Monday, April 30, 2012

त्रिशुली किनार हुइँकिदाँ -१




नयाँ बाइक किने देखि एउटै भूत चढेको छ, यात्राको । साथी विपिन सँग एउटा सल्लाह भएको थियो मौका मिल्ने बित्तिकै हिँडिहाल्ने । शुक्रवार जाने अनि आइतवार विहान फर्किने । शुक्रवार आउन लागेको होस सुद्धा थिएन आफूलाइ भने, बुधवार  सोधे विपिनले यसपाली कहाँ जाने भनेर । कहाँ जाने त आफूलाइ पनि थाहा थिएन, कता भन्नु । उनलाई नै जिम्मा दिइयो । नुवाकोट जाउँ भन्ने उनको प्रस्ताव आयो । तर शुक्रवार साँझ नै हाकिम साबको छोराको विहे भोज थियो, भुसुक्कै विर्सिएछ । त्यो झनै छुटाउन नहुने ।
शुक्रवार साँझ सम्म पनि जाने नजाने आफैं दोधारमा थिएँ । तर विपिनलाई भने जसरी पनि जानै पर्छ भनेर कर गर्दै थिएँ । विहानै ६ बजे उठ्ने, अनि साँझ ९ बजेसम्म काठमाडौं फर्किसक्ने योजना बन्यो ।

शनिवार विहान निद्रा खुल्दा ७ बजिसकेको रहेछ । मोबाइल हेरेँ, विपिनको फोन आइसकेको रहेछ । हतार हतार क्यामेरा झोलामा हाल्न खोजेँ, तर क्यामेरामा ब्याट्री एकदम कम रहेछ । अब चार्ज गर्नै पर्यो । चार्जमा राखेर चिया पर्खन थालेँ । अरू बेला विहान उठ्न नपाउँदै चिया खुवाउने घरका मान्छेहरू आजको दिन चै ढिलो गर्दैथिएँ ।

यताउति गर्दा ८ बजिसकेको थियो । विपिनलाइ फोन गरेँ, सुकेधारा भेट्ने कुरा तय भयो । हतार हतार लुगा फेर्न थालेँ, दिदी टुप्लुक्क आइ पुग्नु भयो । वहाँलाइ पनि कमलादी सम्म छोडी दिनु पर्ने भयो । रिसै उठ्छ कैले त, हतार भएकै बेलामा किन काम पर्छ मान्छेहरूलाइ । कमलादी घुमिवरी सुकेधारा पुग्दा ९ बजिसकेको थियो । अब विदुरसम्म जान कुन बाटो जाने भन्ने तय गर्नु थियो । मेरो दिमागमा जाँदा गल्छी हुँदै जाने र फर्किँदा ककनी हुँदै आउने भन्ने थियो । विपिनको सहमती भयो यसमा । यसपछि हाम्रो आतिथ्यता गर्ने साथीलाइ खबर गर्यौं ।


