Thursday, December 21, 2017

Social Media Fever

मान्छेहरू सामाजिक सञ्जालमा आफ्ना बारे धेरै कुरा बाँड्छन् । केहि त यतिविध्न लिप्त हुन्छन् कि, जिन्दगीका हरेक क्रियाकलाप समाजिक सञ्जालमा नराखि बस्नै सक्दैनन् ।

उदाहरणका लागिः कुनै दिन रमाइलोका लागि रेस्टुरेन्टमा गए भने त्यहाँ जानु अघि लुगा छान्ने, लुगा लगाएपछि, जाँदैगर्दा बाटोको, पुगेपछि मेनुको, खानाको, पेयपदार्थको, त्यहाँको वातावरणको, सङ्गीत बजाइरहेको, त्यसमा झुमिरहेको फोटो यत्रतत्र हाल्छन् । फेसबुक, फेसबुक स्टोरी, इन्स्टाग्राम, इन्स्टा स्टोरी, व्हाट्सएप स्टेटस, टुइटर, स्न्यापच्याट आदिइत्यादी सबैठाउँमा उनिहरू के गरिराखेका छन् भन्ने कुराको पलपल खबर पाइन्छ । उनिहरू कतै घुम्न जाँदैछन् भनेपनि यस्तै पलपलका खबर पाइन्छ । प्याकिङ गर्दा देखि गन्तव्यमा पुगुञ्जेलसम्म, यात्रा शुरू गरेदेखि घर नफर्किएसम्मका हरेक क्षणका तस्वीर जताततै पोखिरहेका हुन्छन् । कुनै सामाजिक अवसर जस्तै विवाहमा सहभागि भएका छन् भने त कुरै नगरौं । त्यो समारोह सकिएको हप्तौंसम्म त्यसका तस्वीर बाँडिएका हुन्छन् । हेरिसाध्य छन् र? 

Tuesday, December 19, 2017

सपनाका कुरा

फोटो र ब्लगको कुनै सम्बन्ध छैन
अस्ती देखेको सपनाका कुरा गर्छु ।

ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ । मेरो पछाडी एउटा भव्य भवन पनि थियो । अनुजको कलेजको भवन हुनुपर्छ । त्यो अनुजकै कलेज हो भनेर भन्न चैं सक्दिन किनकी मैले उसको कलेज देखेको छैन । त्यो ठाउँ अमेरिकै हो भनेर ठोकुवा पनि गर्दिन, किनकी अमेरिका पनि मैले देखेको छैन । मैले चिनेको अनुज र अभि हो र उनिहरू अहिले अमेरिकामा छन् । 
अनुजको डेट जानुपर्ने भएकोले म घर फर्किने सुरसारमा थिएँ । ठ्याक्क कलेज पारी ठूलो फ्लाइओभर थियो । म घर जाने बाटो त्यही फ्लाइओभर हुँदै जानुपर्ने थियो । अनि मेरो घर चैं त्यो कलेज भवनबाट नजिकै देखिने गाउँमा थियो । यसो बिचार गरियो । फ्लाइओभर उक्लिएर गाडी चढ्नु भन्दा लखर लखर हिँडेर घरजाँदा बेस हुन्छ । समस्या के भने घर र कलेज बीचमा खेतै खेत छ । म हिँड्न रूचाउन्न, सबैलाई थाहा छ । तर सपनामा भने हिँड्न तम्सिएँ । 

Sunday, December 10, 2017

बिहानी

आजकाल राती चाँडो निद्रा लाग्छ । चाँडो सुतेपछि चाँडै उठिन्छ । म पछिल्लो केही महिनादेखि सूर्यभन्दा पहिले उदाउँछु । उदाउँछु नै त भन्न नमिल्ला, उठ्छु । तर आज भने म सूर्यभन्दा पहिले उदाएँ ।

बिहान ६ बजे नै स्कुटर लिएर घर बाहिर निस्किएँ । काठमाण्डुबाट अझैपनि हिमाल देखिँदो रहेछ । भलै तुँवालो, धूलोले आकाश धमिलो होस्, हिमाल भनेको हिमालै रहेछ । कालो ढुङ्गाको थुप्रोमाथि सेतो हिमालको ढिस्कोको आफ्नो अस्तित्व देखाएर हामीलाइ हाम्रो हैसियत सम्झाउन छाडेको रहेनछ ।

