Friday, October 26, 2012

Addiction: लत

'डिँगडँग्' '
डिँगडँग्'

तीनचोटी सम्म पनि डोरबेल बजाउँदा ढोका नखोलिए पछि प्रदीपको दिमागको तापक्रम पानी उम्लिने विन्दूमा पुगिसकेको थियो । त्यो ताप जम्मै मानौं उ डोरबेलको स्वीचमा पोख्दै थियो र लगातार थिच्या थिच्यै थियो । अफिसमा काम भ्याई नभ्याई थियो । खाजासम्म खाने फुर्सद थिएन । बल्ल तल्ल ६ बजे हाकिम निस्किएपछि अफिस छोड्ने मौका पाएको थियो । घर पुग्ने हतारमा बाटोमा ट्राफिक सिग्नल वेवास्ता गर्दा झन्डै कार्वाहीमा परेको थियो । अनि घर पुग्नै लाग्दा टोल नै झलमल्ल देख्दा खुशी पनि भएको थियो । आज जाने बित्तिकै आमाले खाजा खुवाउने छिन् अनि  आरामले किचेनमा पाक्दै गरेको खानाको सुगन्ध लिँदै क्रिकेट हेर्न पाइनेछ सोच्दै ढोकासामु पुगेको थियो । तर ढोका खोलिनमा भएको विलम्बले गर्दा उसको सबै उत्साह मरेर भोक र रिसले दिमागमा राज गर्दै थियो । उ लगातार डोरबेल थिच्दै थियो, त्यतिकैमा भित्रबाट ढोका खुल्यो । 

'कस्तो केटा छ यो? एकछिन पर्खन सक्दैन, के पागल जस्तो घन्टी बजाई रा?'

आमाको मुखबाट गाली खानु पर्दा उसको रिसमा झन् पेट्रोल थप्पियो र उ दनक्क बल्यो
'ढोका खोल्न यत्ति बेर लाग्छ? तरिका हुन्छ नि यार.... मान्छे काँ के मूडमा आएको छ, घर बाहिर उभ्याइदिने??'

छोरोको रिस देखेर आमाले केही बोलिनन् । बोल्ने कुरा पनि भएन । प्रदीप सरासर आफ्नो कोठमा पस्यो, झोला ओछ्यानमा फाल्यो र सकेसम्म बल लगाएर ढ्याम्म ढोका लगाएर ओछ्यानमा पल्टियो । रिस अझै उम्लिँदै थियो भित्रभित्रै । 

'यी आईमाईहरूको काम छैन, दिनभरी गफ गर्यो, टिभी हेर्यो , आराम फर्मायो । मान्छे याँ दिनभरी गधा झै जोतिन्छन्, के थाहा यिनीहरूलाई? थाकेर आउँदा ढोकामा उभ्भिनु पर्दा कस्तो हुन्छ के थाहा??'
रिसको तीव्र घोडाले तानेर प्रदीपको दिमाग कुद्न थाल्यो । आमाको नराम्रो बानी जति जम्मै केलाउन भ्याई सकेको थियो उसले यो समयमा । सोच्दा सोच्दै उसको पेट बटारिएर आयो ।
'आमाले यति बेर सम्म त खाजा बनाई सकिन् होलीन् । तर कस्ती बूढी भने.. सोध्न पनि सोधिन के खाने भनेर? अब उही पाउरोटी ल्याउने त होली नि..तर पाउरोटी त मैले बिहान ल्याएकै छैन, बुढीले आफै केही ल्याउने हैन । पक्कै फुल चिउरा खुवाउने भइन्... कि त्यही कुकीज र चिया हो आजको भाग...'

मुर्मुरिँदै सोच्दै थियो उ, भित्र पेट आन्दोलनको उत्सर्गमा पुगेको थियो । खपी नसक्नु भएपछि प्रदीप उठ्यो, ढोका खोल्यो र भान्छा तिर लाग्यो । भान्छामा बत्ति सुद्धा बलेको रहेनछ । सँगैको कोठाबाट टिभीको आवाज आउँदै थियो । उ ढोका खोलेर भित्र पस्यो । भित्र आमै एकटक टिभीको स्क्रिनमा हेरीरहेकी थिइन् । प्रदीप एकछिन उभिइरह्यो । केही बेर पछि आमाले उ उभिइरहेको थाहा पाइन् ।
'ए बाबु, लुगा फेरिस्? अबको ब्रेकमा तलाईँ चिया पकाइदिउँला भनेको.. तँ भने लुगा पनि नफेरी बस्या छस्..जा, लुगा फेर म चिया पकाइदिन्छु...'