कलंकी कटेपछि नै बाईको ब्रेक थिच्न गाह्रो परेको महशुस भयो । विहान देखिको खाली पेटले ताकत हराएको हो कि ब्रेक नै बिग्रको हो छुट्टयाउन सकिएन । तर शिघ्र नै आफ्नो ईन्धन भर्नुपर्ने अवस्थाको ज्ञात चै भयो । बाइकको ट्यांकी पनि आधा मात्र भरिएको थियो । कलंकी अगाडी पुगेपछि एउटा पम्पमा पेट्रोल बाँड्न लाग्या रैछ । तर बत्ती नआएसम्म नदिने भए, १० मिनेट कुर्न पनि गाह्रो पर्यो मलाई, अगाडी पाइहालिन्छ किन कुर्नु आखिर? तर दुर्भाग्य अगाडी कतै पेट्रोल पाइएन । नौबिसेसमम पुग्दा पनि समस्या यही थियो, बत्ती नभएसम्म पेट्रोल नपाईने । नौबिसे पुगेर हल्का खाजा खाँदै थियौ, रोमाकान्तको फोन आईहाल्यो "कता छौ" भन्दै । अब साथी हामीलाई कुर्दाकुर्दै आत्तीए होलान् भनेर गफ लगाईयो, गल्छी पुगियो भनेर । तर आफ्नो झुटोमा आफै फसियो । साथीहरू त गल्छी पुगेर हामीलाइ कुर्दै रहेछन् । बतास झै कुदियो अनि त । ब्रेक बिग्रेको चिन्ता पनि रहेन ।  पछाडी बसेका विपिनलाई शायद डर पनि लाग्यो होला त्यती बेला । रोमाकान्तले पहिले नै भनेका रहेछन् "सबिनको कुदाइ हो, गल्छी पुग्न बेर लाग्दैन" अब साथीको कुरा राख्न भएपनि कुदाउन त पर्यो नि...खुला बाटोमा २०० सिसीको एभेन्जर कुदाइयो मज्जाले ।

Thursday, April 26, 2012

ए चन्द्रमा (गीत)


एकदिन साथी सब्बु संयम र म कालीप्रसाद बासकोटा दाइलाइ भेट्न गएका थियौं । एक लाइन सुनाउनु भयो,
'टोलाई रहन्छौ हर साँझ ए चन्द्रमा तिमी आज केही बोल '
एउटा एक्लो मनको मनोवाद दूर आकाशमा रहेको चन्द्रमा सँग मात्र यत्ती Concept थियो । गीत पुरा गर्नुपर्ने भयो । त्यहाँबाट फिर्ता भएपछि यही गीत खेली रह्यो दिमागमा तर अघि बढेन । एकदिन चै कालीदाइले फेरी भने यो गीत पुरा गर्न । अनि साथी तुफान शान्त सँग बसियो कालीदाइकहाँ... विस्तारै विस्तारै धुनसँगै मूड बन्दै गयो । राती टहटह जून लागेको थियो बाहिर, अनि झ्यालबाट हेर्दै हाम्रो मनपनि एक्लिँदै थियो । हामी पनि चन्द्रमा सँग कुरा गर्न थालेका थियौं । केही घन्टा मै गीत पुरा भयो । गीत मिना निरौलाको आवाजमा सजियो अनि जिवन्त भयो । पाइला संग्रहमा समावेश यो गीतमा गोपाल रसाइलीको एकदम मिठो संगीत संयोजन रहेको छ ।
कालीप्रसाद बासकोटाको यो एउटा अमर श्रृजना हो । यसमा सहकार्य गर्न पाएकोमा एकदम खुशी लागेको छ मलाइ




टोलाई रहन्छौ हर साँझ
ए चन्द्रमा ! तिमी आज केही बोल
म सुनाउँछु मनको मेरो कथा
ए चन्द्रमा ! बोल न केही बोल

बादल बनी वरिपरी खेली रहुँ लुकामारी र तिमी साथ झुमिरहुँ
भुलाई मेरा दिनहरू यो रातका मिठा पलहरूको मात चुमीरहुँ

यसरी सँधै के पाउँछु साथ? 
मेरो चन्द्रमा आज त केही बोल
म सुनाउँछु मनको मेरो कथा, 
ए चन्द्रमा बोल न केहि बोल

साथ तिम्रो जुनेलीको, नाता हाम्रो अँधेरीको 
तर रात ढल्नु नै छ
याद मिठा बोकी बोकी, मनको चाह रोकी रोकी 
दिनमा फेरी जल्नु नै छ

यसरी नै चल्छ दिनरात 
ए चन्द्रमा ! अब त केही बोल
म सुनाउँछु मनको मेरो कथा 
ए चन्द्रमा !बोल न केही बोल


शब्दः कालीप्रसाद बासकोटा र एकतारे
संगीतः कालीप्रसाद बासकोटा
स्वरः मिना निरौला
संग्रहः पाइला

