Tuesday, June 1, 2010

मुक्तक

१.
आज फेरी त्यही इतिहास दोहोरियो ।
चोखो मेरो मनको उपहास दोहोरियो ।।
बनेथ्यो प्रेमी एकचोटि फेरी सबिन,
निर्दयी त्यो दिलको अट्टहास दोहोरियो ।।

२.
मुटुमा गडिएको बुझो जस्तो लाग्छ ।
राखुँ बिझाइराछ, फालुँ भेल बग्छ ।।
दिमाग बोल्छ " उखालेरै फालिदे सबिन"
पागल मुट फेरी उही पिडा माग्छ ।।

३.
मुटुको वेथा पाली शरिर ढल्दैछ ।
माया रेट्ने आरी आरामले चल्दैछ ।।
धोखा त पाएको हैन, तर किन होला,
विनासत्ती मन मेरो दनदनी बल्दैछ ।।

नशा

म उसलाई पिउँदै छु, उ मलाई पिउँदै छ
उ एकछिनमा सक्किन्छ, म विस्तारै सक्किन्छु

तिमी भित्रै भुली सकेँ (गजल)

यति डुबे तिमी भित्र साँस फेर्न भुली सकेँ ।
बाँच्छु अब सँधै त्यहीँ मरण पनि टाली सकेँ ।।

मुटुको यो चार कोठा रमाउने संसार मेरो ।
यहिँ भित्र लाग्छ मलाई, स्वर्ग नर्क डुली सकेँ

विश्वास गर ढुक्क भई , छैन बाँकी रहस्य क्यै ।
खुल्ला किताब तिम्रो लागी, पाना पाना खुली सकेँ ।।

खुशी छु म आफ्नै हारमा, तिम्रो जीत चाह मेरो।
आफैँलाई ठूलो ठान्ने अहंकार ढाली सकेँ ।।

सल्कदैछु विस्तारै म योवनको राप सँगै ।
आगोको के खाँचो भयो, स्पर्शले बली सकेँ ।।

नखोजुन् है अब मलाई, कसैले नि संसारमा
कण कणमा हराएर, तिमी सँगै घुली सकेँ ।।

जन्म नाता भन्दा पनि, मन्को नाता प्यारो मलाई ।
मात्र तिम्रै रहेँ अब, बन्धन सारा छली सकेँ ।।


२०६७ जेष्ठ १४ , शुक्रवार

असिनाहरू...

प्रचण्ड तापमा आफैलाइ सुकाएर
शीतल वर्षाको आशामा
बादलको सिर्जना गर्दै
फक्रने आशामा बसेका पालुवाहरू....
उनिहरूलाई
तहस नहस गर्दै
बर्सिदैँ छन् ६०१ टुक्रा असिनाहरू

Friday, May 28, 2010

संयुक्त गजल

((सुरेश खतिवडा, सबिन सिंह, जितेन्द्र मल्ल=== सुसजी। ))

कैले दिक्क कैले ठीक्क, जिन्दगीको चलन साथी ।
ठीक्क भए ठिकै ठान्ने, दिक्क हुँदा ऐठन साथी ।
दु:ख सुख यै हो रीत, बाँच्नै पर्छ यिनै सित,
अमृत नै निस्कन्छ रे, बिष गर्दा मन्थन साथी ।।
आफू माथि भरोसा नै, उपचार ठूलो यहाँ,
गर्छौ किन बेकारमै, खुशीको नै दहन साथी ।।

सम्झाउँ कती आफैँलाइ, आखिर यो मनै न हो,
जती खोज्छु सुल्झाउन, बढ्छ झनै उल्झन साथी ।।
ईच्छा गरे बाटाहरु, दैवले नै खोल्छन् अरे ,
कर्म गरे फल मिल्छ, सुनेको यै कथन साथी ।।
जिजीविषा तिम्रो हाम्रो पूरा गर्न यो जीवनको,
लागौ हामी गर्न आफ्नो जिम्मेवारी बहन साथी ।।

निराशाको बादल फाट्यो, आशा झुल्क्यो देखें कतै,
तोड्छु अब अधेरीँका, यिनै सबै बन्धन साथी ।
आशा ज्योति बाली राखे अधेँरी त हराउँछ नै ,
जग्मगाउँछ झलमल आफै तिम्रो जीवन साथी ।।
डग्मगाए पाइला तिम्रा, काँध थाप्न सधैं भरी,
आउनेछु म तिम्रै लागि, यही मेरो वचन साथी ।

