Friday, March 23, 2012

अनुमति

दिउँसोको समय, फुर्सदै फुर्सद... क्यामेरा बोकेर रत्नपार्क तिर लागेँ । रानीपोखरीको फोटो अहिलेसम्म खिचेको थिइन । आज चाहिँ भ्याउनु पर्यो भनेर उतैतिर लम्किएँ  । बागबजारबाट भोटाहिटी तर्फ जाँदै गर्दा पार्कको छेउमा एकजना दाजु पैसा बेच्न बसेका थिए । रमाइलो लाग्यो...क्यामेरा सोझ्याएँ । क्लिक क्लिक...फोटो खिँचीहाले । त्यसपछि यसो क्यामेरा बाहिर चियाएँ । दाजु त रातापिरा भएर खाउँला झै गरेर हेर्दै थिए म तिर ।

आँखा जुध्नासाथ पड्की हाले 'के फोटो खिँचेको?'

म अचम्ममा परेँ..के उत्तर दिनु, उल्टै सोधेँ  'किन के भयो र दाइ'


'हैन..काम छैन, के फोटो खिंचीराको'

'....'

'जानु नि ठुला ठुला बिल्डिङ्गको फोटो खिँच्नु नि, के हाम्रो लि'रा? गरिखान पनि नपाइने भो '

'ल दाइ, मैले तपाइँको काम रोकेँ र? फोटो खिँच्दैमा के बिग्रियो र?'

'नलिनु भनेपछि नलिनु नि..जे मनलाग्यो त्यै गर्न पाइन्छ' उनि अलि 'देहाती'* पारामा ओर्लिए

'अनि दाइ, तपाइँ सार्वजनिक ठाउँमा खुलेर बस्नु भएको छ, मैले तपाइँको घरभित्र, कोठाभित्र पसेर फोटो त लिएको छैन नि, सार्वजनिक ठाउँमा बसिसक्नु भएपछि सबैले हेर्छ तपाइँलाइ, अनि फोटोपनि खिँच्छ । फोटै नखिँच त भन्नु भएन नि' मैले तर्क भिडाएँ, तर बिर्से कि भित्तामा टाउको ठोकाउनु मुर्खता हो भनेर

'के को सार्वजनिक ठाउँ..वर्षो देखि याँ बस्याछु , कसैले केही भन्या छैन...मेरै ठाउँ हो यो..तिमीलाइ नखिँच भनेसी नखिच्नु नि...के ठूलो पल्टेको?'

अब के भनिराख्नु पर्यो र? 'हैन दाइ, यो फोटो बेचेर मैले पैसा कमाउने होइन, रहर हो, सबै ठाउँको लिएको छु , तपाइँको पनि लिएँ, बरू फोटो धुलाएर ल्याइदिन्छु तपाइँलाइ'

'भो चाहिएन,  यस्ता फोटो सोटो...कति आए गए तिमीजस्ता फोटो खिँच्ने पत्तरकारहरू...'

'म पत्रकार होइन नि दाइ'

'के फरक पर्यो, खिच्छन् नि...तर जम्मैले सोध्छन् पैले...दाइ फोटो लिउँ भनि सोध्छन्..तिमी मुला आएर खिँच्या छ खिच्याछ...भो पर्दैन खिँच्न, खुरूक्क गइहाल त...काम गरी खान देउ न मलाइ, किन डिस्टर्ब गर्या छौ?'


मेरो गिदिमा बल्ल कुरा घुस्यो । दाजुले त भाउ पो खोज्या रहेछन् । उनको तस्विर लिनु भन्दा पहिले ससम्मान अनुमति लिनु पर्ने रहेछ मैले ।  सार्वजनिक स्थलमा विना अनुमति फोटो खिच्न पाइन्छ, पाइँदैन मलाइ थाहा त भएन । अस्ती भर्खर एउटा कार्यक्रममा नायिका र पत्रकारको विवाद परेको झल्झल्ती याद आयो । उनलाइ भने साह्रो रिस उठिसकेको थियो, अझै अगाडी बसीरहेँ भने उनले झम्टेर क्यामेरा फुटाइदेलान् भन्ने पिर । अगाडी हेरेँ, लौहपुरूष गणेशमान आकाशतिर हात देखाउँदै हास्दै थिए...म भने टाप कसेँ त्यहाँबाट ...





* देहाती = गाउँले, देहात =गाउँ,  तौलिहवामा एकजना दाजु छन्, वहाँ जे कुरामा पनि जान्ने हुनुहुन्छ र तर्क गर्न खुब रूचाउनु हुन्छ । तर कहिलेकाँही तर्कबाट नसकेपछि वहाँ "देहाती"मा ओर्लिएको घोषणा गरी कुरा गर्नुहुन्छ । एकपटक चश्मा र आँखाको कुरा हुँदै थियो । + र - पावरको कुरा थियो, विभिन्न कुरा भए..उनले सकेनन्, अन्तमा सँगै रहेको मार्तोल उठाएर बोले उनि "अब इ पेँचकस लैके त्होरे अँखिया मे कोँच् दि तो बताओ कवन पावर लागि?" (trans: अब यो मार्तोल लिएर तेरो आँखामा कोचिदिएँ भन् कुन पावर लाग्छ?)


2 comments:

  1. सविनजी, मलाई त पैसा बेच्ने दाइ ठीकै रहेछन् भन्ने लाग्यो है । अनुमति बिना फोटो खिच्नु पक्का गल्ति हो तपाईंको । सार्वजनिक ठाउँमा बसेको भन्दैमा जानकारी बिना फोटो खिच्न नमिल्ने नै कुरा हो । त्यो त भयो - तपाईंले बरु फोटो धुलाएर ल्याईदिन्छु सम्म भन्नुभएछ तर सरी चैं किन नभन्नुभएको नि?

    ReplyDelete
  2. खै किन माफी मागिएन, मलाइ त्यो बेला गल्ती महसुस भएन । वहाँको अरूची फोटो खिचाइ प्रति थिएन शायद । म जस्ता धेरैले खिँच्दा रहेछन् । मात्र वहाँलाइ सोध्नुपर्ने रहेछ । त्यो एउटा EGO थियो शायद...ति दाइको पनि, मेरो पनि

    ReplyDelete

Popular Posts