Tuesday, February 28, 2012

नगरकोटको बाटो, एउटा घटना

आज साँझ कमलविनायकस्थित साथीको कोठा बाट फर्किदै थिएँ । सूर्यविनायक तिर जानुपर्ने भएको हुँदा कमलविनायक चोकबाट जगाती तिर मोडिएँ । अलि अगाडी बढेपछि बाइकको लस्कर देखियो । जमानाको भर छैन पक्कै केही दुर्घटना भएर जाम भएको हो जस्तो लाग्यो । तर भिड भएपनि बाइकहरू गुडिरहेकै थिए । अचम्म लाग्यो..अलि अगाडी पुगेँ । खासमा एउटा कारको पछाडी पछाडी जम्मै बाइकहरू विस्तारै हिँडिरहेका रहेछन् । त्यो कारलाइ ओभरटेक गरेर अगाडी जान पनि सकिन्थ्यो तर अगाडी जान कोही पनि इच्छुक देखिएनन् । कौतुहलता जाग्यो..आखिर के रहेछ भनेर । अनि आँखा गडाए त्यो गाडीमा...

सूर्यविनायक, जगाती, कमलविनायक हुँदै नगरकोट जाने बाटो पर्दछ र फर्कने बाटो पनि यहि नै हो । त्यो कारको पछिल्लो सिटमा एक जोडी रहेछन् । नियालेर हेरेँ, भर्खर टिनएज पार गरेका मंगोलियन अनुहारका जोडी रहेछन् त्यो प्राइवेट कारमा । पक्कै पनि यो जोडी नगरकोटको रमणिय मौसमको दिनभरी मजा लिएर फर्केका हुनपर्छ । तर दिनभरीको साथको रन्को अझै उत्रेको रहनेछ शायद जोडीलाइ...उनीहरू वरिपरिको संसार भुलेर एकआपसमा डुबेका थिए । उनीहरूको मायालु क्रियाकलाप मनको घेरा तोडेर शारिरीक हुँदैथियो । अँगालोमा बेरिएर चुम्बनसम्म पुगेको थियो ।

विश्वव्यापीकरणको प्रभावमा परिवर्तनको संघारमा छ हाम्रो समाज ।  हाम्रो परम्परा र संस्कृति भन्दा बाहिरका  बानी व्यहोरा नयाँ पुस्ताले अपनाउँदैछ । पुरानो पुस्ता भने यसको विरोधमा छ । यो पनि यस्तै विषय न हो ।  पुस्ता पुस्ता विचको विभेद हरेक समाजले देखेको भोगेको छ, हामी पनि अपवाद होइनौं । तर कुन हदसम्म चलेका संस्कारलाइ तोड्ने भन्ने कुरामा नयाँ पुस्ता पनि सचेत हुन जरूरी छ । त्यो जोडी त संसारको मतलब नराखी आफू मै हराइरहेका थिए । तर ति पछि पछि लागेका बाइकवालाहरू यसरी रमाउँदै थिएँ मानो उनीहरूले बाटो माझ सित्तैमा "पोर्न" हेरिरहेका छन् । मलाइ बडो Awkward लाग्यो, बाइकको एक्सिलेटर बटारेँ  र हुँइकिँए ....

Sunday, February 26, 2012

झगडा र माया, माया र झगडा

Pic by Stefan Stenudd
सुनेको, देखेको र भनेको कुरा, प्रेम पागल हुन्छ । हुँदो रहेछ, थाहा हुन गाह्रो भएन । पागलपन पनि रमाइलो र लोभलाग्दो हुँदो रहेछ । सम्बन्ध कति लामो भन्ने कुरा मायनै राख्दैन रहेछ अपनत्वको गहिराइ लिन । केही पल, केही दिन, केही महिना पनि काफी हुँदो रहेछ मन नछुटिने गरी गाँसिन । मायाको तलाउ जति गहिरो, त्यती नै चर्को भूमरी अर्थात माया जति हुन्छ त्यती नै बढी झगडा हुन्छ । अनि नाता कति बलियो छ भन्ने कुरा झगडा पर्दा नै थाहा हुँदो रहेछ । रातभरिको शितले जति चिसो पारेपनि विहानी पहिलो किरणले शितलाइ पगालेर वाफ बनाए जस्तो जति नै झगडा गरेपनि एउटा मुस्कानमा सबै रिस हराउँछ हाम्रो । भेट हुँदा मच्ची मच्ची झगडा गर्नु, सानो तिनो कुरालाइ बढाउँदै लगेर समस्याको विशाल पहाड बनाउनु, रिसले वाफ्फिँदै त्यो पहाडको उँचाइमा पुग्नु...अनि उही पहाडमा ठोक्किएर बर्सिनु । एकअर्काको काँधमा शिर राखी पग्लिदाँ आत्मियताको त्यो गहिराइ छोइँदो रहेछ, जुन सामान्य अवस्थामा भेउ पनि पाइदैन ।

कल्पनामा, सपनामा, सम्झनामा....हामी हरपल सँगै हुन्छौं । भौतिक रूपमा सँगै नहुनमा मानौ यो संसार नै बाधक हो हाम्रो लागि । सँगै रहन चाहेर पनि, अनेक बहानामा अलग अलग रहनु पर्ने । अफिस, घर, परिवार, पढाइ..बहाना मात्र हुन् हामीलाइ अलग गर्ने । धन्न विज्ञानले टेलिफोन भन्ने यन्त्र बनाएको छ हामीलाइ एउटै सूत्रमा बाँधेर राख्न । खुलेर, लुकेर, छलेर हामी एकअर्कालाइ फोन गरिहाल्छौं । कहिले काँही त एकअर्कालाइ फोन गरिरहदाँ दुवैको फोन व्यस्त हुन्छ..अनि फेरी एकचोटी झगडा पर्छ किन र को सँग फोन व्यस्त भनेर..। फोनमा ठाकठुक परेपछि एउटा न एउटाले रिसाएर फोन राखेकै हुन्छ । फेरी घन्टौसम्म त्यही फोनमा एकोहोरो आँखा गडाएर बस्ने पनि उही नै हुन्छ । फोन आउने बित्तिकै हत्त न पत्त उठाएर यति बेर फोन नगर्नुको गुनासो गर्ने पनि उही फेरी । आफै गरे पनि हुन्थ्यो नि यस्तै गाह्रो परेको भए । उफ्फ !!! एउटा रमाइलो नाटक झै लाग्ने खेल चल्छ सँधै दुइबिच । तर जति एकआपसमा नाक ठोक्काए पनि छुट्टिन सक्ने होइन हामी । प्रेमको सुपरग्लूले टाँस्सिएको दुइटा मन एकछिनमै फेरी एकअर्काबाट नछुट्टिने स्वरूपमा आइपुग्छन् ।

