Friday, October 26, 2012

Addiction: लत

'डिँगडँग्' '
डिँगडँग्'

तीनचोटी सम्म पनि डोरबेल बजाउँदा ढोका नखोलिए पछि प्रदीपको दिमागको तापक्रम पानी उम्लिने विन्दूमा पुगिसकेको थियो । त्यो ताप जम्मै मानौं उ डोरबेलको स्वीचमा पोख्दै थियो र लगातार थिच्या थिच्यै थियो । अफिसमा काम भ्याई नभ्याई थियो । खाजासम्म खाने फुर्सद थिएन । बल्ल तल्ल ६ बजे हाकिम निस्किएपछि अफिस छोड्ने मौका पाएको थियो । घर पुग्ने हतारमा बाटोमा ट्राफिक सिग्नल वेवास्ता गर्दा झन्डै कार्वाहीमा परेको थियो । अनि घर पुग्नै लाग्दा टोल नै झलमल्ल देख्दा खुशी पनि भएको थियो । आज जाने बित्तिकै आमाले खाजा खुवाउने छिन् अनि  आरामले किचेनमा पाक्दै गरेको खानाको सुगन्ध लिँदै क्रिकेट हेर्न पाइनेछ सोच्दै ढोकासामु पुगेको थियो । तर ढोका खोलिनमा भएको विलम्बले गर्दा उसको सबै उत्साह मरेर भोक र रिसले दिमागमा राज गर्दै थियो । उ लगातार डोरबेल थिच्दै थियो, त्यतिकैमा भित्रबाट ढोका खुल्यो । 

'कस्तो केटा छ यो? एकछिन पर्खन सक्दैन, के पागल जस्तो घन्टी बजाई रा?'

आमाको मुखबाट गाली खानु पर्दा उसको रिसमा झन् पेट्रोल थप्पियो र उ दनक्क बल्यो
'ढोका खोल्न यत्ति बेर लाग्छ? तरिका हुन्छ नि यार.... मान्छे काँ के मूडमा आएको छ, घर बाहिर उभ्याइदिने??'

छोरोको रिस देखेर आमाले केही बोलिनन् । बोल्ने कुरा पनि भएन । प्रदीप सरासर आफ्नो कोठमा पस्यो, झोला ओछ्यानमा फाल्यो र सकेसम्म बल लगाएर ढ्याम्म ढोका लगाएर ओछ्यानमा पल्टियो । रिस अझै उम्लिँदै थियो भित्रभित्रै । 

'यी आईमाईहरूको काम छैन, दिनभरी गफ गर्यो, टिभी हेर्यो , आराम फर्मायो । मान्छे याँ दिनभरी गधा झै जोतिन्छन्, के थाहा यिनीहरूलाई? थाकेर आउँदा ढोकामा उभ्भिनु पर्दा कस्तो हुन्छ के थाहा??'
रिसको तीव्र घोडाले तानेर प्रदीपको दिमाग कुद्न थाल्यो । आमाको नराम्रो बानी जति जम्मै केलाउन भ्याई सकेको थियो उसले यो समयमा । सोच्दा सोच्दै उसको पेट बटारिएर आयो ।
'आमाले यति बेर सम्म त खाजा बनाई सकिन् होलीन् । तर कस्ती बूढी भने.. सोध्न पनि सोधिन के खाने भनेर? अब उही पाउरोटी ल्याउने त होली नि..तर पाउरोटी त मैले बिहान ल्याएकै छैन, बुढीले आफै केही ल्याउने हैन । पक्कै फुल चिउरा खुवाउने भइन्... कि त्यही कुकीज र चिया हो आजको भाग...'