Monday, December 4, 2017

गफ

हिजो भर्खर आफ्नो एउटा अन्तरवार्ता हेरियो । अनि अस्ति भर्खर फेसबुकमा लाइभ गजल वाचन गरियो । यही बीचमा रेडियोमा पनि कुराकानी गरेर आइयो ।

रमाइलो कुरा के भने, अन्तरवार्तामा चैं 'म बोल्न लजाउँछु' भन्दो रैछु । गफाडी भइएछ । निर्धक्क बोल्दैछु, फेरि 'बोल्न अप्ठेरो लाग्छ' भन्दै रहेछु । आफ्नो गफाडीपन चिन्दैछु बल्ल । मेरा वरिपरी हुनेलाइ थाहा होला, म कति बकबक गर्छु भनेर । मलाइ आजकाल चुप लागेर बस्न गाह्रो हुन्छ, कोही अगाडि पर्यो भने फतरफतर बोल्न मात्र मनलाग्छ ।

Sunday, November 19, 2017

सुनौं

सबै भेद विभेद भन्दा पर बसेर
आऊ हामी सुनौं एकअर्कालाई

न तिमीलाई म बुझ्ने कर होस्
न मलाई तिमी बुझ्ने कर रहोस्

बस्,
तिमी सुनाउ म सुन्छु
म सुनाउँ तिमी सुन्नु

हामी खुलौं एकअर्का सँग

आउ एकछिन सँगसँगै हिँडौं

मिसाउँ हाम्रा बाटाहरू
र मेटाउँ दोबाटो

Friday, November 3, 2017

त्यो भोली आयो

हिजो देखि नै मन ठाउँमा थिएन । अस्थिर । जिन्दगीमा के-के हुने हुने । घुमिफिरी उस्तै परिस्थिति बारम्बार आइदिने । पटक पटक भोगेपछि त बानी हुनुपर्ने हो तर झनै पहिलेको पीडा सम्झेर मन तर्सिदिने । सम्हाल्नै गाह्रो । धन्न निद्रा चैं लाग्छ र त सुतुन्जेल आनन्द हुन्छ ।

बिहानै झिसमिसेमा निद्रा खुल्नेगर्छ । पूरै जागा हुनुभन्दा पहिलेका केही घन्टा बडो तनावपूर्ण हुन्छ । मन छटपटी रहेको हुन्छ, सपना पनि देखिरहेको हुन्छ । के यथार्थ हो, के भ्रम हो छुट्ट्याउन नसकिने । तर बिहान भएपछि धेरै कुरा ठीक हुन्छ । घाममा जादू छ । अँध्यारो हटाउँछ । हुन त घाम नहुनु नै अँध्यारो हो । अँध्यारोमा घाम देख्न सक्नु पर्ने रहेछ । आराम हुन्छ । 

Friday, October 6, 2017

गजल १०७

बतास चल्दा जहाँ-जहाँ छेकिएको थियो
ठिक त्यहीँ हाँगा सिधा देखिएको थियो

त्यो प्रेमपत्र आगोले नि जलाएन आखिर
"मन सागर हो" त्यसमा लेखिएको थियो

गजल १०६

एक हातमा फूल अर्कोमा छुरी छ
ऊ सँग नै अँगालिन मञ्जुरी छ

टाढा हुँदा माया हुन्छ त्यसैले त
सँगै हिँड्दा छुटिन कै आतुरी छ

Monday, October 2, 2017

त्यैँ लाउँला चोखो पियार - ५

दशैं गयो । सक्कियो । नेपालीको एकहप्ते चुमचुम सक्कियो ।

काठमाडौं आजदेखि फेरि जाग्यो । बिहानै देखि कोटेश्वर चोकमा जाम थियो । तर धूलो अझै उडिसक्या छैन । आज पानी परेपछि भएको हिलोले भोली बिहान धुलाम्य बनाउने चैं पक्का छ ।

सदा झैं दशैं मनाइएन । नमनाउने खासै केही कारण छैन । बच्चै देखि मनाइएन,  ठूलो भएपछि झन् मनाउने कारण पनि चाहिएन । मामाघरमा दक्षिणा दिने चलन छैन । पैसा नआउने दशैं बच्चालाई के स्वाद? अँ मासु टन्नै खान पाइन्थ्यो । तर नेवारको घरमा मासु नभएको अवसर विरलै हुन्थ्यो ।

