Wednesday, May 30, 2012

प्रवेश निषेध (कविता)

याद छ ?
एअरपोर्टको उत्तरी कुनाको त्यो डाँडा
जहाँ हामी भेट्थ्यौ,
अनि रमाउँथ्यौ 

बाग्मतिको बांगो टिंगो डोबमा मर्किँदै
बौद्धनाथको दुई आँखालाई नमन गर्दै 
पश्चिममा पशुपतिनाथलाई छोएर आएको
बतासमा शितल हुँदैँ
शहरको छिर्के मिर्के सौन्दर्य नियाल्थ्यौं 
त्यहीँ बसेर हामी

धर्ती छोडेर आकाशको उँचाइ छुन 
हवाइजहाजहरू त्यहीँबाट छुट्थे 
धर्तीको अग्लो होचो 
स्थायीत्वलाइ त्यागेर
बादलको मनपरी स्वरूपमा ढल्न
ति विमानले कयौलाइ बोकेर जान्थ्यो

आजकल त्यो डाँडामा 
चारैतिर काँडेतार लागेको छ
सिपाहीहरूले कब्जा गरेपछि 
त्यो डाँडामा
हामीलाई प्रवेश निषेध छ





Sunday, May 27, 2012

अखण्डता vs संघियता

शिर्षकमा नजानु होला, यो शिर्षकले हाम्रो राष्ट्रको  जल्दो बल्दो विषयलाइ सम्बोधन गरेको छैन । यो त म निरिह जनताको एउटा सानो दुःखको सानो कथा हो  ।
मेरो ज्यूबाजे र  हजुरबाले तराइको एउटा जिल्लाको एउटा गा.वि.स.को लगभग एउटा सिंगै वडा नै आर्जेका थिए । साम, दाम, दण्ड, भेद के के प्रयोग गरी कसरी आर्जे मलाइ थाहा भएन । तर हजुरबाको मुखबाट जग्गा आर्जेको गौरवगाथा चै खुब सुन्न पाइन्थ्यो । कसरी आफ्नो जग्गा जमिन तीन गाउँ फैलाएको भन्ने कुरामा खुब गर्व गर्थे हजुरबा । 

मेरो बुवाले अन्तरजातिय विवाह गरेका कारण हजुरबा र बुवाको सम्बन्ध राम्रो रहेन । आमा र बुवा घर जानु भएको कहिले रूचाउनु भएन वहाँले । म नाती भएकोले होला मलाइ चै माया गर्नुहुन्थ्यो । बुवाले पनि बाँचुन्जेल घरबाट केही लिनु भएन । बुवा र आमा  एक्लैको बलबुतामा परिवार चलाउनु भयो, हामीलाइ हुर्काउनु भयो । 



बुवा बित्नु भएपछि भने अंशको कुरा आयो । बाजेले अंश दिनै मान्नु भएन, मैले पनि माग्न गइन खासै आवश्यकता पनि परेको थिएन । त्यसपछि हजुरबा पनि बित्नु भयो । परिवारमा अलि आर्थिक संकट पनि छाउन थालेपछि चै मलाइ मेरो पुश्तैनी हकअधिकार पाउनु पर्छ भन्ने चेतना जागृत भएर आयो । म मेरो एकसूत्रिय माग राखेर काकाकहाँ पुगेँ । मेरो माग ठाडै अस्विकार गरी विखण्डनकारीको दर्जा दिए तिनले । यत्रो वर्ष त्यो जग्गा र घरका लागि केही नगरेको, अनि बुढा मरेपछि भाग खान आएको भनि ठाडो आरोप लाग्यो । मैले ठाडो प्रतिवाद गरेँ, घरमा बस्न नदिएर, हकअधिकार र कर्तव्य केही पनि नतोकेको हुनाले घरपरिवारका लागि योगदान दिन नपाएको गुनासो गरेँ, तर काका मान्नु भएन । 

Saturday, May 26, 2012

मुस्कानको साघुँ (गजल - ७२)