कतै टाढा गएको बेलाको तड्पन बेग्लै हुन्छ । चाहेर पनि भेट्न नसकिने अवस्थामा मोबाइल एकमात्र साधन रहन्छ । छुटिने बेलामा बाचा गरिएको हुन्छ "प्रिय, तिमी र म बिच मात्र एककल फोनको दूरी छ" । यसो भन्दा नेपालको टेलिकम कतिको बेइमान छ हामीले बिर्सेका हुन्छौ । फोन नलाग्नु, लागेपनि स्पष्ट नहुनु, आदि इत्यादी विभिन्न समस्याका बिच टेलिकमसँग उठेको रिस पोख्ने फेरी एकअर्का मै हो । 
"फोन लाग्या बेला कुरा गर्नु नि, फोन नलाग्ने बेला चै फुर्सदले बस्यो, बल्ल तल्ल फोन लाग्या बेलामा चै काम गर्नु पर्ने होइन?"
"हैन अलि फोन लाग्ने ठाउँमा बस्न सक्दैनस्?"
"ब्याट्री चार्ज गरेर राख्नु नि, झन मलाइ ने फोन गर्ने बेला तेरो ब्याट्री सकाउने? अरूलाइ त खुब फोन गर्छस् नि ब्याट्री हुन्जेल"
आदि इत्यादी...तर यी सबै ठाक्ठुक पछाडीको कारण भनेको दूरीको छट्पटी न हो । कतै टावरले नभेट्ने ठाउँ तिर जाँदाको दुःख त के बयान गर्नु? हरेक चोटी फोन गर्दा एनटिसीकि दिदीको झर्कोलाग्दो आवाजले माफी माग्दा त माफ शब्द देखि नै वितृष्णा लाग्छ । "माफ गर्नुहोला, तपाइँले..." मानौ फुटपाथे माग्नेले वाक्क लाउने गरी खुट्टा समाउँदै भिख माग्दैछन् । दिनौको छटपटी पछि बल्ल तल्ल उसको फोन आउँछ, फोन उठ्ने बित्तिकै उसले सोध्नेछ " के छ तेरो हालखबर" अनि सबै हालखबर एकैचोटी ठिक हुन्छ ।

मायाको सम्बन्ध भनेको यस्तै हुँदो रहेछ । मायाको मलजल पाएपछि अपेक्षा र आकांक्षाका मुनाहरू हरर हुर्किँदा रहेछन् । अपेक्षा पुरा नभएपछि मन त्यसै झर्किँदो रहेछ, अनि झगडा पनि हुँदो रहेछ । अर्थात जति माया गहिरो र बलियो, उत्ती नै झगडा । सारा संसार सँग रिसले झगडा गर्छु, उ सँग चै मायाले झगडा गर्छु...ल आइज एकचोटी फेरी झगडा गरूँ....

तितो पिरो नथपे त माया मिठो कहाँ होला
कैले काँही पहिरिन रिसको नकाब लिइ आउनु

हृदयको लाली पोती हातमा गुलाब लिइ आउनु

Sunday, February 19, 2012

अब त बाँच्ने आधार छ (गजल)





अब त बाँच्ने आधार छ
अँगालोमा यो मुहार छ

एक्लै हाँस्न कहिले रुन
बहानै त हो हजार छ

रोएछु भेट भएको बेला
मन खाली गर्न हतार छ

म र तिमी साँघुरो भयौं
हामी भई दिए संसार छ

आँसु देउ लैजाउ हाँसो
'दिनेश'को यस्तै व्यापार छ

'एकतारे' मिठो बज्दैछ आज
धुनमा मिलनको झंकार छ


साथी दिनेशराज ज्ञवाली सँगको सहलेखनमा पहिलो गजल । वहाँको वैवाहिक जिवनको लागि शुभकामना सहित यो गजल यो जोडीमा समर्पित . . . .

Tuesday, February 14, 2012

उपहार आगो देउ (गजल - ६९)


म भन्दा नि अग्लो भयौ र त नजर झुकेको छ
जुधाको छु नजर र त मेरो शिर उठेको छ

तिम्ले दिँदा दम्भ नहोस् लिंदा ममा शरम नहोस्
खुलेको छ मुठ्ठी र त हातहरू फैलेको छ

ए मौकाहरू ! अलि बढी जोर गर ढक्ढाकाउन
बेरोजगार भएर होला जाँगर मेरो सुतेको छ

उपहार आगो देउ भित्रै देखि सल्काइ देउ
उज्यालो त हुन्छ उही धपधपी जो बलेको छ

उठेको त्यो शिरले नै हेरेन पिर पैतालाको
भुल्यो कतै पैतालाले उसको आधार चुमेको छ

ढाकिएको आकाश भरि देख्छु म त आशाहरू
कालो बादल छाएर नै बिजुली यो चम्केको छ

किनाराको घेरा तोड्दै खोली जब उर्ली आउँछ
बुझ्नु अनि पक्कै पनि त्यो ओह्रालो झरेको छ

