Wednesday, August 29, 2012

त्रिशुली किनार हुइँकिदाँ -४

त्रिशुली किनार हुइँकिदाँ -१
त्रिशुली किनार हुँइकिदाँ - २
त्रिशुली किनार हुँइकिँदाँ - ३ 

भन्दा अगाडी....

लगभग वेत्रावति पुग्नै लाग्दा एउटा एपाचे बाइकले बाटो छेकुँला झै गरी आयो । तिनजना एउटा बाइकमा, भर्खरका केटाहरू...शंका लाग्यो कतै केही गर्ने त होइनन् भनेर । आफ्नो भने नराम्रो बानी छ, बाटोमा साइड दिएन भने ओभरटेक गरी अगाडी पुगेपछि बाटो छेक्दै जिस्काउने । शायद केटाहरूलाइ कुनै ठाउँमा त्यस्तै गरियो कि...विपिनले फोटो खिँच्दै थिए, केटो नजिकै आएर केही भन्दै थियो । हेलमेटले पुरै अनुहार ढाकिएकोले उसले बोलेको केही पनि सुनिएन । म झ्याप्पै रोकिएँ, अनि बल्ल उसले भनेको सुनियो । उसको कुरा सुनेपछि एकचोटी त हाँसो नै उठ्यो आफू प्रति..बेकारमा नानाभातीँ सोचेकोमा । ति भाईहरू घुम्न निस्केका रहेछन्, अगाडी प्रहरीको चेकजाँच हुँदो रहेछ । पुल पारीसम्म लिफ्ट दिन भनेका रहेछन् । अब आफू कहाँ छु, थाहा छैन, कहाँ पुगेर बस्ने हो पनि थाहै छैन के भन्नु? ल बस न त भनेर लिएर हिँडियो उसलाई पनि । तर लगभग २०० मिटर गुडेपछि नै हाम्रो गन्तव्य पुगिसकेका थियौं । अर्थात वेत्रावती बजार पुगियो...



Friday, August 24, 2012

ठूला कुरा (गजल - ७४)

ठूला ठूला कुरा बोलियो बाइ
ठूलै मान्छे पो त बनियो बाइ

हात उठाउँदा घामै छेकेछु बरै
कुन्ना कुन्ना आकाश नापियो बाइ

खोक्दा पनि ताली बज्दैछ हरे!
बहिराको संगत गरियो बाइ

चार भित्ता माथि गजुर हालेँ
यो लोकको देउतै भइयो बाइ

रिसाउनेले लाए अनुहार कालो
दिनमा नै रात देखियो बाइ

Tuesday, August 14, 2012

तपाइँ नै भन्नुस् न

हिजो साँझ एउटा साथी कहाँ पुगेको , खाना बनाउने तरखर हुँदै रहेछ बुढाबुढीको
प्रस्तुत छ उनिहरू विचको सम्वाद जस्ताको तस्तै


लोग्नेः आज खानामा के बनाउँछौ त बुढी
स्वास्नीः तपाइँ भन्नुस् न के बनाउने? म त्यही बनाउँला

लोग्नेः उही दालभात तरकारी बनाउन न त
स्वास्नीः ह्या..कति त्यही मात्र खानु

लोग्नेः त्यसो भए आज रोटी बनाउन त
स्वास्नीः अनि बच्चाहरूलाई के खुवाउनु नि?

लोग्नेः अँ..पराठा बनाउ न त
स्वास्नीः अलि हेभी हुँदैन?

लोग्नेः म चिकेन लिएर आउँछु नि त त्यसो भए
स्वास्नीः भो..आज सोमवार, मासु खानु हुन्न

लोग्नेः रेस्टुरेन्टबाट लिएर आउँछु नि त
स्वास्नीः कति बाहिरको मात्र खानु?

लोग्ने (झर्किँदै)ः त्यसो भए वाइवाइ उमालेर खुवाउ आज
स्वास्नीः हुँदैन...त्यसले पेट भर्छ त? अनि त्यो हाइजेनिक पनि त हुन्न


लोग्ने (रिसाउँदै)  ए मेरी हजुरआमा...त्यसो भए के बनाउँछौ, बनाउ यार..
स्वास्नीः तपाइँ भन्नु न के बनाउने??

Friday, August 10, 2012

अन्तरवार्ता (भाग २)

यो कथा शुरू गर्नु भन्दा अगाडीको भाग RECAP (अन्तरवार्ता (भाग १)) गरि हालुँ, अन्यथा केही नबुझिएला :)


(अघिल्लो भागको केटो पात्र फेरी दोहोरिएको छ, तर केटी पात्र भने बेग्लै हो)

व्यस्त सडक भरी गाडीहरूको ओहोर दोहोर छ । पाँच तल्ले भवनको छतमा रहेको रेस्टुरेन्टमा एक जोडी टेबलमा बसेका छन् । चियाको चुस्की सँगै शायद मिठो गफगाफ चल्दैछ । मन्द मन्द मुस्कान छरिएको छ दुवैको मुहारमा, अनि बेला बेलामा मज्जाले हाँस्छन् दुवैजना । मानौं, संसारको सबै पीरहरूबाट मुक्त छन् र यो क्षण उनीहरूको खुशी चरमसीमामा छ ।



