Showing posts with label व्यंग. Show all posts
Showing posts with label व्यंग. Show all posts

Tuesday, May 9, 2017

मेरी प्रिया एमाले

देशमा विकास हुँदैछ, देशको विकास हुँदैछ । अस्ती भर्खर एकजना हाकिमले नेपालीको घरघर उज्यालो पार्ने पवित्र उद्देश्यले छिमेकीसँग सोझै बत्ती खरिद गर्ने निर्णय गर्न पहल गर्नु भएको थियो । बत्ति त किन्ने, अझै बजारभन्दा तीन गुणा कम दाममा किनेर जनतालाई वितरण गर्ने अरे । त्यसै पनि उर्जाको मारमा परेका हामी, उहाँप्रति कृतज्ञ छौं, त्यसमाथि गुणमाथि गुण थपिदिने हुनुभयो ।

अँ, वहाँको यो कदमको चौतर्फी आलोचना पनि भइराछ । बिनाप्रतिस्पर्धा, प्रक्रिया नपुगाई काम गरेर फाइदा लिन खोजेको आरोप लाग्यो । तथ्य, आधारहीत तथ्य, अपूरो तथ्यका आधारमा आलोचना बढी भएपछि वहाँले जवाफ दिनुपर्ने नै भयो । पत्रकार सम्मेलन गर्नुभयो । त्यहाँ वहाँमाथि लागेका आरोपका बारेमा बडो दुःखि हुँदै आँसु पुछ्दै भन्नु पर्ने भयो "म गलत हुँ भने सजाय दिनुस्"

Wednesday, July 15, 2015

एक ब्लगमा टुइटर फरर


आजकाल जुनसुकै पत्रिकामा टुइट छापिएको देख्नु भएको छ?
सामाजिक सञ्जाल चलाउनु हुन्छ?
अनि टुइटरको बारेमा उत्सुकता छ?
टुइटरमा आउनु भयो तर टुइटरको बारे केही मेसो पाउनु भएको छैन?
ल आउनुस्, टुइटर सिकौं ।

टुइटरमा एकाउन्ट बनाउन त सकिहाल्नु हुन्छ । टुइटरले वेलकम टू टुइटर भनेर एउटा अन्डाको तस्वीर राखेर तपाइँलाई संसारको भीडमा धकेलीदिन्छ ।

अब संसारसँग त भिड्न सकिन्न हेर्नुस्, हामी भिड्ने आफ्नै नेपाली दाजुभाइ, दिदीबहिनी सँग न हो । तसर्थ नेपाली टुइटर संसारमा बाँच्नु छ भने केही पदावली र त्यसको अर्थ जान्नु जरूरी हुन्छ ।

आउनुस् टुइटरका पदावली बारे जानकारी लिऔं ।

Thursday, August 7, 2014

फिलिङ वरिष्ठ

एकाबिहानै आँखा खुल्यो ।

छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नोटिफिकेसन रहेछ । जुरुक्क उठेँ र हत्तपत्त सो टुइट हेरेँ ।

१०० सय आरटी पुगेको रहेछ । बुरुक्कै उफ्रेँ । ज्यान अररिएर आयो, छाती तनक्क भो ।

म त आज देखि वरिष्ठ भएँ!!!



सलमान खानले २०० करोड कमाउँदा के मख्ख पर्यो होला र? जति म भइरहेको छु । #FeelingSalmanKhan

Sunday, November 10, 2013

यसपाली भोट के मा?