प्रदीप केही बोलेन, भोक र रिसले उसको जिब्रोमा हड्डी पलाएको जस्तो भएको थियो ।
'अब खाजा त के बनाउनू है? भात बसाल्या छु राइस कुकुरमा, एकछिनमा पाकी हाल्छ..अनि भात खाउँला  सिधै... हुन त, भोक लाग्या होला, एकछिन खप न है बाबु' यति भनेर आमा फेरी टिभी तिरै फर्किइन् ।
प्रदीप रिसले उम्लिएर गोलभेडा झै रातो र जिरे खुर्सानी झै राप्पिएको देखिनन् आमैले । प्रदीप रकेट इन्जिन छुटे झै पड्कियो
'काम छैन बुढी.. यै सिरियल हेरी बस.. छोरा भोकाएर आएको छ, खाजा खुवाउँ भन्नु छैन, तिमीलाइ यै ताइँ न तुइँका तमाशा, ड्रामेबाजी हेर्नु पर्या छ । .... ल तिमी नै खाउ त्यो भात, तिमी नै रमाउ...लत लगाएर बस यही सिरियलको, यसैले छोराको माया दिन्छ तिमीलाई....'

भएभरको रिस ढोकामा पोखाएर ढ्याम्म लगायो प्रदीपले अनि लाग्यो कोठातिर । भान्छाबाट एकपोका चाउचाउ ल्यायो, काँचै पुरा पोका खायो, पानी घुटुघुट पियो अनि सिरकले गर्लम्म मुख छोपेर सुत्यो । राती आमाले ढोका खोलेर भात खान त बोलाइन् तर प्रदीप नसुने झै गरी सुतिरह्यो ।

***********************

बिहानको लालिमा फैलिएर घाम चर्किइ सकेको थियो । झ्यालमा पर्दा र पारिलो घाम बिच भिडन्त हुँदै थियो र यो भिडन्तमा निरिह पर्दा हार्दै थियो । घामको किरण प्रत्येक मिनेट चहकिलो हुँदै पर्दालाई पातलो सिद्ध गर्दै थिए । यी किरणहरू सिधै प्रदीपको मुहारमा ठोक्किदैँ थिए । रातभरिको व्यस्तताका कारणले उसको निद्रा बाक्लै थियो । पर्दा सँगको भिडन्तमा विजयी भएका घामका किरणहरू पनि प्रदीपको निद्राको मिठास खल्बलाउन असफल हुँदै थिए ।
अचानक प्रदीपको सपना खल्बलियो । खल्बलाउने तिनै आमा थिइन् । कुम समातेर बेस्मारी हल्लाए पछि निद्रा कहाँ बाँकी रहन्छ र?
'बाबु, ए बाबु !!' प्रदीप नसुने झै गरी  आँखा चिम्लिई रह्यो । 
'हेर त यो लठूवा अझै सुतिरा'छ.. अफिस जानु पर्दैन?? साढे आठ भैसक्यो त...कैले उठ्ने हो, कैले भात खाने अनि कैले जाने?'
उफ्फ...कहाँ निद्रा, कहाँ अफिस । बिहानको यो बेलामा छनौट त जहिले पनि निद्रा नै हुने भो ।'अझै उठेन.. चिया सेलाई सक्यो केटा..घोडाको मूत जस्तो चिया खानु पर्या हो यल्लाई ... '
प्रदीपले टेर पुच्छर लाएन ।
आमाले टेबुलमा चियाको मग राखिँदिदै बाहिर निस्किइन् । ढोका लाउँदै तिनी भुत्भुताउँदै थिईन् 'काम धाम केही छैन, दिनभरि अफिसमा त्यही कम्प्यूटर, घर आयो रातभरि उही ल्यापटप, कहिले फेसबुक भन्या छ, कहिले फिलिम भन्या छ... उफ्फ.... खाने पिउने वास्ता छैन...एडिक्ट नै भैसक्यो मोरो....अब त्यसले दिनरात फेसबुकमा हेर्ने त्यै केटी सँग ब्या गर्दिनु पर्छ यसको'
......................................


No comments:

Post a Comment

Popular Posts