मुर्मुरिँदै सोच्दै थियो उ, भित्र पेट आन्दोलनको उत्सर्गमा पुगेको थियो । खपी नसक्नु भएपछि प्रदीप उठ्यो, ढोका खोल्यो र भान्छा तिर लाग्यो । भान्छामा बत्ति सुद्धा बलेको रहेनछ । सँगैको कोठाबाट टिभीको आवाज आउँदै थियो । उ ढोका खोलेर भित्र पस्यो । भित्र आमै एकटक टिभीको स्क्रिनमा हेरीरहेकी थिइन् । प्रदीप एकछिन उभिइरह्यो । केही बेर पछि आमाले उ उभिइरहेको थाहा पाइन् ।
'ए बाबु, लुगा फेरिस्? अबको ब्रेकमा तलाईँ चिया पकाइदिउँला भनेको.. तँ भने लुगा पनि नफेरी बस्या छस्..जा, लुगा फेर म चिया पकाइदिन्छु...'


Friday, October 19, 2012

क्यामेरा (कथा)

"तिमी पनि म सँगै हुने भइदिए कति रमाईलो हुन्थ्यो है मन?" कुराको प्रसङ्ग एक्कासी मोड्दै माया बोलिन्
मन एकटक मायालाई हेरि रहेको थियो, मात्र  "अँ..." भन्यो
"तर पिर नगर, म सँधै तिम्रो मन भित्र हुन्छु नि है मन"
मायाको यो मायालु बोलीले भित्रै सम्म छोयो मनलाई, मात्र मुसुक्क हाँस्यो अनि सुस्तरी भन्यो "लाटी.."
माया भने आफ्नै कल्पनाको उडानमा थिई
"म युरोपको विभिन्न देशमा पुग्नेछु, अनि त्यहाँ देखिएका रमाईला राम्रा दृश्यहरू यो आँखा भरी कैद गरी ल्याउनेछु, अनि म फर्किएपछि हामी दुवै एकपटक फेरी जाउँला ती ठाउँहरूमा "

मायाको यो अस्वाभाविक कल्पनाको उडान देखि देखि मन मख्ख पर्दै थियो । मन र मायाको जोडीमा मन अलि भावुक र काल्पनिक पाराको हो भने माया भने अलि यथार्थपरक थिइन् । वर्षौं सम्म समाजिक क्षेत्रमा काम गरेको अनुभव संगाली सकेकी मायाको एकपटक  सीमा काटेर विदेशको घुमाई गर्ने रहर भन्ने बल्ल तल्ल पुरा हुँदै थियो । पासपोर्टमा भिसाको ठप्पा लाग्ने बित्तिकै मानौं मायाको पखेटा पलाएका थिए । खुट्टा भूँईँमा थिएन ।  बगैंचामा डुल्ने पुतली झै माया रंगिबिरगीं तरंग छर्दै डुल्दै थिइन् भने त्यो पुतली समाउन पछि पछि कुद्ने बालक झै मन बनेको थियो । उ झनै खुशी थियो ।

"लाटी... ती दृश्यहरू कैद गर्न मनका आँखा चाहिन्छ र? एउटा क्यामेरा लिएर जानु नि?"
एक्कासी मायाको अनुहार उत्रियो "क्यामेरा?...क्यामेरा त म सँग छैन नि मन । के गर्नु?"

Thursday, October 18, 2012

एक दिनः तीन घटना

घटना १ - दुर्घटना वा षडयन्त्र 

छिमेककी आन्टी एकाबिहानै घरमा आईपुगिन् । आमा चिया लिएर कोठामा पस्नु मात्र भएको थियो । मभने सुत्या जस्तो गरी ओछ्यानमै गुट्मुटिएको थिएँ । आन्टी हत्तपत्त आउँदिनन्, आए पछि पक्कै पनि केही ठूलो कुरा (उनका लागि) लिएर आउँछिन् । मलाई भने ति आन्टीका कुरा उत्पात उल्टापुल्टा लाग्छन् । नकारात्मक बाहेक केही सोच्नै नसक्ने । आन्टीको हस्याङ्गफस्याङ्ग र आतुरी हेर्दा आज पनि पक्कै केही उल्का भएको छ भन्ने लाग्दै थियो ।  आमाले ढोका खोलेपछि भित्र पस्ने बित्तिकै वहाँको मुख पनि खुलिहाल्यो ।
"थाहा छ मेरी बुहारीले तातो पानी जिउ माथी खन्याई नि"
मेरो नलाग्या निद्रा पनि उड्यो, जुरुक्क उठेँ । आमाले सोध्नुभयो "ओहो ! कसरी नि? अनि धेरै पोल्यो त? हस्पिटल लग्यो?"

