Tuesday, March 27, 2012

बाटो नपाई, कुलेखानी काठमाडौं- ३

बाटो नपाई, कुलेखानी काठमाडौं- १  तथा
बाटो नपाई, कुलेखानी काठमाडौं- २ बाट अगाडी


टन्न खाएपछि ज्यानले एउटै कुरा खोज्छ...निद्रा । धेरैलाइ भाते  निद्राले थिचिसकेको थियो । फाल्गुनको मौसम न धेरै चिसो न गर्मी..घाममा मस्तले पल्टेर सुत्न पाए हुने जस्तो लाग्दै थियो । होटल भन्दा लगभग एक किमीको दूरीमा रहेको खुला चौर याद आयो, पछिल्लो पटक आउँदा खुब रमाइलो गरिया थियो त्यहाँ । उतै जाने सल्लाह भयो । आखिर पुगियो त्यही ठाउँमा...पुगेपछि म चै अकमक्क भएँ । पहिला भन्दा निक्कै फरक थियो त्यो ठाउँ । सिमेन्टको बन्दरगाह जस्तो Ramp बनेको रहेछ । पहिले त्यहाँ पुग्दा त केही पनि थिएन । यति छोटो समयमा कसरी बन्यो अजिब लाग्दै थियो । खासमा जलाशयको पानी घटेको अवस्था रहेछ । पहिले पानी भरिँदा त्यो Ramp नदेखिएको रहेछ  । 


इन्द्रसरोवरलाइ हेरिरहेँ... एकछिन त नजर हटेन त्यो सुन्दर दृश्यबाट । आहा !! क्या गजब.. निलो पानीमाथी बतासले स्पर्श गर्दा तरंगीत छालहरू शर्माएर किनार तिर लाग्दै थिए । मानौ इन्द्रसरोवरमा पानी र बतासको रमाइलो जुहारी चल्दैछ ।



Friday, March 23, 2012

अनुमति

दिउँसोको समय, फुर्सदै फुर्सद... क्यामेरा बोकेर रत्नपार्क तिर लागेँ । रानीपोखरीको फोटो अहिलेसम्म खिचेको थिइन । आज चाहिँ भ्याउनु पर्यो भनेर उतैतिर लम्किएँ  । बागबजारबाट भोटाहिटी तर्फ जाँदै गर्दा पार्कको छेउमा एकजना दाजु पैसा बेच्न बसेका थिए । रमाइलो लाग्यो...क्यामेरा सोझ्याएँ । क्लिक क्लिक...फोटो खिँचीहाले । त्यसपछि यसो क्यामेरा बाहिर चियाएँ । दाजु त रातापिरा भएर खाउँला झै गरेर हेर्दै थिए म तिर ।

आँखा जुध्नासाथ पड्की हाले 'के फोटो खिँचेको?'

म अचम्ममा परेँ..के उत्तर दिनु, उल्टै सोधेँ  'किन के भयो र दाइ'


'हैन..काम छैन, के फोटो खिंचीराको'

Tuesday, March 20, 2012

इन्द्रेणी

खुल्ला आकाशलाइ 
कालो बादलले छेकेपछि
बर्सिन्छन् थोपाहरू,
घामका पारिलो किरणले
बादलको घेरा चिरेर
ती थोपाहरू 
चुमेपछि
फैलिन्छ
रंगहरूको एउटा वक्ररेखा
हो...यही इन्द्रेणी जस्तै हो 
मेरो जिन्दगी

- विश्व कविता दिवस

Sunday, March 18, 2012

ए कामरेड

ए कामरेड !!!!!
साह्रै गिज्यायो यो सगरमाथाले
तिम्रो सम्मानमा 
हावामा मैले मुक्का ताक्दा 
सँधै झुकेर मलाइ हेर्छ 
फिस्स हाँस्छ
अब म यसको छाती छिचोलेर 
यसको टाउकोमा टेक्छु
शान्त हुनेछु
अनि सबैतिर शान्ती हुनेछ


