Monday, August 21, 2023

गाह्रो छ

 

"गाह्रो छ"
भन्न कति सजिलो छ। सुन्न पनि सजिलो छ ।
भोग्न एकदम गाह्रो हुन्छ । 
 
गाह्रो भइ भोगेको बुझ्न सकिन्न । गाह्रो भएको भोग्नेहरूलाई मात्र थाहा हुन्छ । गाह्रो भएको साँच्चिकै कत्ति गाह्रो हुन्छ ।
 
बा चेन स्मोकर थिए । सानैदेखि अनवरत चुरोट खाएको देखिरहकै थिएँ । किन खाए जस्तो लाग्थ्यो । अलिअलि बुद्धि पलाएपछि मैले सोध्थे, चुरोट किन नछाडेको । उनले भन्थे "टेन्सन भएर" । अनि मेरो सुधो प्रश्न हुन्थ्यो, चुरोटले टेन्सन घटायो कि बढायो त । अनि उनले भन्थे "छाड्न गाह्रो छ" । चुरोट छाड्न गाह्रो भएको हो कि जिन्दगी चलाउने झमेला गाह्रो भएको उनले कहिल्यै बुझाएनन् । 
 
गाह्रो हुनु भनेको मानसिक अनुभूति मात्र हुने रहेनछ । शारिरीक पनि हुन्छ । हड्डी भाँचेर अस्पताल बसेका, स्ट्रोक भएर शरिर हलचल नभइ ओछ्यान मै बसेका परेका परिवारका सदस्यको शारिरीक पीडा देखेकै हो । उनिहरूको गाह्रोपना अनुभूति भएकोजस्तो लाग्थ्यो, तर शायद उनिहरूको गाह्रोको एकांश पनि मैले बुझ्दैन रहेछु । 
 
गाह्रो भएर आफ्नो अगाडी धर्धती रोएको पनि देखेको छु । रून सक्नेहरू भाग्यमानी हुन् । रोएपछि मन हलुका हुन्छ रे । विज्ञानले पनि भन्छ, रोएपछि केही हर्मोनहरू निस्कन्छन्, जसले मगजमा गाह्रोपना अनुभूती गर्ने भागहरूलाई केही राहत दिन्छन् रे । 
 
रून नसकेर गाह्रो हुँदा कति उकुसमुकुस हुँदो हो । सुनाउन पनि नसकिने, देखाउन पनि नसकिने जिन्दगीका तानाबानाहरूले मनको घाँटी कत्ति अँठ्याउँदो हो । के भएको हो भनि चिच्याउँदै भन्दै, हिक्का छाड्दै रून सकिने हो त गाह्रो नहुँदो हो । 
 
जिन्दगीमा हजार तनाव हुनु पर्ने रहेछ । कैयौं तनावबाट भागेर आराम खोजिरहँदा केवल एक तनावको कारण बाँकी रह्यो भने त्यही तनावले निल्दो रहेछ । खाली दिनरात एकै कुरा किन सोची बस्ने? एउटालाई साइड लगाएर अर्को सँग भिड्ने, त्यसलाइ पनि छाडेर फेरी अर्को सँग भिड्ने । भिडेर जित्न सकिन्न । जितिन्न भन्ने थाहा पाएर पनि भिडिरहने, बिच्चमा छाड्ने र अर्को तिर भिड्ने । भिडिरहने, हारिरहने, बाँचीरहने । बच्चाहरूले घ्वाइँ खेल्याजस्तो एकखुट्टाले बुरुक् बुरुक् उफ्री यो कोठाबाट त्यो कोठा सन्तुलन मिलाउँदै पार लाउनु नै जिन्दगी रहेछ । एउटै तनावको घेरामा बाँच्नु हुन्न, उफ्रि रहनु पर्छ, अघि बढि रहनु पर्छ ।
 
गाह्रो नहोस् भनेर सोचीरहनु पनि एउटा गाह्रो हुनु नै हो । गाह्रो कसैलाई नहोस् । कसैलाई गाह्रो परेको जस्तो लागिरहँदा यो मनले पनि अलिकति त्यो गाह्रो बुझिदिओस् । गाह्रो पार्न पनि नपरोस् । गाह्रो कसैलाई नहोस् ।

Thursday, August 17, 2023

जिन्दगी चल्दो छ

जिन्दगी चल्दो छ । चल्नुको नाम गाडी । चल्नुको नाम जिन्दगी ।

खै कसले पैसा बनायो । बनाउने बेलामा त राम्रै सोचेर बनाएथ्यो होला, तर अहिले पैसाको श्रृजना गर्ने आफैले पनि माथीबाट हेरिरहेको भए,आफ्नो श्रृजनालाई धिक्कार्दै होला । अप्पनहाइमरलाई पनि त परमाणु बम बनाएकोमा खुशि त लागेको रहेनछ । पैसा सबै थोक हैन, तर पैसा धेरै थोक हो । अझ्झ पैसा केही होइन, रूपैँया धेरै थोक हो । रूपैँयाले नै जिन्दगी चलाउने रहेछ । हैन,हैन !रूपैँयाले जिन्दगी चलाउने हैन ।  रूँपैया भएन भने चैं जिन्दगी नचल्ने रहेछ । खुशि, हाँसो, वस्तु, अन्न, मनोरञ्जन सबै विक्री हुन्छन् र ती विक्रीको विनियमयको माध्यम रूपैँया हो ।