आन्टीले मुख बंग्याउँदै भनिन् "ह्या..के को हस्पिटल लानु, हातमा अलिकति परेको छ । पानी उमाल्दै थिई ताप्केमा, पल्टाइ नि तेस्ले, ठिकै छ अहिले त । गोल्भेडाँ पिसेर लगाई आफै.."
आमालाई अझै पनि ति भाउजूको माया लाग्दै थियो "हैन त्यति गरेर हुन्छ त? क्लिनिक सम्म त लैजानु पर्ने कि?"
आन्टी झर्किइन् "तेस्लाई के डाक्टरकाँ लानु? दसैंमा घरको काम गर्नु पर्ला भनि जानीजानी घोप्टाएकी तेस्ले"
मलाई खपिनसक्नु भयो "काँ आन्टी, कसैले जानीजानी ति उम्लेको पानी आफ्नो जिउमा खन्याउँछ, नचाहिने कुरा..."
आन्टीले मतिर फर्किएर आँखा मुख नचाउँदै भनिन् "तिमी जस्ता फुच्चेहरूलाइ के थाहा? आईमाइहरूले के के गर्छन् भनेर, अस्ती प्रतिज्ञाले पनि यस्तै त गरेकी थिई"
म तिर्मिराएँ..को प्रतिज्ञा??
यसो आमा तिर हेरेँ, आमैले कुरो बुझिन् अनि ति आन्टी झै आँखा मुख नचाउँदै बोलिन्
"त्यो क्या स्टारपलसमा आउँछ नि 'प्रतिज्ञा....', त्यसकी हिरोइन् क्या..."



घटना २ - सेक्सी गजल

रत्नपार्क तिर तुफान शान्त 'नेपाल' र म मुकुन्दे दाईको भाषण सुन्न भनि लाग्दै थियौं ।

Wednesday, October 17, 2012

हुस्सू भईएछ (गजल – ७७)

कस्तो हुस्सू भईएछ,
आफू के हो भुलिएछ

हिँड्दै जाँदा एक्लै भएँ
ओहो ! बाटो छुटि्टएछ

फूलले छुँदा चोट लाग्यो
शायद प्रेममा गलिएछ

घर कता बेघर कता
आफैं सीमा मेटिएछ

एकतारे मिठो बज्यो !
फेरी तार छेडिएछ


Monday, October 8, 2012

हुनुपर्छ (गजल - ७६)

संसार कहाँ चाहिन्छ र? एउटा खास हुनुपर्छ
माया दिँदा माया पाउने जिउँदो आश हुनुपर्छ

तिम्रा हरेक सवालको सही जवाफ पाउने छौ
मैले सत्य बोलेकोमा तिम्रो विश्वास हुनुपर्छ

झरेको त्यो पात सरी हुँ जहाँ पनि पुगिदिन्छु
उडाएर बोकी लाने मन्द बतास हुनुपर्छ

मायाको यो घर सामु अडिएको छ घाईते मुटु
यही घरमा पीडाको नै वसोबास हुनुपर्छ

न त हुन्छ वाहवाही, न त भन्छन् बहुत खुब
मेरा गजल, गजल नभै मेरो बकवास हुनुपर्छ

लौ ! वैरागी शेरहरू फेरी फुर्न  थालेका छन्
'एकतारे' प्रेममा परी फेरी निराश हुनुपर्छ

जहाँ पनि पुगिदिन्छु

Popular Posts