चारै तिर चुनावको चर्चा छ । कोही चुनाव हुन्छ र जितौंला भनेर चर्चा गर्नमा व्यस्त छन् । कोही चुनाव होला र आफू हारिएला, हराइएला भनेर विरोध गर्न व्यस्त छन् । जे जस्तो होस्, नेपाली लागि पर्या छन् चुनावमा । 

अधिकांशलाई चुनावसँग वास्ता छैन भन्दै चुनावकै गफ गर्नबाट फुर्सद छैन । सबै चोर हुन्, कसले चै के गर्छ र भन्दै कोही न कोहीलाई गाली गर्नबाट फुर्सद हुन्न यस्तालाई । कोही भने भोट हाल्दिन भन्दै कुर्लदै छन्, भने कोही चै कसले खुवाउँला र त्यसका नाममा भोट हाल्छु भनि गफ दिउँला भनेर ढुकेर बसेका छन् । 

Saturday, December 1, 2012

छोट्याईएको एउटा लामो प्रेमकथा

एकादेशमा...
एउटा केटा थियो
एउटी केटी थिई
केटाको कोही थिएन
केटीको दाई थियो
..

..
..
..
..
..
..
..
कथा सक्काईयो ।

Sunday, November 11, 2012

मेरो डाक्टर विरामी छ (गजल ७८)


यता दुख्यो उता दुख्यो दुःखको नै कहानी छ
म त सँधै छु विरामी मेरो डाक्टर विरामी छ

सपना किन्दा निद्रै गयो किनबेच भो अचम्मको
पत्थरको सिरान सित्तै दिने उही व्यापारी छ

काँध माथी पाइला राख्दै टाउकोमै टेक्ने भयो
माथी पुगी भन्दैछ उ, आकाश छुन त बाँकी छ

थाह पत्तो नपाएर आफ्नै घर सल्काएछ
खेलाउँदा आगो भन्थे यो मान्छे चै आँटी छ

सुकेका ती पातहरू चर्को हल्ला गर्दा रैछन्
मच्चिएको हावा हुरी पनि यिनको नै साथी छ

Cartoon Courtesy: Rajesh KC
















Monday, September 17, 2012

ला !! बर्बाद हुन्छ..

वर्षौं देखि विदेश बसेर काम गर्दै गरेको छोरो चेतेले एकदिन घरमा फोन गरेछ । फोन चेतेको बाउले उठाए छन् ।

चेतेः बा !! म घर फर्किँदैछु ।

बाः हो र? ल राम्रो भयो । तर तेरो त छुट्टी मिल्दैन भन्थिस्, एक्कासी घर आउँछु भन्दैछस् त

चेतेः होइन बा, म नफर्कि भएन । .... म धेरै बाँच्दिन अब

बाः ला..के कुरा गर्छस? त्यस्तो कुरा नगर.... के भयो र तलाईँ?

चेतेः .... बा! मलाई एड्स भएको छ ।

बाः राम राम!! के सुन्न पर्यो...

चेतेः हो बा, मलाई एड्स लागिसक्यो । अब म धेरै दिन बाँच्दिन, जति दिन बाँच्छु घरमै बिताउन चाहन्छु ।

बाः हुन्न हुन्न केटा...तँ यता आउनु हुन्न । तँ यता आइस भने बर्बाद हुन्छ....

चेतेः किन र बा?

बाः तँ यता आइस भने पुरा गाउँ बर्बाद हुन्छ छोरा, तँ यता आउनु हुन्न...

चेतेः गाउँ बर्बाद?? कसरी हुन्छ र?

बाः अब सुन कुरो? तँ यता आइस भने तैलें यो रोग तेरो स्वास्नीलाई सार्छस् ।
तेरो स्वास्नीलाई रोग लाग्यो भने तेरो साथीलाई सर्छ ।
तेरो साथीलाई रोग सर्यो भने हाम्रा घराँ काम गर्नी नोकर्नीलाई सर्छ ।
अनि त्यो नक्कलीलाई रोग सरेसी मलाई नि सर्छ...
अब मलाई सरेसी त पुरै गाउँलाई सर्छ...
हुन्न बाबु हुन्न, तँ यता आउनै हुन्न....


