Friday, April 28, 2017

एउटा साथीको साथले कति फरक पर्दछ?

चिया खान बाइक रोक्न लगाएँ ।
पछि आउने बाइकवाला पनि रोकिए, अनि सोधे "पर्स खसेको छ कसैको?"
खल्ती नछामेरै भनेँ "छैन" । अनि खल्ति छामे । थाहा भयो पर्स छैन ।
यत्तिञ्जेल ती बाइकवालाले भने, "पछाडी खसेको छ, साथीले टिप्दैछन् ।"

त्यत्तिकैमा साथी आइपुगे । गोजीबाट पर्स र एकथुप्रो पैसा हातमा राखिदिए ।

कति खेर पर्स गोजीबाट खसेछ । त्यसमा भएको १०/१५ हजार निस्केर बाटोभरि छरिएछन् ।
बाटो छेक्दै गुडेको टिप्परलाई सरापेको थिएँ । त्यही ट्रिपरको ठ्याक्क अघि पर्स खसेर पैसा उडेको रहेछ । टिप्पर ड्राइभरले गाडीबाट ओर्लेर पैसा बटुल्न अघि नै मेरो पछिपछि आएका साथीले बेलैमा रोकेर पर्स र पैसा उठाई दिए । ड्राइभरले शङ्का गरेको बेला कड्किएछन् "मेरो साथीको हो, उसको नाम सबिन सिंह हो"

बिहानको घटना सम्झिँए ।

चारजना दुइटा बाइकमा जाने सल्लाह थियो । एकजना नजाने भए । जम्मा एउटा बाईक ।
चौथो साथीलाई जाउँ भन्ने नभन्ने दोधारमा थिएँ । खै के सोचेँ । दोश्रो साथीलाई भनेँ
"बाइक मिलाउनूस् ।"

बाइक नमिलेको भए, बाइक नमिलाएको भए, के के हुन्थ्यो होला? कति घाटा लाग्थ्यो?
कति नाफा भयो?

अहिले तीनजना मस्त गफ्फिदैँ छौं । :)

Popular Posts