Cartoon Courtsy: Rajesh K.C.'s Facebook page
https://www.facebook.com/PHALAN0

Friday, March 16, 2012

बाटो नपाई, कुलेखानी काठमाडौं- २

बाटो नपाई, कुलेखानी काठमाडौं-१ बाट क्रमशः

सिस्नुको फोटो खिँच्दै थियौ, फोन आयो साथीहरूको । शायद हामी कतै हराएको होकी भन्ने चिन्ता हुँदै थियो उनिहरूलाइ । "के हो तिमीहरूको चाला कता गायब?" उतापट्टी लक्की थिए
'के हुनु नि, यहाँ गज्जबको ठाउँमा छन्, तिमीहरू आएनौ क्यार...अनि के चिन्ता गरिरा? दुवैजना केटा पो छम् त..हराए नि के चिन्ता?' जितेन्द्रले जवाफ फर्काए

अनि हामी फर्कियौं, उता कफि तयार भइसकेको थियो ।  साथीहरूले चुस्की लिँदै थिए । साथीहरूलाइ हाम्रो भन्दा पनि क्यामेराको प्रतिक्षा बढी रहेछ । पुग्ने बित्तिकै फोटो लिने क्रम शुरू भयो । शोक पनि अजिब अजिबका हुन्छन् मान्छेका, फोटो लिने पनि अजिबकै शोक हुन्छ । मान्छेलाइ राम्रो देखिनै पर्ने फोटोमा, कालो चश्मा, टोपी आदीको अत्याधिक प्रयोग भयो फोटो लिने क्रममा । फोटो लिने क्रममा साथी सितेश मज्जाले हाँसे । कालीले प्वाक्क भनिहाले...'हाँस्दा पनि कस्तो देखिएको...दाँतैमा हानु जस्तो' सबै गलल हाँसे ।
----

उकालो सकिएपछि ओह्रालोको पालो आउँछ, अब क्रम ओह्रालो लाग्ने थियो । हामी तीनवटा बाइक सवारी छजना । संयोग वा दुर्भाग्य के भन्ने, तिनैजना बाइक चलाउने चै दुब्लापातला, पछाडी बस्ने सवार चै तुलनात्मक रूपमा मोटा । मेरो भागमा परे ७५ केजी तौल भएका जितेन्द्र । ओह्रालो लाग्ने बित्तिकै म भने तिनवटै बाइकको अगाडी लागेँ । अगाडी लाग्नुको दुइटा फाइदा थियो, एक त आफ्नो गतिमा छिट्टो कुदाउन पाइने, दोश्रो धूलो खान नपर्ने । ओह्रालो धेरै बेर त थिएन, लगभग १५ मिनेटको बाटो पछि नै समथर बाटो आयो, तर यत्तिजेन्लमा मेरो हालत अलि खराब भइसकेको थियो । पछाडीबाट मोटोघाटो मान्छेले ठेल्दा त म बाइकको ट्यांकीमा नै पुगेँ, भने जितेन्द्र चै बाइकको अगाडी सिटमा, कहीले समथर बाटो आउला भनि हतार हुँदै थियो मलाइ । मैले चढेको सिबिजीको सिट त अलि 'Driver Friendly' थियो तर काली र लक्की चढेको पल्सर र सितेश र प्रबलको स्टनरमा के हालत भयो होला म अनुमान लगाउन सक्छु..बिचराहरू च्याप्पिए होलान्....

अगाडी सिधा बाटो देखेर मैले सँगसँगै पुगेका कालीलाइ भने..'रेस लाउनी हो?'
कालीको सिधा जवाफ आयो 'अँ रेस लाउने...तिमीनै लाउ आफै सँग'
बाटो त माथीबाट हेर्दा पो सिधा, राम्रो रहेछ । त्यहाँ पुग्दा पो थाहा भयो, कमै गाडी चल्ने बाटोमा ससाना ढुंगा थिए, जसमा तिव्र गति लिनु भनेको खतरा नै थियो। तथापी कुदियो अगाडी.. खाली बाटोमा विस्तारै चलाउन जानिएकै जो छैन । जाँदा जाँदै धेरै अगाडी पुगियो, पछाडीका साथीहरूको अत्तो पत्तो देखिएन । ठाउँठाउँमा साथीहरूलाइ कुर्दै अगाडी बढियो ।
आफू बाइक हाँक्ने भएपछि क्यामेरा जितेन्द्रलाइ जिम्मा लगाएको थिएँ, प्रोफेसनल क्यामेरा Manual mode मा नसिकेसम्म सकिँदैन । यही भएर पनि धेरै पलहरू miss भए..तथापि जितेन्द्रले क्यामेरा चलाउन सिकेरै छाडे ।