(मैले यो ठट्टाकाण्ड साप्ताहिकबाट सारेको, साप्ताहिकले कहाँबाट सार्यो मलाई थाहा भएन है )

Tuesday, September 11, 2012

अन्तरवार्ता (भाग ३)

यो घटनाको वर्णन शुरू गर्नु भन्दा पहिले अघिल्लो भागहरूको वेलिविस्तार पनि पढ्नु होला । अन्यथा खल्लो लाग्नेछ ।
अन्तरवार्ता भाग १
अन्तरवार्ता भाग २

अघिल्लो घटनाबाटै क्रमशः
====================

केटीको मोबाइलमा मेसेज टोन आउँछ, पढ्छे, हतार हतार जवाफ टाइप गर्छे । केटो यसो नदेखे झै गर्दै केटीको मोबाइल चियाउन खोज्छ, सक्दैन । अलि घाँटी तन्काउँछ फेरी देख्दैन..यता उता हेर्या जस्तो गर्छ ।

केटी(आँखा तर्दै) ओ सर, के हेर्या तेसरी घाँटी तन्काइ तन्काइ, प्राइवेसी भन्ने नि केही चिज हुन्छ नि
केटोः केही होइन...यसो के लेख्यौ भनेर हेर्या नि हेहेहे
केटी (रिसाउँदै):  जे पायो त्यै हैन है...अर्काको कसलाइ के लेख्या हुन्छ किन हेर्न पर्यो । हामीले तपाइँको केही सोधिखोजी गर्या छम्? हजुर कुन कुन मेडमलाई गफ लडाउनु हुन्छ कैले सोध्छम्? हजुरको गर्लफ्रेन्ड नै होलिन् को को, हामीले कैले पत्ता लाउँछम् हँ? फेरी किन अरूको चै बढ्ता सोधीखोजी हँ??
केटो अवाक् हुन्छ, बोल्नलाई केही शब्द पाउँदैन ।
केटीः ल म हिँडे, काम पर्यो ।
केटोः .... पख न एकछिन
केटीः मेरो काम पर्यो क्या...ल बाई । बिल तिर्ने तिम्रै पालो हो है आज...
 केटी उठ्छे र ओर्लिने भर्याङ्ग तिर लाग्छे ।

*****

केटी रेस्टुरेन्ट बाहिर पुगेकी मात्र हुन्छ, उसको फोन बज्छ । यस्सो हेर्छे, उठाउँदिन । एक घन्टी सकिने बित्तिकै फेरी पनि फोन आउँछ, घन्टी टुट्न लागेको मात्रै हुन्छ उठाउँछे ।

केटीः हजुर..
फोनको अर्को तिर कुनै केटो हुन्छ (यो फरक केटो हो है, अर्थात केटो नं. २)

केटोः के हो? मेसेज रिप्लाई पनि छैन, फोन् पनि उठ्दैन त ।

केटी (अलि झर्किँदै) रिप्लाई गरेको छु त, अनि भन्ने बित्तिकै फोन उठाउन पाइन्छ र सँधै । म गाडीमा थिएँ, याँ मान्छेको हात हल्लाउनै नमिल्ने गरी भिड थियो गाडीमा

केटोः ए ए, अनि कता छौ ।

केटी (यसो दायाँ बायाँ हेर्दै)ः कता हुनु नि, घर जान लागेको बाटोमा छु । गाडीमा थिएँ भनिन, उल्टै शंका गर्नुहुन्छ के तपाईँ त..

Tuesday, August 14, 2012

तपाइँ नै भन्नुस् न

हिजो साँझ एउटा साथी कहाँ पुगेको , खाना बनाउने तरखर हुँदै रहेछ बुढाबुढीको
प्रस्तुत छ उनिहरू विचको सम्वाद जस्ताको तस्तै


लोग्नेः आज खानामा के बनाउँछौ त बुढी
स्वास्नीः तपाइँ भन्नुस् न के बनाउने? म त्यही बनाउँला

लोग्नेः उही दालभात तरकारी बनाउन न त
स्वास्नीः ह्या..कति त्यही मात्र खानु

लोग्नेः त्यसो भए आज रोटी बनाउन त
स्वास्नीः अनि बच्चाहरूलाई के खुवाउनु नि?