Picture Courtesy: ekantipur.com

Wednesday, April 25, 2012

खच्चरको सवारी

आज नै 
मेरो फलामे घोडा
बेचिदिन्छु
अनि ल्याउँछु 
एउटा खच्चर

त्यो खच्चरमा
मेरो सवारी निस्कदाँ
आपूर्ती मन्त्रीको
खप्परमा भर्न भनि 
बुद्धीका ढिक्का
बाटो भरी
छर्दै हिड्नेछु


Sunday, April 22, 2012

जसको वयान गर्न म सक्दिन

यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वहाँ जहिँ तहिँ छाउनु भएको छ हाम्रो देशमा । देशको उच्च नेतृत्ववर्ग सँग वहाँको राम्रो हिमचिम छ । वहाँको बखान गर्न तिर लाग्दिन म । हजार जिब्रो भएको शेषनागले भगवान विष्णुको वखान गर्न नसके जस्तै हो । वहाँसँग ठोक्किएका दुइ साथीका दुइ फरक फरक घटना ।

०एक०

म काठमान्डू एयरपोर्टको डिपार्चर लाउन्जमा पत्रिका पढ्दै थिए । उनी पनि म सँगैको कुर्सीमा पत्रिका पढ्दै थिए । उनी पछि उठे अनि  जान लागे जस्तो गरे । अनि एक्कासी म  भएतिर आए अनि केहि नभनी केहि नसोधी मैले पढिरहेको पत्रिका मेरो हातबाट लिए, पानाहरु पल्टाए अनि मसँगैको कुर्सीमा पत्रिका छोडेर हिडें । म ट्वाल्ल परेर हेरेको हेरे भएँ ...... धन्य !!!!!

०दुइ०

हाम्रो कार्यालय अलि विशिष्ट प्रकारको छ (नामै खोलेर भन्न चाहन्न, कसैलाइ जान्ने चाहना छ भने प्राइवेटमा भनुँला) । विभिन्न राष्ट्रिय महत्वका कार्यक्रम भइरहन्छन् हाम्रोमा । हामीलाइ मोबाइलले साह्रै दुःख दिएको थियो । बेला न कुबेला बज्ने । अझै राष्ट्रिय गान बजेको बेला 'मुन्नी बदनाम' 'शिलाकी जवानी' बजिदिँदा साह्रै खल्लो हुन्थ्यो । त्यही भएर मोबाइल ज्यामर खरिद गरियो । अनि पहिलो पटक एउटा कार्यक्रममा सहभागी कसैलाइ जानकारी नै नदिइ प्रयोग गरियो । अचानक सबैको मोबाइलमा नेटवर्क हरायो । धेरैले त थाहा पनि पाएनन् । तर एकजना पत्रकार बन्धु भने मच्ची मच्ची ठूलो स्वरमा "म कार्यक्रममा व्यस्त छु, तपाइँ पछि फोन गरी सम्झाउनु होला' भन्दै कुर्लिँदै थिएँ । हामी दंगदास, हाम्रो मोबाइल बन्द गर्ने यन्त्रले काम गरेन भनेर । हत्त पत्त आफ्नो मोबाइल निकाल्यौ, हामि सबैको मोबाइलमा टावर गायब थियो । अनि ती पत्रकार बन्धुलाइ सोध्यौ, 'हजुर तपाइँको मोबाइल काम गर्या छ', उनको जवाफ थियो , 'किन नचल्नु?'