हुइकिँदै जाँदा एक्कासी पक्की बाटो देखियो । हामी दुवैलाइ थाहा थिएन बाटो कहाँ निर पुग्छ भनेर, दोबाटोमा पुगेर दोधारै भयो दायाँ लागने कि बायाँ लाग्ने भनेर, धन्न त्यहाँ दिशानिर्देशका लागि लेखिएको थियो । साथीहरूलाइ झुक्याउँ न भनेर काठमाडौं जाने तर्फ मोडिएँ म, ठ्याक्क त्यहीबेला काली आइपुगे...

'कता जान लागेको? त्यता गए त काठमाडौं पुगिन्छ...'

'अनि के त्त..घरबाट फोन आयो, हामी फर्किन लागेको' हास्दै भन्यौ हामीले । हाँसेर भनेकोले होला कसैले पत्याएन हामीलाइ...


त्यहाँबाट लगभग ३ किमी यात्रा पश्चात हामी कुलेखानी पुग्यौं । बाइकबाट झर्ने बित्तिकै सबैको एउटै कुरामा मत मिल्यो ... भात खानेमा । त्यही रहेको होटेलमा खाना खाने जुर्यो । खाना सँगै चुस्की नलिने कुरै भएन । यहाँ पनि संयोग कस्तो मिल्यो भने बाइक हाँक्ने तिनैजना नपिउने परे भने सवारी चै मजाले पिउने । अब यात्रा सुरक्षित हुने त भइहाल्यो । ढुक्क भए साथीहरू, साथीहरूले बोतलबाट गिलासमा खन्याउँदा आफू भने रित्तो गिलास जुधाउनु पर्ने बाध्यता पर्यो, किन रित्तो गिलास जुधाउनु भनेर मैले पनि बोत्तल उठाएँ...



'चियर्स.....' सबैले एकस्वरमा गिलास ठोक्काए.. मैले भने रित्तो बोत्तल । अब चियर्स गरेपछि घुट्को नलाइ टेबलमा फिर्ता राख्न नमिल्ने, त्यही बोत्तल घोप्टाएँ मुखमा....बोत्तलमा रहेको केही थोपा सोमरस मुखमा पर्यो,.. भोड्काको तितो स्वाद फैलियो मेरो मुख भरि.....
क्रमशः.....

मुस्कान मेरो मन भित्र (गजल ७०)


निराशामा फुलेको छ मुस्कान मेरो मन भित्र
मुस्कान भरी खुशीको छ मुहान मेरो मन भित्र

दूरी नाप्ने कोशिश हुँदा साँघुरिन्छन् बित्ताहरू
नथाकेर नजिकिने आव्हान मेरो मन भित्र

मिलनको गुहार गर्दै देउता सामु शिर झुक्दा
दूरी सँग रिस गर्ने शैतान मेरो मन भित्र

एकान्तका साँघुरा यी गल्लीहरू कटेपछि
सँगै रम्ने सपनाका मैदान मेरो मन भित्र

खुशीमा नि बहिरहे दुःखमा त उर्ले झनै
आसुँका यी धारा मिल्ने दोभान मेरो मन भित्र

'एकतारे' त्यसै कहाँ सबको प्यारो भएको छ ? 
पिडा भुली खुशी झुम्ने प्रेमगान मेरो मन भित्र

Wednesday, March 14, 2012

सम्झनाको चिनो, एउटा पिपलपाते आकृति


याद छ त्यो वालापनको दिन?
हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ
एउटा बुटामा
ढुङ्गाले खोपेर
मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ
हाँस्दै तिमीले भनेकी थियौ
यो त मेटिएर जानेछ

कयौं बसन्त शिशिर विते
त्यो बुटा अहिले ठूलो रूख भइसक्यो
त्यो रूखका हाँगाले
कयौं पालुवा हुर्काएर अनेक फूल
झारीसकेको छ

मैले खोपेको पिपलपाते आकृति
अझै पनि उस्तै उस्तै छ
अलि खुम्चिएको छ
अलि चाउरिएको छ
तर त्यो आकृतिभित्र
हामीले खोपेको
हाम्रो नामको शुरूवाती अक्षर