लोग्नेः अँ..पराठा बनाउ न त
स्वास्नीः अलि हेभी हुँदैन?

लोग्नेः म चिकेन लिएर आउँछु नि त त्यसो भए
स्वास्नीः भो..आज सोमवार, मासु खानु हुन्न

लोग्नेः रेस्टुरेन्टबाट लिएर आउँछु नि त
स्वास्नीः कति बाहिरको मात्र खानु?

लोग्ने (झर्किँदै)ः त्यसो भए वाइवाइ उमालेर खुवाउ आज
स्वास्नीः हुँदैन...त्यसले पेट भर्छ त? अनि त्यो हाइजेनिक पनि त हुन्न


लोग्ने (रिसाउँदै)  ए मेरी हजुरआमा...त्यसो भए के बनाउँछौ, बनाउ यार..
स्वास्नीः तपाइँ भन्नु न के बनाउने??

Friday, August 10, 2012

अन्तरवार्ता (भाग २)

यो कथा शुरू गर्नु भन्दा अगाडीको भाग RECAP (अन्तरवार्ता (भाग १)) गरि हालुँ, अन्यथा केही नबुझिएला :)


(अघिल्लो भागको केटो पात्र फेरी दोहोरिएको छ, तर केटी पात्र भने बेग्लै हो)

व्यस्त सडक भरी गाडीहरूको ओहोर दोहोर छ । पाँच तल्ले भवनको छतमा रहेको रेस्टुरेन्टमा एक जोडी टेबलमा बसेका छन् । चियाको चुस्की सँगै शायद मिठो गफगाफ चल्दैछ । मन्द मन्द मुस्कान छरिएको छ दुवैको मुहारमा, अनि बेला बेलामा मज्जाले हाँस्छन् दुवैजना । मानौं, संसारको सबै पीरहरूबाट मुक्त छन् र यो क्षण उनीहरूको खुशी चरमसीमामा छ ।



अचानक कुरा गर्दा गर्दै केटोले खल्ती छाम्छ । फोन आएको रहेछ, भाइब्रेसन मोडमा रहेकोलेरिंङ्गटोन सुनिएन ।

केटाः  एकछिन है त (भन्दै उठेर अलि पर कुनातिर लाग्छ)

केटीको अनुहार खुम्चिन्छ, तर केटो फोनतिर कुरा गर्दै टाढिन्छ ।


केटो प्रसन्न मुद्रामा फोनमा वार्ता गर्दैछ, उ बोल्ने भन्दा बढी सुन्ने काम बढी गर्दैछ फोनमा । केटी एकतमास केटोले फोनमा कुरा गरिरहेको हेर्दैछे । उसको अनुहारमा तनाव छ, शायद फोनको उतापट्टी बोल्ने मान्छेको कल्पना गर्दैछे । कुराकानी छिट्टै सक्कियो र केटो उही मुस्कान अनुहारमा पोत्दै टेबलतिर फर्कियो ।

केटीः क्या हो सर, कुरा त साह्रै मिठो थियो जस्तो छ नि उतातिरबाट..
केटोः ए..अँ...साथी थियो
केटीः मैले को थियो भनेर सोधेँ र, स्पष्टीकरण दिनलाई??

Friday, July 27, 2012

खै त माया

Pablo Picasso, Girl Before a Mirror. 1936.
उनिले सोधिन्  "खै त तिम्रो माया?"
मैले भनेँ  "ऐना हेर देख्नेछौ"
उनिले ऐना हेरिन् र भनिन्
"खै देखिएन त, ऐनामा त मात्र मेरो अनुहार देखियो"
म केही बोल्नै सकिन

(कथाको पाठः ट्युबलाइटहरू सँग् लभ नगर्नु :P)

Sunday, June 10, 2012

कुन राम्रो ? प्रहरी, सशस्त्र वा सेना (ठट्टा)

