Wednesday, June 27, 2012

सुर्ती चुरोट खाने नै हो त?


चुरोट पिउनु हुन्छ?

सुर्ती, खैनी सेवन गर्नु हुन्छ??


यदि गर्नुहुन्छ भने अब होशियार हुनुहोस् । मिति २०६८ वैशाख २६ गते नै प्रमाणीकरण भएर कार्यान्वयनमा आईसकेको सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ सेवन गर्नेहरूलाइ नेपाल प्रहरीले हिजो (२०६९।०३।१३) देखि कार्यवाही शुरू गरेको छ ।

सबैभन्दा पहिले सूर्तीजन्य पदार्थ अन्तरगत के-के पर्दो रहेछ बुझौं ।

ऐनको दफा (२) अनुसार


  • “सूर्तिजन्य पदार्थ” भन्नाले धूम्रपान वा सूर्ति सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य सूर्तिजन्य पदार्थ सम्झनु पर्छ ।
  • “धूम्रपान” भन्नाले चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम सम्झनु पर्छ ।
  • “सूर्ति सेवन” भन्नाले खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नस लिने वा सेवन गर्ने काम सम्झनु पर्छ ।

यी पदार्थहरूको सार्वजनिक स्थलमा सेवन गर्नुलाई यही ऐन अनुसार विभिन्न प्रकारको कारवाही हुनेछ । अब सार्वजनिक स्थल अन्तरगत के-के पर्दो रहेछ हेरौं । सोही ऐनको दफा (३) मा उल्लेख भए बमोजिम निम्नानुसारको स्थानहरू सार्वजनिक स्थलमा पर्दो रहेछ ।


  • राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय,
  • शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था,
  • विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन,
  • बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब,
  • सार्वजनिक शौचालय,
  • उद्योग तथा कल कारखानाका कार्यस्थल (स्पष्टीकरण ः यस खण्डको प्रयोजनको लागि “कार्यस्थल” भन्नाले उद्योग तथा कल कारखानाले काम गर्न छुट्याएको कार्यालय वा स्थल सम्झनुपर्छ ।)
  • चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला,
  • होटल, मोटल, रिसोर्ट, रेष्टुरेण्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथी गृह,
  • रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस,
  • डिपार्टमेण्टल स्टोर तथा मिनी मार्केट,
  • धर्मशाला तथा धार्मिक स्थल,
  • सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टर ।

यति धेरै क्षेत्र समेटेको ऐनले सार्वजनिक बाटोघाटोलाइ छुटाएकोमा चै मलाइ अचम्म लागेको छ । हुन त पछि अन्य क्षेत्रलाइ पनि सार्वजनिक स्थलमा गाभ्न सकिने गरी आवश्यक व्यवस्था गरिएको छ । ऐनको दफा ३ को उपदफा (२) मा "नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य स्थल समेत सार्वजनिक स्थल मानिनेछ" भनेर लेखिएको छ ।

यसका अतिरिक्त ऐनको दफा (६) अनुसार आफ्नै घरभित्र तथा निजी सवारीसाधन भित्र अन्य व्यक्तिलाई असर पर्ने गरी धुम्रपान गर्न नपाउने व्यवस्था गरेको छ । 

अब गरौं कसुर र सजायका कुरा । 

ऐनको दफा (१७) बमोजिम सार्वजनिक स्थलमा धुम्रपान गर्नलाई धुम्रपान र सुर्ती सेवन गर्न तुरन्त रोक लगाउने, फेरी पनि गरेमा सार्वजनिक स्थलबाट बाहिर निकाल्ने र रू १००।०० जरिवाना वा दुवै गर्न सक्नेछ । सार्वजनिक स्थलको व्यवस्थापकले सूर्तिजन्य पदार्थ सेवन निषेध भएको सूचना टाँस नगरेमा रू ५०००।०० सम्म जरिवाना हुने रहेछ । 

सूर्तिजन्य पदार्थको उत्पादकले बट्टा, र्यापर, प्याकेजिङ्गको कुल भागको ७५ प्रतिशतमा चेतावनीमूलक सन्देश र सुर्ती चुरोटको शरिरमा पर्ने घातक असर देखिने रङ्गिन चित्र छाप्नु पर्नेछ । साथै सूर्तिजन्य पदार्थको उत्पादकले आफ्नो विवरण, लोगोका साथै निकोटिनको मात्रा तथा तोकिएका अन्य हानिकारक तत्व एवं आवश्यक कुराहरू कति मात्रामा छ उल्लेख गर्नु पर्छ । साथै सो विवरण र आफूले गरेको वार्षिक उत्पादन तथा निकासी पैठारीको पूर्ण विवरण मन्त्रालयमा समेत पेश गर्नु पर्छ । उत्पादकले यी मध्ये कुनै पनि काम नगरेमा रू५०,०००।०० सम्म जरिवाना हुने व्यवस्था रहेको छ । 


ऐनले सूर्ती चुरोटको विज्ञापन पनि नियमन गर्ने भएको छ ।

उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफ.एम., इन्टरनेट, ई–मेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन । यी मध्ये कुनै काम भएमा रू १,००,०००।०० (एक लाख) सम्म जरिवाना हुनेछ ।

ऐनले सुर्ती चुरोटको विक्रि वितरण कसलाई र कहाँ गर्ने नगर्ने पनि नियन्त्रण गरेको छ ।
अब देखि १८ वर्ष नपुगेका र गर्भवती महिलालाई सूर्ती चुरोट बेच्न र निशुल्क समेत दिन पाइनेछैन । तपाइँसँग अब विक्रेताले उमेरको प्रमाण र गर्भवती नभएको प्रमाण माग्न सक्नेछ । साथै सार्वजनिक स्थलको १०० मिटर वरिपरी सुर्ती चुरोट बेच्न पाइने छैन । यतिसम्म कि पसलमा आकर्षक रूपमा देखिने गरी सजाउन समेत पाइने छैन । अबदेखि फुटकर रूपमा चुरोट बेच्न पनि रोक लगाइएको छ । यो ऐन सँग सम्बन्धित नियमावली तयार भएपछि सुर्ती चुरोट बेच्न लाइसेन्स लिने व्यवस्था समेत हुन सक्छ । यी मध्ये कुनै प्रावधान उल्लघंन भएमा रू १०,०००।०० सम्म जरिवाना हुन सक्नेछ । 


रमाइलो कुरा के छ भने, तपाइँले अबदेखि कसैलाइ सुर्ती चुरोट उपहार, कोसेली समेत दिन पाउनु हुने छैन । तपाइँको उपहारको मूल्य रू १०,०००।०० सम्म तपाइँले सरकारलाई जरिवानाको रूपमा तिर्न पर्ने हुन सक्छ । 


यसो हेर्दा त ऐनले चुरोट सुर्ती नै सेवन गर्न नपाउने बनाएको जस्तो लाग्दो हो । तर ऐनले कारागार, विमानस्थल वा पर्यटकीय स्तरको होटलमा भने धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनका लागि छुट्टै स्थान बनाउन सकिने व्यवस्था गरेको छ । 

यदि यो ऐन पूर्ण रूपमा कार्यान्वयन हुने हो भने सुर्तीचुरोट खाने मान्छेको सार्वजनिक जिवन त कष्टकर हुने पक्का नै छ । साथै सुर्तीचुरोटको व्यापारबाट अरबौं कमाउने व्यापारी घराना डुब्ने पक्का नै भएको छ । अब आफै विचार गरौं, सुर्ती चुरोट छोड्ने कि जरिवाना तिर्ने ।

सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८




No comments:

Post a Comment

Popular Posts