Thursday, May 3, 2012

सहमतीः हिजोआजको तातो शब्द



हिजो साँझ देखि नै गाइँगुइँ थियो । 'आज केही हुन्छ है' भन्दै । एक हूल पत्रकार बानेश्वर ढुकेर बसेका थिए , ताजा खबर ब्रेक गर्न । एक हूल युवाहरू नयाँ संविधानलाइ स्वागत गर्न भन्दै सांकेतिक विरोधमा उत्रिएका थिए  त्यही बानेश्वर बाहिर । म भने आरामले ट्विटरमा साथीहरूको ट्विट हेर्दै  थिएँ । थाहा थियो न्यूज ब्रेक यहिँ बाटै हुन्छ भनेर । हुन पनि त्यही भयो । सालोक्यले पहिलो न्यूज ब्रेक गरे, सबै मन्त्रीहरूको राजिनामा भनेर । 

संविधान बनाउन हतार भइसक्यो, सहमति भएको छैन मुख्य मुख्य बुँदाहरूमा । आधा देश बन्द छ,  सबैजना दलहरू विचको सहमति र त्यसपछि जारी हुने संविधानको प्रतिक्षामा छन् । दलका नेताहरू भने वैठक माथी वैठक गरिरहेका छन् । जुन निकायबाट संविधानका बारेमा छलफल हुन पर्ने हो, त्यहाँको वैठक चाँही स्थगन माथी स्थगन हुँदैछ । 

आखिर सहमति के कुरामा अड्कीयो त? मलाइ चै थाहा थियो । घटनाक्रमले मेरो ठहरलाइ पुष्टयायो पनि । 'सत्ता' का लागि सहमति नभएको रहेछ । अब हिजो जारी भएको ५ बुँदे सहमतिले नै प्रस्ट्यायो नि । सबै मन्त्रीहरूले राजिनामा दिने, 'राजनैतिक सहमतिय सरकार' गठन गर्ने । अनि संविधान जारी गर्नका लागि अर्को सरकार गठन गर्ने अरे... कुरोको चुरो आखिर कुर्सी मै त अड्किएको रहेछ त । 


संविधानका त कुरा छोड्नुस् । बन्दै गर्छ त्यो, त्यसका लागि फेरी अर्को सहमति हुनेछ । सहमतीका लगभग प्रत्येक बुँदामा उल्लेख भएका सहमती शब्दमा विश्वास राख्नुस् ।  त्यो सहमति भन्दा अर्को तड्कारो सहमति जुटाउन बाबुरामलाइ चुनौती हुनेछ । भागबन्डाको सहमति । दुइ दिनमा सरकार गठन गर्नुछ त्यो पनि सबै ठूला दललाइ भाग मिलाएर । 

सहमति कस्तो हावी भएको छ भने, ५ बुँदेको चौथो बुँदामा १ वर्ष भित्र त्यो सरकारले चुनाव गराउनेछ भनेर उल्लेख भएको छ । हैन...चुनाव कहिले, कसले गर्ने भन्ने कुरा त संविधानमा उल्लेख हुने हैन । कि संविधान भनेको यस्तै १ २ पाने कोठे सहमतीको कागजे चिरकुट हो? यहि चिरकुटका लागि हामी यति चिन्तीत भइराख्या? आधा देश यसैका लागि आन्दोलित भएको हो अहिले? 





तस्विर साभारः nagariknews.com


राजनीतिक दलहरुका बीच भएको सहमति
२०६८ साल कार्तिक १५ गते भएको सात बुंदे सहमति बमोजिम संविधान निर्माण कार्यलाई सम्पन्न गर्न तथा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुका बिचमा निम्नलिखित सहमति भएको छ :
१) बर्तमान मन्त्रिपरिषद्का सवै सदस्यहरुले राजीनामा गरिसकेको वर्तमान स्थितिमा दुई दिन भित्र विगतमा भएको सात बुँदे सहमति बमोजिम प्रधानमन्त्री डा. बावुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गरिने छ।

२) संविधान निर्माणका क्रममा देखिएका राज्यको पुनःसंरचना, शासकीय स्वरुप लगायतका सवै विषयहरुलाई तीन दिन भित्र सहमतिमा टुंग्याईने छ। सहमति हुन नसकेका विषयहरुलाई प्रक्रियाबाट निर्णयमा लगिने छ।

३) २०६९ साल जेष्ठ १४ गते अगावै नयां संविधान घोषणा गरिने छ। संविधान घोषणा गर्नु अघि बर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिने छ। यो सरकारले एक बर्ष भित्र राष्ट्रिय आम निर्वाचन सम्पन्न गराउने छ।

४) शान्ति प्रक्रियाका बाँकी कामहरु बिगतका सहमति बमोजिम अविलम्व सम्पन्न गरिने छ।

५) संविधान निर्माणको कामलाई तीब्रता दिन राजनीतिक दलका शीर्ष नेताहरुको नियमित रुपमा बैठक गरिने छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’,
अध्यक्ष
एनेकपा (माओवादी)
सुशील कोइराला,
सभापति
नेपाली काँग्रेस
झलनाथ खनाल,
अध्यक्ष
नेकपा (एमाले)
विजयकुमार गच्छदार
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तर्फबाट
मिति- २०६९।१।२१

No comments:

Post a Comment

Popular Posts