याद छ ?
एअरपोर्टको उत्तरी कुनाको त्यो डाँडा
जहाँ हामी भेट्थ्यौ,
अनि रमाउँथ्यौ
बाग्मतिको बांगो टिंगो डोबमा मर्किँदै
बौद्धनाथको दुई आँखालाई नमन गर्दै
पश्चिममा पशुपतिनाथलाई छोएर आएको
बतासमा शितल हुँदैँ
शहरको छिर्के मिर्के सौन्दर्य नियाल्थ्यौं
त्यहीँ बसेर हामी
धर्ती छोडेर आकाशको उँचाइ छुन
हवाइजहाजहरू त्यहीँबाट छुट्थे
धर्तीको अग्लो होचो
स्थायीत्वलाइ त्यागेर
बादलको मनपरी स्वरूपमा ढल्न
ति विमानले कयौलाइ बोकेर जान्थ्यो
आजकल त्यो डाँडामा
चारैतिर काँडेतार लागेको छ
सिपाहीहरूले कब्जा गरेपछि
त्यो डाँडामा
हामीलाई प्रवेश निषेध छ
No comments:
Post a Comment