(यो विशुद्ध हास्य प्रयोजनका लागि काल्पनिकतामा आधारित कथानक हो । अन्यथा लिएर गम्भिर हुन नपाइ :))
सेना, शसस्त्र प्रहरी, र प्रहरी बीच को सबभन्दा उत्कृष्ट भन्ने कुरामा बिबाद भएछ अनि प्रधानमन्त्रीले यो बिबाद सुल्झाउन एक किसिमको परिक्षा लिने विचार गरेछन " भोलिपल्ट उनले ३ वटा घना जंगलमा ३ वटा खरायो छोडेछन् अनि सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीलाइ एक-एक जंगलबाट खरायो खोजेर ल्याउन पठाएछन् |


सबैभन्दा पहिले प्रहरी आएछन, खालि हात | त्यस जंगलमा खरायो छोडेकै छैन भन्ने निष्कर्ष सहित |

दोश्रोमा शसस्त्र प्रहरी जंगलभरि खरायो नभेटे पछि बन नै डढाएर प्रफुल्ल मुद्रामा आएछन,

तेस्रोमा सेना एउटा निर्ममता पुर्बक कुटाइ खाएर थला परेको स्याल बोकेर आएछन र प्रधानमन्त्री सामु पेश गरेछन | स्याल पिडाले चिच्याऊँदै भनेछ, "हो हो हजुर, म खरायो हूँ, म खरायो हूँ |"











(जिमेल बज्जका ठूलेबाट साभार...)

Tuesday, June 5, 2012

हुनेवाली र तिनका दाजु

मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका लागि दाजुहरूले के सम्म गर्दा रहेछन् । फिल्ममा, यथार्थमा देखिरहेको कुरा चै हो यो, एउटा दाजुले बहिनीलाइ लभ गर्ने केटोलाइ कहिले रूचाएन । आफ्ना हजार गर्लफ्रेन्ड होस्, बहिनीलाइ चै कुनै केटोले जिस्काउन सम्म पनि हुँदैन । दाजु मर्न मार्न तयार हुन्छन् । 



Sunday, May 27, 2012

अखण्डता vs संघियता

शिर्षकमा नजानु होला, यो शिर्षकले हाम्रो राष्ट्रको  जल्दो बल्दो विषयलाइ सम्बोधन गरेको छैन । यो त म निरिह जनताको एउटा सानो दुःखको सानो कथा हो  ।
मेरो ज्यूबाजे र  हजुरबाले तराइको एउटा जिल्लाको एउटा गा.वि.स.को लगभग एउटा सिंगै वडा नै आर्जेका थिए । साम, दाम, दण्ड, भेद के के प्रयोग गरी कसरी आर्जे मलाइ थाहा भएन । तर हजुरबाको मुखबाट जग्गा आर्जेको गौरवगाथा चै खुब सुन्न पाइन्थ्यो । कसरी आफ्नो जग्गा जमिन तीन गाउँ फैलाएको भन्ने कुरामा खुब गर्व गर्थे हजुरबा । 

मेरो बुवाले अन्तरजातिय विवाह गरेका कारण हजुरबा र बुवाको सम्बन्ध राम्रो रहेन । आमा र बुवा घर जानु भएको कहिले रूचाउनु भएन वहाँले । म नाती भएकोले होला मलाइ चै माया गर्नुहुन्थ्यो । बुवाले पनि बाँचुन्जेल घरबाट केही लिनु भएन । बुवा र आमा  एक्लैको बलबुतामा परिवार चलाउनु भयो, हामीलाइ हुर्काउनु भयो । 



