Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Thursday, April 26, 2012

ए चन्द्रमा (गीत)


एकदिन साथी सब्बु संयम र म कालीप्रसाद बासकोटा दाइलाइ भेट्न गएका थियौं । एक लाइन सुनाउनु भयो,
'टोलाई रहन्छौ हर साँझ ए चन्द्रमा तिमी आज केही बोल '
एउटा एक्लो मनको मनोवाद दूर आकाशमा रहेको चन्द्रमा सँग मात्र यत्ती Concept थियो । गीत पुरा गर्नुपर्ने भयो । त्यहाँबाट फिर्ता भएपछि यही गीत खेली रह्यो दिमागमा तर अघि बढेन । एकदिन चै कालीदाइले फेरी भने यो गीत पुरा गर्न । अनि साथी तुफान शान्त सँग बसियो कालीदाइकहाँ... विस्तारै विस्तारै धुनसँगै मूड बन्दै गयो । राती टहटह जून लागेको थियो बाहिर, अनि झ्यालबाट हेर्दै हाम्रो मनपनि एक्लिँदै थियो । हामी पनि चन्द्रमा सँग कुरा गर्न थालेका थियौं । केही घन्टा मै गीत पुरा भयो । गीत मिना निरौलाको आवाजमा सजियो अनि जिवन्त भयो । पाइला संग्रहमा समावेश यो गीतमा गोपाल रसाइलीको एकदम मिठो संगीत संयोजन रहेको छ ।
कालीप्रसाद बासकोटाको यो एउटा अमर श्रृजना हो । यसमा सहकार्य गर्न पाएकोमा एकदम खुशी लागेको छ मलाइ




टोलाई रहन्छौ हर साँझ
ए चन्द्रमा ! तिमी आज केही बोल
म सुनाउँछु मनको मेरो कथा
ए चन्द्रमा ! बोल न केही बोल

बादल बनी वरिपरी खेली रहुँ लुकामारी र तिमी साथ झुमिरहुँ
भुलाई मेरा दिनहरू यो रातका मिठा पलहरूको मात चुमीरहुँ

यसरी सँधै के पाउँछु साथ? 
मेरो चन्द्रमा आज त केही बोल
म सुनाउँछु मनको मेरो कथा, 
ए चन्द्रमा बोल न केहि बोल

साथ तिम्रो जुनेलीको, नाता हाम्रो अँधेरीको 
तर रात ढल्नु नै छ
याद मिठा बोकी बोकी, मनको चाह रोकी रोकी 
दिनमा फेरी जल्नु नै छ

यसरी नै चल्छ दिनरात 
ए चन्द्रमा ! अब त केही बोल
म सुनाउँछु मनको मेरो कथा 
ए चन्द्रमा !बोल न केही बोल


शब्दः कालीप्रसाद बासकोटा र एकतारे
संगीतः कालीप्रसाद बासकोटा
स्वरः मिना निरौला
संग्रहः पाइला

Picture Courtesy: ekantipur.com

Thursday, April 5, 2012

पिडा साट भएजति (गीत)

एउटा मुक्तक थियो, मनमा बसेको मान्छेको पिडा घटाउन रचेको थिएँ । एकदिन कालीदाइलाइ देखाएँ त्यो मुक्तक, मनपराउनु भयो । अनि त्यो गीतमा ढल्यो, संगीत पनि भयो अनि गायक पनि जुर्यो ।




पिडा साट (समर्पण)

पिडा साट भएजति खुशी दिन्छु धेरै धेरै
तिम्रो आँखा रसाई दिए म नि रून्छु धेरै धेरै
मुटु भरी साँचेको छु तिम्रै लागी राखेको छु
लिनु छैन केही पनि माया दिन्छु धेरै धेरै

निराशाले जब जब घेर्छ तिम्रो मनको आकाश
हाँसो लिइ आउने छु म नहुनु है तिमी हतास
मेटाउन त्यो विरानी बोकी ल्याउँछु म विहानी
उदासीको बादल चिरी आशा छर्छु धेरै धेरै
पिडा साट भएजति खुशी दिन्छु धेरै धेरै
पिडा साट भएजति.........

गर्दिन म झुटा वाचा कहीले पनि जूनताराको
माया भए त्यसै पनि झल्मलिन्छ जिन्दगी यो
भेटाउने खोजे जति पाउने छौ रोजे जति
पिरतीको कोसेली यो बोकी ल्याउँछु धेरै धेरै
पिडा साट भएजति.........

