल्ला गर्दिनी उसले । मलाई बोलाएर उ नै बेपत्ता । फोन नम्बर पनि मागिन, कुदेर गएँ । एक घन्टा चोकमा कुरेर फर्किएँ नि
केटीः ठिक्क परो, यस्तै हुन्छ किस्न कन्हैयाहरूलाई..अनि पछि कसरी भेट्यौ नि?

केटोः एकदिन काम परेर मेरो अफिसमै आइ नि, अनि देख्ने बित्तिकै चिनीहालेँ...
केटी (अलि निधार खुम्च्याउँदै): राम्री होली नि..तिम्रा त तिन नेत्रै खुले होला क्यारे
केटो (आफ्नै सुरमा मख्ख पर्दै): राम्री नै छे नि, गोरी छे, ठिक्क हाइट की, डल्ली डल्ली गोलो अनुहार, हाँस्दा त अत्ती राम्री देखिन्छे नि मोरी
केटी( रिसाउँदै): ल ल, राम्री तिम्री साथी, खुब राम्री...मिस नेपाल नै हुन पर्ने नि
केटो (केटीको अनुहार हेर्दै): ह्या फेरी तिमी रिसायौ, तिमी पनि राम्री नै छौ नि, काली काली हिस्सी परेकी...
केटीः को रिसायो? म किन रिसाउनु नि? को हो र म तिम्रो यस्ता कुरामा रिसाउनु ? अनि धेरै मस्का लाउन पर्दैन । म राम्री नै छु, मलाई थाहा छ ल सर..तपाइँले वर्णन गर्नु पर्दैन । बरू उही तिम्री साथीको वर्णन सुनम् न, त्यस्ती राम्री मान्छे, ब्वाइफ्रेन्ड छैनन् त उसका?
केटोः मलाई के थाहा? मैले सोध्छु र कतै? होला नि त..

केटीः खुब थाहा नहुनु, नचिन्या हो र तिमीलाई... भ्याकेन्सी नहुँदो हो त तिमीले बोल्न पनि बोल्दैनौ नि केटीहरू सँग
केटोः ए..अनि तिमीसँग चै कसरी दोस्ती भयो त मेरो?? तिमी भ्याकेन्ट हो त?
केटीः भो, मलाई त आँखा पनि नलाउ, अरू कसैको "अमानत" पो त म..
केटोः हेरुँला म पनि..कति दिन त्यो मन जोगाएर बस्न सक्दो रहेछौ त..
केटीः ओ सर, मैले तिम्रो त्यो साथीको कुरा गर्दैछु.. मलाई लाइन मार्ने होइन यता, उसको ब्वाइफ्रेन्ड छ कि छैन
केटोः ए ए, खोइ थाहा छैन ..होला नि त...
केटीः तिमी नै त होइन कतै
केटोः हुन सक्छ
केटी (रिसाउँदै): ल ल बधाइ छ सर

त्यतिकैमा केटीको मोबाइलमा मेसेज टोन आउँछ, पढ्छे, हतार हतार जवाफ टाइप गर्छे । केटो यसो नदेखे झै गर्दै केटीको मोबाइल चियाउन खोज्छ, सक्दैन । अलि घाँटी तन्काउँछ फेरी देख्दैन..यता उता हेर्या जस्तो गर्छ ।

केटी(आँखा तर्दै) ओ सर, के हेर्या तेसरी घाँटी तन्काइ तन्काइ, प्राइवेसी भन्ने नि केही चिज हुन्छ नि
केटोः केही होइन...यसो के लेख्यौ भनेर हेर्या नि हेहेहे
केटी (रिसाउँदै):  जे पायो त्यै हैन है...अर्काको कसलाइ के लेख्या हुन्छ किन हेर्न पर्यो । हामीले तपाइँको केही सोधिखोजी गर्या छम्? हजुर कुन कुन मेडमलाई गफ लडाउनु हुन्छ कैले सोध्छम्? हजुरको गर्लफ्रेन्ड नै होलिन् को को, हामीले कैले पत्ता लाउँछम् हँ? फेरी किन अरूको चै बढ्ता सोधीखोजी हँ??
केटो अवाक्......

(रमाइलो बाँकी छ है अन्तर्वार्ता भाग ३)

7 comments:

  1. फेरी अर्को पाए क्रमश: अन्यथा यति नै हो? नयाँ केटी पात्र भनेसी केटो चै हप्तै पिछे फेरीफेरी नयाँ डेट :P

    ReplyDelete
    Replies
    1. अब अन्तिम भाग आउँछ...

      Delete
  2. Padda Ramailo Nai Lagyo. Duwai Bhag Pade. Aba Story Le Ali Mod Liyos Bhanne Chahanchu. Subhakamana

    ReplyDelete
    Replies
    1. मोड लिन्छ, फनफनी घुम्छ अब :P

      Delete
  3. hahahaa,, maza aayo padhnu laai,,, keta naferine nai rai6 ta tyo keta ko euta gatilo naam diye dkehi ni kaida hunthyo ni ,, sabin vanney bittikai jhattai tyei patra ko naam yaad aauney khaalko :)

    ReplyDelete

Popular Posts