दोहोरी गजल

जिम्मलः
शब्दकोशै रित्तियो कि? पर्नु पीर पर्‍यो साथी ।
यौटा गजल लेख्न पाए हुन्थ्यो होला कति जाती ।।

तुर्रे कविः
तिमीलाई लेख्नलाई चाहिन्छ कि पिर वेथा ।
दिन्छिन् उन्ले, चढाउ भाई मैयालाई फूल पाती ।।

माया, प्रेम, पिडा, खुशी, सपना र विपना त्यो,
कुनैले नि नभए'सि हेर जून तारा राती ।।

जिम्मलः
ब्यथाको के कमी छ र? मुइँया भाकौ अब मैले,
उन्को साथ भन्दा बरु एक्लोपना रै'छ जाती ।

माया पिरिम् जून तारा सपनाका छाडौ कुरा,
खुशी के हो भुलिसकें, दुखिरन्छ देब्रे छाती ।

तुर्रे कविः
पिडा हाम्रो एउटै हो, पिडा दिने मान्छे फरक।
तिम्रो दुखाई हेर्दा लाग्छ शायद् हो कि? जातै घाती ।।

जिम्मलः
माया भए अरु केही चाहिदैन कि त मित्र ?
खोक्नेहरु अझै खोक्छन् सबैभन्दा माया माथी ।

तुर्रे कविः
चाहेकै हो चोखो माया, लिन दिन सबैले नै ।
अल्झिदिन्छन् सम्बन्धमा स्वार्थहरू नाना भाँती ।

नाटक (गजल)

छोटो छोटो नाटकको रास जीन्दगानी
रास भित्र सच्चाईको आस जीन्दगानी

मन्च माझ उज्यालो र हाँसो छ कहिले
पर्दा अघि अँधेरीको बास जीन्दगानी

अनेक पात्र हुन्छन् साथ तर किन होला
आफ्नो मात्र भूमिका छ खास जीन्दगानी

सोचे जस्तो खोजे जस्तो हुन्न यहाँ केही
हर दृश्य विधाताको दास जीन्दगानी

– २०६७ जेष्ठ २, आइतवार

एक्लो जीवन (गीत)

जून-तारा माझ पनि, किन एक्लो हुन्छ धर्ती
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती

झ्याउँकिरी गुन्गुनाउँछे, सङ्गीतमा छैन सुर
पूर्णिमा नि फिक्का लाग्छ, भए पछि तिमी दुर
गाह्रो हुँदो रैछ काट्न, दिन भन्दा अझै राती
तिम्रो साथ नभए नि मर्ने छैन हाम्रो प्रिती

भीड माझ पनि देख्छु, सँधैं तिम्रो मात्र छायाँ
एकान्तमा हुँदा झनै, घुम्छौ मेरो दायाँ-बायाँ
याद मात्र भएको छ, मेरो आज बाँच्ने साथी
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती

– २०६७ वैशाख २७ सोमबार

यो जीवन (गजल)

भोग्दा भोग्दै थाकेँ धेरै, धिक्कारें यो जीवनलाई
सबैलाइ उस्तै रैछ, स्विकारें यो जीवनलाई

लक्ष्य छैन हिड्छु त्यसै छाम्दै मनका रहरहरू
जता तिर लान्छ बाटो बटारें यो जीवनलाई

गर्नु बाँकी धेरै नै छ कोशिश जारी निरन्तर
एकचोटीको उपहार स्याहारें यो जीवनलाई

अन्त नै हो अन्तिम सत्य बुझेँ अन्त पुगेपछि
सजिएको देख्छु चिता पसारेँ यो जीवनलाई


२०६७ वैशाख २४, शुक्रवार

बन्दको फाइदा...(आफुले देख्या केही छ भने थपुँ है)

सकारात्मक सोचले जीवन सफल बनाउँछ भन्छन् । अब देशमा भईरहेको बन्द, हड्तालका पनि सकारात्मक पक्षहरू
हेर्नु पर्ने भएको छ । कति नेता, पार्टी, वाइसिएल, युथफोर्सलाई गाली गर्नु? बन्दका फाइदाहरू पनि छन् नि ।