बुवा बित्नु भएपछि भने अंशको कुरा आयो । बाजेले अंश दिनै मान्नु भएन, मैले पनि माग्न गइन खासै आवश्यकता पनि परेको थिएन । त्यसपछि हजुरबा पनि बित्नु भयो । परिवारमा अलि आर्थिक संकट पनि छाउन थालेपछि चै मलाइ मेरो पुश्तैनी हकअधिकार पाउनु पर्छ भन्ने चेतना जागृत भएर आयो । म मेरो एकसूत्रिय माग राखेर काकाकहाँ पुगेँ । मेरो माग ठाडै अस्विकार गरी विखण्डनकारीको दर्जा दिए तिनले । यत्रो वर्ष त्यो जग्गा र घरका लागि केही नगरेको, अनि बुढा मरेपछि भाग खान आएको भनि ठाडो आरोप लाग्यो । मैले ठाडो प्रतिवाद गरेँ, घरमा बस्न नदिएर, हकअधिकार र कर्तव्य केही पनि नतोकेको हुनाले घरपरिवारका लागि योगदान दिन नपाएको गुनासो गरेँ, तर काका मान्नु भएन । 

Wednesday, May 16, 2012

(No) बन्द

बन्दको दिन
कार्यालयभित्रको एउटा कोठाको दृश्य

एकजना व्यक्ती मोबाइलमा नम्बर डायल गर्दै
९..८..५...६...०...३..१..८,८,८
"टुँट ..टुँट..टिँट, टुँट टिँट...टिँट..टुँट, टुँट टुँउउउउट"

"तपाइँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ...कृपया"

"ह्या....यो एनटिसीकि दिदी... मोरो बाहुन बाजेको फोन पनि आज व्यस्त नभए कहिले हुन्थ्यो, यो बाहुनलाइ छोडेर क्षत्रीलाइ फोन लाउन पर्यो, नम्बर पो कति हो...ए.."

९..८..४..६...४...२..१..९,२,०

"टुँट ..टुँट..टिँट, टुँट टिँट...टिँट..टुँट, टुँट टुँउउउउट"
ट्रुँट ट्रुँट...
'ए लाग्यो लाग्यो...यो चाँही बेरोजगार रैछ'

उता फोन उठ्छ

'हलो'

'हलो...हजुर यो क्षत्री समाज नेपालको फोन होइन'

'हो'

'ए ए..हजुर चै को बोल्नु भएको होला?'

'म अधक्षे बोल्दैछु'

'ए .. हजुरको शुभनाम के होला?'

' के थियो भन्नु न...म अलि हतारमा छु'

'ए.. ए.. एउटा सूचना थियो..त्यो भन्दा पहिले आज मेरो जिवन अलिकति कष्टकर बनाउन प्रयास गर्नु भएकोमा तपाइँहरुको घोर भत्सर्ना गर्न चाहन्छु'

'हँ...के भन्नु भो , हाम्रो माग पुरा गराउन बन्द गर्नै पर्ने बाध्यता गरायो नि सरकारले । देश टुक्रा टुक्रा पार्ने षडयन्त्र विरुद्ध...'

'ए अदक्षेज्यू, मैले तपाइँको भाषण सुन्न फोन गरेको होइन...त्यो बानेश्वर चोकमा उभिएर गर्नु होला...'

(रिसाएर)'अनि...के ...??'

(कुरा काट्दै) 'तपाइँ एकछिन चुप्प लागेर मेरो कुरा सुन्नुस्... म आज विहान ९ बजे भक्तपुर देखि कोटेश्वर, बानेश्वर, रत्नपार्क हुँदै बाइक हुँइक्याउँदै तपाइँको बन्दको ठाडो अवहेलना गर्दै महाराजगन्जमा रहेको मेरो कार्यालयमा काम गर्न पुगेकोछु । अब साँझ ५ बजे फेरी यही बाटो हुँदै घर फर्कनेछु । तपाइँको माग सही हो या गलत मलाइ थाहा छैन । तर यत्ती बुझ्नुस् मैले तपाइँले घोषणा गर्नुभएको बन्द ठाडै अवज्ञा गरेकोछु... अब के गर्न सक्नुहुन्छ...गर्नुस्...'


