Thursday, August 2, 2012

लूः यथार्थपरक पात्रहरू रहेको फिल्मी स्क्रिप्ट



"लू" पढियो । म कुनै समीक्षक होइन र पुस्तकको समिक्षा गर्नसक्ने गरी ज्ञान पनि आर्जेको छैन । एउटा सामान्य  पाठकको रूपमा लागेको कुरा लेख्दैछु । विशेष गरी यो उपन्यासको चर्चा बढी नै भएकोले । लू पढ्न धेरै समय लाग्यो । साथी जनक सँग किताब लिएको लगभग एक महिनाको समयमा बल्ल तल्ल भ्याइयो । एक त त्यसै पढ्न भनेपछि जाँगर नचल्ने, त्यसमाथि किताबले पनि अगाडी पढ्न घच्घचाउन सकेन ।

"लू" पश्चिम तराईको ऐना हो । यसले नेपालगञ्ज देखि नवलपरासी क्षेत्रसम्मको अवधि भाषी जनजिवन प्रस्टरूपमा देखाउँछ । त्यहाँको भाषा, रहनसहन, बोलीचाली र सामाजिक यथार्थताको स्पष्ट, सरल र सहज शैलीमा बयान गरेको छ । मेरो किशोरावस्था पश्चिम तराईकै कपिलवस्तुमा बितेको हुँदा उपन्यास पढुन्जेल मलाई उही परिवेशमा डुलाइ रह्यो । रेडियोलाल, बजरंगी, इलैया, हरदेइ, कमला, नुसरत, करीम आदि पात्रहरू सजिव बनेर आँखा अगाडी आए । आफू हुर्केको परिवेशमा रहेका पात्रहरू सँग तुलना गर्न पुगिएछ पढुन्जेल ।
पत्थरपुरवा गाउँको काल्पनिक चित्र खडा भइसकेको थियो दिमागमा जुन कता कता आफू हुर्केको ठाउँसँग मिल्न गएको थियो । सबैभन्दा अचम्म त मलाई 'टुटे पन्डित' सँगको साक्षात्कार लाग्यो । हाम्रो गाउँ (निबिहवा, जवाभारी-७, कपिलवस्तु) मा पुरोहिती गर्ने पन्डितको नाम पनि डुँडे पन्डित नै हो । टुटेको झै उनको पनि एउटा हातले काम गर्दैन । तिनले पनि टुटेले झै आयुर्वेद र वेदको अल्पज्ञानमा मरमसला लगाएर वर्णन गर्दै आफ्नो व्यवसाय चलाएका छन् गाउँमा । टुटेको जस्तै उनको अतितको बारे त ज्ञान भएन तर हात भाँचिएको कथा चै थोरबहुत मिल्छ ।

लू को कथानकमा तराईको तितो मिठो यथार्थ छ । एसएसबीको अत्याचार, सीमापारीको राजनितीमा वारीका मान्छेको सहभागीता राम्रो सँग यथार्थपरक रुपमा चित्रण भएको छ । अन्तरजातिय, अन्तरधर्म सम्बन्ध, खासगरी वैवाहिक/प्रेम सम्बन्धलाई समाजले हेर्ने दृष्टिकोणको चित्रण जिवन्त रुपमा भएको छ । तराई क्षेत्रमा रहेको हिन्दू मुस्लिमको सहिष्णुता र मेलमिलाप यो विषयको संवेदनशीलता घटनाक्रममा सही रूपमा वर्णन भएका छन् । आफूले देखेको भोगेको घटनाक्रम उपन्यासमा वर्णन भएको पाएँ । साइकलको कथा रोचक लाग्यो, हुन त आजकल हाम्रो तिर साइकललाई मोटरसाइकलले विस्थापित गरिसक्यो । कथामा वर्णन भएजस्तो साइकलमा चढेर भाग्ने चलनै त शुरु भइ सकेको छैन तर केही छिटपुट प्रेमकथाहरूमा भाग्न मोटरसाइकल प्रयोग भएको छ ।