नेपालीगजल.कममा प्रकाशित गजल

जलसा कार्यक्रममा वाचन गरिएको गजल



Saturday, February 11, 2012

Relax जिन्दगी

आज पनि यता उता गर्दा गर्दै पौने दश भइसक्यो । उफ्फ...कति अल्छि भइयो भने । राती दुइ बजेसम्म त फिल्म नै हेरिन्छ, अनि उठ्दा नौ बज्छ । खाना खाएर तयार हुँदा त ढिलै भइन्छ सँधै । अब इन्टरनेट हाइस्पिड भएपछि के लाग्छ, त्यसै मूभिबफ..त्यो माथी लेटेस्ट मूभीहरू सरर अनलाइन हेर्न पाएपछि के चाहियो?? 
हतार हतार बाइक निकालेँ । सेल्फ स्टार्ट बटन थिचेँ । घुइँय्य घुइँय्य मात्र गर्यो तर इन्जिन स्टार्ट भएन । किकस्टार्टमा एक लात दिएँ । घर्याक् घुरूक पनि गरेन । बानी छुटेछ किक हान्ने, फेरी भर्खर खाएको भाते बल निकालेर बेस्मारी किक हानेँ । एकचोटी घर्याक्क गर्यो बाइक अनि फुस्स धुँवा फाल्दै फेरी ठण्डाराम भयो । चोक लिएर फेरी हानेँ, इन्जिन स्टार्ट हुने छाँटकाँट देखिएन । अनि आँखा अगाडीको फ्यूल डिस्प्लेमा गयो । ला !! रातो बत्तीले त तेल "E" छ भन्दो रैछ । धत्तेरिका....पेट्रोल सकिएको रैछ । कस्तो सुद्धी, बेलैमा हाल्नु पर्ने थियो । बानी बिग्रिए पछि यस्तै हो । रिजर्भमा घुमाएँ अनि बाइक स्टार्ट गरेर कुदीहालेँ ।

=========


जति बाइक कुदाए पनि जम्मैले बाटोमा ओभरटेक गर्छन आजभोली । आफ्नो कुद्ने बाइक हैन जिम्मेवारी बोक्ने जो पर्यो । मोरो डिस्कभरले ९०-९५ भन्दा माथी स्पिड लिँदै लिँदैन । बाटोमा कुद्ने २५० - ५०० सिसीका बाइकहरू सँग कहाँ सक्नु?? तिनीहरूका अगाडी मेरो बाइक त साइकल जस्तो देखिन्छ । बाइक पनि नफेरी भएको छैन । ८ लेनको चौडा बाटो छोड्दै पम्प तिर जाने सहायक बाटो तिर लागेँ ।  पम्प निर लगेर रोकेँ बाइक । सुनसान थियो, मान्छेको अत्तो पत्तो छैन । काउन्टर पनि शून्य छ, यता उति हेरेँ तेल हाल्ने केटो कतै देखिएन । हतार भएको बेला सबैले ढिलो गर्छन, दिमाग तात्न थाल्यो बिस्तारै । अब रिसाएर पनि के गर्नु, सबै पम्पको यस्तै हालत होला । पैला जस्तो कहाँ छ अहिले? रिसको झोकंमा बेस्मारी हर्नको बटन थिचेँ । हिजो भर्खर जडान गरेको प्रेसर हर्न प्वाँ....गरी चिच्यायो । अझ पनि केटोको अत्तो पत्तो छैन । फेरी थिँचे, हर्नको कर्कश आवाज फेरी गुन्जियो...एकछिनमा काउन्टरबाटै केटो आँखा मिच्दै चियायो । रिसको झोँकमा फेरी हर्न बजाएँ, केटो उठ्यो अनि विस्तारै अगाडी बढ्यो । मेरो रिसको तापक्रम भने धरहराको उचाँईसँग प्रतिस्पर्धा गर्न थाल्यो । केटो नजिकै आयो...

"के भो दाई, किन मर्नु हरन बजाको, निद्रा बिगार्देर अर्काको"

"के भो रे?? तलाई निद्राकै पर्या छ...पम्पमा मान्छे के गर्छ आउँछ??   खुरूक्क याँ तेल हाल..."

"......"

"झन् हतार भएको बेला, मुला सुतेर बस्ने हो? मान्छे तेल हाल्न आउँछ, तयार भएर बस्न पर्दैन"

"......"

"के हेरिरा?? छिटो तेल हाल् मूला.... फूल ट्याङ्की"

"त्यो नि भनिराख्न पर्छ र? आजकल पैला जस्तो काँ हो र? पाँन्से पाँन्से को हाल्नी? फूल टंकी घटी त कसैले पाउँदैन"

"ल ल, हात चला, मुख हैन?"

"ह्या दाजु कति रिसाइरा? अब मान्छे कोही आउन्न तेल हाल्न आजकाल । फाट्टफुट्ट हो, फूल टंकि लगेपछि हप्तौसम्म आउन्नन्, पहिला जस्तो कहाँ हो र? पैला पो लामो लामो लाम हुन्थ्यो, मान्छे मारामार गर्थे पाँन्सेको तेल पाउन....अहिले त्यस्तो कहाँ छ र? काम नभए पछि अनि निद्रा लाग्छ । निद्राको सुरमा तपैँ आउनु भको थाहै पाइन, नरिसाउनु न क्या"

हो त्त है, पहिले जस्तो कहाँ हो र? सम्झिँदा पनि कहाली लाग्छ । हरेक दिन १/२ घन्टा लामो लाइनमा बसेर पेट्रोल लिनुपनि एउटा बेग्लै एडभेन्चर थियो । बाइकमा फूल टंकी पेट्रोल हुनु भनेको धनी र पावरवाला भइन्थ्यो । के कस्तो तिगडम भिडाइन्थ्यो तेलको जोहो गर्न, कति चोटि बाटोमा तेल सक्किएर बाइक् डोर्याइयो । सम्झिदाँ नि रमाइलो लाग्छ । 

"ल भरियो दाइ" केटो बोल्यो

मैले १००० को नोट निकालेर दिएँ अनि बाइक स्टार्ट गरेर गियरमा लिइँहालेँ ।

"ए ए दाइ, पख्नुस् पख्नुस"

"फेरी के भो मुला? याँ हतार छ मलाइ"

"पैसा फिर्ता लिनु पर्दैन"

"के को फिर्ता"

"ल दाइलाइ थाहा छैन, आज विहान देखि भाउ घट्यो नि तेलको"