फोन काट्दै ...'टुइँट'




टेलिफोन नम्बर श्रोत

एक हप्ता अगाडी भएको बन्दका केही दृश्यहरू

Thursday, May 3, 2012

सहमतीः हिजोआजको तातो शब्द



हिजो साँझ देखि नै गाइँगुइँ थियो । 'आज केही हुन्छ है' भन्दै । एक हूल पत्रकार बानेश्वर ढुकेर बसेका थिए , ताजा खबर ब्रेक गर्न । एक हूल युवाहरू नयाँ संविधानलाइ स्वागत गर्न भन्दै सांकेतिक विरोधमा उत्रिएका थिए  त्यही बानेश्वर बाहिर । म भने आरामले ट्विटरमा साथीहरूको ट्विट हेर्दै  थिएँ । थाहा थियो न्यूज ब्रेक यहिँ बाटै हुन्छ भनेर । हुन पनि त्यही भयो । सालोक्यले पहिलो न्यूज ब्रेक गरे, सबै मन्त्रीहरूको राजिनामा भनेर । 

संविधान बनाउन हतार भइसक्यो, सहमति भएको छैन मुख्य मुख्य बुँदाहरूमा । आधा देश बन्द छ,  सबैजना दलहरू विचको सहमति र त्यसपछि जारी हुने संविधानको प्रतिक्षामा छन् । दलका नेताहरू भने वैठक माथी वैठक गरिरहेका छन् । जुन निकायबाट संविधानका बारेमा छलफल हुन पर्ने हो, त्यहाँको वैठक चाँही स्थगन माथी स्थगन हुँदैछ । 

आखिर सहमति के कुरामा अड्कीयो त? मलाइ चै थाहा थियो । घटनाक्रमले मेरो ठहरलाइ पुष्टयायो पनि । 'सत्ता' का लागि सहमति नभएको रहेछ । अब हिजो जारी भएको ५ बुँदे सहमतिले नै प्रस्ट्यायो नि । सबै मन्त्रीहरूले राजिनामा दिने, 'राजनैतिक सहमतिय सरकार' गठन गर्ने । अनि संविधान जारी गर्नका लागि अर्को सरकार गठन गर्ने अरे... कुरोको चुरो आखिर कुर्सी मै त अड्किएको रहेछ त । 

Wednesday, April 25, 2012

खच्चरको सवारी

आज नै 
मेरो फलामे घोडा
बेचिदिन्छु
अनि ल्याउँछु 
एउटा खच्चर

त्यो खच्चरमा
मेरो सवारी निस्कदाँ
आपूर्ती मन्त्रीको
खप्परमा भर्न भनि 
बुद्धीका ढिक्का
बाटो भरी
छर्दै हिड्नेछु


Sunday, April 22, 2012

जसको वयान गर्न म सक्दिन

यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वहाँ जहिँ तहिँ छाउनु भएको छ हाम्रो देशमा । देशको उच्च नेतृत्ववर्ग सँग वहाँको राम्रो हिमचिम छ । वहाँको बखान गर्न तिर लाग्दिन म । हजार जिब्रो भएको शेषनागले भगवान विष्णुको वखान गर्न नसके जस्तै हो । वहाँसँग ठोक्किएका दुइ साथीका दुइ फरक फरक घटना ।

०एक०

म काठमान्डू एयरपोर्टको डिपार्चर लाउन्जमा पत्रिका पढ्दै थिए । उनी पनि म सँगैको कुर्सीमा पत्रिका पढ्दै थिए । उनी पछि उठे अनि  जान लागे जस्तो गरे । अनि एक्कासी म  भएतिर आए अनि केहि नभनी केहि नसोधी मैले पढिरहेको पत्रिका मेरो हातबाट लिए, पानाहरु पल्टाए अनि मसँगैको कुर्सीमा पत्रिका छोडेर हिडें । म ट्वाल्ल परेर हेरेको हेरे भएँ ...... धन्य !!!!!