विछोडमा बाटो छेक्न दुई धारा आसुँ थियो
तरि जाउ भनि फेरी मुस्कानको साघुँ थियो

आसुँ भन्दा याद प्यारा आँखा भरि सजि रहे
याद पनि आसुँ सँग सँगै बगी जानु थियो

अधर त मौन थिए नाम फेरी उही गुन्ज्यो
धड्कनको पुकारमा कहाँ मेरो काबु थियो


समयको घेरा तोडी डुब्दै थियो घाम पनि
विछोडको त्यो मौसममा कुनै कालो जादू थियो

भिड माझ खुबै खोजेँ मलाई घाउ दिनेहरू
शत्रु आफ्नो भेट भयो जब ऐना सामु थियो

Sunday, May 20, 2012

स्वतन्त्र (कविता)

जय शम्भो....बन्द धेरै भो.....शान्ति कम भो!!

Photo Courtesy : Omlal Akayla

एउटा मान्छे बनेर
जिन्दगीको सफरमा हिँडेकोलाइ
रोक्ने कोशिश गर्दै गर
कहिले विचारको झन्डा बोकेर
कहिले मागको तगारो तेर्स्याएर
अनि कहिले कानमा
नाराको चर्को आवाज चर्काएर
तर्साउने कोशिश गर्दै गर

मेरो सोच स्वछन्द छ, उडारहन्छु
मेरो पाइला स्वतन्त्र छ, चालिरहन्छु
म स्वतन्त्र छु 
अघि बढिरहन्छु

Wednesday, May 16, 2012

(No) बन्द

बन्दको दिन
कार्यालयभित्रको एउटा कोठाको दृश्य

एकजना व्यक्ती मोबाइलमा नम्बर डायल गर्दै
९..८..५...६...०...३..१..८,८,८
"टुँट ..टुँट..टिँट, टुँट टिँट...टिँट..टुँट, टुँट टुँउउउउट"

"तपाइँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ...कृपया"

"ह्या....यो एनटिसीकि दिदी... मोरो बाहुन बाजेको फोन पनि आज व्यस्त नभए कहिले हुन्थ्यो, यो बाहुनलाइ छोडेर क्षत्रीलाइ फोन लाउन पर्यो, नम्बर पो कति हो...ए.."

९..८..४..६...४...२..१..९,२,०

"टुँट ..टुँट..टिँट, टुँट टिँट...टिँट..टुँट, टुँट टुँउउउउट"
ट्रुँट ट्रुँट...
'ए लाग्यो लाग्यो...यो चाँही बेरोजगार रैछ'

उता फोन उठ्छ

'हलो'

'हलो...हजुर यो क्षत्री समाज नेपालको फोन होइन'

'हो'

'ए ए..हजुर चै को बोल्नु भएको होला?'

'म अधक्षे बोल्दैछु'

'ए .. हजुरको शुभनाम के होला?'

' के थियो भन्नु न...म अलि हतारमा छु'

'ए.. ए.. एउटा सूचना थियो..त्यो भन्दा पहिले आज मेरो जिवन अलिकति कष्टकर बनाउन प्रयास गर्नु भएकोमा तपाइँहरुको घोर भत्सर्ना गर्न चाहन्छु'

'हँ...के भन्नु भो , हाम्रो माग पुरा गराउन बन्द गर्नै पर्ने बाध्यता गरायो नि सरकारले । देश टुक्रा टुक्रा पार्ने षडयन्त्र विरुद्ध...'

'ए अदक्षेज्यू, मैले तपाइँको भाषण सुन्न फोन गरेको होइन...त्यो बानेश्वर चोकमा उभिएर गर्नु होला...'

(रिसाएर)'अनि...के ...??'

(कुरा काट्दै) 'तपाइँ एकछिन चुप्प लागेर मेरो कुरा सुन्नुस्... म आज विहान ९ बजे भक्तपुर देखि कोटेश्वर, बानेश्वर, रत्नपार्क हुँदै बाइक हुँइक्याउँदै तपाइँको बन्दको ठाडो अवहेलना गर्दै महाराजगन्जमा रहेको मेरो कार्यालयमा काम गर्न पुगेकोछु । अब साँझ ५ बजे फेरी यही बाटो हुँदै घर फर्कनेछु । तपाइँको माग सही हो या गलत मलाइ थाहा छैन । तर यत्ती बुझ्नुस् मैले तपाइँले घोषणा गर्नुभएको बन्द ठाडै अवज्ञा गरेकोछु... अब के गर्न सक्नुहुन्छ...गर्नुस्...'


