Sunday, March 11, 2012

बाटो नपाई, कुलेखानी काठमाडौं-१

कुलेखानी जलविद्युत आयोजनाको जलभण्डार अर्थात इन्द्रसरोवर निर्माण भएको दशकौं भइसक्यो । यत्रो वर्ष त्यहाँ पुगिएन तर यो वर्षको संयोग कस्तो पर्यो भने केही महिना भित्र नै तीन चोटी इन्द्रसरोवरको चिसो पानी छुने मौका पाइयो । साथी लक्की खतिवडा एक महिने छुट्टीमा फर्किएको बेला कतै लामो यात्रामा जानु पर्छ भनेर केही समय अगाडी देखि नै कालीप्रसाद दाइले भन्दै हुनुहुन्थ्यो, तर कता जाने भन्ने निर्णयमा हामी पुगिसकेका थिएनौ । अस्तव्यस्त जिवनशैलीबाट धेरैसमय निकाल्न सकिने पनि अवस्था थिएन, तसर्थ कतै नजिकै एकदिने यात्रामा जाने सोच बन्यो । शहरको भिडभाडबाट टाढा पनि हुने, अलि रोमाञ्चक पनि हुने भएकोले कुलेखानीसम्मको बाइक यात्रा हाम्रो रोजाइमा पर्यो ।


जाने त भनियो तर जाने के मा? भन्ने समस्या पर्यो हाम्रो अगाडी । केही  दिन अगाडीमात्रै कालीदाइको बाइक हराएको र मेरो पनि बाइक बेचिएकोमा सवारीसाधनको जोहो गर्नु पर्ने थियो । चारजनाका लागि दुइवटा अलि बढी ताकत भएको बाइक खोज्नुपर्ने भयो । साथी महेशलाइ फोन गरेँ, यही दिन उसको काम परेको रहेछ तथापी अर्को बाइक पाउने भएपछि दिन मञ्जुर भएँ । फेरी नजिकै रहेका साथी उज्जवललाइ अनुरोध गरेँ, उसले पनि सहर्ष बाइक दिन तयार भए..अनि लाग्यो साथी भनेका साथी हुन् । एकचोटी भन्दा सहयोगका लागि तयार हुन्छन्  । मलाइ त्यही भएर पनि यो जिन्दगीका रेडिमेड नातागोता भन्दा आफैले रोजेका नाताहरू बढी रूच्छन् ।
शनिवार विहानै कालीदाइ आफ्नो थोत्रो प्यासनप्लस पुटुटु पार्दै भक्तपुर आइपुगे । अनि भक्तपुरबाट दुइजना दुइवटा बाइक लिएर लाग्यौ कोटेश्वर तिर ।  समयमा निस्कने बानी कसैको हुँदैन, हामीले पनि जितेन्द्रबाट समयमा पुग्ने अपेक्षा चै गरेका थिएनौं । त्यही भएर निस्कनु अघि नै फोन गरेर गफ दियौं, हामी कोटेश्वर पुगिसक्यौं भनेर । शायद त्यो गफले असर गरेर होला त्यहाँ पुग्दा साथीहरू लक्की र जितेन्द्र पहिले नै पुगिसकेका थिएँ । अब आउने पालो रह्यो, साथी शितेशको.. हाम्रो पल्सर र सिबिजीको अगाडी उनको फुच्चे स्टनर पक्कै पनि ढिलो हुने नै भयो । वहाँ पनि एकछिन मै आइ पुगे । उनिसँगै अर्का अपिरिचत साथी प्रबल पनि थिए ।

कुलेखानी जाने  त जाने तर कताबाट जाने? फर्पिङ्ग माथिल्लो बाटो, दक्षिणकाली तल्लो बाटो वा थानकोटको विकटबाटो?? मैले जानेका यी तिनवटा बाटो थियो । कालीदाइले अर्को छोटोबाटो छ भन्दै थिए तर देखिएको चै थिएन । हामी बेग्ला बेग्लै आफ्नै तालमा हुँइकियौं कलंकीबाट पश्चिमतर्फ, मातातिर्थ हुँदै जाने भन्ने सम्म थाहा थियो तर कहाँबाट वायाँ लाग्ने हो थाहा थिएन । सतुंगलस्थित नेपाल टेलिकमको स्याटलाइट स्टेसन कटेपछि पो थाहा पाइयो धेरै अगाडी पुगियो भनेर...लक्कीको फोन आयो, हामी गुर्जुधारा फर्किनु पर्ने रहेछ । झन् साथी शितेश त थानकोट चेकपोस्ट नै पुगिसकेका रहेछन् ।