हो त्त है । बिहान न्यूज सुन्ने हेर्ने चलन छैन आफ्नो । फेरी यो तेलको भाउको ठेगान पनि छैन आजभोली । दिनदिनै घटिदिन्छ । फिर्ता पैसा लिएँ र ज्याकेटको खल्तीमा कोचेँ ।


======


बाइक स्टार्ट मात्र गर्या थिएँ, फोन बज्यो त्यही बेला । के उठाइ भो र फोन पनि अफिस पुग्ने हतार छ । तर गर्लफ्रेन्डको पनि हुन सक्छ । फोन उठेन भने रिसाइहाल्छे । फेरी बनाउने केही बहाना पनि हुँदैन, हेर्नै पर्यो । फोन मेरो ग्याँस सप्लायर को रैछ । मोरो कति फोन गर्छ भने? उठाएर बेस्मारी हप्काउनु पर्यो । तर फेरी पर्या बेलामा मान्छे चाहिन्छ, सम्बन्ध बिगारी हाल्नु पनि भएन ।

"दाइ, कता हुनुहुन्छ"

"म बाटोमा छु पछि गर्नु न"

"कता बाटोमा?"

तेरो टाउकोमा भन्न मन लाग्या थियो मन थामेँ "अफिस जान लागेको"

"सुन्नु न त दाइ, एउटा सिलिन्डर लिनुहुन्छ??"

हरे उही कथा....उही कुरा..

"अहिले चाहिँदैन भाइ"

"हैन म डिस्काउन्ट पनि गरिदिन्छु क्या, फ्रि होम डेलिभरी"

"मलाइ चाहिएको छैन क्या भाइ, चाहिए त म भनिहाल्छु नि"

"हैन क्या दाइ, साह्रै समस्या पर्यो । याँ सिलिन्डर बढी भएर गोदाममा राख्ने ठाउँ नै भएन, दाइले एउटा लिइदिए उपकारै हुन्थ्यो मलाइ"

अब के भनुँ यसलाइ मैले? घरमा पहिले नै चारवटा भरि सिलिन्डर छ । बाथरूमको गिजरको बेग्लै, अब घरमै ल्याइदियो भन्दैमा राख्नु पनि त भएन नि । कतै केही दुर्घटना भएर आगो लाग्यो भने त घरै ड्याङ्गडुङ्ग उड्छ यार पाँचवटा सिलिन्डरले त । गर्नु त के? फेरी आजकल सबैकाम बिजुलीबाट हुन्छ, राइसकुकुर, इलेक्ट्रिक ओभन, माइक्रोवेभ ओभनमात्र चलाइन्छ । अब यो मान्छेलाइ नटारी अरू उपाय नै छैन

"सुन त भाइ, म तिमीलाइ अफिस पुगेपछि फोन गरूँला नि है । ल राखे है"

उसको उत्तर पनि नपर्खि फोन राखिदिएँ ।


=======


हुन त अफिस २० कि.मी. मात्र टाढा छ र पुग्नलाइ २० मिनेट भन्दा बढी लाग्दैन । तर यही २० मिनेट त हो नि भन्ने चककरमा जहिले पनि ढिलो गरिन्छ । अनि आपत् कस्तो भने बहाना केही हुँदैन बनाउन । पहिला पो ढुक्क थियो । जतिबेला पुगेपनि हुने, कसैले सोध्यो भने एउटै जवाफ "जाम थियो" । अझ धेरै ढिलो भयो भने "बाटोमा ट्रिपरले मान्छे हानिदियो, मान्छेले बाटो बन्द गरे" भनिदिए पछि हाकिमका बाउ जाकिमले पनि एक्स्क्यूज दिन पर्थ्यो । हरे..कहाँ गए ती स्वर्णिम दिन । कति आनन्द हुन्थ्यो । यो ८ लेनको बाटो, फ्लाइओभर बने देखि त जामको बहानै सुकेर गए । अब त मान्छे नै किचेर मारिदिँदा पनि बन्द गर्न छोडे । कुनै दिन थिए, बाटोमा कुखुरा मरेपनि देशै ठप्प हुन्थ्यो । हप्तौं बन्द हुन्थे, लाखौ कमाउँथे बाटो बन्द गरेर मान्छेले । फिल्म नै बन्यो यो टपिकमा...उफ्फ...सोच्दा सोच्दै एक्लिसेटर बटारिदै गयो आफै ।

धन्न अफिस पस्दै गरेको कसैले नोटिस गरेन । ढोका मै रहेको डिभाइसमा बुढी औंला थेप्च्याएँ र भित्र पसेँ । केबिनमा पुगेर ल्यापटप खोल्या मात्र के थिएँ फेरी मोबाइल बज्यो ।
पक्कै त्यही ग्याँसवाला हुनुपर्छ । सालेले कुरेर बस्या होला, कति बेला अफिस पुग्छ यो अनि फोन गरूँला भनेर । रिसाउँदै फोन हेरेँ । आब्बुइ...फोन त मैंयाको पो रहेछ । 

मनमा भएको तितो जतिलाइ बोलीको गुलियोमा परिवर्तन गर्दै बोलेँ "हेलो नानु"

"तँ कहाँ थिइस् यत्ति बेर सम्म?"

"म अफिसमा नै छु नि"

"खुब !!!! अफिसमा भएको भए पुग्ने बित्तिकै फोन गर्दिन थिस् र??"

"हैन क्या म अफिसमै थिएँ, अलि काममा अल्झिएको थिएँ । बाइकमा पेट्रोल हाल्दा हाल्दै अलि ढिलो पनि भयो"

"तेरा बहाना...कुन जमानामा छस् क्या तँ? कति उही बाजेको पालाका बहाना बनाउँछस् , बाइकमा पेट्रोल थिएन, जाम थियो, काम गर्दै थिएँ, मिटिङ्गमा थिएँ...अझै अहिले नेटवर्क लागेन भन्दै फोन राख्ने होला तैँले..."