माया किन्न सकिन्न रे । प्रेम रूपैँयाले किन्न सक्दैन रे । खुशि चैं किन्न मिल्छ कि जस्तो लाग्न थालेको छ । संसार भुलेर संगीतमा डुब्ने माध्यम दुइ छन् अहिले मेरा लागि, एक मोबाइल, अर्को हेडफोन, अनि अर्को एउटा बडेमानको ब्लुटुथ स्पीकर । मोबाइल किनेको हो, हेडफोन उमेशले कोसेली दिएको, ब्लुटुथ उमेशले अमेरिकाबाट आउँदा ल्याइदिएको । औहौ, उमेश भन्ने साथीले मेरो स्वाद बुझ्छन् । ती दुइ उमेशहरू फरक हुन् है । एक उमेश सत्याल, अर्को उमेश आचार्य । मनका कुरा बुझ्ने साथीहरू !

जिन्दगी चल्दा चल्दै रूपैँयाको अभाव भयो भने के गर्ने? फ्याट्ट दिमागले भन्छ, बाउ सँग माग्ने । त्यो सहुलियत मसँग छैन । अनि सम्झेँ साथीहरू! मेरा साथीले मसँग पैसा मागे भने त म खल्ती टक्टकाएर दिन्छु । मलाई भयङ्कर अभाव भयो भने साथीलाई नै भन्छु । साथीले पक्कै दिन्छन् । नदिइ सुख । तर केही साथीले मसँग लगेका पनि छन् । परेका बेला एकवचन दायाँबायाँ नसोची, लु जा त भनेर पैसा दिएका साथीहरूले मलाइ कति मान्दा हुन्? मलाई चाहिँदा किड्नी बेचेरै पनि देलान् नि ।

ईस्स! दिएका दियै हुन् । दशौं पटक अनुनय गर्दा पनि पैसा दिँदैनन् । लु मानौं कि छैन होला । तर आफ्नै अगाडी गाडी फेरेको, व्यवसाय बढाएको देख्दा पैसा छैन भनेर कसरी मान्नु? शायद साथीको पैसा तिर्नु उसको प्राथमिकतामा परेन । कि म साथीमा परिन । यि दुवै कुरा हुन सक्छन् । यी दुवै कुरा मध्य कुनै एक भएपनि चित्त दुख्छ । चित्त दुखे त केही छैन, पैसा चैं आउनु पर्ने । चित्त दुखेको त समयले निको पार्ला, तर पैसा नभएको पीर समयले निको पार्दैन, झन् बढाउँछ ।

उधारो, सापटी लिनेको नाम सम्झदैँछु । कोही फिल्म बनाउँदैछन्, फिल्म रिलिज हुने क्रममा छ । शुभकामना भन्नु छ । कसैको फिल्म रिलिज भएर हिट पनि भइसक्यो । भुवन केसीले बक्स अफिस लागू गर्देका छन्, कति कमायो फिल्मले थाहा हुँदैछ । अर्को साथी फिल्म बनाउन सिक्दैछ । अर्को साथी विदेको भिसा कुर्दैछ । अर्को साथी कहिले जिन्दगीको चिठ्ठा पर्ला कि भनेर थरिथरिका चिठ्ठा ट्राइ मार्दैछ । एउटाले इलेक्ट्रिकल साइकल दिन्छु भनेर सापटी लग्यो, बेपत्ता भयो । तुलाचन भनेका थकाली हुन् अरे । थकालीहरू बेइमान् हुन्नन् भनेर एकजना गोर्खाली दाजुले सुनाउँदै थिए । काली बेइमान् हुन्नन्, बाहुन पनि हुन्नन् । ढकाल, पाण्डे, गौतम, कोइराला, थपलिया, अग्रवाल, गुप्ता कोही पनि बेइमान हुन्नन् ।

मान्छे बेइमान हुन्छ । ती बेइमानका इमान जाग्ला र कुनै दिन त तिर्लान् भनेर कुर्दैछु ।

मेरो जिन्दगी चलिराछ, रोकिया छैन । रूपैँया नभएर जिन्दगी कठिन भएको छैन, असहज चै छ । दिनेले देलान्, फिर्ता दिनेले देलान् । तर साथीले पक्कै दिन्छन् । नदिने त साथी नै भएन नि ।

Popular Posts