Saturday, September 23, 2017

त्यैँ लाउँला चोखो पियार - ४

हिँड्नका लागि कहिल्यै हिँडिएन । गुड्नकै लागि भने धेरै चोटी गुडियो । अरू त के हुनु? लक्ष्य त साथीसँग भेटघाट मात्र थियो । पोखरा जाने कुरा थियो, तारतम्य मिलेन । मान्छे पनि थिए, बाइक पनि थिए, समय पनि थियो । एउटो लाइसेन्स मिलेन ।

हाइवे, हाइवे जस्तो रहेन । ओभरटेक गरम् खाल्डोमा जाकिने डर, नगरम् बाह्र चक्के र टिप्परको चिप्लेकीरे पारामा परिने । धूँवाधुलो मजाले खाइयो । काठमाडौंबासीले धेर गनगन नगरे हुन्छ, हाइवेबासीले उनारू भन्दा कैयौं गुणा बेसि धुँवाले टपिङ गरिएको धूलो खान्छन् ।

गोरखा पुगियो । थाकियो, सुतियो । बिहानै गोरखा दरबार हेर्न जाने कुरा भयो ।

Wednesday, September 13, 2017

त्यैँ लाउँला चोखो पियार - ३

"मोटाउनू भएछ ।"

हिजोआज सुन्यासुन्यै छु । साँच्चिकै मोटाएँ कि भन्ने भ्रम भइसक्यो । २० वर्षको उमेरसम्म ४५ केजीको थिएँ । एकचोटी हेभी छलाङ लिएर ५४ केजी पुगेँ । कोरिया गइयो । दारू खाइएन । तर साथीहरूको बङ्गुर सीतन टन्नै खाइयो । ६७ केजी भइयाथ्यो । जिम पनि गरियो । पाखुराका मासु बटारिएर तनक्क हुँदा आत्मरतिमा पनि रमाइयो । अहिले ६५ छु । धेरै होइन ।

त्यैँ लाउँला चोखो पियार - २

गजल लेख्न रहर लाग्छ । गजल लेख्न सकिँदैन ।

 गीत सुन्न मन लाग्छ, लेख्न मन लाग्दैन । गीत लेख्न कर पनि लाग्छ ।

शेर फ्याट्ट फुर्छ । शेर मिलाउन समय लाग्छ । शेर समातेर गजल बनाउन समय त कत्ति कत्ति । के के न पहाड उचालेजस्तो गजल बनायो, साथीहरूलाइ सुनायो, फ्याँस्स प्रतिक्रिया । नबुझेका हुन् कि मेरा भावना नै फितला, बुझ्नै गाह्रो ।

त्यैँ लाउँला चोखो पियार - १

गजल कस्तो हुनुपर्छ भन्ने वादविवाद चलिरहेछ ।

गजलको सिद्धान्त यो हो भन्ने तर्क एकातिर छ । अर्काथरिले लेखेका गजल त गजल हैन भन्ने तर्क पनि छ । आफैंले लेखेका गजल पनि गजल भएनछन् भन्ने तर्क पनि उनकै छ । गजलका सिद्धान्तका किताब पनि छापिएकै छन् ।

गजल भनेको यस्तो हुनुपर्छ भनेर हात फाल्दै गजल घन्काउने पनि गजल कै तर्कमा छन् । वाहवाही आउनु पर्छ, गजलले जुरूक्क पार्नपर्छ भन्ने पनि तर्क छ । जनताले रूचाएपछि गजल यस्तै हुनुपर्छ भन्ने तर्क पनि छ । गजल सुनेर वाहवाही गर्ने ठूलै जमात पनि पछि लागेकै छन् । 

Tuesday, May 9, 2017

मेरी प्रिया एमाले

देशमा विकास हुँदैछ, देशको विकास हुँदैछ । अस्ती भर्खर एकजना हाकिमले नेपालीको घरघर उज्यालो पार्ने पवित्र उद्देश्यले छिमेकीसँग सोझै बत्ती खरिद गर्ने निर्णय गर्न पहल गर्नु भएको थियो । बत्ति त किन्ने, अझै बजारभन्दा तीन गुणा कम दाममा किनेर जनतालाई वितरण गर्ने अरे । त्यसै पनि उर्जाको मारमा परेका हामी, उहाँप्रति कृतज्ञ छौं, त्यसमाथि गुणमाथि गुण थपिदिने हुनुभयो ।