अत्ति भयो अब चै....तर के नै गर्न सक्छु र? भ्यालेन्टाइन डेको मुखैमा हुँदा खाँदाको गर्लफ्रेन्ड सँग के झगडा गर्नु? यो तिन दिनमा कसरि अर्को पटाउनु? एक्लो भ्यालेन्टाइन मनाउनु जतिको बेइज्जत के होला यो संसारमा 

"साँच्ची तेरो कसम ! हेर आज प्रोमिस डे हो । म झुटो बोल्दिन । साँच्चिकै पेट्रोल हाल्दा ढिलो भएको थियो "
"ल ल...यस्तै लापरवाही गर्छस् र त तँ देखि रिस उठ्छ । यस्तै पारा हो भने अर्को भ्यालेन्टाइनमा अर्कै नखरमाउली खोजे हुन्छ । "

यो भन्दा कमैकी नखरमाउली खोजौंला नि "..."

"ल साँझ मलाइ पिकअप गर्नु, डिनर सँगै गर्नुपर्छ"

अर्को आपद्....

साँझ साथीहरूसँग मिलेर फिल्म हेर्न जाने प्लान छ, कता यी मैंया सँग डिनर गरिबस्नु? यहाँ पनि बहाना कै संकट पर्छ फेरी । पहिले पो सजिलो थियो, मोबाइलको सिम निकालिदियो । अनि नेटवर्क लागेन भन्दै बेपत्ता भइ बस्यो आनन्द । यो फोरजी फोन पनि कामै नलाग्ने छ, सुरूङ्गै भित्र पसेपनि नेटवर्क देखाउँछ । फेरी महारानीलाइ भिडियो कलबाट प्रमाण दिनु पर्छ कहाँ छु भनेर? झुटो बोल्ने, लुकाउने त चान्स नै छैन । मोबाइल अफ गरेर बसुँ भने नचाहिने किचलो शुरू हुन्छ । लोडसेडिङ्ग भन्ने कस्तो चिज हो बिर्सिसकियो, दिनको २२ घन्टा लोडसेडिङ्ग हुने ठाउँ यही हो भनेर पत्याउनै गाह्रो । त्यो बेला पो मोबाइलमा चार्ज थिएन भन्दै उम्किइन्थ्यो । भो यिनीसँग बहानाबाजी गर्नु भन्दा बरू साथीहरूलाइ आउन सकिन भन्दा धेरै सजिलो होला । केटाहरूले त कुरा बुझ्छन् नि ।


======

अफिस सकिए पछि बेलैमा पिकअप गरियो मैयालाइ उनको अफिसबाट । भर्खर ५.१५ भएको छ, डिनर गर्नु अघि कतै घुम्न जानु पर्यो । बाइक हुँइक्याइयो पार्क तिर । कलकल बग्ने बाग्मती किनारको यो पार्क हामी दुवैको प्रिय डेटिङ्गस्पट हो । हराभरा रूखहरूको बिचबिचमा दुबोले भरिएको चौर यहाँ बसेर गफ गर्न थाल्यो भने समय बितेको पत्तै पाइँदैन । एउटा छेउको बेन्चमा बस्यौं दुवै ।

"रिसाएका छौ?" उनी बोलिन्

अचम्म्....रिसाउने मेरो आँट होला र?
"छैन नि, किन रिसाउनु?" खिस्स हाँस्दै भने

"अनि किन यत्ती टाढा बसेको त?" लाडिदै भनिन् उनले

हात समाएर बसेका थियौ हामी, .अब यो भन्दा कति नजिक आउनु, तैपनी अलिक सरे जस्तो गर्दै चलमलाएँ म 

"धत् लाटा...कस्तो शर्मिला क्या तिमी त ।"

अचम्मको उपमा दिइन उनले "शर्मिला??"

"अनि के त? पार्कमा आफ्नै साख्खै गर्लफ्रेन्ड सँग बसेका छौ । अनि त्यो पनि यत्ति टाढा बस्छौ ...के के गर्नु पर्छ मैले सिकाउनु पर्छ अब??" लजाएको झै गर्दै बोलिन् उनले

बल्ल कुरा बुझेँ...अब पनि पछि परियो भने सन्तोष पन्तको कान्छो छोरोको पछि लागे हुन्छ .

दुवै हत्केलामा उसको दुइ गाला लिएँ र आफ्नो ओंठ चोसों पारेर उनको ओंठ तिर बढाएँ.....

तर अचम्म..उनको चिउँडो लामो हुँदै आयो, उनको अनुहार भरि बिस्तारै रौं पलाउन थाल्यो, भेम्प्याएरहरू जस्तो दुइटा कुकुर दन्त विस्तारै बढ्यो, अनि कान पनि विस्तारै लामो हुँदै गयो । उनले केही भन्दै थिइन्...तर आवाज अर्कै प्रकारको आयो "कुईयँ...."

===================


.. आवाजले तर्सिएर अचानक आँखा खुल्यो । छातीमाथी मेरो कुकुर उर्वे चढेको रैछ, अनि मैले दुवै हातले उसको गाला समातेर आफू तिर तान्दै रहेछु ....................

Thursday, February 9, 2012

काठमाडूँ: किन हेर्दिन यो चलचित्र

लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लुटको सफलतालाइ अर्को चलचित्र काठमाडूँ, Anything can happen in this city ले पछ्याउन खोजेको छ । चलचित्रको प्रवर्द्धनमा कुनै कमी राखिएको छैन । जताततै छाएको छ यो चलचित्र, प्रिन्ट, टेलिभिजन, रेडियो, शहरका भित्ता जताततै देखिएको छ । लूट हेर्न जाँदा म धेरै आशावादी थिइन,   एउटा निरपेक्ष दिमाग लिएर हेर्न गएको थिएँ । मजाकै थियो, संवाद र चरित्रहरूले चलचित्र गज्जबको बनाएका थिए । तर यही निरपेक्ष दिमाग लिएर म काठमाडूँ हेर्न जान सक्दिन । चलचित्रको पोस्टर प्रोमोले चलचित्र कस्तो बनेको छ भनेर Preview देखाउँछ र मैले त्यो Preview हेरिसकेपछि चलचित्र हेर्नुको औचित्य छैन। मलाइ एसी हलमा २.५ घन्टा सुत्न बिल्कुलै फुर्सद छैन । 
राम्रो काम गर्नेको मुख चल्दैन, उसको काम बोल्छ । काठमाडुँको टिमको भने मुख बढी चलेको छ । जताततै बखान मात्र सुनिएको छ, चलचित्रमा यो देखाएका छौ, त्यो देखाएका छौं, यो प्रविधी, यो लोकेसन आदी इत्यादी । हरे शिव...यो सबै कुरा प्रोमोमा ढंगले देखाउ न किन "यो चलचित्र एकचोटी हेरिदिनु" भनिराख्नु पर्यो? राम्रो छ जस्तो भान पारिदिए त हेरीहाल्छम् नि ।