==========
अब यि दुइ घटना सुनाइ सकेपछी बढी बखान गर्नु नपर्ला र वहाँलाइ चिनि पनि सक्नु भयो होला । अझै पनि चिन्न सक्नु भएन भने टिभी खोल्नुस्, कुनै पनि समाचार च्यानल लगाउनुस् वहाँ पक्कै पनि कुनै न कुनै नेता सँग टाँस्सिएको चित्र देख्न पाउनु हुनेछ :)


Friday, April 20, 2012

मेरो पहिलो सम्झना, आमाको मुस्कान



तपाईँको दिमाग खोतल्नुस् एकछिन् । याद गर्ने कोशिश गर्नोस् तपाइँको जिन्दगीको पहिलो सम्झना, के याद आउँछ? मलाई भने मेरो आमाको मिठो मुस्कान याद आउँछ, मेरो उमेर कति थियो होला चै याद भएन तर आमाको काखमा पल्टेर आमाले कपाल सुम्सुम्याउँदै मुस्कुराउनु भएको सम्झना अझै पनि मेरो दिमागमा छ । अझै पनि त्यो मुस्कान मेरो स्मृतीमा छाउँदा बेग्लै आनन्द आउँछ, मेरो जिन्दगीको सारा तनाव एकैछिनमा बिलाउँछ, यस्तो शक्ती छ यो मुस्कानमा । 

भन्छन् आमाले बच्चा जन्माउन धेरै शारिरीक पिडा खप्नु पर्छ रे । जसले जे सुकै भनोस् मैले त्यो पिडाको एक अंश पनि महसुश गर्न सक्दिन, मात्र अनुमान लगाउने हो । तर होश सम्हाले देखि मैले मेरो आमाले परिवारका लागि गर्नु भएको धेरै दुःखहरू देखेको छु, त्यो पक्कै पनि महसुस गर्न सक्छु । हामी माध्यमिक विद्यालय तिर हुँदाको ताका परिवारमा आर्थिक संकट पर्दा बुवालाई सहयोग गर्न आमाले पनि काम गर्न थाल्नु भएको थियो । काठमाडौंको रैथाने परिवारमा जन्मिएकी मेरी आमा तराइका गाउँ गाउँ कामको सिलसिलामा जिल्ला भरी भ्रमण गर्नु पर्ने थियो । ढल्किँदै गरेको उमेर सँगै आमाले साइकल सिक्नु भयो, तराइको प्रचण्ड गर्मी सहँदै गाउँ गाउँ जानु हुन्थ्यो । म अनुमान लगाउन सक्छु कति असहज हुन्थ्यो त्यो काम वहाँको लागि, कामको सिलसिलामा आई पर्ने विभिन्न समस्याले वहाँलाइ कति तनाव दिन्थ्यो, त्यो वहाँको व्यवहारमा प्रष्ट देखिन्थ्यो त्यो बेला । तर पनि वहाँको त्यही मेहनतले गर्दा हामी दिदीभाइको विद्यालय शिक्षा सजिलै सकियो । वहाँले त्यती बेला आफ्नो क्षमता भन्दा बढीको दुःख गर्नु भएको थियो । त्यो दुःख बराबरको सुख अहिलेसम्म नि दिन सकिएन छैन जस्तो लाग्छ ।

समयको क्रम सँगै शिक्षा र रोजगारका लागि हामी काठमाडौं छिर्यौं । मामाघर यता भएर पनि धेरै सजिलो भयो । बुवा बितेपछि एक्लो हुनु भएकी आमा जिल्ला तिरै एक्लै पर्नु भयो । तर पनि वहाँ यहाँ आउन चाहनु भएन । बुढो ज्यान एक्लै बस्नु पर्दा साह्रै कठिन थियो । त्यसमाथी विभिन्न रोगहरूको आक्रमणले जिवनयापन झनै गाह्रो थियो । तर पनि वहाँ कहिले हामी सँगै काठमाडौं आउन चाहनु भएन, कारण एउटै थियो । यो महंगो शहरमा हामी त बल्लतल्ल गुजारा गरिरहेका थियौं, वहाँ पनि थपिएर हामीलाइ झनै गाह्रो हुने थिएन । तर वहाँले यो कुरा बुझ्नु भएन कि वहाँ उता बस्दा हामीलाइ झनै गाह्रो भएको थियो ।