लू ८० र ९० को दशकमा बन्ने गरेको हिन्दी मसला फिल्म जस्तै छ । यसका पात्र तथा घटनाक्रम अति नै फिल्मी छन् । खासगरी इलैया, उ डरलाग्दो नदीको भेलमा बेपत्ता भएर पनि जिउँदो नै फर्किन्छ, फिल्मको हिरो झैं । उसले गर्ने हरेक क्रियाकलाप हिन्दी फिल्महरूमा चित्रण भए झै "एंग्रीएंग म्यान"सँग मेल खान्छ । केही पैसाका लागि घर भत्काइदिने गुन्डाको रूपमा होस्, नुसरतलाई एकोहोरो माया गर्ने प्रेमीको रूपमा होस् वा करीमसँग नुसरतको मिलन गराई दिने अल्लाहको अवतारीको रूपमा होस् उ मलाई हरेक दृष्टिकोणबाट त्यस्तै लाग्यो । उपन्यासकारले हिन्दी फिल्म नहेरेर हो वा त्यस्तै चित्रण गर्न खोजेर हो, उपन्यास पढुन्जेल उही पुराना सूत्रका हिन्दी फिल्म हेरे जस्तो लागि रह्यो । नेताको रूपमा असगर अली र शम्भूरामको प्रस्तुतीकरण ठ्याक्कै उही शैलीमा गरिएको छ । ८० र ९० को दशकमा हिट भएका सबैजसो हिन्दी फिल्म हेरेको भएर पनि होला लू को प्रस्तुतीकरणमा केही पनि नयाँ कुरा भेटिएन । एउटा गाउँको एक थुप्रो पात्रहरूको घटनाक्रमलाई अलि ज्यादा नै नाटकियपन दिएर बनाइएको एउटा स्क्रिप्ट जस्तै बनेको छ यो उपन्यास । नुसरतको कल्पना पनि अलि बढी नै पाना खर्च गरेर वर्णन गरिएको छ । वायुपंखी घोडा अनि त्यसमा चढेर आउने योद्धा राजकुमारको कल्पना गर्ने युवतीको रूपमा नुसरतलाई देखाइएको कुरा पनि अलि पचेन । यस्ता दृश्यहरू प्रसस्तै रूपमा फिल्ममा हेरिसकिएको छ ।

समग्रमा "लू" कस्तो छ भन्ने कुरा यसलाई सकाउन लागेको समयले नै भनिहाल्छ । यसका पात्रहरूको चरित्र चित्रण सजिव छ, यथार्थपरक छ तर घटनाक्रम भने विल्कुलै नाटकीय र फिल्मी छन् । जुन कथानक हामीले अनेकौं हिन्दी फिल्ममा हेरिसकेका छौं । गाउँमा भेटिने पात्रहरूमा नायकीपना, प्रेमिल भाव, धूर्त्याइँ, रिस, द्वेष, घृणा यस्तो अधिक नाटकीय रूपमा चित्रण हुनुले कथानकलाई यथार्थबाट टाढा धकेल्यो । बेलाबेलामा कथावाचक पात्र फेरिरहनु मलाई रूचेन, यसले कथानकको वहावलाई छेक्यो बारम्बार ।


तस्वीर साभारः जनकराज भट्ट
अन्तमा उपन्यासमा भएको एउटा घटनाको बारे बोलिहालुँ । बजरङ्गीले रिसको झोंकमा भारतको झन्डा सँग मेल खाने रंगको कपडाको कट्टु सिलाएर एक महिनासम्म लगाउने प्रण गरेको भनिएको छ । काल्पनिकै भएपनि कुनै पनि अन्य राष्ट्रको राष्ट्रिय सम्मानमा त्यसरी आँच पुग्ने गरी कथा रच्नु उचित थिएन । याद गर्नुस् एउटा भारतीय नायकले नेपालको अस्तित्व नभएको जानकारी दिँदा, एउटा बंगलादेशी लेखिकाले नेपाल भन्ने देश पनि नभएको भन्दा कति उम्लियो नेपालीको रगत? मानौं कुनै दिन यो उपन्यास माथी चलचित्र बन्यो भने यो दृश्य राख्न सक्नु हुन्छ? उपन्यासकारज्यू, भारतीयहरूले नेपालीलाई हेपे भन्दैमा यसरी उनीहरूको राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने गरी भन्नु पनि त भएन नि, होइन??


1 comment:

  1. तपाईले लेख्नुभएको सरलभाषी यो लेख, मलाई राम्रो लाग्यो। यसैगरी लेख्दै जानुस्। शुभकामना! तपाईले झन्डाको बारेमा गर्नुभएको कुरा निकै घत लाग्यो@@

    ReplyDelete

Popular Posts