"काठमाडूँ"का पोस्टर दुइ किसिमका छन् एकप्रकारको पोस्टर आम नेपाली चलचित्रका झै छन् भने अर्को चै "फरक धार" का पोस्टर छन् । अर्थात पोस्टरबाट नै आम नेपाली चलचित्र हेर्ने र नहेर्ने दुवै थरिका दर्शक तान्न खोजेको प्रस्ट हुनछ । तर बुझ्न पर्ने कुरा के हो भने यी दुइ धारका दर्शक मिसाउन सकिँदैन । दुवै तर्फको तान्न खोजियो भने दुवैतिर असफल भइन्छ । दर्शक तान्ने चक्करमा चलचित्र नै खिचडी बनेको छ भन्ने पक्का बुझियो ।

पोस्टर मै RED 4K क्यामेरा, नेपाल तथा अमेरिका (सन फ्रेन्सिस्को)मा छायाँकन गरिएको भनेर लेखिनु भनेको "नेपालमा पहिलो पटक हिरोले पेटमाथीबाट गाडी गुडाएको दृश्य छायाँकन भएको " लेखिएको सरह नै हो । अनि कति दर्शकले RED 4K क्यामेराको महत्त्व बुझ्लान? चलचित्रको preview भन्दा पनि अभिनेता अभिनेत्रीको ज्यान प्रदर्शन गरिएको पोस्टर भएपछि फिल्म कस्तो होला भनेर अपेक्षा गर्नु?

चलचित्रका गीत हेरियो त्यसपछि युट्युबमा, हरे बाबा !! सुखविन्दर र कैलाश खेरले गाएका रैछन् ...काटमान्डूउउउउ भन्दै । हैन उच्चारण नै ढंगले गर्न नसक्ने गायकहरूलाइ गाउन किन दिएको होला मैले बुझ्न सकिन । शायद चर्चाका लागि होला...भारतिय गायकहरूद्वारा गीत गाइएको भनेर । हिन्दीमा गाएको कि नेपालीमा छुट्याउन नसकिने गरी गाउनुले के चै चर्चा दिने हो ?? फेसबुकको New Nepali Cinema (on FACEBOOK) ग्रुपमा टिमका एकजना सदस्यले भने "हामीले नेपाली भाषा र नेपाललाइ भारतीय समक्ष लगेका छौ र हामीले गर्व गर्नु पर्छ "




हाँसो नै उठ्यो । एउटा नेपाली गायकलाइ १० हजार पनि नदिने तर विदेशमा पचास हजार देखि एकलाख सम्म तिरेर नेपाली भाषा उनिहरूलाइ सिकाएर के पाइयो? काठमाण्डूको कथामा यो नेपाली सिकाउने सन्दर्भ कहाँ फिट हुन्छ?  मात्र चर्चाका लागि भारतिय गायक प्रयोग गर्नु चलचित्र निर्माता निर्देशकको मूर्खता हो । चलचित्र झै गीत पनि एउटा कलाको माध्यम हो । चलचित्रको सन्दर्भ मिलाएर गीतको अवस्था  सिर्जना गरिन्छ । त्यो अवस्था भित्र रहेर धून र गीत सिर्जना गरिन्छ, अनि चरित्रसँग सुहाउँदो गायकलाइ गीत गाउन लगाइन्छ । के काठमान्डूका गीतहरूले यो कुरा Justify गरेका छन् त?

चलचित्रका सम्वाद एकदम नसुहाउँदो छन् ।‘जे गरे नि प्रेग्नेन्ट नहुनु, भइहाले नि मलाई इन्फर्म गर्ने हैन, अर्बोसन गरेर घर फर्कनू’ | यो सम्वाद यसरी भनिएछ मानौ एक सेकेन्डमा प्रेग्नेन्ट हुन्छिन्, अनि एकैछिनमा एबोर्सन पनि हुन्छ.. आँखा झिमिक्क गरी । संसारको कुनै पनि आमाले यसरी आफ्नो साख्खै छोरीलाइ भन्दैने, चाहे त्यो आमा अमेरिकी नै किन नहोस् । यो सम्वादले प्रस्ट पारेको छ कि निर्देशकले चरित्र चित्रण कसरी गरेका छन् । "भन्नुस, म कुन बास्टर्ड कि छोरी हुँ"..उफ्फ....आम नेपाली मसाला चलचित्रका उही ढर्राका सम्वाद...के कुरा गर्नु अब ।





प्रोमोमा देखाइएका भिजुअल इफेक्ट हेर्दा त टिठै लाग्यो । बाल्यकालको जमानामा भिडियो गेम खेल्दाको झझल्को दिने खालका इफेक्टमा किन कन्जुस्याइ गरेका हुन् खै? एकसे एक दक्ष र विज्ञ उपलब्ध हुँदा हुँदै पनि आँखै बिझाउने गरी यस्तो घटिया भिजुअल इफेक्ट किन??