फोन काट्दै ...'टुइँट'




टेलिफोन नम्बर श्रोत

एक हप्ता अगाडी भएको बन्दका केही दृश्यहरू

Monday, May 14, 2012

विपनाको साथी (गजल ७१)


सँधै छु म वरिपरी ओइलि जाने वहार हैन
विपनाको साथी हुँ म सपनाको संसार हैन

खुम्चिएका रेखाहरू भेटिदैन यहाँ कतै
दैव तैँले लेख्या भाग्य बोक्ने मेरो निधार हैन

झुक्न बाँकी शिर सबै काटिनु पो पर्ने थ्यो कि ?
कलम पो बोकिएछ हातमा तरबार हैन

छिया छिया भएको त्यो अचानोले थाहा पावोस्
प्रहार गर्ने हात दोषी थ्यो, खुकुरीको त्यो धार हैन

सल्काएर हेरेँ एउटा झिल्का धुप्प अँध्यारोमा
बुझेँ अनि दीप भन्दा ठूलो अन्धकार हैन

Thursday, May 10, 2012

बन्दः एक नजर

आजको बन्दमा जसरी भएपनि अफिस जाने जाँगर चल्यो । तर अफिस पनि कम्ती टाढा छैन, भक्तपुर सल्लाघारी देखि महाराजगञ्जसम्म १५ किलोमिटर भन्दा बढीको दुरी पैदल तय गर्नु पर्ने बाध्यता थियो । तैपनि क्यामेरा बोकेर हिँडे , बाटोमा देखिएका दृश्यहरू कैद गर्दै । लगभग ५ घन्टाको सल्लाघारी-कोटेश्वर-बानेशवर-मैतिदेवि-ज्ञानेश्वर-नक्साल-महाराजगञ्ज यात्राका क्रममा देखिएका केही दृश्यहरु

बन्द भन्ने थाहा हुँदा हुँदै किन आएको, फोड्दिउँ?
स्थानः सल्लाघारी

फुटपाथमा बाइक डोर्याउदाँ नि मौन ट्राफिक र प्रहरी दस्ता
स्थानः सल्लाघारी चोक

Sunday, May 6, 2012

त्रिशुली किनार हुँइकिँदाँ - ३





केही बेर रोमाकान्तको कोठामा विश्राम गरेपछि वासुदेवलाई चैं काठमाडौं फिर्ने छट्पटी हुन थाल्यो । माईक्रोको टिकटको व्यवस्था पनि भयो फोनबाट तापनि उनको मन थामिएन । माइक्रोस्टप सम्म नै पुगौं भन्न थाले । वासुदेवको अनुहार सँधै चिन्तित देखिन्छ । अब यो साँच्चिकै चिन्ता हो या उनको अनुहार नै त्यस्तो हो, त्यो त मैले भेउ पाउन सकिन । तर यो कुरा निस्कदाँ सबै हाँसे एकचोटी , सँगै बासुदेव पनि हाँस्न बाध्य भए । 

वासुदेव र धोलकलाई गाडी चढाएर हामी भने नुवाकोट दरबार तिर उक्ल्यौं । विदुरबाट ५ किमी उकालो लागेपछि दरबार पुगिँदो रहेछ । सालको जंगल विचैविचबाट घुमाउरो पक्की बाटो उकालो लागियो । मौसम पनि रमाईलो नै थियो, सालका बोटमा भर्खरै पलाएका हरिया पातहरूले मनमा ताजापन भर्दै थियो । अलि माथी पुगेपछि एउटा चौतारोमा रोकिँयौ हामी । त्यो ठाउँबाट विदुर न.पा. भित्रका लगभग सबै फाँटहरू देखिन्थ्यो । 



चारैतिर हरियाली थियो, स्वयम्भूको डाँडा चढेर काठमाडौको दृश्य हेरेको याद आयो । यस्तै जंगल देखिन्छ त्यहाँबाट पनि तर कुरूप सिमेन्टीको जंगल । यो चौतारोबाट देखिने जंगलको हरियाली भने मनमोहक थियो । 