एउटा दुर्घटनामा परी लडेर दुवै हातको हड्डी चर्किए पछि चै बाध्य भएर आउनु भयो । एकचोटी यता आएपछि हामीले फर्केर जान दिएँनौ । अहिले आमा हामी सँगै बस्नु हुन्छ । तर उमेरको खेला होला, समयक्रम सँगै वहाँ बच्चा जस्तो र हामी बुढो जस्तो हुँदै गएका छौं । सोचमा भएको पुस्तान्तर व्यवहारमा देखिन थालेको छ । जति उमेर बढ्दै गयो, त्यती नै वहाँ चिडचिडे, बोलीरहने, जिद्दी हुँदे जानु भएको छ । हामी भने झन् झनै बुज्रुक हुँदै गएका छौ जसले गर्दा वहाँ र हामीहरूको सामान्य कुरा पनि मिल्न छोडेको छ । दिनैको कुरा हो, वादविवाद हुने । कहिले वहाँ रिसाउने, कहिले हामी रिसाउने । आजको दिन देखि चै एउटा वाचा मेरी आमालाई, म तिमीसँग जे जुन सुकै अवस्थामा पनि झर्किने छैन । मलाई थाहा छ म रिसाउँदा तिमीलाइ कति चित्त दुख्छ....


आजको दिन पनि विहानै वहाँले उठाउनु भयो । सामान्यतया, मलाइ कसैले विहान उठाएको मनपर्दैन । राती दुइबजे सम्म ब्लग, टुइटर, फेसबुकमा रमाई रहने म, विहानै ६ बजे कसैले झक्झकाएर कराउँदा झनक्कै रिस उठ्छ । तर आज रिस उठेन , सदा झै आजपनि विहानै उठाउनुभयो आमाले "बाबु, उठ चिया चिसो भइ सक्यो" म भने अरू दिन भन्दा फरक हुँदै भने "दिदी, ढोग गरेँ" (म आमालाइ दिदी भनेर सम्बोधन गर्छु) उही चिरपरिचित मुस्कान मुहारमा सजाउँदै आमाले भनिन् "नाटक गर्छ गधा..."


हुन त यस्तो गर्नु नाटकै हो । आजको एकदिन आमा आमा टुइटर, फेसबुकमा बखान गर्नु, अनि मातातिर्थ औंसी मनाउँदै आमालाइ केही मिठो परिकार खुवाउनु, उपहार दिनु नाटकै त हो । त्यो आमाको गुण कसरी तिर्न सक्नु जसले निस्वार्थ माया गरेकी छिन् आफ्नो सन्तानलाई? म त सक्दिन..सँधैको रिनी नै हुँ म आमाको । संसार नै मेरो विरुद्ध पल्टिदाँ खेरी पनि मेरो चिन्ता गर्ने र माया गर्ने एकमात्र व्यक्ती मेरो आमा हुनेछिन् , त्यो आमालाई मैले के नै दिएर सकुँला र?
-----


कवि तिर्थ श्रेष्ठको भावना, नेपथ्यको साथमा


कैलाश खेरको भावना, चलचित्र दशविदानियाँ


इस तरह मेरी गुनाहों को वो धो देती है
माँ बहुत गुस्से में होती है तो रो देती है

आमाः मुनब्बर राना

मातातिर्थ औंसीका दिन मुनब्बर रानाका केही शेरहरू सम्पूर्ण आमा र ति आमाहरूका सन्तानमा समर्पण

लबों पर उस के कभी बददुवा नही होती
बस एक माँ है जो कभी खफा नही होती

इस तरह मेरी गुनाहों को वो धो देती है
माँ बहुत गुस्से में होती है तो रो देती है

मैंने रोते हुए पोछें थे किसी दिन आँसू
मुद्दतों नही धोया माँ ने दुपट्टा अपना

अभी जिन्दा है माँ मेरी मुझे कुछ भी नही होगा
मैं जब घर से निकलता हुँ दुवा भी साथ चलती है