अचानक कुरा गर्दा गर्दै केटोले खल्ती छाम्छ । फोन आएको रहेछ, भाइब्रेसन मोडमा रहेकोलेरिंङ्गटोन सुनिएन ।

केटाः  एकछिन है त (भन्दै उठेर अलि पर कुनातिर लाग्छ)

केटीको अनुहार खुम्चिन्छ, तर केटो फोनतिर कुरा गर्दै टाढिन्छ ।


केटो प्रसन्न मुद्रामा फोनमा वार्ता गर्दैछ, उ बोल्ने भन्दा बढी सुन्ने काम बढी गर्दैछ फोनमा । केटी एकतमास केटोले फोनमा कुरा गरिरहेको हेर्दैछे । उसको अनुहारमा तनाव छ, शायद फोनको उतापट्टी बोल्ने मान्छेको कल्पना गर्दैछे । कुराकानी छिट्टै सक्कियो र केटो उही मुस्कान अनुहारमा पोत्दै टेबलतिर फर्कियो ।

केटीः क्या हो सर, कुरा त साह्रै मिठो थियो जस्तो छ नि उतातिरबाट..
केटोः ए..अँ...साथी थियो
केटीः मैले को थियो भनेर सोधेँ र, स्पष्टीकरण दिनलाई??

Thursday, August 2, 2012

लूः यथार्थपरक पात्रहरू रहेको फिल्मी स्क्रिप्ट



"लू" पढियो । म कुनै समीक्षक होइन र पुस्तकको समिक्षा गर्नसक्ने गरी ज्ञान पनि आर्जेको छैन । एउटा सामान्य  पाठकको रूपमा लागेको कुरा लेख्दैछु । विशेष गरी यो उपन्यासको चर्चा बढी नै भएकोले । लू पढ्न धेरै समय लाग्यो । साथी जनक सँग किताब लिएको लगभग एक महिनाको समयमा बल्ल तल्ल भ्याइयो । एक त त्यसै पढ्न भनेपछि जाँगर नचल्ने, त्यसमाथि किताबले पनि अगाडी पढ्न घच्घचाउन सकेन ।

"लू" पश्चिम तराईको ऐना हो । यसले नेपालगञ्ज देखि नवलपरासी क्षेत्रसम्मको अवधि भाषी जनजिवन प्रस्टरूपमा देखाउँछ । त्यहाँको भाषा, रहनसहन, बोलीचाली र सामाजिक यथार्थताको स्पष्ट, सरल र सहज शैलीमा बयान गरेको छ । मेरो किशोरावस्था पश्चिम तराईकै कपिलवस्तुमा बितेको हुँदा उपन्यास पढुन्जेल मलाई उही परिवेशमा डुलाइ रह्यो । रेडियोलाल, बजरंगी, इलैया, हरदेइ, कमला, नुसरत, करीम आदि पात्रहरू सजिव बनेर आँखा अगाडी आए । आफू हुर्केको परिवेशमा रहेका पात्रहरू सँग तुलना गर्न पुगिएछ पढुन्जेल ।

Wednesday, August 1, 2012

भारतमा नक्कली कपिलवस्तु

(यो समाचार मैले लेखेको होइन, तर सबैको जानकारीमा आउनुपर्छ जस्तो लागेर बाँडेको मात्र  हुँ – एकतारे)

भारत सरकारले कपिलवस्तु भारतमा रहेको भनी प्रचारप्रसार तथा निर्माण कार्य तीव्र पारेकोे छ । नेपाल भारत सीमानाअन्तर्गत उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा भन्ने स्थानमा उक्त नक्कली कपिलवस्तु निर्माण गरेको हो । कपिलवस्तुको भन्सार नाका चाकरचौडाको तीन किमि दक्षिण एक दरबार निर्माण गरिएको छ । प्राचीन कला तथा संस्कृतिको नक्कल गरी भारतीय पुरातत्वविदहरूको सहयोगमा उनीहरूले नेपालको जस्तै देखिने कपिलवस्तु निर्माण गरेका छन् ।


अलिगढवा र पिप्राहवामा बनाइएका नक्कली कपिलवस्तु अझै निर्माण विस्तार भइरहेको छ । त्यहाँ रहेका ठुल्ठूला बोर्डमा राजा शुद्धोधनको दरबार र भगवान् गौतमबुद्धले २९ वर्ष बिताएको स्थल भनेर लेखिएको छ । सुर्खीचुना, इँटाको धुलो र चाक्लो इँटाबाट अझै दरबार निर्माण कार्य भइरहेको छ । केही वर्षयतादेखि भारतले यस क्षेत्रलाई ‘कपिलवस्तु’ नामकरण गरी व्यापक भौतिक पूर्वाधारको विकास गर्नुका साथै त्यहाँ अन्र्तराष्ट्रिय विमानस्थल समेत निर्माण कार्य सुरु गरेको छ ।

Popular Posts