फिल्मका निर्देशकको अन्तरवार्ता पढियो एकठाउँमा

काठमाण्डुको मुख्य विषयवस्तु के हो ? भन्ने प्रश्नको उत्तरमा उनले भनेका छन् 
"खासगरी यो चलचित्र भित्र वर्तमान सामाजिक संरचना भनौं वा पुस्तान्तरमा हुने समस्या केन्द्रीत गरिएको छ । एउटा पुस्ता र अर्को पुस्ताबीच जसरी खाडल बन्दै गएको छ त्यसको जड के हो  र त्यस किसिमको खाडलले नकारात्मक कस्तो असर पारिरहेको छ र पुस्ता अन्तरबीचको दूरी घटाउन के गर्दा हुन्छ भन्ने जस्ता कुरा यो चलचित्रमा छ । ड्रक्सको कुलतदेखि लिएर सामाजिक कुलतका कुराहरु यसमा समावेश गरिएका छन् । साथसाथै चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सबटाइटलका माध्यमले राष्ट्रिय विभूती एवं राष्ट्रियताका कुरा यसमा राखेर विदेशी दर्शकका लागि हाम्रा कुराहरुको बारेमा जानकारी दिने प्रयास पनि गरिएको छ । जसअनुरुप सगरमाथा, बुद्ध जस्ता प्राकृतिक छटादेखि लिएर प्रतिभासम्मका कुरालाई यो नेपालको हो र यी नेपाली हुन् भन्ने कुरा चलचित्रमा राखेर सबटाइटलका माध्यमले अन्तर्राष्ट्रिय दर्शकलाई जानकारी गराइएको छ ।"
(फिल्मीखबर.कममा प्रकाशित आकाश अधिकारीको अन्तरवार्ता)

भयो प्रभु, मलाइ खिचडीको स्वाद लिने कुनै रहर छैन । २.५ घन्टाको चलचित्रमा संसार अटाउन खोजेपछि कस्तो विजोग हुन्छ, सोच्न पनि सक्दिन
निर्देशकले फिल्मको नाम KATHMANDU सँग एउटा TAGLINE जोडेका छन्
Anything can happen in this city यो त्यसै राखिएको हैन
उनी आफैलाइ पनि थाहा छैन कि यो शहरमा के हुन्छ, अनि उनलाइ यो पनि थाहा छैन कि काठमान्डू चलचित्रमा के हुन्छ....
त्यसैले Kathmandu हेरिन्न र हेर्न खोज्नेलाइ पनि रोकिन्छ । 

Wednesday, February 8, 2012

वाचा (गीत)


आज (२०६८ माघ २५ गते) विवाह बन्धनमा बाँधिएका साथीहरू होम कुमारी राइ र प्रचन्द्र श्रेष्ठ र भोली (२०६८ माघ २६ गते) विवाह बन्धनमा बाँधिन गइरहेका साथीहरू दिनेशराज ज्ञवाली र  प्रभा कुइँकेल प्रति समर्पित रचना




आज अग्नी साक्षी राखी आउ वाचा गरौं
सुख दुःख तिम्रो मेरो आधा आधा गरौं



सपना बोकी आँखाहरू झुकाएर आउनु
घुम्टो भित्र खुशीहरू लुकाएर ल्याउनु 
आपसमा बाँडीचुँडी हाम्रो माया गरौ
सुख दुःख तिम्रो मेरो आधा आधा गरौं




केही थोपा आसुँ होला केही भने हासोँ
कुनै रहर कुनै खबर केही चै गुनासो
मिसाउन कथा व्यथा हाम्रो मन सादा गरौ
सुख दुःख तिम्रो मेरो आधा आधा गरौं

नटुंगिने रहर




उनीलाइ जानु थियो, गइन् । के भयो र? मलाइ थामिनु थियो, रोकिएको छु । वाचा उनले पनि गरेकी थिइनन् आखिर ! कहाँ दोष दिन मिल्यो मैले ? जसो गरी उनिले बाटो रोजिन् मैले पनि रोज्न जान्नु पर्ने थियो । तर म त त्यही छुटिएको दोबाटोमा अल्मलिएर बसिरहेँ । न त फर्किन सकेँ, न पछ्याउनै चाहेँ । न उनले बोलाइन, न मैले बाटो छेकेँ ।

८० को दशकमा बन्ने कुनै हिन्दी चलचित्रको प्रेमकथा जस्तो छ हाम्रो कथा । एउटा धनी केटी अनि गरिब केटा ! पारिवारिक सामाजिक आर्थिक स्थिति, दुइ विच तगारो छ । तर म भने कहिले पनि त्यो चलचित्रको हिरो झै भिलेन बाउलाइ चुनोती दिन सक्ने भइन । सानो तिनो कोशिश गरेँ असफल भएँ, सम्झौता गरेँ, उनीलाइ पनि सम्झौता गर्न बाध्य बनाएँ । उनको मनमा के थियो मैले प्रस्ट बुझ्ने प्रयास कहिले गरिन । के चाहन्थिन उनि? शायद पुरा गर्ने आँट नभएरै होला कहिले उनका इच्छा पनि सोधिन ।

जानु अघि भनेकी त थिइन्, जाँदैछु भनेर । त्यो जानकारी भन्दा पनि सोधाइ थियो "म के गरूँ ?" भनेर । बुझेर पनि बुझ पचाएँ । जुनीभरीको साथको कल्पना आखिर मेरो थियो । त्यो सपना मैले साकार गर्न खोज्नु पर्ने थियो, तर आफैले पनि प्रयास गरिन । अनि मैले मेरो सपना उनको आँखामा सजाउन खोजेर भयो त? बगि गए सबै सपना, विदाइमा बगेका दुइ थोपा आँसु सँगै...तर राम्रै भयो आँसु बगे । अब शायद कहिले पनि ति आँखाबाट आँसु बग्ने छैनन् । मेरा सपनाका बोझ भन्दा उनको सपनाको उडान शायद बढी प्यारो छ ती आँखाहरूलाई...त्यै भएर त सात समुद्रपारी विरानो विदेशमा उनि खुशी छिन् ।

जब जब याद आउँछ उनको, लुसुक्क उनको फेसबुक प्रोफाइलमा जान्छु । प्रोफाइल तस्विर सँधै झै हाँसेको हुन्छ । उनको हाँसो भरी यती खुशी छल्किएको छ कि, त्यतीले पुग्छ मलाइ । यति मख्ख भइ भुल्छु उनको त्यो खुशीमा .... उनिलाइ अँगालोमा बेर्ने मान्छेको सुद्धा ख्याल हुँदैन मलाइ ।