जब भी कश्ती मेरी शैलाब मे आ जाती है
माँ दुवा करती हुई ख्वाबमें आ जाती है

ए अँधेरे देख ले मुंह तेरा काला हो गया
माँ ने आँखे खोल दि घरमें उजाला हो गया

मेरी ख्वाहिश हे के में फिर से फरिश्ता हो जाऊँ
माँ से इस तरह लिपटुँ कि बच्चा हो जाऊँ

मुनब्बर माँ के आगे युँ कभी खुलकर नही रोना
जहाँ बुनीयादी हो इतनी नमीं अच्छी नही होती 



सर्जकः मुनब्बर राना



Wednesday, April 18, 2012

लुम्बिनीको धूलो


थाहा छ उसको फोन लाग्दैन, तापनि प्रत्येक घन्टा एकचोटी प्रयास गर्नु मेरो काम नै भएको छ केही दिन देखि । उ जागिरको सिलसिलामा नेपालका विभिन्न जिल्लाहरूको भ्रमणमा निस्केको पनि लगभग एक महिना नै भइसक्यो ।  सम्पर्क माध्यम मात्र यही एक फोन । भन्थे दूरीले माया बढाउँछ, हो रहेछ । कतै कुनै ठाउँमा पुग्दा फोन लाग्छ, केही बेर कुरा गर्यो कि काटिन्छ  । लागि हाल्दा पनि आवाज टुक्रिएर आउँछ । राम्ररी कुरा गर्ने भनेको केही मिनेट मात्र त हो । अनि यी केही मिनेट अमूल्य भएका छन् मेरो लागि । समय कति मूल्यवान छ बुझाउने भईन् उसले ।

अचम्म भयो अहिले चैँ, एक चोटीमै फोन लाग्यो । अनि एकै घन्टीमै फोन पनि उठ्यो । शायद कुरा गर्ने व्यग्रता उता झन बढी थियो । हेलोको जवाबमा सदा झै प्रश्न तेर्सियो उताबाट "कहाँ छस्?" यसपछिको प्रश्न पक्कै पनि "को सँग छस्?" हुनुपर्ने तर शायद अर्कै हतारोमा थिइन् । फोन काटिने डर पो हो शायद..
"सुन् न म त आज साँझ लुम्बिनी पो पुग्दैछु आज"... म अचम्भित भएँ । कता थिइन्, कता पो पुग्न लागिन्, अत्तो पत्तो नहुने ।
"अनि भोली साँझसम्म काठमाडौं पुगिसक्छु नि"....म खुशीले मेचबाट जुरूक्कै उठेँ ।
"के गर्न जान लागेको लुम्बिनी नि?" मेरो सोझो प्रश्न थियो ।
"के गर्न जानु नि लाटा..घुम्न जान लागेको नि" हाँस्दै भनिन् उसले ।
"ए ठिक छ नि, घुम मजाले । हामी पहिले जाँदा त राम्ररी घुम्न पाएनौं है".
एकछिन उताबाट केही आवाज आएन, मैले उनिलाई बोलाएँ..तर जवाफ आएन..
अनि........झल्झल्ती आँखा अगाडी आयो त्यो हाम्रो लुम्बिनी भ्रमण ।

=================


Wednesday, April 11, 2012

हुन्थ्यो नि (गजल-७१)

दुइ मुटु एकै धड्कन बनिदिए हुन्थ्यो नि
तिम्रै भएँ, मात्र तिम्रै ! भनिदिए हुन्थ्यो नि


घट्ने थियो बोझ थोरै अनिँदा यी रातको
मैले जस्तै ताराहरू गनिदिए हुन्थ्यो नि 


आसुँ पनि काम लाग्थे साँच्ने ठाउँ पाए त
दुइ मन जोड्ने कुलो खनिदिए हुन्थ्यो नि


यो मनको आँधी हुरी त्यो मनको बादल घुम्टी
मेघ मात्र होइन वर्षा पनि दिए हुन्थ्यो नि



Thursday, April 5, 2012

पिडा साट भएजति (गीत)