दुइ अक्षर विचमा 'प्लस' चिन्ह
जस्ताको तस्तै छ
--
विदावारी गरी
ढाड फर्काएर हामीले
आ-आफ्नो बाटो छुट्याएका थियौ,
पृथ्वी गोलो छ
जिन्दगीको एकफन्को घुमेपछि
विपरीत बाटाहरू
एकदिन अवश्य भेटिनेछन्
त्यती खेर तिमी र म
आमुन्ने सामुन्ने हुनेछौ

त्यो बेला तिमीलाइ कोसेली दिन भनि
मेरा रसाएका परेलीले
मोतीहरू साँची राखेका छन्
ती मोतीहरू
तिम्रा अधर विचमा सजाउनु है,
तिमीलाइ खुब सुहाउनेछ




Sunday, March 11, 2012

बाटो नपाई, कुलेखानी काठमाडौं-१

कुलेखानी जलविद्युत आयोजनाको जलभण्डार अर्थात इन्द्रसरोवर निर्माण भएको दशकौं भइसक्यो । यत्रो वर्ष त्यहाँ पुगिएन तर यो वर्षको संयोग कस्तो पर्यो भने केही महिना भित्र नै तीन चोटी इन्द्रसरोवरको चिसो पानी छुने मौका पाइयो । साथी लक्की खतिवडा एक महिने छुट्टीमा फर्किएको बेला कतै लामो यात्रामा जानु पर्छ भनेर केही समय अगाडी देखि नै कालीप्रसाद दाइले भन्दै हुनुहुन्थ्यो, तर कता जाने भन्ने निर्णयमा हामी पुगिसकेका थिएनौ । अस्तव्यस्त जिवनशैलीबाट धेरैसमय निकाल्न सकिने पनि अवस्था थिएन, तसर्थ कतै नजिकै एकदिने यात्रामा जाने सोच बन्यो । शहरको भिडभाडबाट टाढा पनि हुने, अलि रोमाञ्चक पनि हुने भएकोले कुलेखानीसम्मको बाइक यात्रा हाम्रो रोजाइमा पर्यो ।


जाने त भनियो तर जाने के मा? भन्ने समस्या पर्यो हाम्रो अगाडी । केही  दिन अगाडीमात्रै कालीदाइको बाइक हराएको र मेरो पनि बाइक बेचिएकोमा सवारीसाधनको जोहो गर्नु पर्ने थियो । चारजनाका लागि दुइवटा अलि बढी ताकत भएको बाइक खोज्नुपर्ने भयो । साथी महेशलाइ फोन गरेँ, यही दिन उसको काम परेको रहेछ तथापी अर्को बाइक पाउने भएपछि दिन मञ्जुर भएँ । फेरी नजिकै रहेका साथी उज्जवललाइ अनुरोध गरेँ, उसले पनि सहर्ष बाइक दिन तयार भए..अनि लाग्यो साथी भनेका साथी हुन् । एकचोटी भन्दा सहयोगका लागि तयार हुन्छन्  । मलाइ त्यही भएर पनि यो जिन्दगीका रेडिमेड नातागोता भन्दा आफैले रोजेका नाताहरू बढी रूच्छन् ।
शनिवार विहानै कालीदाइ आफ्नो थोत्रो प्यासनप्लस पुटुटु पार्दै भक्तपुर आइपुगे । अनि भक्तपुरबाट दुइजना दुइवटा बाइक लिएर लाग्यौ कोटेश्वर तिर ।  समयमा निस्कने बानी कसैको हुँदैन, हामीले पनि जितेन्द्रबाट समयमा पुग्ने अपेक्षा चै गरेका थिएनौं । त्यही भएर निस्कनु अघि नै फोन गरेर गफ दियौं, हामी कोटेश्वर पुगिसक्यौं भनेर । शायद त्यो गफले असर गरेर होला त्यहाँ पुग्दा साथीहरू लक्की र जितेन्द्र पहिले नै पुगिसकेका थिएँ । अब आउने पालो रह्यो, साथी शितेशको.. हाम्रो पल्सर र सिबिजीको अगाडी उनको फुच्चे स्टनर पक्कै पनि ढिलो हुने नै भयो । वहाँ पनि एकछिन मै आइ पुगे । उनिसँगै अर्का अपिरिचत साथी प्रबल पनि थिए ।