गीतको Unplugged Version काली प्रसाद बासकोटाको आवाजमा



Wednesday, February 8, 2012

वाचा (गीत)


आज (२०६८ माघ २५ गते) विवाह बन्धनमा बाँधिएका साथीहरू होम कुमारी राइ र प्रचन्द्र श्रेष्ठ र भोली (२०६८ माघ २६ गते) विवाह बन्धनमा बाँधिन गइरहेका साथीहरू दिनेशराज ज्ञवाली र  प्रभा कुइँकेल प्रति समर्पित रचना




आज अग्नी साक्षी राखी आउ वाचा गरौं
सुख दुःख तिम्रो मेरो आधा आधा गरौं



सपना बोकी आँखाहरू झुकाएर आउनु
घुम्टो भित्र खुशीहरू लुकाएर ल्याउनु 
आपसमा बाँडीचुँडी हाम्रो माया गरौ
सुख दुःख तिम्रो मेरो आधा आधा गरौं




केही थोपा आसुँ होला केही भने हासोँ
कुनै रहर कुनै खबर केही चै गुनासो
मिसाउन कथा व्यथा हाम्रो मन सादा गरौ
सुख दुःख तिम्रो मेरो आधा आधा गरौं

Tuesday, January 17, 2012

एउटा कहानी

जिन्दगीको यो कोसेली, पिरतीको यो कहानी
खुशी खोज्दै साथ रोज्दा रमाइलो भो बिरानी

आँखा बन्द हुँदा खुशी, आँखा खुले आखैँ दुःखी
सज्दै टुट्ने रहरको, आँखामा नै लाग्छ ताँती
सपनामा हाँसो छुट्दा, भिजेको छ यो सिरानी

रमाउने भुलाउने यही मन हो खुल्ला आकाश
चर्काउने दर्काउने यही मन हो घनघोर असार
मन नै हो सच्चा प्रेमी मनै हुन्छ बेइमानी

मेरा आँखा

अधरले बोली दिन्नन् मेरा मनका भाका
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा

नखुलेका रहरहरू याद बनि रहे
यादहरू साथ बनि हरपल रही रहे
टुटी जाने सपनीका बिझाउँछ काडा
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा

कहिले त स्वप्न अनेक उर्लि गर्छ खलबल
कहिले त आसुँको जोर परी हुन्छ सलबल
आँखाबाटै छुट्छ रहर फाल हाल्ने छाँगा
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा


pic by Elzbieta_Mozyro

Sunday, December 11, 2011

एकतारे (गीत)

मैले हिँड्ने बाटोभरी कति भेटेँ चौतारो
बसुन्जेल छहारीमा म उसको उ मेरो
न म रोकिन्छु, न उ साथ हिँड्छ
सँगै हिड्ने साथी छैन तर नि छैन एक्लो

कहिले म बगर हिँडे, कहिले जघाँर तरेँ
अघि बढे पन्छाउँदै, सामु जति बाधा परे
सुस्ताउन रोकिँदा, शीतल छायाँ पाउँदा
भुलेँ एकै सुस्केरामा हिडाइका अप्ठेरो

थाहा छैन मलाई त जानु कहाँ पो छ
अगाडी हेर्दा खेरी अन्त्य हिन बाटो छ
आफ्नो भन्नु यही, पाउने मैले यत्ती
जिवन भन्नु यात्रा मेरो यही बाटो भो प्यारो

कन्चन देवकोटाको आवाजमा संगितवद्ध यो गीत सुन्नका लागि यहाँ क्लिक गर्नुहोस्

जीवन गीत

जीवन भन्नु आँखा भरी कैले आँसु कैले हाँसो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो

नयनबाट बगाएर मेट्छु व्यथा यो मनको
मुस्कानले सजाएर लेख्छु कथा जीवनको
रमाउँछु यसै गरी न त पिर छ न गुनासो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो

जीन्दगी यो रमाउने ढुक्ढुकीको रैछ माला
भरै छैन थाहै छैन कहिले यो टुटी जाला
बनाउँछु आज मेरो, भोलीको त छैन चासो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो

स्वर/संगीतः कञ्चन देवकोटा

Tuesday, July 26, 2011

याद (गीत)


जूनकिरी सँगै नाँच्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि

गीत कुनै सुसाउँछ पवनको मिठो बोली
चन्द्रमाले चियाउँछ बादलको घुम्टो खोली
उज्यालो भै रात जाग्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि

ताराको यो टिल्पिलमा छाइदिन्छ टुनामुना
मुहार उही देख्छु म त सपना हो कि विपना
वेहोशीमा दिल मात्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि

दुख्दो रैछ (गीत)

काँडा भन्दा फूलको चोट अझ धेरै दुख्दो रैछ
छुँदा मात्रै पनि घाउ गहिराइमा पुग्दो रैछ

काँडालाइ त छलिदिन्छु धारिलो त्यो रूप देखि
कोमलतामा धार बोक्ने फूल चिन्ने कसो गरी
रूपरंगको मोहनीमा नजर यी चुक्दो रैछ

सिउँरिदा पराइ शिरमा कति रून्छ मालीको मन
घाउ माथी नून पर्छ मस्केर फूल हाँस्दा त झन
आफ्नोले नै घात गर्ने नियती नै हुँदो रैछ

– २०६८ श्रावण १०

Thursday, July 21, 2011

टाढा भएकै राम्रो (गीत)

नगाँसिने मुटुहरू आधा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो

साटिएन खुशी कैले बाँकी रह्यो मात्र व्यथा
आँसुले नै मेट्ने गरी लेखिएछ हाम्रो कथा
मनका यी पाना फेरी सादा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो

पिर बिसाउने काखमा काँडा विझाउन थाले
आँसु पुछ्ने हातले नै अब चोट दिन थाले
नबिर्सुँ म पिडा घाउ गाढा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो

Tuesday, July 12, 2011

बाँकी धेरै छ (गीत)

साँची राख्छु आसुँहरू खप्न बाकीँ धेरै नै छ
जीन्दगीका घाउहरू सेक्न बाँकी धेरै नै छ

मध्यरातमा परेली यी नखुले त जाती हुन्थ्यो
सम्झनाको बेहोशीमा मन त्यसै माती रन्थ्यो
रंगिचंगी सपना अझै देख्न बाँकी धेरै नै छ

जोडी पाइला नहुँदैमा हिँड्न मैले छाड्नु हुन्न
पाइन्छ कहिँ खुशी धेरै खोज्न मैले थाक्नु हुन्न
अविरल छ यात्रा मेरो टेक्न बाँकी धेरै नै छ

२६ असार २०६८

तड्पन (गीत ७)

निस्सासियो मन् तड्पिरन्छ झन, केही उपाय छैन
जिवन छ जारी यो भन्दा भारी कुनै सजाय छैन

सागर झैँ थिए खहरे भए मेरा यी आँखाहरू
उर्लिदाँ लहर, विलायो बहार, बगे सपनाहरू
साँस छ उही, जीन्दगी उही, उस्तै हृदय छैन

कहानी उनै सम्झन्छु झनै बिर्सने बहानामा
कामना उस्तै गुन्जिन्छ सँधै मेरा यी प्रार्थनामा
दिलमा मेरो मायाको चिनो याद सिवाय छैन

संगीतः तुफान शान्त
स्वरः .....
१५ असार, २०६८

बर्सिदैछु (गीत)

बर्सिदै छु तिम्रै तिर रूझ्छौ माया बौछारले
प्यास तिम्रो मेट्ने धोको मायाको यो भण्डारले

कति दुख पिडा गन्छौ? अब साथ छान्ने पालो
हाँसो खुशी मात्र हाम्रो सँधै रहोस हातेमालो
सक्ने छैन रूवाउन कुनै पनि प्रहारले

आँखा बिच सपना छ, आँसु फेरी रोज्छौ किन?
खेल्न खोज्छ मनभित्र ढोका थुन्न खोज्छौ किन
ढोका तिम्रो ढक्ढकायो हेर माया बहारले

३० जेठ, २०६८

Hamro Team Official Song - हाम्रो टिम


एकपछि एक कोशिशहरू थपिँदै गए हर क्षणमा
साथ मिलि हर हार जित्छौ के हो तिम्रो सपना

हेर हात बढाइ तिमी, पाउने छौ साथ हर कदम
साहसले अघि बढ्छ, सत्यले जित्छ, यो हाम्रो टिम
बदलिए सोच हाम्रो, बदलिन्छ संसार यो
म भन्दा माथी हामी एकताको आधार हो

सात रंगी छ इन्द्रधनुष हर एकको छ आफ्नै गुन
एकमा तिमी अनेकमा हामी मिलि गाउँछौ विजय धून
हामी काँधमा काँध मिलाएर, होस्टेमा हैसे लगाएर
लम्कन्छौ...लम्कन्छौ एक गरी रात दिन

बदलिए सोच हाम्रो, बदलिन्छ संसार यो
म भन्दा माथी हामी एकताको आधार हो

Cowritten by Kali Prasad Baskota, Yubakar and Sabin Singh
Composed by Kali Prasad Baskota
Performed by Nima Rumba and Aastha B.