अँ, वहाँको यो कदमको चौतर्फी आलोचना पनि भइराछ । बिनाप्रतिस्पर्धा, प्रक्रिया नपुगाई काम गरेर फाइदा लिन खोजेको आरोप लाग्यो । तथ्य, आधारहीत तथ्य, अपूरो तथ्यका आधारमा आलोचना बढी भएपछि वहाँले जवाफ दिनुपर्ने नै भयो । पत्रकार सम्मेलन गर्नुभयो । त्यहाँ वहाँमाथि लागेका आरोपका बारेमा बडो दुःखि हुँदै आँसु पुछ्दै भन्नु पर्ने भयो "म गलत हुँ भने सजाय दिनुस्"

Saturday, May 6, 2017

कति ठूलो धनकुटा

धनकुटा जाने सोच थिएन । एक्कासी धनकुटा जाने भइयो । धनकुटा भन्ने बित्तिकै अनन्त अनुराग याद आए ।
फेसबुकमा मेसेज गरियो 'धनकुटा आउँदैछौं ।' उताबाट स्वागत पनि भयो ।

काठमाडौं छाडेको भोलीपल्ट धनकुटा पुग्ने भइयो । धरानबाट माथी उक्लेपछि फोनमा सम्वाद भयो ।
तस्विरः रोशन परियार

हामी धनकुटा जान लागेका, धनकुटा बजार पो सानो छ त । धनकुटा त ठूलो पो रहेछ । हाम्रा लागि अनन्त धनकुटा बस्छन् । तर धनकुटाको कुन कुनामा भन्ने कहिल्यै सोचिएन । विदा परेर घर गएका रहेछन् । कार्यस्थल पाख्रीबास । हामी जाने धनकुटा बजार । भेट कसरी जुर्ने?

Friday, April 28, 2017

एउटा साथीको साथले कति फरक पर्दछ?

चिया खान बाइक रोक्न लगाएँ ।
पछि आउने बाइकवाला पनि रोकिए, अनि सोधे "पर्स खसेको छ कसैको?"
खल्ती नछामेरै भनेँ "छैन" । अनि खल्ति छामे । थाहा भयो पर्स छैन ।
यत्तिञ्जेल ती बाइकवालाले भने, "पछाडी खसेको छ, साथीले टिप्दैछन् ।"

त्यत्तिकैमा साथी आइपुगे । गोजीबाट पर्स र एकथुप्रो पैसा हातमा राखिदिए ।

कति खेर पर्स गोजीबाट खसेछ । त्यसमा भएको १०/१५ हजार निस्केर बाटोभरि छरिएछन् ।
बाटो छेक्दै गुडेको टिप्परलाई सरापेको थिएँ । त्यही ट्रिपरको ठ्याक्क अघि पर्स खसेर पैसा उडेको रहेछ । टिप्पर ड्राइभरले गाडीबाट ओर्लेर पैसा बटुल्न अघि नै मेरो पछिपछि आएका साथीले बेलैमा रोकेर पर्स र पैसा उठाई दिए । ड्राइभरले शङ्का गरेको बेला कड्किएछन् "मेरो साथीको हो, उसको नाम सबिन सिंह हो"

बिहानको घटना सम्झिँए ।

चारजना दुइटा बाइकमा जाने सल्लाह थियो । एकजना नजाने भए । जम्मा एउटा बाईक ।
चौथो साथीलाई जाउँ भन्ने नभन्ने दोधारमा थिएँ । खै के सोचेँ । दोश्रो साथीलाई भनेँ
"बाइक मिलाउनूस् ।"

बाइक नमिलेको भए, बाइक नमिलाएको भए, के के हुन्थ्यो होला? कति घाटा लाग्थ्यो?
कति नाफा भयो?

अहिले तीनजना मस्त गफ्फिदैँ छौं । :)

Thursday, January 5, 2017

चीसो मन (कविता)



बिहान बिहानै
च्याप्प यो मौसमलाई समाती
तिमीमा घोलेर
स्वाट्ट! एक पेग लाइदिम् जस्तो लाग्दैछ
आज यो मन अलि न्यानो बनाउनु छ

Popular Posts