कुलेखानी जाने  त जाने तर कताबाट जाने? फर्पिङ्ग माथिल्लो बाटो, दक्षिणकाली तल्लो बाटो वा थानकोटको विकटबाटो?? मैले जानेका यी तिनवटा बाटो थियो । कालीदाइले अर्को छोटोबाटो छ भन्दै थिए तर देखिएको चै थिएन । हामी बेग्ला बेग्लै आफ्नै तालमा हुँइकियौं कलंकीबाट पश्चिमतर्फ, मातातिर्थ हुँदै जाने भन्ने सम्म थाहा थियो तर कहाँबाट वायाँ लाग्ने हो थाहा थिएन । सतुंगलस्थित नेपाल टेलिकमको स्याटलाइट स्टेसन कटेपछि पो थाहा पाइयो धेरै अगाडी पुगियो भनेर...लक्कीको फोन आयो, हामी गुर्जुधारा फर्किनु पर्ने रहेछ । झन् साथी शितेश त थानकोट चेकपोस्ट नै पुगिसकेका रहेछन् ।


----xxx----

पक्की बाटो छोडेपछि नै बाटोको खल्ड्याङ्ग खुल्डुगं शुरू भइ सकेको थियो । हामीले उक्लनु पर्ने डाँडामा भर्खरै खोपिएको बाटो स्पष्ट देखिइ राखेको थियो  । एउटा रोमाञ्चक यात्राको उत्सुकता बढ्दै गइरहेको थियो । बाटो नयाँ भएकोले पनि होला खासै बिग्रिएको थिएन । तर पनि चुनौतिपूर्ण नै थियो । ससाना ढुंगा, धूलो, माटो, अप्ठेरो मोडहरूका बिच माथी उक्लिदै थियौ हामी । लगभग १५ मिनेटको यात्रा पछि अलि उँचाइमा पुग्यौ । 


उत्तर तर्फ हेर्दा नै मन लोभियो । सेता हिमालको क्रम यस्तो लाग्दैथ्यो मानौ प्रकृति हाँस्दै हामीलाइ स्वागत गर्न लाम लागेकी छ । तल पट्टी काठमाडौ उपत्यकाको उराठ लाग्दो खाल्डो देखिन्थ्यो ।  कतै केही नमिलेको तर सबै कुरा भएको सहर । जसरी बालकले आफूले चाहेको जति जम्मे खेलौना पाउँछ तर पाउने बित्तिकै कोठाभरी छरपस्ट छर्छ, त्यस्तै दृश्य देखिन्थ्यो यो काठमाडौं सहरको । 
साथीहरूले फोटो खिँच्ने रहर गरे, तर मलाइ थाहा थियो डाँडाको टुप्पो पुगेपछि यो भन्दा पनि मनमोहक दृश्य देखिनेछ  ।

Tuesday, March 6, 2012

होली फिभर


हिजो साँझ एकजना मास्टर साहेबको फेसबुकमा स्टेटस देखियो । वहाँ हिजो पनि विद्यालय सञ्चालन गर्न पाएकोमा हर्ष न विस्मातको अवस्थामा थिए । धेरै होइन पोहोर सालसम्म पनि होली आउनु एकहप्ता अगाडी देखि विद्यालय बन्द हुन्थे, तर यसपाली यस्तो अवस्था छैन । आज विहानै कमलपोखरीबाट नक्साल तर्फ जाँदै थिएँ । अगाडी अगाडी पुलिसको पिकअप थियो । एक्कासी झ्याप्प पिकअप रोकियो, झन्डै ठोक्किएको थिएँ । गाडीबाट पाँच छ जना प्रहरीहरू ओर्लिए र नजिकैको गल्ली तिर दौडिए । एकछिन मै उनीहरूले पाँच जना कलेज पोशाकमा रहेका युवाहरूलाइ समातेर लिएर आए, गाडीमा कोचे अनि हिँडे । ती युवाहरू हातमा लोला बोकी बाटोमा आउने केटीहरू ढुकेर बसेका रहेछन् । शिकारी आफै शिकार परेछन् रमाइलै भयो । 