कसले भन्छ? बन्दले राष्ट्र अशान्त छ भनेर? काठमाडौं अहिले जति शान्त कहिले छ र? गाडीको कोलाहल छैन, धूवाँ धुलो छैन, बाटोमा आनन्दले हिँडन पाइएको छ । गोपीकृष्ण चोकमा स्वयम्भू यातायातको डर नमानि उभिन पाइया छ । शान्त छ राजधानी अहिले । आफ्नो त भक्तपुर सल्लाघारीको बास छ । ६ लेनको बाटो खन्ने डोजरले रातभरी भुइँचालो ल्याएर निद्रा खल्बलाउँथ्यो । ५ रात भयो आनन्दको निद्रा पाईएको छ । म जस्तो अल्छीलाई बन्द जस्तो आराम गर्ने अवसर अर्को कहाँ पाउनु? न घरका मान्छेबाट केही आपत्ती, न हाकिमबाट गयल भएको कारण सोधपुछ! आनन्दले सुत्यो बस!!

गर्मीको मौसम, मलाई काठमाडौका बाटाहरूमा घुम्न साह्रै रमाइलो लाग्छ । summer time र केटीहरूको dressing ! आहा!! क्या बात । तर मोटो र भद्दा ज्यानमा छोटो लुगा देख्दा मन कटक्क हुन्छ । यस्तै बन्द बेला बेलामा भइराखे त सबै केटीहरू Slim! अनि त आहा मेरो न्यूरोड दरबारमार्गको evening walk ले आँखा प्रसन्न हुन्थे । म त भन्छु US तिर पनि हामी नेपालीहरू गएर बेला बेलामा बन्द गरिराख्नुपर्छ । अनि पाउरोटी खाएर मोटाएका अमेरिकी ज्यान ठेकान लाग्थ्यो ।

बन्दको बेला टुँडिखेल, सानो गोचरन, जाउलाखेल जस्ता खेलमैदानमा मारामार हुँदैन । बिच बाटो मै फुटबल, क्रिकेट, ब्याडमिन्टन खेल्यो टेन्सन नै साफ । अलि Xtreme Sports मा रूची छ भने भिडन्त भएको ठाउँमा जाने अनि boxing, Karate, ढुंगा हान्ने, लाठी ठोकाठोक, दौड आदीमा आफ्नो दक्षता परिक्षण गर्न सकिन्छ । खेलकुद क्षेत्रमा बन्दले गरेको योगदान अमूल्य छ ।

प्रशासन सुधारका कुरा खुब पढिन्थ्यो । कमर्चारी कटौति, Right Sizing आदी इत्यादी । यस्तो बन्द हुँदै गरे त ३/४ कर्मचारी विदामा बस्थे । अब सरकारी अड्डाको काम थोरै कर्मचारीले कसरी चलाउने भन्ने अभ्यास राम्ररी हुन्थ्यो । भ्रष्टाचार पनि कम गर्छ बन्दले, सेवाग्राही मालपोत, यातायात, भन्सारमा आउनै सक्दैनन अनि कसले घुस दिने, कसले लिने??

५ दिन भयो बत्ती गएको छैन । अचम्म यो जुक्ती हाम्रा उर्जा मन्त्रीलाई किन फुरेन, उद्योग धन्दा सबै बन्द गरेपछि विद्युत खपत पनि हुँदैन लोडसेडिङ गर्न पनि परेन ।

आन्दोलनमा माउवादीले जिल्ला जिल्लाबाट मान्छे ल्याएका छन् । उनिहरूको लागि राजधानी घुम्न पाउने यो भन्दा राम्रो अवसर कहाँ पाउनु ? फ्रिमा खाने, बस्ने व्यवस्था, अनि भत्ता सहितको यो आनन्दको राजधानी भ्रमण त्यो पनि इष्टमित्र, आफन्त समेत सुनौलो अवसर दिएकै हो गाउँले दाजुभाई, दिदीबहिनीलाई पार्टीले ।

सबैभन्दा ठूलो फाईदा!
राजधानीका नागरिकले अभाव के हो भन्ने बुझ्दैछन् । आलू १५० धार्नी पुग्दा जिब्रो टोक्नेहरूले यो बुझ्छन कि देशका धेरै ठाउँमा खाद्यान्न पनि पुगेका छैन । गाडी नचलेर हिड्नु पर्दा, सराप्नेहरूले बुझ्दैछन कि मोटरबाटो नपुगेका पनि धेरै गाउँठाउँ छन् यो देशमा । खाद्यान्न, ओषधी, खानेपानी नपाएर कसरी मान्छे छट्पटिन्छन यो देशमा सबैले बुझ्दैछन...

