Tuesday, April 20, 2010

सागर नै भेटनी.....(गजल)


सागर नै भेटेपनी दुईधाराको प्यास मलाई
संसार नै जितेपनि त्यै काखको आश मलाई

आफन्तको चोला भिर्ने धेरै भेटे यो शहरमा
तिमि यौटा नहुँदा नि लाग्छ वनवास मलाई

टाढा तिमी बसेपनी हरपल म सँगै छौ
मनभित्र बसेकी छौ, छुन्छौ आसपास मलाई

गुण तिम्रो तिर्न भनि के नै गर्न सकेको छु
भएको छ ऋण सरी फेर्ने हर साँस मलाई

फेरि पनि एकचोटी प्राण देउ आशिषमा
बोक्न गाह्रो भइरहेछ जीउँदो यो लाश मलाई


– १ वैशाख २०६७, मातातिर्थ औंसी
(मेरी आमाको मायामा...जो प्रत्येक पल मेरो बाटो हेरिबसेकी छिन् )

नविन आशा...(गजल)

सिकी पाठ विगतबाट, अघी बढ्ने सोचहरू
यात्रा फेरी थालेको छु पछ्याउँदै डोबहरू

खुला आँखा राखी हिडेँ, सफर लाग्छ अन्तहिन
पर्खिदैछन् होला कतै, मलाई नौलो खोजहरू

मरभूमी झै उराठ त, सँधैभरी हुन्न होला
पलाएको म देख्दैछु आशाका ति बोटहरू

नौलो किरण छर्दै आयो, यौटा अर्को नयाँ साल
अंक सँगै बढेँ अघि, बिसाउँदै बोझहरू



सम्पूर्णमा नँया वर्ष २०६७को शुभकामना..काठमाडौमा त पानीले स्वागत गर्दैछ नँया वर्षले..पानी पर्नु शुभ संकेत हो भन्छन...आशा छ सबैलाइ राम्रो गरोस...

भैदिन्छु म ...(गजल)

यो गजल विशेष उनीलाई....शंकाले गाँजेको उनको सोच प्रस्ट्याउनै पर्ने भयो, अनि उत्तम माध्यम भनेको गजल ....)

तिम्रो रूप सजाउने कालो गाँजल भैदिन्छु म
आँखा लाग्ला तिमीलाई, ढाक्ने आँचल भैदिन्छु म

पाईला तिम्रो चल्दा खेरी प्रकृति नि झुम्छ सँगै
चालमा तिम्रो ताल मिलाई, बज्ने पायल भैदिन्छु म

रूप तिम्रो देखेपछि जलि मर्ला सूर्य पनि
ढुक्क सँग हिँड्नु तिमी छेक्ने बादल भैदिन्छु म

साथ तिम्रो हुनेछु म, जता तिमी लागे पनि
सही गलत थाहा छैन, मुर्ख, पागल भैदिन्छु म

गहभित्र सागर छ, छेक्न गाह्रो पर्ला कतै
परेलीको डिल्मा बसी रोक्ने गाजल भैदिन्छु म

दु:ख सबै लिन्छु आँफै, सुख जति तिमीलाई,
तिमी खुशी, भई नाच, बज्ने मादल् भैदिन्छु म

Tuesday, April 6, 2010

ए ससुरा !!! (गजल)

सिऊँदोमा रातो धर्सा, सिमाना त्यो कोरी देउ ।
ए ससुरा! अरुलाई नै तिम्री प्यारी छोरी देउ॥

मन हेर्ने छैन सुद्दी धन खोज्ने तिम्रो बुद्दी ।
मन मेरो मार्छु अब झुण्ड्याउन डोरी देउ ॥

माया मेरो नगन्नेलाई खानदान हेर्नेलाई।
तेस्लाई ज्वाई घोरी देउ, घमण्ड त्यो फोरी देउ॥

वाचा कसम भाँची दिईन्, दोधारमा बाँची दिईन्।
आँखाबाट पोखी दिएँ, माया मेरो सोरी देउ॥

दिएनन् याँ गरीखान हिडेँ धन कमाउन।
ए खैरे हो! बाँच्ने साथी, योटी भे'नी गोरी देउ॥

श्रद्धासुमन..लोकतन्त्रका योद्धालाई

झुके अग्ला डाँडा काडा, सुस्ताए ति उग्र खोला ।
गयौ तिमी अस्ताएर, ज्योती छर्ने को छ होला ?

जीवन यो घामपानी, एकदिन मरी जानु पर्ने ।
अमर मानव बन्यौ तिमी, धन्य तिम्रो मानव चोला ।।

मानव हौ तिमि पनि, भूलचूक सबै बिर्स्यौँ ।
सम्झी तिम्रा असल गुण, संसार नै साथ रोला ।।

तिम्रा गुण पछ्याउंदै अडिग बने विचारमा ।
महान नेता उही होला जस्लाई तिम्रो गुनले छोला ।।

तिम्रो छवी फैलिरहोस, बिर्सी अन्जान गल्तिहरू,
त्यै छविले बिधमान, देशको सारा मैलो धोला ।।

कर्म गर...(गजल)

एसएलसी दिनेवित्तिकै छुट्टीमा मैले सुखसागर पुरा पढी भ्याएको थिएँ । त्यसले त मलाई पुरै नास्तिक बनायो, तर जीवन बुझ्ने तरिका पनि सिकायो । अहिले सम्म मैले बुझेको जीन्दगी यही हो ।)


कर्म गर फलको आशा नगर भन्थे ।
हात छन् ति तेरा भरमा नपर भन्थे ।।

चुनौती र बाधा कति आउँछ यहाँ ।
मुटु तेरो कमाई पर नसर भन्थे ।।

बेमौसमी फुल्ने सुन्दर् फुल तँ नै होस् ।
मुर्झाएर त्यसै भुइँ नझर भन्थे ।।

प्रकृतिले बनाएकी सबैलाई राम्रो ।
फरक देख्ने दोषी तेरो नजर भन्थे ।।

शरिर त्यो विलाई बाँकी रहन्न केही ।
दुनियाँलाई केही नदिई नमर भन्थे ।।


२०६६ चैत्र ७, शनिवार

बेईमान मन (गजल)

निरस छ प्रेमगीत, जिस्काउँछ रातो गुलाफ
के नै लाग्छ भएपछि आफ्नो मन आफ्नै खिलाफ

ढुकढुकी ताल रहित साँस चल्छ लय विना
प्रेम विना चल्ने किन? पागल मुटु खोज्छ जवाफ

यथार्थ चै बेग्लै तर एक्लै बाँच्ने फुर्ती हेर
हाँसो उठ्छ त्यसै त्यसै, देखी आफ्नो खोक्रो रवाफ

कति पायो कति दियो हिसाब राख्ने छैन चलन
दोष सारा विर्सीएर आफै खोजी हिड्छ निसाफ


२०६६ फाल्गुन २८, शुक्रवार

Popular Posts