यसपाली लोला हान्ने क्रम एकदम कम भएको छ । हुन त प्रत्येक वर्ष गृह मन्त्रालयको सूचना जारी हुन्छ तर त्यो सूचनामा नै सिमित हुन्थ्यो । यसपाली भने प्रशासन अलि तात्तिएको छ । बाटो, गल्ली गल्लीमा प्रहरीको गस्ती हुदैँछ र लोला हान्ने कार्य नियन्त्रण भइरहेको छ । पक्राउ पर्नेलाइ सार्वजनिक अपराध मुद्दा चलाइने छ भनि प्रहरीले चेतावनी दिएको छ । मलाइ भने यो कुराले एकदम खुशी लागेको छ ।

Thursday, March 1, 2012

फ्रस्टेसन

एकजना साथी विदेश जानु अगाडी भेटघाट गरौं भन्दै थिए, ल त जमघट गरूँ न भनेर सबैलाइ बोलाइयो । जमलस्थित एउटा क्याफेमा साथीहरूलाइ कुर्दै थिएँ । क्याफे सँगै रेकर्डिङ्ग स्टुडियो पनि थियो र एकजना संगीतकार दाजु शिव पनि नजिकै भएकोले वहाँलाइ पनि बोलाइयो । साथीहरूको प्रतिक्षा सँगै संगीतकार दाजु सँग गफगाफ चल्दै थियो । त्यहाँ टुप्लुक्क नेपालका एकजना प्रसिद्ध पप गायक आइपुगे । उनी विस्तारै नजिक आए, अनि उनिसँगै आएका अर्का साथीले शिव दाइ सँग परिचय गराए । उनले म तिर यसरी आँखा लाए मानौं भन्दैथे "मलाइ चिनिनस्?" म भने वाल्ल परेर हेरेर बसिरहेको थिएँ । म भने आफ्नो परिचय कसरी दिने भनि सोच्दै थिएँ, नजिक पुगेपछि उनको मुखबाट आएको सुवासले मेरो ओंठ सिलबन्दी गरिदियो । महोदय दिउँसै फिटान भइसकेका रहेछन् । अब त के बोल्नु भनेर चुप लागियो ।

उनले कुर्सी ताने र शिव दाजु सँग गफ शुरू गरे ।

"अँ भाइलाइ कतै भेट्या जस्तो लाग्यो नि?"

"हो नि दाइ, हाम्रो तीन चार चोटी भेट भइसक्यो त, एकचोटी मिलन स्टुडियोमा, एकचोटी छायाँ एवार्ड फंक्सनमा अनि फेरी के त एबिसि  स्टुडियोमा अनुप र विराजसँग..."

"ए हो र? त्यो अनुपले पनि राम्रो गाउँछ तर अलि क्रियटिभ भएन त्यो क्या..हामी एउटै ब्याच हो नि, भाइलाइ थाहा छैन ??"
"थाहा छ नि दाइ"
"अनि त्यो विराजे..त्यो त मेरो स्टुडेन्ट हो नि । कलेजमा म्यूजिक पढाएको हो मैले तेल्लाइ...अहिले हिरो हुन्छ मुला"
ति गायक दाजुको Attitude देखेर हामी हैरान हुँदैथियो । नशाको असर होला शायद भन्ने ठहरमा पुगेँ म चै

उनि फेरी शुरू भए "भाइको थर के हो रे? .....अँ, सापकोटा होइन । मेरो मावली पनि सापकोटा हो नि..."

दाजुको  नातावाद प्रति झुकाव छ भन्ने बुझियो अनि...

"अँ दाइ...कता हो मावली"

"पैला नुवाकोट तिर हो, अहिले चै काठमाडौं मा नै हो....अँ भाइको कम्पोजिसनहरू सुन्या छु । राम्रो छ । मलाइ मनपरेको छ । Keep it up"

"Thanks दाइ, अनि दाइको नयाँ के छ? नयाँ Creation हरू के छ?"

"खै यार, गर्दैछु । कम्पोजिसनहरू गर्दैछु, यस्तै त हो म्यूजिक इन्डस्ट्री... क्रियसनलाइ टाइम लाग्छ नि यार..."

उनि शुरू भइसकेका थिए, रोक्न गाह्रो हुँदै थियो हामीलाइ...

Popular Posts