Tuesday, March 27, 2012

बाटो नपाई, कुलेखानी काठमाडौं- ३

बाटो नपाई, कुलेखानी काठमाडौं- १  तथा
बाटो नपाई, कुलेखानी काठमाडौं- २ बाट अगाडी


टन्न खाएपछि ज्यानले एउटै कुरा खोज्छ...निद्रा । धेरैलाइ भाते  निद्राले थिचिसकेको थियो । फाल्गुनको मौसम न धेरै चिसो न गर्मी..घाममा मस्तले पल्टेर सुत्न पाए हुने जस्तो लाग्दै थियो । होटल भन्दा लगभग एक किमीको दूरीमा रहेको खुला चौर याद आयो, पछिल्लो पटक आउँदा खुब रमाइलो गरिया थियो त्यहाँ । उतै जाने सल्लाह भयो । आखिर पुगियो त्यही ठाउँमा...पुगेपछि म चै अकमक्क भएँ । पहिला भन्दा निक्कै फरक थियो त्यो ठाउँ । सिमेन्टको बन्दरगाह जस्तो Ramp बनेको रहेछ । पहिले त्यहाँ पुग्दा त केही पनि थिएन । यति छोटो समयमा कसरी बन्यो अजिब लाग्दै थियो । खासमा जलाशयको पानी घटेको अवस्था रहेछ । पहिले पानी भरिँदा त्यो Ramp नदेखिएको रहेछ  । 


इन्द्रसरोवरलाइ हेरिरहेँ... एकछिन त नजर हटेन त्यो सुन्दर दृश्यबाट । आहा !! क्या गजब.. निलो पानीमाथी बतासले स्पर्श गर्दा तरंगीत छालहरू शर्माएर किनार तिर लाग्दै थिए । मानौ इन्द्रसरोवरमा पानी र बतासको रमाइलो जुहारी चल्दैछ ।







यी छालहरूको स्पर्श गर्न सबै लालायित थिए । सबैजना ओर्लियौ, तल किनारमा ३ वटा डुंगा लागेका रहेछन् । माछा पाल्ने कृषकहरूका थिए शायद । डुंगा चढेर पानीमा शयर गर्ने रहर त सबैको थियो तर डुंगा चलाउन जान्ने कोहि थिएनन् ।




तर जुक्ति त फुरीहाल्यो, मनभएका जति डुंगामा सवार भए अनि एकजनाले डोरी तानेर  किनारबाट डुंगा डोर्याए । लक्कीले भने डोर्याउने जिम्मा लिए  अनि किनारै किनार डुंगा डोर्याइयो । कालीले डुंगा खियाए जस्तो गरे बाँकी चै आरामले डुंगामा सवार भए ।


डुंगा खियाउन पुगेपछि सबैजना उक्लियौ माथीतिर । केही बच्चाहरू डुंगा लिएर पानीमा उत्रिइ सकेका थिए । किनारमा बसेका फुच्चेहरूको फोटो खिचौं भनेको कोही मान्ने होइन । क्यामेरा तेर्स्यायो कि भागी हाल्ने । म पनि के कम? एउटा फुच्चेको पछाडी पुगेँ, क्यामेरा ठिक्क पारे अनि बोलाएँ.."ए भाइ" । उ फर्किएको मात्र थियो पररर फोटो लिइ हालेँ । विचरा अक्कबक्क एकछिन मलाइ हेरिरह्यो अनि जेट इन्जिन चालु भए झै टाप कस्यो ।


मलाइ भने डुंगा चलाउने रहर मरेको थिएन । गएर एउटा डुंगामा चढीहालेँ । सँगसँगै लक्की तम्सिए डुंगा खियाउन, उनले डुंगा चलाएको अनुभव भएको र सक्ने फुर्ती लाउँदै थिए । लु त नि भनेर म बसेँ डुंगामा, काली पनि बसे । नभन्दै लक्कीले डुंगा अघि बढाए...केही पर पुग्यौं । ्



किनारबाट अघिका फुच्चेहरू टाढा नजानु भन्दै चिच्याउँदै थिए । हामी झन् के टेर्थ्यौं र? झन झन अगाडी बढ्यौ र बिचतिर लाग्यौ । तर एकछिन पछि नै चेत खुल्यो, चर्को हावाको वहावले डुंगा फर्काउनै नसकिने रहेछ । खाली किनार तिर मात्र लाग्ने । "फेवातालमा त यस्तो थिएन यार..." लक्कीले भने । मलाइ बल्ल थाहा भयो, उनको अनुभव फेवातालमा डुंगा खियाउने सम्म रहेछ ।  डुंगा किनार तिरै लाग्यो, हामीले जहाँनिर किनार छोयौ, त्यही डुगा छोडेर हिँड्यौ । अघिका बच्चाहरूले डुंगा ठाउँमा लगेर बाँधिदिने वाचा गरे । हामी भने हिँड्यौ ।



माथी पुग्दा साथीहरू क्यामेरा कुरेर बसेका रहेछन् । फेरी एकचोटी फोटो खिँचियो, साथी शितेशको फोटो रहर भनेर बेग्लै थियो । उनले आफ्नो कन्सेप्ट सुनाए अनि कुदे अलि परको डिल तिर...म भने कुरी बसेँ । साँच्चीकै फोटो गज्जबको सुन्दर आयो ।


यता काली भने एउटा पाठीको पछि कुद्दै थिए । "बोका पाठीको पछि " भनि सबै हाँसे...तर उनि भने रोकिएनन् । एउटा सानो पाठी समाती हाले । ल फोटो खिँच भनि क्यामेराको अगाडी उभिए...फोटो साँच्चिकै राम्रो आयो । कालीको गालामा खाल्डो परेपछि क्यामेरा त्यसै हाँस्छ :)






2 comments:

  1. सबिनजी,
    सुन्दर ब्लग, मिठा बिचार र उत्कृष्ट तस्विरहरु.. अब बेला बेला चियाउन आउछु ।

    ReplyDelete
    Replies
    1. धन्यवाद कृष्णजी, यस्तै मिठो मिठो लेख्ने प्रयास गर्नेछु :)

      Delete

Popular Posts