*********************



तिम्रो माग पूरा यो भएहुन्थ्यो ।
फेरि तिमी को म को भएहुन्थ्यो ।

संसारमा दैव छ तिम्ले भन्यौ,
हाँस्दै मैले भने हो भएहुन्थ्यो ।

छोड यार सक्दैनौ मनाउन ।
उनै हुनुपर्छ जो भएहुन्थ्यो ।

बारी-बारी हाँस्दैछन लालुपाते ।
यति थाहा भएको भएहुन्थ्यो ।

(गजल- दिनेशराज ज्ञवाली, गजल श्रोत)

Wednesday, February 1, 2012

सुन्न नचाहेको ढुकढुकी


उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्रो । समयले हामीलाई नजिक ल्याउँदै गयो, छोटो समयमा नै मित्रता गहिरियो ।

पानी जति गहिरो, त्यती नै ठूलो भूमरी .. हाम्रो मित्रतामा पनि यस्तै उल्झन बढ्दै थिए । उल्झन भने एकै थियो । धेरै चलचित्रहरूमा प्रयोग भइरहने सम्वाद हो यो "केटा र केटी कहिले साथी हुन सक्दैन, किनकी बिचमा प्रेम आउँछ"... हाम्रो कथा पनि चलचित्र झै मोडिँदै थियो ।  विस्तारै उसको व्यवहारमा आउँदै गएको परिवर्तन मैले बुझेको थिएँ । उसलाई म सँग प्रेम भएको लक्षण प्रत्येक क्रियाकलापमा भेट्थेँ ।

मित्रताको शुरूवातमा एकअर्काको खासै चासो हुँदैन थियो हामीलाई..हप्तौं बित्थ्यो भेटघाट बिना, फोन सम्पर्क बिना..अहिले उसलाइ एकदिन फोनमा कुरा गरेन भने युग बितेको जस्तो हुँदो हो । पहिला पहिला उसको कोठा नजिकै पुग्यो भने पनि कुन बहानाले यसलाइ भगाउँ सोच्दी हो । अहिले सानोतिनो कुराका लागि पनि कोठामा आउने निम्तो आउँछ । उ व्यस्त नै छे, कहिले के कार्यक्रम, कहिले के वैठक, कहिले कताको यात्रा, कहिले के को तयारी...व्यस्त दैनिकीका वावजूद दिनको केही मिनेट निस्कन्छ उसको मलाई भेट्न । बहाना कयौं हुन्छन् भेटने तर कारण एकै..उसलाई म नभेटी चित्तै बुझ्दैन । कुराकानीका सबै विकल्पहरूको प्रयोग गर्छे उ, फोन, च्याट पनि । बत्ती हुँदो हो त उसका लागि चौबिसै घन्टा अनलाइन बसिदिनु पर्ने हुन्थ्यो । धन्न बहाना गर्नु परेको छैन, बाध्यता नै भइदिएको छ इन्टरनेट नचलाउनु ।"

आज दिउँसो  क्याफेमा भेट हुँने बित्तिकै उसले भनि
" मलाइ एकाबिहानै तिम्रो कस्तो याद आयो क्या...?"
" हँ!!! मलाइ सम्झियौ रे? हैन सम्झिनलाइ बिर्सने गर्या छ र मलाइ?"
मैले हाँसेरै कुरा उडाउन खोजेँ

अकमकाउँदै बोलि उ
"अँ...सुन न...तिमीसँग नजिक.... हुँदा मेरो मुटु ढुकढुक गर्छ "

म भने हाँसी दिएँ मज्जाले
"ए हो?? ...खै मेरो त जहिले पनि धुक्क धुक्क गरिराकै हुन्छ"
उ सक्पकाइ..एकछिन केही बोलिन ।
खिस्स हाँस्दै भनि "कति कठोर अनि निरस छ तिम्रो मुटु, सँधै एउटै तालमा चल्ने..."

मैले कुरा मोडेँ..मोड्नै पर्थ्यो । जुन बाटो जानु नै छैन त्यता सोध्ने त परको कुरा..हेर्न पनि चाहन्न ।

उ राम्री नै छे, मनसँग दिमाग पनि राम्रै चल्छ, काम गर्छे...सबैभन्दा ठूलो कुरो मलाई चिन्छे, बुझ्छे । तर पनि म उबाट टाढा भाग्छु, उसको चाहना भन्दा पर पर हुन चाहन्छु । कारण एक हैन हजार छन...
राजधानी सहरमा कामको ठेगान बिना काम गर्दैछु । दुइवटा कोठालाइ बढाएर फ्ल्याट बनाउन सकेको छैन ।  घरबेटीको डरले घर जहिले पनि अँध्यारो परेपछि पसिन्छ, थाहा छैन कहिले उसले बाँकि पैसा माग्ने हो । देशमा चलेको अभावको लहरबाट अछुतो हुन सकेको छैन मेरो भान्छा । आमा, बहिनीको ईच्छा आकांक्षा बुझेर पनि बुझ पचाई बस्नु परेको छ । पढाई ब्याचलर भन्दा उँभो लाग्न सक्या छैन, मास्टर्सको पढाइमा प्रत्येक वर्ष एउटा न एउटा विषय लागेकै छ । सम्पत्तीको नाममा एउटा पुरानो साइकल बाहेक आफ्नो केही छैन । खल्तीमा पर्स त बोकिन्छ, तर पर्स जहिले पनि हलुंगो हुन्छ ।

यी अनेक बाध्यता बिच पिल्सिएको मेरो मनका रहरहरूलाई एकान्तमा सुम्सुम्याउने त फुर्सद छैन, म कहाँ उनका लागि सपना बुनि बसुलाँ र??


"विहानी प्रहर....
यो भिडको शहर
अनि ट्राफिक जाम
अनायासै तिमीसँग
नजर जुध्दा
तिम्रो तारिफमा
हतार हतार
हत्केलामा कोरिएको एउटा कविता.....

साँझसम्मको
मेरो मेहनतले पलाएको
पसिनाले
मेटाई दिएछ "

Popular Posts