Friday, May 7, 2010

विदा मागेँ (गजल)

चाह हैन तर पनि साथ सँग विदा माँगे ।
लाग्यो शायद मैले आफ्नै साँस सँग विदा मागेँ ।।

माग्यौ वाचा विछोडको, नाईँ भन्न कहाँ सकेँ?
विदाईमा उठेका ति हात सँग विदा मागेँ ।।

नपाएको हैन तर, अघाउन सकिएन ,
अपुरा ति मेरा सबै प्यास सँग विदा मागेँ ।।

के थाहा र? खुशीसँगै, ईक्षा पनि जल्दो रैछ ।
रहर पनि सँगै जले, राख सँग विदा मागेँ ।।

जन्मे एक्लै मर्छु एक्लै, बाँच्ने पनि शायद एक्लै ।
तिमीसितै ज्युँने मर्ने आश सँग बिदा मागें ।

Wednesday, April 28, 2010

समानता

धर्म,
देश,
जाती,
वर्ण,
प्रदेश,
जिल्ला,
क्षेत्र,
गाउँ,
पेशा,
तह,
पद,
परिवार,

सबैमा एउटै समानता,
....

यिनले एउटा मानिसलाई अर्को मानिस सँग नजिक ल्याउँछ
अनि अर्को एउटा मानिस सँग टाढा बनाउँछ

-२०६७ वैशाख १२

सरी Sorry

महिनाको २० गते पुगेपछि मलाई लाग्छ म त क्षमाको भण्डार हुँ । जँहा जे गरेपनि, जसलाई बोले पनि सरी मागेर हैरान । अनि म पनि दानवीर कर्णभन्दा कम कँहा छु र? दिइ हाल्छु माफी ।

मलाई सबैभन्दा मिठो लाग्ने माफी मगाई एउटा महिलाको छ । हुन त म वहाँलाई चिन्दिन । दैनिक कुराकानी हुन्छ तर परिचय गर्न पाएको छैन । वँहा नेपाल टेलिकममा काम गर्नु हुन्छ । मैले प्रत्येक पटक फोन गर्ने प्रयास गर्दा कति मिठो आवाजमा बोल्छिन.."माफ गर्नुहोला, तपाईको ब्यालेन्स रकम कम भईसकेको छ..." आहा..कति मिठो भाषामा मेरो गरिबीलाई घोच्छिन तै पनि म त दानवीर....

बालुवाटारको नेपाल राष्ट्र बैंक अगाडीको एटिएम, मेरो प्यारो छ । बाटोमा पनि पर्छ र राष्ट्रिय ढुकुटी अगाडी भएकोले त्यसप्रति विश्वास पनि लाग्छ अलि बढी । तर महिनाको अन्त्यतिर उ पनि ठुस्किन्छे म सँग । कार्ड घुसायो, सबै प्रकिया पुर्यायो, अन्तमा उ पनि भन्छे..."Sorry, Your account balance is Low" अब यँहा पनि माफी दिन परिहाल्यो ।

मेरी प्राणप्रिय, जसलाई संसारले मेरो गर्लफ्रेन्ड भन्छ । तर म चाँही साथीमात्र भन्न रूचाउँछु । अब सम्बन्धमा पनि महिला पुरूष भनेर किटेर भनिराख्न पर्छ र?
कति हार्दिकताका साथ म भेटघाटको प्रस्ताव राख्छु, अनि भन्छु, बाइकमा तेल छैन..आज यसो काठमान्डौको बाटो नापौं न है...उताबाट जवाफ आउँछ...
"सरी है, हेर न मेरो कस्तो खुट्टा दुखिराछ । अनि घरमा काम पनि छ । आज नभेटुँ न है...सरी ल..नरिसाउ न है"
सबै भन्दा प्यारो मान्छेले माफी माग्दा नदिने कोही छ होला? म पनि अपवाद हैन । :P

Wednesday, April 21, 2010

Popular Posts