०दुइ०

हाम्रो कार्यालय अलि विशिष्ट प्रकारको छ (नामै खोलेर भन्न चाहन्न, कसैलाइ जान्ने चाहना छ भने प्राइवेटमा भनुँला) । विभिन्न राष्ट्रिय महत्वका कार्यक्रम भइरहन्छन् हाम्रोमा । हामीलाइ मोबाइलले साह्रै दुःख दिएको थियो । बेला न कुबेला बज्ने । अझै राष्ट्रिय गान बजेको बेला 'मुन्नी बदनाम' 'शिलाकी जवानी' बजिदिँदा साह्रै खल्लो हुन्थ्यो । त्यही भएर मोबाइल ज्यामर खरिद गरियो । अनि पहिलो पटक एउटा कार्यक्रममा सहभागी कसैलाइ जानकारी नै नदिइ प्रयोग गरियो । अचानक सबैको मोबाइलमा नेटवर्क हरायो । धेरैले त थाहा पनि पाएनन् । तर एकजना पत्रकार बन्धु भने मच्ची मच्ची ठूलो स्वरमा "म कार्यक्रममा व्यस्त छु, तपाइँ पछि फोन गरी सम्झाउनु होला' भन्दै कुर्लिँदै थिएँ । हामी दंगदास, हाम्रो मोबाइल बन्द गर्ने यन्त्रले काम गरेन भनेर । हत्त पत्त आफ्नो मोबाइल निकाल्यौ, हामि सबैको मोबाइलमा टावर गायब थियो । अनि ती पत्रकार बन्धुलाइ सोध्यौ, 'हजुर तपाइँको मोबाइल काम गर्या छ', उनको जवाफ थियो , 'किन नचल्नु?'

==========
अब यि दुइ घटना सुनाइ सकेपछी बढी बखान गर्नु नपर्ला र वहाँलाइ चिनि पनि सक्नु भयो होला । अझै पनि चिन्न सक्नु भएन भने टिभी खोल्नुस्, कुनै पनि समाचार च्यानल लगाउनुस् वहाँ पक्कै पनि कुनै न कुनै नेता सँग टाँस्सिएको चित्र देख्न पाउनु हुनेछ :)


Sunday, April 1, 2012

मेरो अप्रिल फूल


आज विहान देखि अप्रिल फूल मनाउने क्रममा ७ वटी केटीलाइ "आइ लभ यू " भनेर मेसेज पठाइयो । जम्मैको भाँती भाँतीका जवाफ आयो..
१. साँच्ची हो?????? :D आइ लभ यू टु
२. अँ...म सोचेर भन्छु
३. मेरो ब्वाइफ्रेन्ड नभएको भए त पक्का आइ लभ यू टू नि..मेरो ब्रेकअप नहुन्जेल कुर है
४. धत्, के पठाएको यो? यसरी लेखेरै पठाउनु पर्छ? झन्डै मेरो श्रीमानले पढेको यो मेसेज...
५. मैले तिमीलाइ साथी मात्र सोचेको छु । सरी ल..
६. धत्..मैले त तिमीलाइ भाइ मानेको छु । यस्तो सोच्छौ?? पाप लाग्छ तिमीलाइ
७.

.
.
.
.
.

७ औको कुनै पनि जवाफ आएन... बरू
अर्को ८ औं नयाँ नम्बरबाट जवाफ आयो
साले, कुत्ता, चोर, धोखेबाज..मेरो नयाँ नम्बर बल्ल चिनिस् है ???

यी ८ नम्बरी आफ्नै गर्लफ्रेन्ड परिछिन् :(




Sunday, March 18, 2012

ए कामरेड

ए कामरेड !!!!!
साह्रै गिज्यायो यो सगरमाथाले
तिम्रो सम्मानमा 
हावामा मैले मुक्का ताक्दा 
सँधै झुकेर मलाइ हेर्छ 
र
फिस्स हाँस्छ
अब म यसको छाती छिचोलेर 
यसको टाउकोमा टेक्छु
शान्त हुनेछु
अनि सबैतिर शान्ती हुनेछ


Cartoon Courtsy: Rajesh K.C.'s Facebook page
https://www.facebook.com/PHALAN0

Popular Posts