Watch OFFICIAL VIDEO OF HAMRO TEAM


Watch HAMRO TEAM 

Hamro Team Official website

नौलो यात्रा (गीत)

आँगनीमा दियो बाती नबालेको धेरै भयो
जीन्दगीको यात्रा नयाँ नथालेको धेरै भयो

थोरै थोरै दूरी गर्दै बाटो लामो काट्नु थियो
लक्ष्य नयाँ खोजी गर्दै सफलता भेट्नु थियो
जाँगरिलो पाइलाहरू नचालेको धेरै भयो

अघि बढ्नु छ आखिर विहानीलाइ किन कुरूँ
उज्यालो म सँगै नै छ आफै भित्र खोजी हेरूँ
निराशाको कालो घुम्टी नफालेको धेरै भयो

June 5, 2011

दिलको थुना (गीत ३)

स‌सारनै देखाइ दियौ दिलको यो थुनामा
जूनताराको झिलिमिली पाउँछु यै कुनामा

एक हाँसोले मनभित्रको खडेरी नै हरायो
प्रेमको वर्षा पाइ नयाँ पालुवा यो पलायो
रँरगीच‌गी फूल हाँस्छ एकदिन यो मुनामा
स‌सारनै देखाइ दियौ दिलको यो थुनामा

मोहनी हो भन्छन सबै यसै भित्र म भुलेँ
कैले खुशी कैले दुखी रमाउँदै म झुलेँ
कहिँ पनि नपाउने आनन्द यो टुनामा
जूनताराको झिलिमिली पाउँछु यै कुनामा

Sunday, October 17, 2010

संगीतः तुफान शान्त
स्वरः विशाल ठटाल
संग्रहः Arrival (Paila-2) 

 
Arrival मा संग्रहित गीतहरूको झल्को, यो गीत २.३८  मा सुन्न सकिनेछ

एक्लो चरी(गीत - 4)

डाली डाली उड्ने चरी बास बस्ने कहाँ तिमी
जीवनको थकान तिम्रो बिसाइ हेर एकफेरी

पिरतीको बतास न्यानो चलिरा'छ वरपर
ढुँगा सरी मन हैन किन भाग्छौ परपर
धर्ती आकाश दूरी नापी भौतारिन्छौ अझै कति

मायालुको साथ लिई यात्रा धेरै सहज हुन्छ
बाधा सबै पार गरी नयाँ नौलो आकाश छुन्छ
उज्यालो छ झनै बढि बादलुको घेरा माथी

November 14, 2010

Tuesday, September 21, 2010

जाती हुन्थ्यो

मन यौटा मरिदिए, जिन्दगानी जाती हुन्थ्यो
जीवनको तराजुमा, सुख सँधै माथी हुन्थ्यो

न त माया प्रेम खोज्थेँ, न कसैको साथ रोज्थेँ
बसन्त र बहार खोज्ने, मेरा लोभी आँखा छोप्थेँ
अँधेरीमै मन रम्थ्यो, दिन पनि राती हुन्थ्यो

जीवनको तराजुमा, सुख सँधै माथी हुन्थ्यो


भौतारिन्छु यता उता, जीन्दगीको लक्ष्य खोज्दै
मनकै पछि पछि लाग्दा, हिड्छु म त बाटो फेर्दै
अटेरी भै हिड्न सके, पाईला मेरो आँटी हुन्थ्यो

जीवनको तराजुमा, सुख सँधै माथी हुन्थ्यो


Tuesday, July 13, 2010 at 11:15am

Tuesday, June 1, 2010

एक्लो जीवन (गीत)

जून-तारा माझ पनि, किन एक्लो हुन्छ धर्ती
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती

झ्याउँकिरी गुन्गुनाउँछे, सङ्गीतमा छैन सुर
पूर्णिमा नि फिक्का लाग्छ, भए पछि तिमी दुर
गाह्रो हुँदो रैछ काट्न, दिन भन्दा अझै राती
तिम्रो साथ नभए नि मर्ने छैन हाम्रो प्रिती

भीड माझ पनि देख्छु, सँधैं तिम्रो मात्र छायाँ
एकान्तमा हुँदा झनै, घुम्छौ मेरो दायाँ-बायाँ
याद मात्र भएको छ, मेरो आज बाँच्ने साथी
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती

– २०६७ वैशाख २७ सोमबार

Popular Posts