----xxx----

पक्की बाटो छोडेपछि नै बाटोको खल्ड्याङ्ग खुल्डुगं शुरू भइ सकेको थियो । हामीले उक्लनु पर्ने डाँडामा भर्खरै खोपिएको बाटो स्पष्ट देखिइ राखेको थियो  । एउटा रोमाञ्चक यात्राको उत्सुकता बढ्दै गइरहेको थियो । बाटो नयाँ भएकोले पनि होला खासै बिग्रिएको थिएन । तर पनि चुनौतिपूर्ण नै थियो । ससाना ढुंगा, धूलो, माटो, अप्ठेरो मोडहरूका बिच माथी उक्लिदै थियौ हामी । लगभग १५ मिनेटको यात्रा पछि अलि उँचाइमा पुग्यौ । 


उत्तर तर्फ हेर्दा नै मन लोभियो । सेता हिमालको क्रम यस्तो लाग्दैथ्यो मानौ प्रकृति हाँस्दै हामीलाइ स्वागत गर्न लाम लागेकी छ । तल पट्टी काठमाडौ उपत्यकाको उराठ लाग्दो खाल्डो देखिन्थ्यो ।  कतै केही नमिलेको तर सबै कुरा भएको सहर । जसरी बालकले आफूले चाहेको जति जम्मे खेलौना पाउँछ तर पाउने बित्तिकै कोठाभरी छरपस्ट छर्छ, त्यस्तै दृश्य देखिन्थ्यो यो काठमाडौं सहरको । 
साथीहरूले फोटो खिँच्ने रहर गरे, तर मलाइ थाहा थियो डाँडाको टुप्पो पुगेपछि यो भन्दा पनि मनमोहक दृश्य देखिनेछ  ।

आहा !! सफा हिमश्रृंखलाको शिरमा बादलुको फेरो, अनि मुनि धूवाँको मुस्लोले धमिल्लिएको उपत्यका...यस्ता लाग्दै थियो मानौ हिमाल तल तिर हेरी विरक्तिएर चुरोटको फ्वाँक उडाउँदैछ । साथीहरू पनि ओर्लिएर चुरोट सल्काउन थालिसकेका थिए । दक्षिणपट्टी भने महाभारत पर्वतश्रृंखलाका उतारचढाव देखिँदैथिएँ । "कुलेखानी कता छ हँ?" एकजनाले सोधे...दक्षिण तिर औलों सोझ्याउँदै मैले भनेँ..'उ.....त्याँ छ' 
'त्याँ भन्या काँ?' 
 ' उ भन्या उ त्याँ, त्यो डाँडा पारी छ भन्ने मलाइ लाग्या छ..हिहिहि'
हाम्रो रमाइलो शुरू भइसक्या थियो । बाँकी दुइ बाइकका सवार उत्रिए। म र जितेन्द्र भने एउटा छुट्टिएर गएको बाटो देखेर त्यता लम्कियौं, बाटो कता पुग्ने हो थाहा थिएन ।  गोरेटो भन्दा अलि बढी चौडाइको बाटो थियो । 'ए केटा हो, चिया अर्डर गर्दै गर है ' भन्दै हामी सरर बाइकमा हुँइकियौ ।

बाटो धेरै टाढा सम्म जाँदो रहेनछ । हेटौंडा-काठमाडौं रोपवेको मोटरस्टेसनमा गएर बाटो टुंगियो । जर्जर अवस्थामा रहेको रोपवेका दुइ वटा मोटर त्यहाँ थिए । चालु अवस्थाको यो रोपवे बन्द गरिएर देशलाइ कति घाटा लागेको छ, त्यो त जिम्मेवार निकायका व्यक्तिहरूले हिसाब पनि गरेका छैनन् होला ।
 जितेन्द्रलाइ माथी उक्लिने रहर लागेछ, झोला र ज्याकेट फालेर उक्लिहाले । 'ल सबिन, एक पोज ...' भन्न त एकपोज थियो, तर कहाँ मन मान्छ र? थरिथरी पोज दिँदै फोटो खिचाए उनले । 
म पनि के कम, उक्लिएँ र फोटो खिँचाए । टावरमाथीबाट काठमाडोंको दृश्य झनै मनोरम देखिएको थियो । सामान ढुवानीका लागि बनेको रोपवेको पूर्वाधारहरूलाइ एउटा पर्यटकिय केबलकारमा रूपान्तरण गर्ने हो भने देशको पर्यटन उद्योग अझै फस्टाउने थियो ।


यस्तै सोच्दै थिएँ, जितेन्द्र चिच्याए..'यार सिस्नु !!' अघि तल रोक्किँदा कालीले शितेशलाइ सिस्नु चिनाउन गएको तर कतै नभेटेर सबै हाँसेको घटना याद आयो । अब सिस्नु टिपेर लाने त कुरा भएन, सिस्नुको फोटो चै खिँच्यौ मज्जाले ....

To be Continued (क्रमशः).....
(To be Continued.......)

No comments:

Post a Comment

Popular Posts