एउटा मुक्तक थियो, मनमा बसेको मान्छेको पिडा घटाउन रचेको थिएँ । एकदिन कालीदाइलाइ देखाएँ त्यो मुक्तक, मनपराउनु भयो । अनि त्यो गीतमा ढल्यो, संगीत पनि भयो अनि गायक पनि जुर्यो ।




पिडा साट (समर्पण)

पिडा साट भएजति खुशी दिन्छु धेरै धेरै
तिम्रो आँखा रसाई दिए म नि रून्छु धेरै धेरै
मुटु भरी साँचेको छु तिम्रै लागी राखेको छु
लिनु छैन केही पनि माया दिन्छु धेरै धेरै

निराशाले जब जब घेर्छ तिम्रो मनको आकाश
हाँसो लिइ आउने छु म नहुनु है तिमी हतास
मेटाउन त्यो विरानी बोकी ल्याउँछु म विहानी
उदासीको बादल चिरी आशा छर्छु धेरै धेरै
पिडा साट भएजति खुशी दिन्छु धेरै धेरै
पिडा साट भएजति.........

गर्दिन म झुटा वाचा कहीले पनि जूनताराको
माया भए त्यसै पनि झल्मलिन्छ जिन्दगी यो
भेटाउने खोजे जति पाउने छौ रोजे जति
पिरतीको कोसेली यो बोकी ल्याउँछु धेरै धेरै
पिडा साट भएजति.........

गीतको Unplugged Version काली प्रसाद बासकोटाको आवाजमा



विहान

मलाइ थाहा छ
मेरो यो कविता पढेर
तिमी 
मुसुमुसु हाँस्दैछौ

यो विहान
मेरो झ्यालबाट
चियाएर 
घाम हाँसे जस्तै 

Photo Courtesy Martibaru, Flickr
http://www.flickr.com/photos/31163324@N00/

Wednesday, April 4, 2012

नशा

मलाइ अब मातेर
सहरका गल्ली बाटाहरू
नाप्नलाई
कसैले रोक्न सक्दैन !

निश्चिन्त छु म
मेरो साँसमा
तिम्रो सुवास भेटाउने
'ब्रेथलाइजर'
कुनै ट्राफिक प्रहरीसँग छैन प्रिय !!
;)




Sunday, April 1, 2012

मेरो अप्रिल फूल


आज विहान देखि अप्रिल फूल मनाउने क्रममा ७ वटी केटीलाइ "आइ लभ यू " भनेर मेसेज पठाइयो । जम्मैको भाँती भाँतीका जवाफ आयो..
१. साँच्ची हो?????? :D आइ लभ यू टु
२. अँ...म सोचेर भन्छु
३. मेरो ब्वाइफ्रेन्ड नभएको भए त पक्का आइ लभ यू टू नि..मेरो ब्रेकअप नहुन्जेल कुर है
४. धत्, के पठाएको यो? यसरी लेखेरै पठाउनु पर्छ? झन्डै मेरो श्रीमानले पढेको यो मेसेज...
५. मैले तिमीलाइ साथी मात्र सोचेको छु । सरी ल..
६. धत्..मैले त तिमीलाइ भाइ मानेको छु । यस्तो सोच्छौ?? पाप लाग्छ तिमीलाइ
७.

.
.
.
.
.

७ औको कुनै पनि जवाफ आएन... बरू
अर्को ८ औं नयाँ नम्बरबाट जवाफ आयो
साले, कुत्ता, चोर, धोखेबाज..मेरो नयाँ नम्बर बल्ल चिनिस् है ???

यी ८ नम्बरी आफ्नै गर्लफ्रेन्ड परिछिन् :(




Popular Posts