Friday, May 4, 2012

त्रिशुली किनार हुँइकिदाँ - २

त्रिशुली किनार हुइँकिदाँ -१ बाट अगाडी


अघि बढ्नु अघि रोमाले फेरी सम्झाए, घुमाउरो बाटो छ अलि सावधान भएर चलाउनु । ३० -४० को स्पीड मात्र नि...खोइ किन यिनलाइ मेरो बाइक कुदाइ देखि डर लाग्या हो? मलाइ याद भएन । कुनै दिन सँगै डुलाएँ कि काठमाडूँमा सातो जाने गरी? सिधा बाटो, त्रिशुली किनारै किनार बाटो अघि बढ्यो । खुला बाटो, गाडी कम..तापनि विस्तारै गुडेँ म । यताउति हेर्दै विस्तारै..अचम्म के लाग्यो भने, यताका वासिन्दाले गज्जबले बाइक हुँइक्याउँदा रैछन् । हेल्मेट पनि लाउन नपर्ने, डर पनि नलाग्ने । 

हामी नेपालीको धेरैजसो घुमघाम धार्मिकस्थलमा गएर टुंगिन्छ । बाटोमा देविघाट पर्दो रहेछ । अब यहाँ नरोकिइ अगाडी जाने कुरै भएन । तादी खोला र त्रिशुलीको दोभानमा अवस्थित देविथान प्रशिद्ध नै छ हिन्दू धर्मावलम्वी माझ । 

Thursday, May 3, 2012

सहमतीः हिजोआजको तातो शब्द



हिजो साँझ देखि नै गाइँगुइँ थियो । 'आज केही हुन्छ है' भन्दै । एक हूल पत्रकार बानेश्वर ढुकेर बसेका थिए , ताजा खबर ब्रेक गर्न । एक हूल युवाहरू नयाँ संविधानलाइ स्वागत गर्न भन्दै सांकेतिक विरोधमा उत्रिएका थिए  त्यही बानेश्वर बाहिर । म भने आरामले ट्विटरमा साथीहरूको ट्विट हेर्दै  थिएँ । थाहा थियो न्यूज ब्रेक यहिँ बाटै हुन्छ भनेर । हुन पनि त्यही भयो । सालोक्यले पहिलो न्यूज ब्रेक गरे, सबै मन्त्रीहरूको राजिनामा भनेर । 

संविधान बनाउन हतार भइसक्यो, सहमति भएको छैन मुख्य मुख्य बुँदाहरूमा । आधा देश बन्द छ,  सबैजना दलहरू विचको सहमति र त्यसपछि जारी हुने संविधानको प्रतिक्षामा छन् । दलका नेताहरू भने वैठक माथी वैठक गरिरहेका छन् । जुन निकायबाट संविधानका बारेमा छलफल हुन पर्ने हो, त्यहाँको वैठक चाँही स्थगन माथी स्थगन हुँदैछ । 

आखिर सहमति के कुरामा अड्कीयो त? मलाइ चै थाहा थियो । घटनाक्रमले मेरो ठहरलाइ पुष्टयायो पनि । 'सत्ता' का लागि सहमति नभएको रहेछ । अब हिजो जारी भएको ५ बुँदे सहमतिले नै प्रस्ट्यायो नि । सबै मन्त्रीहरूले राजिनामा दिने, 'राजनैतिक सहमतिय सरकार' गठन गर्ने । अनि संविधान जारी गर्नका लागि अर्को सरकार गठन गर्ने अरे... कुरोको चुरो आखिर कुर्सी मै त अड्किएको रहेछ त । 

World Blogger' Day 2012 Clebrations


Celebrated World Blogger's Day 2012 and Anniversary of and meroreport.net with Fellow Bloggers, Microbloggers . Was a fun filled day, Nice to meet you Guys!!

Union Wall
 

Wednesday, May 2, 2012

Blogger's Day Celebration: Funny Side


World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net
Some of funny captures of the day 



Banner 


Going Live!!


Opportunities and Threats : @aakarpost

Popular Posts