Friday, February 13, 2015

प्रेम र गुलाब (कविता)

प्रेम गर्छु भनि
एउटा भाँच्चिएको गुलाफ
दिएर गयो कसैले
बडो जतनका साथ तिमीले
कपालमा सिङ्गार्यौ
फुलदानीमा सजायौ
ओईलिए पछि
अमर प्रेमकहानी लेखिएका किताबमा राख्यौ
फूल सँगै प्रेम भाँचियो, ओईलियो, सुक्यो, साँचियो
जे होस्!
तिम्रो मनमा प्रेम बाँच्यो

मैले पनि
तिमीलाई देखाउन भनि बँगैचा भरी
सात रङ्गका गुलाब फुलाएको थिएँ
न तिमीलाई निम्तो गर्न सकेँ
न तिमी कहिल्यै आफै आयौ

प्रेम त्यो किताबमा च्यापेको सुकेको गुलाबमा
अनि यो बगैंचामा हाँसेर फुलेको गुलाबमा
बाँचेको छ!
बाँचेको छ!!


Popular Posts